MENU

बातावरण-कृषि

१४ वर्षदेखि बेपत्ता श्रीमानको उपदेश सम्झँदै तरकारी खेती

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, चैत २७ – ‘सायद तिमी भन्दा अगाडि म रहन्न होला, त्यति बेला तिमीले म नभएको महसुस नगर्नु, तिम्रो जीवन तिमीले आफ्नो ढंगले अगाडि बढाउनु, देश, नागरिक र पार्टी संगठनप्रति गद्दारी नगर्नु’ भनेर छुट्टिएका श्रीमान नफर्किएको १४ वर्ष भइसक्यो । श्रीमानको बाटो हेर्दाहेर्दै १४ वर्ष बिते, तर अझै पनि उहाँको आँखा थाकेका छैनन् । २०५९ सालमा तत्कालिन सरकारद्वारा बेपत्ता श्रीमानको पर्खाई आज पनि उस्तै छ । तर परिस्थिति फरक छ, टीका बास्तोला ‘रेखा’ को । अहिले उहाँसँग न हतियार छ न त सक्रिय राजनीतिक जीवन । छ त केवल श्रीमानसँग बिताएका थोरै समयका मिठा पलहरु । मिठा सम्झनाहरु र आफ्नै दुःखका कहानी ।

‘विवाह भएको १० महिनामा नै उहाँलाई सरकारले बेपत्ता बनाएको थियो’ उहाँले भन्नुभयो ‘यो १० महिनामा हाम्रो भेटघाट भनेको औंलामा गन्न सकिने मात्र भयो, तर अविश्मरणीय रह्यो ।’ जनयुद्धका समयमा उहाँहरुको भेटघाट भएर बिदा हुँदा अन्तमा अब हाम्रो भेट हुँदैन होला भन्ने मानसिकताका साथ बिदा भएको सम्झना आज पनि उहाँसँग ताजै छ । त्यही भेटघाटमा दुईजनाबिच भएका कुराकानी आज पनि उहाँलाई रेकर्ड गरेर राखे जस्तो लाग्छ । ‘तर जीवन जिउन सम्झना मात्र काफी हुँदैन रहेछ’ उहाँले भन्नुभयो ‘आज पनि म श्रीमानको त्यही अर्ति उपदेशलाई आत्मसात गर्दै आफ्नै ठाउँबाट देश र नागरिकको हितका लागि काम गरिरहेकी छु र मलाई लाग्छ मेरो निर्णयमा मेरो श्रीमान साथै हुनुहुन्छ ।’ 

बास्तोला अहिले सक्रिय राजनीतिबाट टाढा हुनुहुन्छ । पार्टीप्रतिको आस्था कम नभएपनि पार्टीले गर्ने व्यवहारले सक्रिय राजनीति छोड्नुभएकी बास्तोला अहिले व्यवसायिक तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले ललितपुरको धापाखेलमा दश रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्न थाल्नुभएको तीन वर्ष भयो । ‘यही तरकारी खेतीबाट नै उहाँको सपना पूरा गर्छु’ उहाँले भन्नुभयो । जुन उद्देश्यले उहाँले बन्दुक बोक्नुभएको थियो, युद्धमा होमिनुभएको थियो, पार्टी खुल्ला मोर्चामा आएपछि पार्टीले युद्धका बेलामा अपनाएको बाटो नै छाडेपछि उहाँले पनि पार्टी छोड्नु भयो, तर आस्था छोड्नुभएन । 

सामाजिक रुपमा समाजको उत्थानका लागि, समाजका हितका लागि योगदान दिनका लागि राजनीतिक भूमिकालाई प्रायः निष्कृय बनाएर  तरकारी खेतीलाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ।

उहाँका अनुसार नेपालीहरुको जीविकोपार्जनको रुपमा रहेको कृषि पेशालाई अहिलेको प्रविधिको युगमा पनि जोड्न सकिएको छैन । कृषि पेशालाई पनि आधुनिकीकरण गर्न सकिन्छ र नयाँ ढंगले कृषिमा लाग्न सकिन्छ भन्ने उद्देश्यले नै उहाँ व्यवसायिक रुपमा कृषि पेशामा संलग्न हुनुहुन्छ । ‘पार्टी राजनीतिबाट फाइदा लिन हाम्रो विचारले दिँदैन, त्यसैले जीविकोपार्जन गर्नकै लागि भएपनि कृषि कर्म गर्नु जरुरी थियो’ उहाँले भन्नुभयो । 

२०५७ सालदेखि भूमिगत राजनीति गर्नुभएकी बास्तोलालाई पार्टी शान्ति प्रक्रियामा आएपछि पनि थुप्रै अवसरहरु थिए । तर जीवन धान्नकै लागि कृषि पेशामा लाग्नु उहाँको बाध्यता भयो । उहाँका लागि कृषि पेशामा लाग्नु कुनै नौलो थिएन । ‘युद्धकै बेलामा पनि हामीले जनताका खेतबारीमा काम गरेका थियौं, पारिवारिक पृष्ठभूमि पनि किसानी नै हो त्यसैले यो पेशा नौलो थिएन’ उहाँले भन्नुभयो । तर राजनीतिबाट कृषि काममा आउँदा भने गाह्रो भएको उहाँले बताउनुभयो । ‘यसरी कृषि पेशामा लाग्दा ज्ञान सीपको कमी महसुस भयो’ उहाँले भन्नुभयो ‘यसका साथै आर्थिक चुनौती पनि हामीसँग थियो ।’  

उहाँसँग तीनजना साथी पनि हुनुहुन्छ । जो जनयुद्धमा पनि साथै हुनुहुन्थ्यो, अहिले पनि साथ दिई रहनुभएको छ । व्यवसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भयो । १५ लाख ऋण लिएर सुरु गर्नुभएको तरकारी खेतीले आधा भन्दा बढी ऋण तिरिसकेको छ । ‘अबको वर्षबाट भने फाईदा पनि लिन सकिएला’ उहाँले भन्नुभयो । तरकारी खेतीबाट घाटा भने नरहेको उहाँले बताउनुभयो । उहाँको तरकारी खेतीको बजार भनेको बल्खु र कालिमाटी हो । तर स्थानीय पसलमा पनि तरकारी जाने गरेको उहाँले बताउनुभयो । ‘विस्तारै हामीले यसलाई नेपालको ठूला शहरहरुमा पनि पठाउनेछौं’ उहाँले भन्नुभयो ।

कृषि पेशामा नै लागेपछि अब यसका लागि अझै फराकिलो सोंचका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘देशमा जे समस्या छ कृषिमा पनि त्यही समस्या छ’ उहाँले भन्नुभयो ‘बजारको समस्या, उत्पादनमा समस्या, दीर्घकालिन कृषि नीति नहुँदाको किसानलाई समस्या लगायतका समस्या अहिले पनि छन् यसका लागि अगुवा किसान संगठित भई लाग्नुपर्ने अवस्था छ ।’ उहाँले यसका लागि पनि राज्यस्तरबाट नै पहल हुनुपर्ने बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया