MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

पर्वतले कसेको गाँठो

निबन्ध

रमेश भट्टराई ‘सहृदयी’ -

तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । 

भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र प्रेम द्रवित भएर मेचीदेखि महाकाली बगेका छन् । झरनाका आभुषणले रजनी बाधा हटाउने दिव्य ज्योति जादुको सामथ्र्य लुकाएको छ । हिमाली शिरताजको हिम स्वच्छताले मितेरी गाँस्ने पर्वतीय कथासँग शिव पार्वतीको अकाट्य नाता घनिभूत भइरहन्छ । 

समथर फाँटमा सीता र जनकको आदर्श भाव प्रवाहित छ । प्रकृतिको विलक्षण कला सङ्गम नेपाली वक्षस्थलमा सजिएका पर्वत श्रृङ्खलाले अतिथिलाई डाकिरहन्छ । पहाडको कापबाट फुटेको मूल होस् या अलिकति रसाएर तप्केको थोपा– आखिर हर्हराएको आँतलाई शितलता दिन कञ्जुस्याई हुँदैन ।  

कतै अग्ला अनि कतै होचा पर्वतीय सङ्गठनमा प्रकृतिले निर्बाध रमाउँदा सिंहनाद हुन्छ, हजारौँ चरीका चिरबिर आवाज घन्किन्छन्, मृगशावकले मातृस्तनमा मुख जोतिरहन्छ, रेड पाण्डाले टुसा टोकिरहन्छ, काँडे भ्याकुर नाचिरहन्छ । लप्सीमा मलसाँप्रोले झुत्ती खेल्छ, सिसौ सालका पातले प्रकृतिमा स्वच्छ समीरसँग पर्वतका आडमा वनदेवीको भजन गुनगुनाउँछन् ।

रम्य तथा स्वास्थ्यबद्र्धक अनुपम परिवेशको मूल आधार हो, पर्वत । मनोहर चित्ताकर्षक पर्वतीय छातिमा जडिबुटिका अथाह भण्डारले मूल्य खोजिरहेका छन् । खनिज पदार्थका सम्भाव्यताले सिँगारिएको नेपाली पर्वतीय भूबनोटमा भेडापालन फस्टाउँछ, मौरीले रस बनाउँछ, जीव जनावरले खर्कमा निर्बाध चर्न पाउँछन् । हरेक किसानका गाला खाइलाग्दा हुन्छन् । लक्ष्मीले कृपा गरिरहन्छिन् । सगरमाथाले चन्द्र सूर्य अङ्कित नेपाली ध्वजालाई फहराउँदा नेपाली अटलपनलाई हृदयको ढुकढुकीमा सजाएर कञ्चनजङ्घा, कुम्भकर्ण मुस्कुराउँछ । भूक्षय रोक्न प्रकृतिको सुरम्य संसार बनाउने पर्वतसँग नेपालले भूपरिवेष्ठित परिवृत्तमा नाम लेखाएको छ । 

हिमाल, पहाड, तराई, उपत्यका, चुरे पर्वतसँग नेपाली नाम छ । अनेकतामा एकताको प्रेमी हात फैलाएर सबैभन्दा अग्लो ह्यात्रुङ झरनाको कलकल पानीसँग तेह्रथुम मुस्कुराउँछ । पर्वतका वक्षस्थलमा सेती नदीको झरना नाच्छ, टिपताला छहरा छिल्लिन्छ, रुप्छे झरनाले डोटेलीलाई मुस्काउँछ, सहस्रधारा झरनाका पानीमा पर्वतबासी लोलाउँछ । तल झरेर नागबेली बनेको माई खोलाले बगरमा बालुवा चाल्न डाक्छ । शान्त स्पन्दनले कोक्रो बुन्ने बाँस बनाउँछ, चिता जलाउने वृक्ष उमार्छ । 

जीवनचक्र चलाउने पर्वतीय चित्ताकर्षक नगरीमा नेपालभूमिले स्वाभिमानलाई मजबुत बनाउँछ । कालीगण्डकी, बूढीगण्डकी, सुनकोशीको– सुनखानी; मुस्ताङ थाकखोला, माजरेखोलाको– नुनखानी; चितवन, दाङ, सल्यान, काठमाडौँका–कोइला खानी हुन् या गोरखा, पालुङ, डडेलधुरामा पाइने दुर्लभ धातु–‘निओवेरस’; आखिर पर्वतस्थलभित्र नेपाली समृद्धिलाई लल्कारी रहेकै छन् ।

यहाँका पर्वतले अभ्रख, सिसा, फलाम, चाँदीजस्ता विविध मूल्यवान खनिज सम्पदालाई जमिनभित्र लुकाइरहेका छन् । मधुमीठासताको स्वाद दिलाउने फल अनि रुष्ट मनलाई सन्तुष्ट तुल्याउने पुष्प सौन्दर्य पहाडी पखेरीमा छरिएका छन् । यस्तो पनि लाग्छ सायद संसारको सृष्टि निर्माणको अनुभवलाई भगवान्ले सोचेर निर्माण गरेको कुनै देश छ भने त्यो हो– नेपाल । विज्ञानको जादुलाई हाँक्न सक्ने सम्भाव्यतासँग दीनतालाई मिल्काएर समृद्धिको बिहानीले नेपाली भविष्यलाई कायापलट गराउने पर्वतीय सामथ्र्य कति गर्विलो छ ! 

आकारमा, क्षेत्रफलमा सानो छ तर नेपाली धरातलमा, वातावरणीय स्पन्दन छचल्किन्छ । यहाँ वनस्पति, जीवजन्तुमा अनेकता छ, माटोमा पृथकता, खनिजका अथाह खानी अनि वातावरणीय भिन्नताको सङ्गम छ । यहाँ समुद्री सतहको ५९ मिटरको मुसहरनिया क्षेत्रदेखि ८,८४८ मिटरको सर्वोच्च शिखरको कला विन्यास छ । दक्षिण तराईका भावर, चुरे, दून अनि महाभारत पर्वतदेखि बेँसी, होचा र क्रमशः अग्ला पहाडको टुप्पामा हिमालय श्रृङ्खला मुस्काराएको दृश्य कति मनमोहक छ । 

१६,००० फिटभन्दा अग्ला टाकुरामा बाह्रै मास हिमच्छादित सौन्दर्य टल्किन्छन् । ३,००० फिटदेखि १०,००० फिटसम्मका हिम छाउनीले नढाकिएका पर्वतीय सौन्दर्यसँग हरियाली स्वर्गनन्दनको अनुभूति छ । अतः उत्तरमा पर्वतीय खम्बाले नेपालभूमि सदैव सुरक्षित छ । दक्षिणले अन्नभण्डारद्वारा नेपाली सन्ततिलाई भोक मार्ने ध्याउन्न छोड्दैन । उसको लगावमा प्राणी हितका मूलमन्त्र समाहित भई नै रहन्छन् । 

भौगोलिक विविधताले सम्पन्न नेपालीका अँगेनामा पाकेको खानासँग जिब्रोको आकर्षण छ । उत्तरमा हिमालको पवन अनि दक्षिणमा खाद्यान्न भण्डार तराईले पर्वतीय वासन्ती पवनलाई फोक्सोसँग प्रेम नगराए रोगले छोप्छ । मृतसञ्जीवनी अथाह सर्वाेषधी लिएर पर्वतका कुनाकन्दरामा धन्वन्तरीले उद्योग सञ्चालनको तिव्र आशा राखिरहन्छन् । पर्यटकका आँखा लोभ्याउने, थकित मनलाई अमृत रस पिलाउने, थकान भगाउने अनि मानवता, भाइचारा र एकताको गाथाका प्रेम रसले भिजाउने अडिग पर्वतीय नेपाली सानमा आशा छ, समृद्धि छ, विश्वास छ । 

हिमालले हिउँ पगाल्दा पहाडी फरियाले पहेँलिनु पर्दैन । पहाडले झरना, छाँगा–छहरामा गट्टा खेल्दा तराईका फाँटले ठाँटसँग धानबालामा मौरी डुलाउन पाउँछन् । कृषिप्रधान मुलुकको स्वार्णाक्षरित नामले तब त मुरझाउनु पर्दैन । भोकमरीको कुपोषित खबरलाई हिस्सेदार बन्नलाई नै नाकाबन्दी लगाउने ध्येयमा अन्नभण्डारलाई जलसम्पदा अटुट, निर्बाध अर्पिरहन्छन्– ती पर्वतराज । ‘हरियो वन नेपालको धन’ उखानलाई उखानमा अल्झिरहेको कहाँ रुचाउँछ पर्वतले ! विश्वलाई चकित पार्ने नदी, हिमनदी छङ्किरहेका छन् । 

विश्वमै ब्राजिलपछि दोस्रो जलनिधिको सम्पन्नता नेपाल आमाको काखमा छ । सयौँ ताल तलैया अनि पोखरीले हरियाली सुगन्धमा कैयौँ सुलभ तथा दुर्लभ वन्य जीवको प्राणसँग सम्बन्ध गाँसेको छ । पर्वतको अटल पहिचानसँग नेपाली सौन्दर्य सेरोफेरो चम्किलो छ । प्रकृतिले जुट्न सिकाउँछ हामी फुट्न अनि सत्यतालाई भुट्नतिर लहसिन्छौँ । ढुङ्गाको भर माटो माटाको भर ढुङ्गो हुँदा प्रेम पर्वत निर्बाध ठडिएको छ । 

पर्वतका एउटा कुनाबाट अलिकति माटो पाउँदा वृक्ष बिजले जीवनलाई अङ्कुरित गर्छ । स्याल र बाघले विपरित गुफालाई बासस्थान बनाउँछन् । प्रकृतिको सञ्चालन चक्र चल्छ । मलसाँप्रो नास्पाती खान वर पिपलको चौतारीमा ओहोरदोहोर गरिरहन्छ । नेपाल आमा सबैलाई नेपाली मन बनाएर चिन्छिन् । अनेकता छ, तर एकताले रम्छ । प्रकृतिले गुन्द्रुकमा स्वाद दिन्छ, ढिँडोमा आश्वादन भर्छ । मीठासता सृष्टिको दृष्टिमा झल्किन्छ । 

पाखोमा फिलुङ्गे छरेर, ताप्लेजुङको चिराइतोले बैतडीको ज्वरोलाई आराम दिने नेपाली मन कति दयालु छ । विश्वलाई तान्ने जादु छ । चाञ्चल्यताले अतिथि मन मोहित भइरहन्छ । लक्ष्मीकृपाको झोलीलाई निसङ्कोच स्विकार्न नजान्दा सतीश्रापको भ्रमित आरोपलाई नतमस्तक सुन्नैपरेको कस्तो लाचारी विडम्बना, सम्झँदा पनि मन कुँडिन्छ । हामीले नबुझ्दा या बुझ्न नसकिरहँदा उता परदेशीले कति डाहा गर्छ । मन भुटभुटिँदो हो सायद । किनकि, यहाँ त, जलवायु परिवर्तनको भयङ्कर त्रासदी होइन पारिस्थितिक सन्तुलनको शक्ति समाहित हुन्छ । बरु हामी सिङ्गो प्रकृतिलाई फोहोरको टोकरी बनाइरहेका छौँझैँ लाग्छ । मरूभूमिको तातो रापमा पर्वतको स्वच्छन्द पवनले मूल्य कति अपार होला तरहामी हाम्रै हिरालाई कोइला देखिरहेका छौँ ।

पहाडका टाकुरामा ढाक्रे दाइलाई तक्माले ढाकर अड्याउँदा लक्ष्य प्राप्ति भएको अनुभूति हुँदै थियो तर अब मोटरमा गुड्ने अभिलाशा त्यहाँ पनि छ । कृत्रिमता र यान्त्रिकताको भेलले नछोप्ने निश्चल मनलाई पर्वतीय शिक्षाको प्रभाव छ । झोपडीले नैतिकता र कर्तव्यलाई उखेल्न दिएको छैन । नेपालीपना पर्वतका कन्दरामा कुँजिएका छन्, हामी बडप्पनमा तेल घस्दै छौँ । अतिथिदेवो भवः मन्त्र गुञ्जायमान छ– पर्वत मालाहरूमा । 

हृदयका घडाबाट अमृतको बहार युगौँदेखि चलिआएका छन् । आकाशझैँ खुल्ला मनले रवाफिला पिज्जाको स्वादभन्दा स्वदेशी ढकनीको स्वादमा होमस्टेलाई स्विकार्छ । ट्रेकिङ चलाउँछ, प्याराग्लाइडिङ उडाउँछ, मोटोपन घटाउँछ । सन्तुलित भोजनको सभ्यतालाई सिकाउँछ । त्यहाँ न मधुमेहको चर्को झापड न प्रदूषणको कर्कश आवाज छ । वर–पिपलको छहारीको शितलतासँग अक्सिजनको मात्रालाई देखाउँछ । सदियौँका विज्ञानलाई निसङ्कोच भौतिकतामा राजहाँस बनेर दूध र पानी छुट्याउँछ । 

कुटो, कोदालो, सोत्तर, गोबर गर्ने श्रमजीवी कर्मठका शरीरले रोगको बोझलाई स्विकार्न आवश्यक ठान्दैन । भौतिकताको पराकाष्ठाले निम्त्याएको नरभक्षी स्वभावमा भन्दा मुर्चुङ्गा, खैजडी, बालुन या त धान नाच, मारूनीकोमौलिक नेपालीपनामा पर्वतको पहिचान गाँसिन्छ । पराई भेष र संस्कृति जान्दैन, प्रेम, बन्धुत्वमा पर्वतीय अटलपना छ । गुन्यौँ चोलीका तुनामा गाँसिएको तारेभिरको प्रेम पर्वतीय कन्दरामा झ्याउरे लयमा अनि हाक्पारे शैलीसँग गुञ्जिरहेको हुन्छ । सेलोमा झुम्ने काइँला दाइले छठी माइको मन्दिरमा धुप नबालेको कुनै साल हुँदैन । आज विश्वले नेपाली पर्वतीय सौन्दर्यमा थुक निल्दै गर्दा हामी ह्वाइट हाउसको छायाको स्वप्ना देख्दै छौँ । 

मारुनी, सङ्गीनी छोडेर पप र र्‍यापका भड्किलो दुनियामा होमिदै छौँ । तर, पराइकोे आकर्षणमा लिसो लाग्दा अपमानका लप्का खाइरहेको विडम्बना छ । अनि सगरमाथाले सोध्ला– मेरो पहिचान के हो ? मेरो आफ्नो स्वाभिमान कहाँ छ ? मेची महाकालीले गाँसेको सम्बन्धमा जाज्वल्यमान भविष्यचित्र चित्राङ्कित छ । विश्वलाई एउटै देशले नमुनाचित्र कोरिरहँदा हामी कृत्रिमता, छलछाम अनि संवेदना हराएको समाजसँग आकर्षित बन्दै छौँ । तब तहिमाल, पहाड र तराईको एकतामा विजयी झण्डा फहराउने स्थल हो –पर्वत । समस्याका समाधानको टेबलमा शितल अमृतपान गराउने क्षमता छ पर्वतमा । क्रोधाग्निमा प्रेमरसको लाली थप्ने नेपाली सान छ यहाँ । तब त लाग्छ, थकानका पसिना ओभाउन आराम गर्ने दिव्य स्थान हो, नेपाल र नेपालीपनाको दह्रिलो आड हो–सौन्दर्य एकताको नेपाली सभ्यता । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

  • थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ?

    म पत्रकारिताको विद्यार्थी । पत्रकारिता पढ्न मैले सात वर्ष खर्चिसकेको छु । मैले सात वर्षमा सिकेका कुरालाई तिखार्ने थालेको रुपमा उज्यालो रेडियो नेटवर्क पाएको छु ।

  • मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ?

    मुसाले टोके स्ट्रेप्तोब्यसिलरी र स्पाईरिलम गरी दुइ प्रकारका ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुन सक्छ । यी ब्याक्टेरियाहरु संक्रमित मुसाले टोके वा चिथरे मात्र पनि मानिसमा सर्न सक्छ । यसलाई समग्रमा र्याट बाइट फिवर भनेर बुझ्ने गरिन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया