MENU

समाज

Ncell Axiata
USAID

बालबालिका कमाउने, बाबुआमा रक्सीमा रमाउने !

डीबी विष्ट/उज्यालो ।

बझाङ, वैशाख २ – कलिला बालबालिका खोलीको उकालो काट्दै थिए । सबैको पिँठ्यूमा आफ्नो तौलभन्दा धेरै बढी भारी थिए । वैशाखको गर्मीमा खलखली पसिना बगाउँदै हिँडिरहेका उनीहरु आफ्नो पढाइ खर्च जुटाउन यस्तो मेहनत गर्दै छन् ।  

यी नानीहरु थलारा गाउँपालिकामा बस्ने बादी समुदायका बालबालिका हुन् । यसरी भारी बोकेर उकालो चढ्नु उनिहरुको दैनिकी हो । बादी समुदायका प्राय सबै बच्चाहरु दैनिक जसो बिहान डेढ घण्टा ओरालो हिँडेर झनाना बजार पुग्छन् । अनि आफ्नो ताकत अनुसारको स्थानीय व्यापारीका सामान बोकेर ३/४ घण्टा लगाएर उकालो चढ्छन् ।  

यसरी भारी बोकेर एक जनाले दैनिक एक देखि डेढ दुई सय रुपैयाँसम्म कमाउँछन् । तर विडम्बना, यी नानीहरुले दुःख गरेर कमाएको पैसा चाँही उनिहरुका बाबुआमाले बढी जस्तो रक्सी खाएर खर्च गरिदिन्छन् । 

स्थानीय व्यापारीको दुई कार्टुन रक्सी र अन्य सामान भएको ३० किलोको भारी लिएर उकालो चढ्दै गरेकी १० वर्षकी निर्मला बादीले भनिन् ‘महिनाभरमा तीन चार हजार रुपैयाँ जति कमाउछु होला । ५/६ सय जतिको मैले खाजा खान्छु । बाँकी बुवाआमाले रक्सी खाएरै सकाउनु हुन्छ ।’ 

केही वर्षअघि यो समुदायले नाचगान गरेर तथा माटाका भाडाँकुडा बनाएर जीविका चलाउँदै आएको थियो । पछिल्लो समयमा विभिन्न प्रविधिका कारण दुवै पेशा लोप भएपछि बादी समुदायका मानिसहरु मागेर गुजरा चलाईरहेका छन् । प्राय सबै महिला पुरुषहरुमा रक्सीको लत रहेको छ । 

‘आफू रात दिन रक्सी खाएर मातिराख्छन्’ १२ वर्षकी चांदनी बादीले भनिन् ‘हामीले दुःख गरेर भारी बोकी कमाएको पैसा पनि रक्सी खाइदिन्छन्’ पैसा नदिए पिट्ने र खोस्ने भएका कारण कमाएको सबै रकम आमाबाबुलाई नै बुझाउने गरेको उनले सुनाइन् । 

दैनिक जसो भारी बोकेर केटाकेटीहरुले नै परिवार चलाउने गरेको र बयस्कहरु मदिरामै भुल्ने गरेको स्थानीय महिला स्वास्थ्य स्वंयम सेविका चक्रु देवी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो ‘यी बच्चाहरु दिनदिनै भारी बोक्छन् । यिनका बाउआमाहरु बिहानै देखि रक्सी खाएर सुतेका होलान् । केटाकेटीले नै परिवार धानेका छन् ।’ 

यसबारेमा अभिभावकसँग बुझ्दा आफूहरुको पहिलादेखि नै माग्ने र रक्सी पिउने जात भएकोले यसलाई अन्यथा लिन नहुने ५५ वर्षकी रंगे बादीले बताउनुभयो । ‘रक्सीले लठ्ठ परेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, ‘हामीले यसरी नै हाम्रा आमाबाबुलाई पाल्यौँ । यिनिहरु हामीलाई पाल्छन् । यिनलाई यिनकै छोरा छोरीले पाल्छन् ।’

विकल्प छैन बालबालिकासँग 

बादी समुदायका बालबालिका पढाइ खर्च चलाउनका लागि भारी बोक्नुपर्ने बाध्यतामा छन् । बालबालिकासँग आफ्नो पढाइ खर्चका साथै परवारको दैनिक उपभोग्य वस्तु किन्नका लागि पनि भारी बोक्नुबाहेकको विकल्प छैन ।

विद्यालय छुट्टी भएपछि नास्ता नखाएरै ब्यापारीहरुका भारी बोक्न थलारा बजारबाट झनाना बजारमा पुगेर भारी ओसार्ने गरेको कक्षा–२ मा पढ्ने ११ वर्षकी सिर्जना बादीले बताइन् ।  

उनी मात्र होइन । विद्यालय छुट्टी हुने वित्तिकै बादी समुदायका बालबालिका झनाना बजारबाट भारी बोकेर आफ्नो पढाई खर्च, कापी, कलम, किताबको जोहो गर्ने गरेको कक्षा–३ मा पढ्ने १२ वर्षकी मेलिना बादीले बताइन् । 

‘आमाबुबा गाउँगाउँ गएर माग्दै बिहान बेलुकाको छाक टार्ने जोहो गर्दछन् भने बालबालिका कोही आमा बुबासँगै गाउँघर माग्दै हिँड्छन् त कोही यसरी नै भारी बौक्दै आफ्नो दैनिकीका साथै घर खर्चसमेत चलाउँछन्’ कक्षा ५ मा पढ्ने १२ वर्षकी चाँदनी बादीले बताइन् । 

झनाना बजारबाट थलारा बजारसम्म एक भारी पुर्याए बापत आफूहरुले एक किलो सामानको ५ रुपैयाँका दरले लिने गरेको चाँदनीले बताइन् । ‘बढी जस्तो ब्यापारीहरुका भारी ओसार्नु पर्छ । त्यो पनी बढी रक्सी नै हुन्छ । जे सामान दिए पनि नाई नभनी सबै ओसार्नु पर्दछ । यसरी एक दिन भर भारी बोकेर दुई सय रुपैयाँसम्म कमाई हुन्छ । लामो बाटो भएका कारणले एक दिनमा दुई खेप मात्र गर्न सकिन्छ’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया