MENU

समाज

Ncell Axiata
USAID

​कार्यालय चार ठाउँमा, भिड एकान्तकुनामा

मुना श्रेष्ठ/उज्यालो ।

काठमाडौं, वैशाख ७ – यातायात व्यवस्था कार्यालय एकान्तकुना । कोही गाडी तथा मोटरसाइकलको नविकरण गराउन आएका, कोही चालक अनुमतिपत्रका फर्म भर्न आएका त कोही परीक्षा दिन आएका । कोही चाही चालक अनुमतिपत्र लिन आएका । सबैमा लाइन । सबैमा भिड । कोही बिहानैदेखि लाइनमा बसेर लखतरान भएका अनुहार । तरपनि आफ्नो आवश्यकता पूरा गर्नका लागि धैर्य गरेरै भएपनि लाइनमा । अगाडिको ढोकाबाट कोही अरु नै कामले भित्र छिरे भनेपनि आफ्नो पालको उछिनेको होकी भनेर होहाल्ला गर्दै । ‘बिहान सात बजेदेखि आएर लाईनमा बसेको अहिलेसम्म पालो आएको छैन’ सिनामंलबाट यातायात कार्यालय एकान्त कुनामा चालक अनुमतिपत्रका लागि आउनुभएका टीकाराम परियारले भन्नुभयो ‘आफ्नो मान्छेलाई बिच बिचबाट घुसाई रहेका छन् ।’ सिनामंगलका परियारलाई चावहिलमा पनि यातायात व्यवस्था कार्यालय छ भन्ने कुरा थाहा नै थिएन । पाटनका हरि महर्जन आफ्नो श्रीमतीको चालक अनुमतिपत्र लिनका लागि लाइनमा बसेको ३/४ घण्टा भयो । ‘तर पालो आएकै छैन’ उहाँले भन्नुभयो । उहाँलाई यातायात कार्यालयको काम गर्ने परिपाटी नै मन परेको छैन । ‘यहाँको कर्मचारीलाई एउटा रसिद काट्न झण्डै १० मिनेट लगाउँछ, आफ्नै अगाडि आइसकेको फाइल हेर्न पनि आनकानी गर्छ फेरी पनि काम गराउनका लागि यहाँ नआउनका लागि विकल्प छैन’ उहाँले भन्नुभयो ।

मोटरसाइकल तथा गाडी दर्ता र सवारी चालक अनुमती पत्रका लागि तीन ठाउँमा यातायात व्यवस्था कार्यालय थप गरिएको छ । तरपनि ललितपुरको यातायात कार्यालयमा नै सेवाग्राहीको भिड लाग्ने गरेकाछन् । कतिलाई त अन्य ठाउँमा पनि यस्तै सुविधा दिने यातायात कार्यालय छ भन्ने नै थाहा छैन । त्यसैले पनि एकान्तकुनाको पुरानै यातायात कार्यालयमा नै सेवाग्राही आउने गरेका छन् ।

‘हैन अन्य ठाउँमा पनि मानिसको भिडभाड छ तर पुरानो कार्यालय भएर होला यहाँ चाहिँ अन्त भन्दा अलि भिड हुने गरेको छ’ यातायात कार्यालयका उपसचिव तेजनारायण यादवले भन्नुभयो । उहाँका अनुसार थप गरिएका यातायात कार्यालयमा पनि एकान्तकुनाको  कार्यालयले जस्तै काम गर्छ तर पुरानो भएकोले यहाँ सेवाग्राही बढी आउने गरेका छन् । यहाँबाट ट्रायल दिई सकेका, यहिँ दर्ता भएका सवारी साधन तथा यहिँबाट चालक अनुमतिपत्र लिएकाहरु पनि यहिँ आउने गरेका छन् । ‘अन्य ठाउँमा थप यातायात कार्यालय खुले पनि सेवाग्राहीलाई सास्ती भएकै छ’ उहाँले भन्नुभयो ‘थप गरिएका कार्यालायमा पनि भिड यस्तै छ कर्मचारी र सेवाग्राहीलाई उस्तै सास्ती छ ।’ उहाँका अनुसार अञ्चलहरुमा नियमित रुपमा सेवा प्रवाह नभएसम्म यहाँको भिड कम हुँदैन । आञ्चलहरुमा नियमित सेवा प्रवाह नभएकाले पनि एकान्त कुनामा यती धेरै भिड लागेको उहाँले बताउनुभयो । उहाँले जनसंख्याको वृद्धि तथा अञ्चलहरुमा नियमित रुपमा सेवा प्रवाह नभएकोले आफूहरुले पनि राम्रोसँग सेवा दिन सकेको छैन भन्नुभयो ।

‘नेपाल अब संघीयतामा गएको छ, नागरिकता जस्तै चालक अनुमतिपत्र तथा सवारी साधनको दर्ता प्रणली गाउँपालिका तथा नगरपालिकाबाट नै गर्न सकियो भने अहिले हुने भिड कम हुने छन्’ यादवले भन्नुभयो । विभिन्न कारणले सेवा प्रवाह रोक्नुपर्ने बाध्यात्मक परिस्थिति हुँदा पनि त्यसपछि मान्छेको भिड पनि बढ्ने गरेको उहाँले जानकारी दिनुभयो । आफूहरु आम नागरिकले सहज रुपमा यातायात कार्यालयबाट पाउने सेवा पाउन सकुन् भनेर लागि परेको पनि उहाँले बताउनुभयो । उहाँले अनलाइन मार्फत टोकन लिन सकिने भएकोले दलालको फन्दामा नपर्न पनि आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया