MENU

साहित्य/ कला

Ncell Axiata
USAID

हो मलाई नयाँ वर्षले सताउँछ

कविता

                                   - प्रज्वल पराजुली


मेरो घरबाट घाम अस्ताउने दिशातिर 
नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला,
सुनबर्षी ।

शिला खोजेर जम्मा गरेको धानको पैसा,
भोकलाई गाँठो परेर जोगाएको खाजा खर्च,
पाँचै दिन दगुरेर टिका लगाइ बनाएको दसैँको दक्षिणा,
पाहुनाले फर्कने बेला दिएको चिनो,
सबै जम्मा हुन्थे खुत्रुकेमा, 
सधैं बिहान बेलुका मनको तराजुले जोख्ने त्यो खुत्रुके
हो त्यही दिन फुट्ठ्यो ।

आफ्नो अनुहार जस्तै,
खुम्चिएको थैलीको दुई कान तान्दा हजुरआमाले 
मुसुक्क मुस्कुराउथ्यो थैली
थोते हजुरआमा हाँसे जस्तै ।
वर्षभरि जतनले जोगाएका हर रहरका सिक्काहरू,
भित्र हृदयको कन्तुरबाट पोखिएर निस्कन्थे

मेरो हात पर्थे
पाँचवटा सिक्का,
रु पाँच ।

नयाँ हिरो कम्पनीको डण्डीवाला साइकल,
साइकल कुदाउन सिकेको पहिलो वर्ष,
साइकल मै सुनबर्षी जान्छु भनेर मरिहत्ते गरेथें,
गोजीमा पर्स, पर्समा पैसा 
अनी साइकलबाटै ठण्डा बरफ र पान किनेर खाउँला भन्ने चम्किलो दृष्यमा,
बुवाले लाईट अफ गर्दिनु भाथ्यो ।
दृष्य पुरै धुमिल हुने गरी ।

गाँउमा,
सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

नयाँ वर्षमा नयै लुगामा सजिएका मान्छेहरूको भिड,
बाँसको तुप्पोमा बाँसुरी अड्काएर यता उता गर्ने दाइ,
जुलबी बेच्न भ्याइ नभ्याइ भएका पसले,
भिडियो फिल्म,
र अन्त्यमा घर फर्कदा ल्याउनै पर्ने नयाँ खुत्रुके ।

आज मेरो पर्खाइको सुनबर्षी मेला छैन,
न शिला खोज्ने धानका बाला,
सिक्काले भरिएको खुत्रुके छैन,
हजुरआमा हुनुन्न,
न त हजुरआमाको थैली नै मुस्कुराउँछ ।

हो,
मलाई नयाँ वर्षले सताउँछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया