MENU

समाज

Ncell Axiata

कम छैनन् सरकारी स्कुल, यिनले धानेका छन् २९ हजार स्कुलको इज्जत

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, वैशाख ४ – आइतबारदेखि देशैभरि भर्ना अभियान सुरु भएको छ । हरेक वर्ष सरकारले निकै तामझाम र ठूलो लगानी गरेर भर्ना अभियान गर्दै आएको छ । तैपनि सरकारी स्कुलको नतिजा चित्तबुझ्दो छैन, भने सरकारी स्कुलका विद्यार्थी निजी स्कुलमा सरिरहेका छन् । शिक्षा विभागको तथ्यांक अनुसार देशभरि २९ हजार सरकारी स्कुल छन् । तर नतिजा र व्यवस्थापन हेर्ने हो भने २९ हजार स्कुलको इज्जत औँलामा गन्न सकिने केही स्कुलले मात्रै धानिदिएका छन् । 

सरकारी स्कुलमा छोराछोरी पढाउने अभिभावकले मुख खोलेर आफ्ना छोराछोरी सरकारी स्कुलमा पढेका छन् भन्न सक्दैछन्् । किनकी सरकारी स्कुलमा कक्षाकोठा, शौचालय, पढाई, शिक्षकको नियमिता जस्ता कुरा हुँदैनन् । तर केही सरकारी स्कुुल भने यस्ता छन्, जहाँ विद्यार्थी भर्ना गर्नको लागि प्रवेश परीक्षा दिनुपर्छ अनि नतिजा पनि नाम चलेका निजी स्कुलको भन्दा कम छैन । 

सरकारी स्कुलमा पढाई राम्रो हुँदैन भन्ने अभिभावकको सोचलाई काठमाडौं र बाहिरका केही सरकारी स्कुलले गलत साबित गरिदिएका छन् । झण्डै २१ सय विद्यार्थी रहेको काठमाडौं कलंकीको ज्ञानोदय मावि, यसको उदाहरण हो । जहाँको शिक्षा हेर्दा कुनै पनि ठूला र नाम चलेका निजी स्कुलको भन्दा कम छैन् । ज्ञानोदयमा हरेकवर्ष माग भएको कोटा भन्दा दोब्बर संख्यामा भर्नाको लागि आवेदन आउँछ ।

अंग्रेजी माध्यममा हुने पढाई, खेलकुद संगीत जस्ता अतिरिक्त क्रियाकलापलाई महत्व दिने, सस्तो शूल्क लगायतका कारणले ज्ञानोदयले वाहवाही पाएको छ  । गएको वर्षको एसएलसीमा ३ दशमलव ९० जिपिए अंक ल्याउने देशभरका १२ जना विद्यार्थीमध्ये ज्ञानोदयका पनि एकजना विद्यार्थी परेका थिए ।

ललितपुर सैंबुका आर्दश शौल मावि पनि उत्कृष्ट सरकारी स्कुल मध्येको एक हो । जहाँ २०५६ साददेखि कक्षा ९ र १० मा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको थियो । २०६३ सालदेखि सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाई हुन थाल्यो ।  पछिल्ला वर्षमा ९७ प्रतिशत भन्दा धेरै नतिजा स्कुलले दिइरहेको छ ।

सानै कक्षादेखि नै कम्प्युटर क्लास दिइन्छ, विज्ञानका ल्याव पर्याप्त छन्,  पुस्तकालयको सुविधा छ, खेलकुद र संंगीतका अतिरिक्त क्रियाकलाप कै कारण स्कुलले राम्रो नतिजा ल्याएको छ । आदर्श शौल माविमा परीक्षा विभाग, अनुशासन विभाग, अतिरिक्त क्रियाकलाप विभाग, छात्रवृत्ति विभाग, शैक्षिक विभाग गठन गरेर हरेक शिक्षकलाई जिम्मेवारी दिइएको छ । सबैले आफ्ना जिम्मेवारी पूरा गर्छन्, अनि स्कुल अब्बल भएको छ ।

आदर्श शौलको कक्षा १२ सम्म १७ सय ३१ जना विद्यार्थी छन् जसमा ६३ जिल्लाका विद्यार्थी छन् । अन्धा, अपाङ्गता भएका, बहिरा हरुका लागि छुट्टै कक्षाको व्यवस्था गरिएको छ ।

‘स्कुल सुधारको लागि १ वर्षको समय दिएर पुग्दैन  निरन्तर ५ वर्षसम्म शिक्षक, विद्यार्थी र अभिभावकले प्रयास ग¥यो भने गाह्रो केही छैन्, हाम्रा सबै स्कुल हामीले उत्कृष्ट बनाउन सक्छौं’ आदर्श शौल मावि प्रध्यानाध्यापक सरोजभक्त खनालले भन्नुभयो, ‘सरकारी स्कुल भन्दा कम लगानीमा चलेका स्कुल उत्कृष्ट तर सरकारी स्कुल कमजोर भन्ने हँदैन, सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा सबै स्कुल उत्कृष्ट बनाउन सकिन्छ ।’

काठमाडौं वानेश्वरको रत्नराज्य, वालाजुको तरुण मावी, कालिमाटीको निलबाराही, डल्लुको गीतामाता, त्रिपुरेश्वरको विश्वनिकेतन, भक्तपुरको वागेश्वरी लगायतका केही सरकारी स्कूलमा पनि उस्तै आकर्षण छ । यिनै केही स्कुलले देशभरिका २९ हजार सरकारी स्कुलको इज्जत धानिदिएका छन् ।

काठमाडौं बाहिर पनि छन् उत्कृष्ट सरकारी स्कुल

काठमाडौं उपत्यका बाहिरका केही सरकारी स्कुल समेत यस्तै उदहारणीय छन् । शीतलादेवी मावी पोखरा, गणेश मावि बाग्लुङ, वरुणेश्वर मावि ओखलढुंगा, नारायणी नमुना मावि भरतपुर, गुरु मावि मुगु, भगवती मावि डोटी, खुम्जुङ मावि सोलुखुम्बु, आर्दश मावि झापा, सिद्धबाबा मावि तम्घास गुल्मी, सत्यवती मावि तनँहु लगायतका केही स्कुलले सरकारी लगानीको सही सदुपयोग गर्दै विद्यार्थी र अभिभावको मन जितेका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको प्रयासले नै स्कुल अब्बल भएका हुन् । 

‘हामी अभिभावकसँग एकदमै नजिक रहन्छौं, हरेक विद्यार्थीको व्यक्तिगत रेकर्ड अभिभावकलाई दिन्छौं यसले नै हामी राम्रो नतिजा दिन भएका छौं’ झापा मेचीनगरको आदर्श माविका प्रध्यानाध्यापक हेमकुमार खड्का भन्नुहुन्छ, ‘सबै अभिभावको फोन नंबर राखेर अभिभावक डायरी बनाएका छाँैं, २÷३ विद्यार्थी आएनन् भने हामी आफै पनि खोज्न जान्छौं ।’

के कसरी पढाएमा अब्बल हुन्छन् त स्कुल ?

अब्बल भएका स्कुलले अंग्रेजी माध्यमबाट पढाउँछन्, साप्ताहिक या मासिक रुपमा अभिभावसँग भेटघाट गरेर विद्यार्थीको पढाइबारे जानकारी गराउँछन्, स्कुलमा विद्यार्थी नआएमा तपाईंको बालबालिका स्कुल किन आएन भनेर अभिभावकलाई तुरुन्तै खबर गर्छन्, कमजोर विद्यार्थीको सिकाइस्तर बढाउन शिक्षक अभिभावक अनि उसका साथीहरुले भुमिका खेल्छन्, विद्यार्थीलाई कराएर मात्रै नभइ, हाँसीमजाक गरेर पढाउने, स्कुलमा कम्प्युटर, संगीत, खेलकुद, जस्ता अतिरिक्त क्रियाकलापमा ध्यान दिने कुरालाई महत्व दिइन्छ । कक्षाकोठा विद्यार्थी सुहाउँदा, पर्याप्त खेल्ने ठाउँ र सफासुग्घर शौचालय जस्ता कुराले पनि स्कुल उत्कृष्ट हुन्छन् ।

शिक्षामा छुट्याइएको १ खर्ब १६ रुपैयाँमध्ये ८६ प्रतिशत बजेट विद्यालय शिक्षामा खर्च हुन्छ, हिसाब गर्दा एक विद्यार्थीको लागि सरकारले २० हजार रुपैयाँ खर्च गरेको छ । सरकारले खर्च गरेअनुसारको नतिजा दिएमा देशैभरका २९ हजार स्कुल नै अब्बल हुन सक्छन् ।

तपाईं पनि नजिकै रहको सरकारी स्कुललाई राम्रो बनाउने प्रयास गर्नुहोस, स्कुललले विद्यार्थी खोज्नु पर्दैन, विद्यार्थीले नै सरकारी स्कुल खोज्दै आउपुग्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया