MENU

राजनीति

Ncell Axiata
sagun

यस्तो छ दुधौली नगरपालिकाको चुनावी माहोल : स्थानीय भन्छन् ‘पार्टी होइन, व्यक्ति हेरिन्छ’

नारायण अधिकारी / उज्यालो । 

सिन्धुली, वैशाख ६ – ‘पार्टी होइन व्यक्ति हेरिन्छ, राम्रोलाई भोट नराम्रोलाई चोट’ सिन्धुलीको दुधौली नगरपालिका स्थित ७ नम्बर वडाको चौतारामा बसेर गफिएका स्थानीय बासिन्दाहरु स्थानीय चुनावको विश्लेषण गर्दै यसो भनिरहेका थिए । स्थानीय बासिन्दाको कुरा सुन्दा लाग्थ्यो अब भने दुधौली नगरपालिकाले हाम्रो होइन, राम्रो नेता पाउने भयो, दुधौलीको मुहार फेरिने भयो । स्थानीय बासिन्दाको आशालाई पूरा गर्ने भन्दै विभिन्न दलले दिनहुँ सभा, सम्मलेन, बैठक गरी आफ्ना योजना सार्वजनिक गर्न थालेका छन् । शहर केन्द्रित नेताहरु वैशाख ३१ हुने स्थानीय चुनावका लागि भन्दै गाउँ गाउँ पुगिसकेका छन् । अघिपछि मरेको बाख्रोलाई उपियाँले छाडे झैं चट्क्क छाडेर काठमाडौं केन्द्रित राजनीति गर्नेहरु पनि यतिबेला गाउँ केन्द्रित हुन थालेका स्थानीय बासिन्दाले बताएका छन् । 

सडक, चोक तथा घरका छानामा रुख, सूर्य, हँसिया हथौडाका झण्डाले रातै हुन थालेका छन् । चुनावी माहोल दिनहु बढ्दै गएको स्थानीय बासिन्दा शैलेन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार प्रमुख तीन दलमा कार्यक्रम गर्न तछाड मछाड नै भएको छ । दिनुहँजसो मोटरसाइकल ¥याली र सभाले दुधौली नगरपालिका गुञ्जायमान छ । 

दिनहुँ जसो दुधौली नगरपालिकामा चुनावी कार्यक्रम हुने गरे पनि आउँदो चुनाव कसले जित्छ भन्न सकिने अवस्था छैन । अहिलेसम्मको चुनावी गतिविधि हेर्दा प्रमुख तीन दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर इतिहास केलाउने हो भने यो पटक पनि एमालले नै चुनाव जित्ने देखिन्छ । तर यो पटक इतिहास र पार्टी भन्दा पनि व्यक्ति छनौटमा ध्यान दिने स्थानीय बासिन्दाको बिचारले अहिलेनै यसले जित्छ अनुमान गर्न सक्ने अवस्था छैन ।

यस्तो छ दुधौली नगरपालिकाको इतिहास

सिन्धुलीमा दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी ९ वटा स्थानीय निकाय छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुधौली नगरपालिका १ नम्बर क्षेत्रमा पर्छ । १ नम्बर क्षेत्र एमालेको गढ क्षेत्र मानिन्छ । २०७० सालमा भएको संविधान सभाको चुनावमा यस क्षेत्रबाट एमालले जितेको थियो । त्यो भन्दा अगाडिको २०६४ सालको संविधान सभाको चुनावमा पनि एमालले नै जितेको थियो । त्यस्तै २०५४ सालमा भएको स्थानीय चुनावमा पनि एमालेले एक नम्बर क्षेत्रका सबै सिट जितेको इतिहास छ । तर अहिलेसम्म एमालेलाई जिताए पनि परिवर्तनको महसुस नपाएको भन्दै स्थानीय बासिन्दाले अब पार्टी भन्दा पनि व्यक्ति केन्द्रित भएर भोट दिन विचार गरेका छन् । 

मेयर पदमा सबै पार्टीले आआफूले जित्ने दाबी गरेका छन् । तर दुधौली नगरपालिकामा रहेको १४ वडा मध्ये ७ वडामा एमाले, ४ वडामा माओवादी केन्द्र र ३ वडा कांग्रेसले जित्ने भन्दै पार्टी भित्रै अनुमान गर्न सुरु भइसकेको छ । 

यस्ता छन् मेयरका दाबेदारहरु

सिन्धुलीको तराईसँग सिमाना जोडिएको समथर दुधौली नगरपालिकामा मेयर पदमा दाबेरदारी गर्नेहरु धेरै छन् । यस ठाउँको कृषियोग्य जमिन, वनजंगल, ढुंगा, बालुवा खानी जस्ता आर्थिक क्षेत्रहरु धेरै भएको विकास गर्न पनि सहज हुने भन्दै नेताहरु टिकटका लागि दौडधुपमै व्यस्त छन् । टिकट दौडधुपमा लागे पनि अहिलेसम्म एमालले बाहेक अन्य पार्टीले मेयर पदमा उम्मेद्वारको टुंगो लगाउन सकेको छैन । एमालेले घनश्याम राउतलाई मेयर पदमा अघि सारेका छ । २०५४ सालको स्थानीय चुनावमा दुधौलीको वडा अध्यक्ष जितेका राउत आफूलाई दुधौली नगरपालिकाको मेयरको पहिलो दाबेदारमा राख्छन् । दुधौली नगरपालिका–९ का स्थानीय बासिन्दा राउत एमाले जिल्ला कमिटी सदस्य हुन् । विकास निमार्णको योजना बनाउन चतुर मानिने राउतको प्रभाव पनि राम्रै छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर काम गरेका राउतलाई दुधौलीका बासिन्दाले राम्रै छवि भएको नेताका रुपमा चिन्छन् । उनका प्रतिस्पर्धी मानिएका एमालेका लक्ष्मण कार्कीको सहयोग रहेकाले केही राहत मिल्ने अड्कल बाजी स्थानीय बासिन्दाको छ । 

एमालेका राउतलाई चुनौती दिँदै मेयर पदमा माओवादी केन्द्रका उम्मेद्वार विजयी हुने केन्द्रको अड्कलबाजी छ । दुधौली नगरपालिकामा दुनुवार बस्ती धेरै भएको र दनुवार समुदायमा आफ्नो पक्कड रहेको भन्दै माओवादी केन्द्र आफू विजयी हुने विश्वासमा छ । तर माओवादी केन्द्रले अहिलेसम्म उम्मेद्वारको भने टुंगो लगाउन सकेको छैन । 

माओवादी केन्द्रबाट मेयरको प्रमुख दाबेदारको रुपमा डम्बर कार्की देखिएका छन् । दुधौली नगरपालिका–११ का स्थानीय बासिन्दा कार्की निडर र हकी स्वभावका नेताका रुपमा चिनिन्छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्यसमेत रहेका कार्कीले एमालेबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । माओवादी द्वन्द्वकालको मध्येतिर माओवादीमा प्रवेश गरेका कार्की वैद्य माओवादी हुँदै माओवादी केन्द्रमा फर्किएका हुन् ।

राजनीतिक भिजन भएका नेताका रुपमा चिनिने नेता कार्कीसँगै दिनेश अधिकारी दनुवार पनि आफूलाई माओवादी केन्द्रबाट मेयर पदको दाबेदार ठान्छन् । दिनेश अधिकारी नगरपालिकामा करारमा योजना अधिकृतका रुपमा काम गरिरहेका छन् । मेयरको उम्मेद्वारमा दाबी गरिरहे पनि उहाँले अहिलेसम्म जागिरबाट राजीनामा दिनुभएको छैन ।

माओवादी केन्द्र जस्तै कांग्रेसले पनि मेयर पदको उम्मेद्वारको टुंगो अहिलेसम्म लगाउन सकेको छैन । कांग्रेसबाट तीन जना मेयरको दाबेदारका रुपमा देखिएका छन् । 

दाबेदार मध्ये पहिलो नम्बरमा गंगाप्रसाद गिरीको नाम छ । उनी दुधौली नगरपालिका–९ का स्थानीय बासिन्दा हुन् । २०२५ सालदेखि राजनीतिक यात्रा सुरु गरेका गिरी पाको र अनुभवि नेतामा गनिन्छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीले दुधौलीबाटै पाँच पटकसम्म वडाध्यक्ष जितिसकेका छन् । 

गिरीलाई चुनौती दिँदै शिक्षण पेशा नै छाडेर चुनावी मैदानमा उत्रने तयारीमा छन् मोहन शाही ठकुरी । दुधौली नगरपालिका–९ का ठकुरी लदाभिर क्याम्पस खिरेनीका शिक्षक हुन् । शिक्षक संघ सिन्धुलीमा समेत रहेर काम गरेका शाहीले २०४७ सालबाट सक्रिय राजनीति सुरु गरेका थिए । २०५८ सालबाट शिक्षण पेशा थालेका शाहीको त्यसपछि भने सक्रिय राजनीतिमा केही कमी आएको छ । शाही बौद्धिक नेताका रुपमा चिनिन्छन् । 

कांग्रेसबाटै दाबेदारको तेस्रो रुपमा देखिएकी छिन् गंगा दाहाल । दुधौली नगरपालिका–७ कि दाहाल अहिलेसम्म आफू महिला शसक्तिकरणकै मैदानमा रहेको बताउँछिन् । कांग्रेस महिला संघ सिन्धुलीको अध्यक्षसमेत रहेकी दाहाल हाम्रो प्रयास नेपाल संस्थाकी अध्यक्ष पनि हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया