MENU

समाज

Ncell Axiata

यस्तो बन्दैछ बारपाकमा भूकम्प स्मृति पार्क

किरण लोहनी/उज्यालो ।

गोरखा, चैत २८ – गएको वर्ष वैशाखमा गएको भूकम्पको केन्द्रविन्दु बारपाकमा बनाउन लागिएको भूकम्प स्मृति पार्कको डिजाइन तयार भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले पार्कको डिजाइन तयार पारेको हो ।  

कन्सल्ट्यान्ट मार्फत तयार पारिएको डिजाइनकै आधारमा लागत स्टमेट तयार पार्ने काम भैरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले बताउनुभयो ।  १ लाख १३ हजार वर्गमिटर अर्थात २ सय २२ रोपनी क्षेत्रफलमा फैलिने पार्क भित्र बनाइने संरचनाहरुको पनि डिजाइन तयार भएको उहाँको भनाई छ । पार्कमा बगैंचा, भूकम्पले पुर्‍याएको क्षतिको विवरण झल्कने संरचनाहरु निर्माण गरिनेछ ।  

पार्कको मुख्य आकर्षणका रुपमा भने भूकम्प स्मृति स्तम्भ रहने छ । गएको वर्षको भूकम्पले बढी क्षति पुर्‍याएका १४ जिल्लाका मृतकहरुको सम्झनामा छुट्टाछुट्टै १४ वटा स्तम्भ निर्माण गरिने छ भने स्तम्भमा जिल्लाहरुको नाम पनि लेखिनेछ । ‘हरेक स्तम्भमा ति जिल्लाहरुमा क्षति के के भयो भनेर जानकारी राख्ने बारे पनि छलफल भैरहेको छ ।’ डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । यस्तै अर्को छुट्टै स्तम्भमा ग्लोव अर्थात पृथ्विको आकृति बनाएर गएको वर्ष भूकम्प गएको मिति र समय उल्लेख गर्ने गरि डिजाइन तयार पारिएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पुगेको दिन अर्थात गएको वैशाख १२ गते नै पार्कको शिलान्यास गरेपनि सरकारले १० महिनापछि मात्रै कार्यक्रम स्वीकृत गरेको हो । कार्यक्रम स्वीकृत भै चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन भएको श्रेष्ठले बताउनुभयो । सो वजेटबाट पार्क बन्ने जग्गा संरक्षण, माटो सम्याउने लगायतका काम गरिने उहाँको भनाई छ । त्यसका लागि दुई करोड रुपैयाँको टेण्डर आब्हान गरिसकेको उहाँको भनाई छ । ‘बजेट त जम्मा एक करोड मात्रै आएको हो, तर विभागको मौखिक स्वीकृतिमा २ करोड रुपैयाँको टेण्डर निकालिएको छ ।’ जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा साविकको बारपाक वडा नम्वर ४ मा स्मृति पार्क बनाउने निर्णय गरेअनुसार निर्माण प्रक्रिया सुरु भएको हो । 

स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २ सय २२ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ती जग्गामा स्मृति पार्क बनाइने छ । यस्तै, भूकम्पले क्षति पुर्‍याएको वडा नं ५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिएको छ । भूकम्पले जमिन चिराचिरा हुँदा वडा नं ५ का ३२ घरधुरी दलित बस्तीका भूकम्प प्रभावितहरु नजिकैको सरकारी जग्गामा टहरो बनाएर बस्दै आएका छन् । वजेट विनियोजन भै पार्क निर्माणको प्रक्रिया सुरु भएपनि पार्क बन्ने क्षेत्रमा बसोबास गरेका दलित समुदायलाई अन्यत्र स्थानान्तरण नगरेसम्म निर्माण सुरु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । उनीहरुलाई अर्को ठाउँमा स्थानान्तरण गर्नेबारे छलफल भैरहेको उहाँको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया