MENU

समाज

Ncell Axiata
USAID

सुरक्षा र अपराधमा ०७३ लाई फर्केर हेर्दा : आइजिपी विवाददेखि बम आतंकसम्म

काठमाडौं, वैशाख १ – २०७३ साललाई विदा गरी शुक्रबारदेखि नयाँ वर्ष २०७४ साल सुरु भएको छ ।  विदा भइसकेको ०७३ साल सुरक्षा र अपराधका हिसाबले खासै सन्तोषजनक रहेन । शान्ति सुरक्षा कायम गर्ने निकाय नेपाल प्रहरीको आइजिपी विवादका कारण झण्डै दुई महिना प्रहरी संगठन अभिभावकबिहिन जस्तै भयो । ०७३ सालमा भएका सुरक्षा र अपराध सम्बन्धी केही मुख्य घटना यस्ता छन् । 

आइजिपी विवाद 

२०७३ सालको सुरक्षा र अपराधको विषयलाई फर्केर हेर्दा आइजिपी विवादको निकै चर्चा भयो । सरकारले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा नियुक्त गर्न फागुन १ गते सिफारिस गरेपछि आइजिपी विवादको शुरुवात भयो । त्यसैदिन आइजिपीका प्रत्यासी डिआइजी नवराज सिलवालले आफू पहिलो नम्बरमा भएको भन्दै आफूलाई आइजिपी बनाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले सरकारको सिफारिस तत्काल कार्यान्वयनमा रोक लगाएको थियो । त्यसपछि सरकारले नियमावली नै संशोधन गरी प्राविधिकतर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आइजिपीमा नियुक्त गरेको थियो । पछि सरकारले चैत २८ गते प्रकाश अर्याललाई आइजीपीमा नियुक्त ग¥यो ।

सुन काण्ड

पुस २१ गेत युएईबाट नेपाल आएका गोपालबहादुर शाहीको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको ग¥यो । सुनको बजार मूल्य झण्डै १५ करोड रुपैयाँ छ । सुनका मालिक को हुन् भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन । यही सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री पक्राउ परे । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए । उनको गतिविधि शंकास्पद देखिएको भन्दै उनीमाथि अनुसन्धान भइरहेको छ । 

सप्तरी र कञ्चनपुर गोली काण्ड

एमालेले गरेको मेची महाकाली अभियानका क्रममा मधेसी मोर्चाले विरोध गर्दा फागुन २३ गते सप्तरीमा भएको गोली काण्डमा ६ जनाले ज्यान गुमाउनु पर्‍यो । 

कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले दसगजासम्बन्धी विवादमा गोली चलाउँदा स्थानीय गोविन्द गौतमको निधन भयो । सीमा सुरक्षाका खातिर गौमको ज्यान गएको भन्दै सरकारले गौतमलाई शहिद घोषणा गर्दै १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । 

दावा लामामाथि गोली प्रहार

काठमाडौंको गौरीघाटमा डन दाबा लामामाथि गोली प्रहार भयो । गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा लामामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते लामाको उपचार भइरहेको छ । उनलाई गोली हाने लगतै हङकङबाट एसएसपी छविलाल जोशीलाई फोन गरेर एक जना व्यक्तिले दावालाई आफ्नो योजनामा गोली हानेको दावी गरेका छन् । घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ । 
 

विजुली चोर पक्राउ

ग्राहकसँग मिलेर विद्युत मिटर बिगार्दै करोडौं ठगी गरेको आरोपमा विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई माघ ९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ ग¥यो । उनीहरुले उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गई मिटरमा उठेको रकम भन्दा कम अंकको विल बनाई ग्राहकसँग मिलेर १२ वर्षदेखि करोडौं ठगी गर्दै आएका थिए । 

स्कुलमा बम आतंक

द्वन्द्वको झझल्को दिँदै राजधानीका ९ वटा स्कुलमा एकैसाथ बम पड्काउने योजना अनुसार  असोज १४ गते बम राखियो । विहान स्कुल गएका बालबालिका बम आतंकबाट त्रसित भए । स्कुलमा बम राख्नेलाई प्रहरी २४ घण्टा नबित्दै राजधानीका विभिन्न ठाउँबाट पक्रन सफल भएको थियो । स्कुलमा बम राख्नुको मुख्य योजना धम्क्याएर चन्दा असुल गर्नु रहेको पछि पुष्टि भएको थियो । 

प्रहरी चौकीमा आगजनी

मंसिर २६ गते दोलखाका ३६ वर्षे ट्याक्सी चालक राजुकमार लामाको शंकास्पद रुपमा ज्यान गएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रहरी चौकीभित्र थुनेर सईसहित सात जनालाई जलाउने प्रयास गरेका थिए । जस क्रममा प्रहरी नायब निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका थिए । स्थीती नियन्त्रण गर्न प्रहरीलाई सात राउण्ड ह्वाइ फायर गर्नु परेको थियो ।

तीन करोडको कोकिन बरामद

मंसिर १५ गते ब्राजिलबाट ल्याएको झण्डै तीन करोड मूल्य बराबरको कोकिनसहित दुई मलेसियन नागरिकलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गर्न सफल रह्यो । कोकिन ब्राजिलबाट नेपाल हुँदै हङकङ लान खोजिएको थियो । 
दुर्गा तिवारी हत्या काण्ड
पुस ४ गते नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भयो । तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गयो । उनको आपसी लेनदेनका कारण हत्या भएको प्रहरीले जनाएको छ । हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

नेविसंघ नेताको हत्या

जाजरकोटमा चैत १५ गते बेलुका नेविसंघका युवा नेता रविन्द्र शाहको हत्या भयो । भेरी नगरपालिका–३ खाप्ले निवासी ३७ वर्षे शाहलाई ढुंगा प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । 

चन्नदननाथ मन्दिरका मूर्ति चोरी

जुम्लाको चन्दननाथ मन्दिरबाट मंसिर ११ गते २८ वटा करोडौं मूल्यका मूर्तिहरु चोरी भए । चोरी भएका मूर्तिको खोजी तथा अनुसन्धानका लागि सिआइबीको टोली नै गठन गरियो । चोरी भएका मूर्ति विभिन्न ठाउँमा भेटिदै गएपनि १४ वटा मूर्ति भटिएका थिएनन् । १४ वटा मूर्ति पुस १९ गते जुम्लाको देपालगाउँ–२ स्थित डुङग्री खोला नजिक वेवारिसे भेटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया