MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

डण्डु चेपाङको रेडियो

किरण लोहनी-

नाम–डण्डु चेपाङ

ठेगाना– घ्याल्चोक, छत्तिवनगैह्रा गाउँ । 

हुन त यो गाऊँको सबै चेपाङ परिवार अनेक तरहले गरीविसँग जुधिरहेकै छ, तर पनि गाउँमा सबभन्दा गरीव र दुखी को छ ? भनेर सोध्यो भने सबैले भन्छन्, डण्डु चेपाङ । दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका यो गाऊँका कुनै पनि चेपाङ परिवार सुखी लाग्दैनन् ।

तर पनि साराका सारा गाउँले आफूभन्दा पनि दुखी ठान्ने डण्डु चेपाङबारे जान्न मन भयो । माथि उल्लिखित यत्ति विवरणका आधारमा गएको चैत २५ गते उनलाई भेट्न म छत्तिवनगैह्रा गाउँको उनको घर पुगें । अनेक ठाउँ बाँगिएको र भर्खरै ढुंगा खसिहाल्छ कि झैं लाग्ने गारो चारतिरबाट उठाएर माथि जस्ताले छाएको, एक तले र एक कोठे घरको ढोकामा ताल्चा झुण्डिएको थियो । लस्करै उभिँदा बढीमा ५ जना अट्ने आँगनबाट वरपर हेरें, परबाट दुई वालक म भएतिरैँ आउँदै थिए ।

उनीहरु मैले खोज्दै गएका डण्डु चेपाङका दुई भाइ छोराहरु रहेछन्, जेठो १० वर्षका कुमार र कान्छो ५ वर्षका विशाल । सारा गाउँ भात खाने तयारी गरिरहेका बेला उनीहरुको घरमा भने ताल्चा झुण्डिएको थियो, मैले त्यहीँबाट कुराकानीको मेलो शुरु गरेँ,  बोल्नमा अलि टाठो कुमारले भनेका कुरा छरछिमेकबाट रुजु गरेर चैत २६ गते उज्यालो अनलाइनमा उनीहरुको दयनीय अवस्थाबारे एउटा सामग्री लेखें । 

गएको वैशाख ८ गते फेरि त्यही ठाउँ पुग्ने मौका मिल्यो, पत्रकार साथी शिव उप्रेतीसँगै । उहाँले डण्डुको परिवार र छिमेकी जुनकिरी चेपाङको परिवारका लागि केही सहयोग जुटाउनु भएको रहेछ । हातमा लुगाफाटा र खानेकुराका पोका लिएर पुग्दा, त्यो दिन भने डण्डु चेपाङ घरमै भेटिए, कान्छा छोरा विशालसँग । जेठा कुमार भने साथीभाइसँग नजिकैको त्रिशुली नदीमा पौडी खेल्न गएका रहेछन् । म पहिलो पटक भेट्न पुगेको दिन उनी घाँसदाउरा गर्न जंगल गएका रहेछन्, त्यो पनि आफ्ना लागि होईन, साहुका लागि ।

अर्थात साहुका लागि जंगलबाट घाँस काटेर लगिदिने, त्यसवापत केही पैसा ल्याउने र त्यसैले छाक टार्ने । उमेरले ६० नाघेका उनलाई खासै गहिरो राग त छैन, तर गाह्रो साह्रो काम त्यति धेरै गर्न सक्दैनन् । दैनिक ज्याला मजदूरी बाहेक कुल्ली काम गर्न अलि पर पर जान सके एक पटक झ्याप्प पैसा लिन पाइन्छ भन्ने ऊनलाई लाग्छ, तर घरमा दुई साना साना छोरालाई छोडेर रात बिताउने गरि बाहिर निस्कन गाह्रो छ । 

“ऊ यो दुध खाँदै थियो, डेढ वर्ष जतिको थियो होला” आँगनमा खेलिरहेका कान्छो छोरा विशाललाई देखाउँदै उनले भने, “त्यल्ले छोडेर गएपछि यसलाई मैले नै हुर्काएको हो ।” जेठो छोरो कुमार ६ र कान्छो विशाल डेढ वर्ष जतिको हुँदा उनीहरुलाई छोडेर डण्डुकी श्रीमती जोगिमारामा पोइल गैछन् । कान्छो छोराले धेरै दिनसम्म आमा खोजेर रुवावासी गरेको उनले बताए । “मलाई पनि माया त लागिरह्यो” रुनु न हाँस्नुको भावमा उनले भने, “पछि छरछिमेकले पनि सम्झाए, अनि छोराहरुलाई हेरेर मन बुझाको ।”

हुर्कंदो बेलाका छोराहरुलाई छोडेर श्रीमती अर्कैसँग बिहे गरेर गएपनि उनलाई अहिले भने कुनै गुनासो छैन । किन त ? अलि प्रतिशोधको भावमा उनले भने, “के के न सुख पाउँछु भनेर गा”की थि, त्यता नि त्यल्लाई सुख छैन ।” धादिङको जोगिमारा र घ्याल्चोकको छत्तिवनगैराबाट आधाघण्टा वेशी झरेपछि पृथ्वी राजमार्गको हुग्दीवजार पुगिन्छ । दुबै गाउँका चेपाङ परिवारको ज्यालामजदुरी र किनमेल गर्ने बजार एउटै हो । बेलाबखत पोइल गएकी श्रीमतीसँग डण्डुको भेट हुन्छ । “बोलुँ बोलुँ जस्तो गर्छे, तर म नै तर्केर हिँड्छु” उनी हाँस्दै भन्छन्, “जेठो छोरासँग कहिलेकाहीँ भेट्दो रैछे, चाउचाउ किनेर पठाकी थि रे ।” 

खेतवारीका नाममा एक रोपनी पाखो बारी छ उनको । तर लालपूर्जा छैन । लालपूर्जा नभएकाले भूकम्पपीडित लाभग्राहीले पाउने सरकारी अनुदानको पैसा पाउन सकेनन् । छरछिमेकका अरु धेरैले पनि लालपूर्जा नभएकैले सरकारी पैसा नपाएको उनको भनाई छ । तर केहीले भने जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर पाउने भएका छन् । “मेरो यो घर पनि सरकारले बनाईदिएको हो” घरजस्तो मात्रै लाग्ने घरतिर हेर्दै उनी भन्छन्, “यो पनि भुइँचालोले भत्कायो, अन्त जाने ठाउँ छैन ।” गाऊँमा कोही बोल्न सक्ने मान्छे नभएकाले सरकारी अनुदानबारे कुरा उठाउन सदरमुकाम जान नसकेको उनले बताए । तर लालपूर्जा नभएका अरु छरछिमेकसँग दुख पोखेरै उनीहरुले चित्त बुझाएका छन् । 

कुरा लम्बिँदै गएर अलि आत्मिय भैसके जस्तो ठानेपछि मैले अलि भावुक भएर डण्डु दाईलाई सोधेँ, “दाई, तपाईलाई केही रोेग ब्याध छ कि छैन ?” उनी भन्छन्, “जाँचेको त छैन, तर अलि अलि स्याँ स्याँ हुन्छ ।” त्यसबाहेक आफूलाई कुनै गम्भीर स्वास्थ्य समस्या नभएको उनले सुनाए । मैले फेरि सोधें, “तपाई त ६० वर्ष भैसक्नु भयो, छोराहरु सानै छन्, भोली फ्याट्ट तपाईलाई केही भैहाल्यो भने छोराहरुले के गर्लान् भन्ने कहिलेकाहीँ लाग्छ कि ?” भूमिका बनाई बनाई सकेसम्म नरम स्वरमा सोधेको यो प्रश्नले उनी धेरै भावुक भए । अहिलेसम्म उठेरै कुरा गरिरहेका डेण्डु दाई ठाउँ खोज्दै पिँढीको एक छेऊमा थचक्क बसे ।

मलाई लाग्यो, बेकारमा यस्तो प्रश्न गरेर उनको मन दुखाएँ भनेर । तर जन्मँदैदेखि अनेक दुःखसँग लड्दै भिड्दै आएका उनले बडो आँटिलो भएर जवाफ दिए, “अब त हुर्किहाले केही न केही गरेर खालान् नि ।” तर उनले हुर्के भनेर ठानेका छोराहरु जम्मा १० वर्ष र ५ वर्षका छन्, उनीहरुको पढाई लेखाई अन्यौलमा छ । बाउ हुँदा त दुई छाक टार्न हम्मे हम्मे पर्ने यि बालकले कथम् उनीनै नरहेपछि त्यति सजिलै जिन्दगी अघि बढाउन सक्लान् जस्तो लागेन । म पो भावुक भएँ । 

आज बेलुकालाई खानेकुरा छ त ? मैले कुरा अन्तै मोड्न खोजें । 

“चारमाना जति चामल छ ।” 

त्यो सकिएपछि ? लगत्तै सोधिहालें । आँखा रसिलो बनाउँदै उनी नीरिह हाँसो हाँसे, एक छाक टार्नु उनका लागि कति कठिन छ भन्ने कुरा उनको अनुहार हेरेर पढ्न सकिन्थ्यो । “साँच्चै चामल छ त ?” मलाई उनको घरभित्र पस्ने बहाना चाहिएको थियो । “छ सर, गोडा चारेक माना छ ।” देखाउनु न त, मैले नछोडेपछि उनी घरभित्र पसे, म पछि पछि लागें । बाहिर कुरा गर्दा अनुमानै नगरेको अभाव र गरिबी घरभित्र पसेपछि झन् सर्लक्कै देखियो । बाहिर बसेर कुरा गरुञ्जेल मैले गरिबीले थिचेका औसत पात्र ठानेका डण्डु साँच्चै अभावको विश्वयुद्धै लडिरहेका रहेछन् । चार माना त परको कुरा, उनीसँग बचेको चामलले ३ जनालाई एक छाक टार्न पनि नपुग्ने जति थियो । सुत्नलाई खाट त परेको कुरा, एउटा थोत्रो म्याट र एउटा पुरानो कम्बल रहेछ, त्यो पनि तीन जनाको लागि । 

घर बाहिरै निस्कनै लाग्दा किलोमा रेडियो झुण्डिएको देखियो । आफूपनि रेडियोकर्मी र रेडियोप्रेमी भएकाले उनको रेडियोप्रेमबारे चासो नहुने कुरै भएन । भित्र अलि अँध्यारो भएकाले बाहिर ल्याई रेडियो बोक्न लगाएर फोटो खिचियो । हामीले उपहारस्वरुप लगिदिएको नयाँ टिशर्ट लगाएर हातमा रेडियो बोकेका डण्डु चेपाङ अलि उज्याला देखिए । “मैले एक वर्षअघि काकीसँग ५ शयमा यो रेडियो किनेको हो । साहुले १५ भारी घाँसको पैसा एकैपटक दिएको मौकामा रेडियो किनियो ।” एकै सासमा भनिभ्याए उनले । अनि किन किनेको त रेडियो ? उनी भन्छन्, “बूढी पोइल गैहाली, भूरा साना छन् । आमा हुनुहुन्थ्यो, ६ महिना अघि बित्नु भो, साह्रै च्याउँतो लागेर रेडियो किनेको ।” रेडियो त उनको एकान्तको साथी पो रहेछ, अझ रातिको । 

“जेठो छोरो छिमेकमा डेक हेर्न जान्छ, उतै सुत्छ, कान्छो सानै छ, साँझमै भुसुक्क निदाई हाल्छ ।” मनमा अनेक कुरा खेलेर रातिसम्म निद्रा नलाग्ने र कुरा गर्ने मान्छे पनि नभएपछि उनको साथी रेडियो रहेछ । रेडियोमा उनी वरपरका एफएम रेडियोका समाचार र गीत सुन्छन् । कहिलेकाहीँ रेडियो सुन्दा सुन्दै निदाउँछन्, भोलिपल्ट बिहान रेडियोको ब्याट्री खत्तम । त्यस्तो बेला उनको मन साह्रै दुख्छ । “जोडीको ३५ रुप्या पर्छ” उनी भन्छन्, “एक जोर मसला किन्न साहुलाई दुईभारी घाँस पुर्‍याईदिनु पर्छ ।” रेडियोमा एकजोर ब्याट्री हाल्दा उनको एक छाक टर्ने पैसा सकिन्छ । तैपनि उनलाई रेडियो सुन्नँ मन पर्छ । रेडियोमा गीत सुन्दा उनलाई मज्जा लाग्छ, समाचार भने खासै बुझ्दैनन् र मन पनि पर्दैन ।  

रेडियोमा चुनावको कुरा हुने गरेको भने उनी बुझ्छन् र बैशाख मसान्तमा चुनाव हुन्छ भन्ने पनि थाहा छ । तर गाउँमा चुनावको खासै चर्चा छैन । “अनि भोट चाहिँ कसलाई हाल्ने त ?” फर्कनै लाग्दा मैले सोधें, “गाउँमा सल्लाह हुनै बाँकी छ, बाहुन गाउँबाट पनि कसैले केही भनेको छैन ।” गाउँका अरुहरुबाट थाहा भयो, छत्तिवनगैराका ६० घर चेपाङले धेरै वर्षयता आफ्नो विवेकले भोट खसाल्न पाएका छैनन् ।

चुनावको आखिरी दिनतिर तल्लो गाउँका टाठाहरुले भोज खुवाएपछि उनीहरु जता भन्छन्, त्यतै भोट हाल्ने क्रमले यो पटक पनि निरन्तरता पाउने देखिन्छ । किन त ? डण्डु र उनका छिमेकहरु भन्छन्, “हामीले केही जानेको छैन, गाह्रो साह्रो पर्दा बाहुन गाउँमै भन्न जानु पर्छ, त्यसैले ।” पेट पाल्ने क्रममा कहाँ कहाँसम्म सम्झौता गर्छन् है डण्डु चेपाङहरु ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावका लागि दिइने चन्दाले देशलाई पार्ने दीर्घकालीन असर

    अहिले राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी चन्दा उठाइरहेका छन् र त्यस्तो चन्दाको स्रोत उद्योगी व्यवसायीलाई बनाइरहेका छन् । चन्दा दिनेले पनि आफ्नो घर घरनाबाट दिने त होइन, आफ्नो बाउ बाजेको सम्पत्ति बेचेर त कसैले पनि दिँदैनन् ।

  • स्थानीय तहभन्दा किन १० प्रतिशत कम भोट खस्यो ?

    आइतबार पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्थानीय तहमा खसेको भन्दा कम मत खसेको छ । स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया