MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डोको ह्याट्रिक, थ्रिलिङ गेम, रियल मड्रिड पुग्यो सेमिफाइनलमा

वैशाख ६ – साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा बार्यन म्युनिखलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै रियल मड्रिडलाई ४–२ को जित दिलाए । रियलका लागि अर्को एक गोल मार्को एसेन्सियोले गरे । बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने रियलका सर्जियो रामोसले आत्मघाती गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले गोल गरेपछि बार्यनले अग्रता लियो । ७६ औं मिनेटमा रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि रामोसले आत्मघाती गोल गरे । ८४ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्यन १० खेलाडीमा सीमित भयो । रामोसको आत्मघाती गोलले खेल अतिरिक्त समयमा धकेलियो ।  पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले होम एण्ड अवेका आधारमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । थप गरिएको सयम रियलका लागि फाइदाजनक बन्यो । १०४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–२ को बराबरीको अवस्थामा ल्याए । १०९ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरेपछि रियलले ३–२ को अग्रता लियो । उनको यो गोल च्याम्पियन्स लिगमा एक सयौं गोल हो । ११२ औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल ४–२ ले विजयी भयो र समग्रमा ६–३ को जितसहित अन्तिम चारमा स्थान बनाउन सफल भयो । रियल मड्रिड लगातार सातौं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया