MENU

समाज

Ncell Axiata
USAID

कतै कालोपत्रे सुरु, कतै नयाँ ट्रयाकको सर्भे चल्दै

किरण लोहनी/उज्यालो ।

गोरखा, वैशाख ८ – झण्डै ६ वर्षअघिको कुरा हो, देशको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लाहरुलाई जोड्ने गरि सडक बन्दैछ र त्यसको एउटा खण्ड गोरखा हुँदै पश्चिमतिर जान्छ भन्ने चर्चा जिल्लामा ब्याप्त थियो । चर्चा मात्रै होइन, एकाध महिनामा हातमा बाटोको नापजाँच गर्ने उपकरण बोकेर प्राविधिकहरु गाउँमा ओहोरदोहोर पनि गर्न थाले ।

“बाटो बन्छ कि क्या हो भन्ने त लाग्यो” तान्द्राङका वालकृष्ण लामिछानेले त्यतिबेलाका दिन सम्झँदै भन्नुभयो, “तर फेरि सरकारी काम हो, के भर भन्ने पनि लाग्यो ।” उहाँजस्तै धेरैले शंका गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखाभित्र पर्ने सडकको ट्रयाक बनाउने लगायतका काम यति तीब्र रुपमा भैरहेको छ कि, सरकारी प्रयासमै पनि यति छिट्टै पूर्वाधार निर्माणको काम हुँदो रहेछ भनेर धेरैलाई अचम्म लागेको छ । धादिङको सल्यानटारबाट गोरखामा जोडिने लोकमार्गले गोरखालाई ६३ किलोमिटर समेट्छ भने पालुङटारको ठाँटीपोखरी हुँदै चेपे नदी पारि लमजुङको धमिलीकुवामा गएर जोडिन्छ ।   

संयोग कस्तो परेको छ भने, जिल्ला सदरमुकामबाहेकका जिल्लाका अरु दुई मुख्य ब्यापारिक केन्द्रलाई पनि यो सडकले जोड्ने छ । जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाटबाट जिल्ला प्रवेश गर्ने सडक अर्को ब्यापारिक केन्द्र पालुङटार हुँदै लमजुङ जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखामा ६३ किलोमिटर सडक बन्नेछ । कतिपय ठाऊँमा पुरानै सडकलाई फराकिलो बनाइएको छ भने केही ठाउँमा नयाँ ट्रयाक खनिएको छ । आरुघाट हुँदै गोरखा सदरमुकाम जोड्ने सडकको १३ किलोमिटरखण्ड भने कालोपत्रेको तयारीमा छ । “पिच नहुँदै त गाडी चलाउन यत्ति मज्जा छ, पिच भएपछि फराकिलो सडकमा गाडी चलाउँदाको अनुभव गज्जब हुने भो” जिल्लामा झण्डै २ दशकदेखि गाडी चलाउँदै आएका चालक पुतबहादुर गुरुङ उत्साहित हुनुहुन्छ । 

लोकमार्गको ६३ किलोमिटरमध्ये १३ किलोमिटर सडक असार मसान्तसम्ममा कालोपत्रे गर्न लागिएको हो । आरुघाटदेखि तान्द्राङको ओख्लेसम्मको सडक कालोपत्रे गर्ने तायारी थालिसकिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पश्चिम खण्डका प्रमुख सूर्य भाटले बताउनुभयो । सो खण्डमा सडक चौडा पार्ने काम लगभग सकिएको छ । 

यस्तै ओख्लेदेखि निवेलसम्मको झण्डै १६ किलोमिटर सडक चौडा पार्ने काम पनि धमाधम भैरहेको छ । यस खण्डको कालोपत्रेको काम पनि अबको दुई वर्षभित्र सक्ने लक्ष्य रहेको उहाँको भनाई छ । निवेलदेखि ठाँटीपोखरीसम्मको २८ किलोमिटर सडकको काममा भने ढिलाई भएको छ । “त्यहाँ सडक विभाग अन्तर्गत नै गोरखा रहेको कार्यालयले पहिलेदेखि नै काम गरिरहेको छ” भाटले भन्नुभयो, “त्यहाँ खोप्लाङमा सामुदायिक वनको क्षेत्र पर्ने रहेछ, त्यो वन सम्बन्धी कुरा टुंगिएर सडक हामीलाई हस्तान्तरण भएपछि काम थाल्छौं ।” त्यसबाहेक ठाँटीपोखरीदेखि चेपेखोलासम्मको बाँकी ६ किलोमिटर सडक पनि चौडा पार्ने काम भैरहेको भाटले बताउनुभयो । गोरखाको ६३ किलोमिटर सडकलाई आरुघाट–ओख्ले, ओख्ले निवेल र निवेल ठाँटीपोखरी गरि तीन खण्डमा बाँडेर  काम भैरहेको छ । निवेल ठाँटीपोखरीबाहेक अरु खण्डको काम भने तीब्र रुपमा भैरहेको छ । 

बूढीगण्डकी जलाशयले डुब्ने सडकको नयाँ ट्रयाक

मध्यपहाडी लोकमार्ग अन्तर्गत बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने सडकको सट्टा नयाँ ट्रयाक बनाइने भएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको जलाशयका कारण लोकमार्गको झण्डै १८ किलोमिटर सडक डुवानमा पर्ने भएपछि नयाँ ट्रयाक बनाउन लागिएकोहो । धादिङको कटुञ्जेबाट खहरे हुँदै गोरखाको आर्खेत निस्कने गरि नयाँ ट्रयाकको सर्भे शुरु भैसकेको मध्यपहाडी लोकमार्ग आयोजनाको पश्चिमखण्डका प्रमुख सूर्य भाटले बताउनुभयो । जलाशय बन्ने क्षेत्रबाट ६ शय मिटर माथि पर्ने गरि ट्रयाक बनाउन लागिएको डुवान क्षेत्रमा पर्ने जग्गाको ६ शय मिटरभन्दा माथि कटुञ्जेबाट नयाँ ट्रयाक बनाइन्छ । आर्खेतबाट गोरखाको तान्द्राङ वा घ्याम्पेसालमा अहिले बनिरहेको ट्रयाकमा जोडिने गरि परामर्शदाता मार्फत सडकको सर्भे भैरहेको भाटले बताउनुभयो ।  

आयोजनाले आरुघाटदेखि तान्द्राङको ओख्लेसम्मको सडक यही आर्थिक वर्ष कालोपत्रे गर्ने तयारी गरेको थियो । अब नयाँ बन्ने ट्रयाकलाई ओख्ले वा घ्याम्पेशाल जहाँ छोटो पर्छ त्यतै जोड्ने आयोजनाको तयारी छ । तर आरुघाटदेखि ओख्लेसम्मको सडक भने कालोपत्रे गरिने छ । ग्राभेल लगायत सबै तयारी सकिएकाले सो खण्डको अधिकाँश भाग डुवानमा पर्ने भएपनि कालोपत्रे भने गरिने भाटको भनाई छ । बूढीगण्डकी आयोजना बन्न र अहिले डुवानमा पर्ने भनिएको सडकक्षेत्रमा जलाशय बन्न ८/१० वर्ष लाग्ने भएकाले कालोपत्रे भने गरिने छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ओख्लेदेखि भालुस्वाँराको नयाँपुलसम्म ट्रयाक बनाउने लगायत काम पनि तीब्र गतिमा भैरहेको छ । भालुस्वाँराको नयाँपुलबाट ठाँटीपोखरीसम्मको खण्डको काम भने ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले गरिरहेको छ। 

सडकले घर भत्किएकाहरुका आफ्नै पीडा

आयोजनाले गोरखाभर सडक निर्माणका लागि यो वर्ष ७३ करोड रुपैया विनियोजन गरेको छ । मध्य पहाडी लोकमार्गको चौडाई १० मिटरको हुनेछ । त्यसमध्ये ७ मिटर त कालोपत्रे मात्रै हुनेछ । तर घर छेऊबाट देशको पूर्व पश्चिम जोड्ने फराकिलो सडक बनाउने काम चलिरहँदा जिल्लाका केही घरपरिवार भने निराश छन् । मध्यपहाडीकै कारण घरखेत गुमाएर सुकुम्वासी बन्ने अवस्थामा पुगेका गोरखा मसेलका जीवनाथ घिमिरे गाउँबाटै विस्थापित हुनुभएको छ । “गाउँका अरु ५०/६० घर पनि भत्काउनु पर्ने भनिएको छ” स्थानीय रमेश पाण्डेले भन्नुभयो, “तर सडकसीमा कति हुने भन्ने यकिन नभएकाले घर भत्काएर अलि पर सार्ने कि अहिलेकै ठाऊँमा नयाँ घर बनाउने भन्ने अन्यौल भएको छ ।” विशेष गरि राजमार्ग छेऊमा घर भएका भूकम्प प्रभावितहरु जसले पहिलो किस्ताको अनुदान रकम बुझेका छन्, उनीहरुलाई नयाँ घर बनाउन अन्यौल भएको छ । “सरकार पहिलो किस्ताले छिटो घर बनाऊ भन्छ, यता हाम्रो हालत यस्तो छ” मसेलकै झलकबहादुर अधिकारीको दुखेसो छ ।  

यि केही गुनासा बाहेक धमाधम काम भए यो राजमार्गले अबको एक दुई वर्षमा जिल्लाको वस्ती विकासलाईनै उथलपुथल गर्ने देखिन्छ । प्राय पहाडको माथिल्लो भागमा वस्ती बस्ने गरेपनि अहिले भने राजमार्ग छेऊछाऊ जग्गाको किनवेच बढेको छ । र, सबभन्दा महत्वपूर्ण कुरा, नयाँ बनेका स्थानीय तहलाई आपसमा जोड्ने र कतिपय स्थानीय तहको वडाबाट केन्द्रसम्म जोड्ने यो सडकले जिल्लाको विकासलाई कायापलट गर्ने धेरैको विश्वास छ । स्थानीय विकास अधिकारी नारायण आचार्य भन्नुहुन्छ, “केही ठाऊँमा वस्ती क्षेत्रबाटै ट्रयाक बनाउने गरि सर्भे गरिएछ, त्यसले स्थानीयलाई अलि मार परेको होला, नभए यो सडकले अब जिल्लाको वस्ती विकासलाईनै परिवर्तन गर्ने देखिन्छ ।” 

लोकमार्ग आयोजनाले सडकसीमाबारे यकिन गरिदिए सडक छेऊछाऊका फराकिला फाँटहरुमा नयाँ वस्ती विकास तीब्र रुपमा अघि बढ्ने देखिन्छ । २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखाका धेरैजसो प्रभावितहरु नयाँ घर बनाउने क्रममा छन् । उनीहरुलाई लोकमार्ग किनारमा एकिकृत रुपमा वस्ती बसाउन प्रेरीत गर्न सके विजुली, खानेपानी, टेलिफोन लगायत अरु पूर्वाधार विस्तारमा पनि सजिलो हुने देखिन्छ । लोकमार्गको सडकसीमा यकिन नभएको र सडककै कारण घरजग्गा गुमाएकाहरुले मुआब्जा पाउने नपाउने बारे निश्चित नभएकोमा भने लोकमार्ग वरपरका बासिन्दा रिसाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया