MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

‘घाँमपानी’ निर्देशकको इरफान खानसँग अन्र्तवार्ता लिँदा भूईँमा खुट्टै थिएन !

काठमाडौं, चैत ३१ – नेपाली चलचित्रको बारेमा स्पष्ट धारणा राख्ने र कडा कलम चलाउने दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घाँमपानी’ बनेको छ । नयाँ वर्षमा दर्शकलाई उपहार स्वरुप चलचित्र वैशाख १ गते प्रदर्शन हुने तयारीमा छ । योसँगै समीक्षक दीपेन्द्र लामाको परिचयमा अब निर्देशक थपिएको छ । निर्देशक बन्ने उनको १० वर्षको लगातारको मेहनत बल्ल पूरा भएको छ । नेपाली चलचित्रको विषयमा जे देख्यो त्यही बोल्ने र कलम चलाउने भएर नै दीपेन्द्र एक चर्चित र छुच्चा समीक्षक बनिसकेका छन् । १८ वर्षे पत्रकारिताको अनुभवलाई बटुलेर उनले चलचित्र निर्देशन गरेका हुन् । धेरैको चलचित्रको समीक्षा गरेका दीपेन्द्र स्वयम्ले निर्देशन गरेको सिनेमा चाहिँ कस्तो बन्यो होला ! भनेर धेरैले प्रतिक्षा गरेर बसेका छन् । मौका पाए उनीहरुले पनि दीपेन्द्रको चलचित्रको कमिकमजोरी औँल्याएर पक्कै पनि लेख्ने, बोल्ने छन् र दीपेन्द्रलाई आलोचना गर्न पाए त्यो पनि गर्नेछन् । 

यस विषयमा निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘होइन म यी सबै लेखिएका र बोलिएका कुराहरु हेर्न र सुन्न तयार छु । म पूरै कमिकमजोरी रहित मान्छे होइन । मेरो पनि कमिकमजोरी हुन सक्ला । त्यो औँल्याउन जरुरी पनि छ । तर मलाई प्रतिशोधको भावनाले, पख् देखाउछु ! तँलाई भनेर होइन । सही भावनाले प्रतिक्रिया दिनु पर्‍यो । म स्वीकार गर्छु ।’

लामा अगाडि थप्छन्, ‘चलचित्र क्षेत्रका निर्देशक, निर्माता अनि कलाकारहरुले पनि मेरो चलचित्रको समीक्षा लेख्ने रहर गर्नु भएको छ । धेरैले तपाईंले नै छाप्ने हो भने ‘घाँमपानी’ को समीक्षा म लेख्छु ! भनिरहनु भएको छ । चलचित्रकर्मी साथीहरुबाट यस्तो कुरा आउँदा मलाई पनि खुबै रमाइलो लागेको छ । किनकी मेरो बारेमा चासो लिनेहरु पनि रहेछन् नि !’

पछिल्लो समय चलचित्रको निर्देशनमा ब्यस्त भएका कारण समिक्षा लेख्न फूर्सद उनलाई मिलेको छैन । चलचित्रको समीक्षा लेख्दा अब त नैतिकताले पनि नमिल्ने होकी ! भनेर उनी आफूले आफैलाई भन्न थालेका छन् । अब हामीले उनको छुच्चो र तीखो समिक्षा पढ्न पाउने छैनौं कि ? त्यो भने समयले नै बताउने छ ।

यसरी बनेका थिए निर्देशक

चलचित्र प्रतिको लगाव र रुचि निर्देशक दीपेन्द्र लामाको नयाँ रहर होईन । बाल्यकालदेखि नै चलचित्र क्षेत्रमा रुचि भएका कारण उनलाई कुनै न कुनै दिन चलचित्रमा काम गर्ने खुबै रहर थियो । सुरुमा उनले दर्शकको रुपमा चलचित्र हेरे । पछि विस्तारै चलचित्रलाई अलि नजिकबाट बुझ्नको लागि चलचित्र पत्रकारितामा लागे । पत्रकारिता उनको चाहना पनि हो । यो क्षेत्रबाट चलचित्र क्षेत्रलाई अलि नजिकबाट बुझ्ने मौका उनले पाए । चलचित्र पत्रकारिता पछि बिस्तारै उनले चलचित्र समीक्षा गर्न थाले । नेपाली चलचित्रमा देखिएको राम्रो र नराम्रो दुवै पक्षलाई उनले खुलेरै लेख्न थाले अनि बोल्न थाले । आफ्नो देशको मात्रै नभएर उनले अन्य देशको पनि चलचित्र हेर्थे र अझै पनि हेर्छन् । 

उनले दुई वर्ष पहिला रिलिज भएको चलचित्र ‘‘नागबेली’’ को पटकथा पनि लेखेका छन् । पटकथा लेखनले मात्रै सायद उनलाई मन भरिएन यही कारण उनी निर्देशनतिर लागे । अहिले ‘घाँमपानी’ चलचित्रको निर्देशक बनेका उनले चलचित्र र यस भित्रका अंगहरुलाई अझ नजिकबाट बुझ्ने मौका पाएका छन् । दीपेन्द्र ‘घाँमपानी’ का लेखक पनि हुन् ।

चलचित्र मार्फत सन्देश दिने उनको कोशिस 

‘‘घाँमपानी’’ शब्द हरेक नेपालीको जिन्दगीमा प्रत्यक्ष रुपमा जोडिएर आउने शब्द हो । हामी त यस शब्दलाई दिनहुँ प्रयोग गर्छौँ । यस चलचित्रमा फरक समुदायको प्रेम कथा छ । तामाङ युवक र बाहुन समुदायको युवतीबिचको प्रेम कथालाई चलचित्रमा उनिएको छ । निर्देशक आफै पनि तामाङ समुदायको भएका कारण चलचित्रको कथा लेखनमा टेवा पुगेको बताउँछन् ।

चलचित्रमा समावेश ‘घाँमपानी-घाँमपानी स्यालको बिहे कुकुर जन्ती, बिरालो बाहुन’ बोलको गीतले पनि सबै मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ । त्यस्तै सन्देश चलचित्र मार्फत पनि दिने प्रयासमा निर्देशक दीपेन्द्र लागेका छन् । चलचित्रको सम्पूर्ण छायाँकन सिन्धु्ली जिल्लामा भएको हो । चलचित्रकै छायाँकनको क्रममा दीपेन्द्र सिन्धुलीमा पहिलो पटक पुग्ने मौका पाएका थिए । चलचित्रको छायाँकनको समयमा त्यहाँका स्थानीय बासिन्दाबाट राम्रो अतिथि संस्कार पाएकोमा उनी निकै खुशी भएका छन् ।

कलाकारको जीवन शैली फेरियो 

निर्देशक दीपेन्द्र लामाले पत्रकारिता सुरु गर्दा फोनको सुविधा थिएन । एक दुई कलाकारको मात्रै ल्याण्डलाईन नम्बर हुन्थ्यो । सञ्चारको सुविधा खासै नभएका कारण कलाकारलाई भेट्नको लागि ल्याण्डलाईनमा  फोन गर्दा चलचित्रकर्मी घरबाट निस्कि सकेका हुन्थे ।

उनी त्यसबेलाको कुरा सम्झदै भन्छन्, ‘अब कहाँ निस्किनु भयो त्यो थाहा नहुने । कलाकारलाई भेट्नको लागि कहिले सुनेको भरमा चलचित्र छायाँकन स्थलमा पुग्नु पथ्र्यो त कहिले डबिङ्ग स्टुडियोमा । अनुमानको भरमा यहाँ छन् की ! भनेर जाँदा कहिले भेट हुन्थ्यो त कहिले हुँदैनथ्यो ।’

चलचित्र निर्माता, निर्देशक अनि कलाकारहरुले पनि दीपेन्द्रलाई छायाँकनको समयमा बोलाउँथे । यसै मेसोमा उनी निर्देशक तुलसी घिमिरेको अन्तर्वाता लिन ४ घण्टा एक स्टुडियोमा कुरेर बसेका थिए जुन उनको जीवनको अविश्मरणीय पल बनेर रहेको छ । खासमा एक सिनेमाको लागि अन्तर्वार्ता लिने दीपेन्द्रले समय लिएका थिए ।

तुलसी घिमिरेको घरमा फोन गर्दा निस्किसकेको र स्टुडियोमा जाँदै गरेको उनले थाहा पाए । तर तुलसी घिमिरे बिचमै स्टुडियो नगएर सुटिङमा निस्किएछन् । फोनको सुविधा नभएकै कारण दीपेन्द्रलाई ४ घण्टा कुरेर बस्नु परेको थियो । यदि त्यस बखत फोन हुँदो हो त दीपेन्द्रलाई त्यति समय कुर्न पर्ने थिएन होला । 

यस्तै उनले अन्य चलचित्रकर्मीसँग अन्तवार्ता लिँदाको अनुभव पनि हामीसँग बाँडेका छन् । अन्तर्वार्ता लिँदा कलाकारहरुमा सुनिल पोखरेलसंग अलि समस्या हुने गरेको उनले बताए । सुनिलले लामो समाचार बनाउने हिसाबले सोधिएको प्रश्न सोध्दा पनि हो अथवा होइनमा मात्रै जवाफ दिने बानीले समस्या भएको दीपेन्द्रले बताए ।

उता स्वर्गिय कलाकार गोपाल राज मैनालीलाई भने एउटा प्रश्न गर्दा २०२१ साल देखिकै कुरा भन्न थाल्थे । अन्तर्वार्ता लिने क्रममा धेरै कलाकारहरुलाई नजिकबाट चिन्ने मौका पाएका दीपेन्द्रलाई भारतिय कलाकार इरफान खानको अन्तर्वार्ताले निकै खुशी दिएको थियो । इरफानसँग अन्तर्वार्ता लिन पाउँदा दीपेन्द्रको भूईँमा खुट्टा थिएन । कारण दीपेन्द्र इरफान खानका ठूलो फ्यान थिए । उनले लिएको त्यो अन्तवार्तालाई पाठकले पनि धेरै मनपराएका थिए ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया