MENU

समाज

Ncell Axiata
USAID

धुर्मुस सुन्तलीले नयाँ वर्षमा मुसहरहरुलाई सुम्पिँदै छन् नयाँ घर

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुर, वैशाख १ – वर्षौंदेखि गरिबीको चरम चपेटामा रहेका महोत्तरीको बर्दिबास नगरपालिका-२ का ५० घर मुसहर समुदायको मुहार नयाँ वर्षको यो बिहानीजस्तै चहकिलो र उज्यालो भएको छ ।  

दशकौंदेखि पीडादायी जिन्दगी गुजार्र्दै आएका मुसहर समुदायको लागि नयाँ वर्षसँगै नयाँ जीवनको पनि सुरुवात हुँदै छ । भूकम्पपीडितका लागि दुई वटा एकीकृत नमुना बस्ती बनाएर चर्चामा रहेका हाँस्य कलाकार तथा समाजसेवी दम्पत्ती सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले धुर्मुस सुन्तली फाउण्डेशन मार्फत मात्र ९५ दिनमा तेश्रो एकीकृत नमुना मुसहर बस्ती तयार गरी शुक्रबार एक कार्यक्रम बीच मुसहरहरुलाई हस्तान्तरण गर्दै छन् ।

यसरी हुँदै छ हस्तान्तरण

एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण गर्नका लागि दाताहरुकै चाहना अनुसार शुक्रबार वैशाख १ गते मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, जनकपुरका सामाजिक अभियन्ता राम अशिष यादव र धुर्मस–सुन्तलीका बुबा आमाद्वारा हस्तान्तरण गरिने कार्यक्रम छ । जसका लागि वस्तीका साथै वर्दिवासको विभिन्न चौकहरु सजाइएको छ । ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । 

चार करोड ८७ लाखमा बन्यो बस्ती

गत पुस २५ गते नेपालका वरिष्ठ हाँस्य कलाकार एवं महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा शिलान्यास भएको थियो । वस्ती निर्माणमा हालसम्म ४ करोड ८७ लाख रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो । बस्तीमा निर्माण गरिएका घरहरु भूकम्प प्रतिरोधात्मक आधुनिक सुविधा सम्पन्न रहेको छ । 

यस्तो छ बस्ती र घरको संरचना

एकीकृत नमुना बस्ती भित्र ५० वटा मुसहर समुदायको लागि घर बनाईएको छ । त्यस्तै त्यहि वस्तीमै गाजिएर रहेका तीन वटा अन्य समुदायका घरपरिवारका लागि पनि पछिल्लो पटक तीन घर निर्माण गरिएको छ । प्रत्येक घरमा तल ३ वटा र माथि दुई वटा गरी पाँच वटा कोठा छ । वस्ती भित्र बालबालिकालाई खेल्न एउटा बालउद्यान,  एउटा विद्यालय, एक वटा मुसहर समुदायको दिनाभद्री देउताको मन्दिर र बस्ती अवलोकन एवं आयश्रोत जुटाउन एक वटा भ्यु टावर निर्माण गरिएको छ । 

एक परिवारलाई के के ?

एक घरपरिवारलाई एउटा घर  । एउटा चर्पी, तीन वटा खाट, एउटा पानी राख्ने टयांकी, एउटा धारा, खाना पकाउने ग्यास र चुल्होको व्यवस्था गरिएको छ । उनीहरुलाई ओढ्ने र ओछ्याउने कपडा यस अघि नै प्रदान गरि सकिएको छ ।  

१०५ वर्षकी मरनी सदाले भन्छिन् ‘म धेरै नबाँचे पनि नाति नातिनाले सुख पाउने भो’  

वर्षा याममा घरभरी पानी जम्ने र जाडोमा हावा सरर यताबाट उता चलेर चिसोले सताउने झुत्रे पराले झुपडीमा मुसहरहरु कष्टकर जीवन गुजार्दै आएका थिए ।  सानै ओत लाग्ने झुपडीमा सपरिवार गुजारा गर्नु पर्ने दिनको अन्त भएर पक्की आकर्षक घरमा जान  बस्तीकै जेष्ठ नागरिक १ सय ५ वर्ष उमेरकी मर्नी सदाको अनुहार जुन झै चम्किएको छ । एउटै ओत लाग्ने सानो झुपडीमा बाख्रा बाँधिने र त्यसैमा सपरिवार गुजारा गरेको दुःखको दिन सम्झिदै उहाँ आफु धेरै नबाँचे पनि अव नयाँ घरमा नाति नातिनाले सुख पाउने भन्दै धुर्मुस सुन्तलीलाई भगवानको सज्ञा दिँदै हुनु हुन्छ । 

मुसहरहरु भन्छन् धुर्मुस सुन्तली हाम्रा भगवान हुन्

मुसहरहरुले सपनामा समेत यस्तो दिन आउला र सुख पाउँला भनेर कल्पना गरेका थिएनन् । तर सपनामा पनि नचिताएको कुरा बिपनामा देख्न पाइएकोमा मरनी सदा जस्तै सबै मुसहरहरु धुर्मुस सुन्तलीलाई भग्वानको संज्ञा दिन्छन् । नयाँ घर पाउने खुसीले वस्तीकै उर्मीला सदाको भूईमा खुट्टा छैन । विगतमा छरछिमेकले हेपेको, टाढा खोलाबाट पानी ल्यउनु परेको, सानो ओत लाग्ने झुत्रे झोपडीमा जाडो र वर्षा याम सपरिवार खेपेको दुःख व्यथा सम्झिदै उर्मिलाले धुर्मुस सुन्तली मुसहहरुका लागि भग्वाननै सावित भएको बताउनुभयो ।  

यस्तै एकीकृत नमुन बस्तीका उपभोक्ता समितिका अध्यक्ष बिल्टु सदाले विगतका दिन सम्झिदै भन्नुभयो “पहिला वस्ती वरपरका अरु मानिस मुसहरुलाई खासै वास्ता गर्दैन थिए । वस्तीमा आउँदासमेत नाक थुन्थे । तर आफुहरुलाई घृणा गर्ने ती छिमेकहरु अहिले बस्ती हेर्नकै लागि लालायित छन् । हामी आफ्नो खुसीको वर्णन गर्न सक्दैनौं ।” उहाँले धुर्मुस सुन्तलीलाई रामसीताको उपमा दिनुभयो । अब आफूहरुका लागि संघसंस्था र सरकारले सीप र व्यवसायको व्यवस्था गरि दिए भोलिका दिनहरु अझै सुखमय विताउने बिल्टुको भनाई छ ।  

गरिबी, अशिक्षा, अज्ञानता, बालबिबाह, झैझगडा जस्ता विकृतिले जडा गाडिएको  मुसहर वस्ती एक वर्षमै अर्को भएको वस्तीके सबैभन्दा बढी पढेका युवक मन्जय सदा बताउनु भयो ।

मुसहर जतिकै खुशी छन् धुर्मुस र सुन्तली पनि

मुसहर समुदाय जत्तिकै खुशी छन् वस्ती वनाइदिने सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि । यस्ता अभियानलाई सरकारले प्राथमिकतता दिन पर्ने कटेलले बताउँदै यस्तो अभियानले सरकारलाई नै टेवा पुग्ने भएकाले यसमा विशेष जोड दिनु कट्टेलको भनाई छ । उहाँले  गाउँ गाउँमा धुर्मुस सुन्तली जन्मेर यस्तै दिनदुखी असहयाको सेवा गर्नुपर्ने बताउनुभयो ।    

निर्धारित समयमै वस्ती बनाएर सकेकोमा खुसी व्यक्त गर्दै हाँस्य कलाकार तथा समाजसेवी कुञ्जना घिमिरेले अब देशका सबै जिल्लामा सरसफाई र बालमैत्री अभियान लिएर जाने विचारमा रहेको बताउनुभयो । बालबालिका देशको कर्णधार भएकाले उनीहरुको शिक्षा दिक्षा र हेरबिचारमा विषेश जोड दिनु पर्ने भएकाले बालमैत्री अभियान लिएर ७५ वटा जिल्ला जाने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस् 

यस्तो छ मुसहर वस्तीको अवस्था, जहाँ धुर्मुस सुन्तली ‘भगवान’ बनेर पुगे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया