MENU

समाज

Ncell Axiata
USAID

८७ वर्षका लोकबहादुर भन्छन्–बुढी आमाका कारण ९० सालको भूकम्पमा बाँचें

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, वैशाख १२ – ललितपुर पाटनका ८७ वर्षका लोकबहादुर शाक्य ९० सालको भूकम्प जाँदा तीन वर्षको हुनुहुन्थ्यो । शाक्य भूकम्प जाँदा पटानमै रहेको मामा घरमा हुनुहुन्थ्यो । सानै भएकोले धेरै कुरा उहाँलाई याद छैन तर एक जना बुढी आमाको कारण आफ्नो ज्यान जोगिएको भने उहाँले बिर्सनु भएको छैन । 

‘९० सालको भूकम्प जाँदा म मामा घरमा थिएँ । एक जना बुढी मान्छेले मलाई काखमा चेप्नु भएको थियो’ उहाँले भन्नुभयो ‘घर माथिको काठ झरेर उहाँको टाउकोमा लाग्यो मलाई केही भएन । उहाँले नै मलाई बचाउनुभयो ।’ उहाँले त्यति बेला पनि ठूलो क्षति भएको बताउनुभयो । त्यतिखेर घर भत्किएका, धूलो उडेको उहाँले पनि देख्नुभयो ।

आफ्नै आँखा अगाडि मामा घर भत्किएको पनि उहाँले बताउनुभयो । उहाँको आफ्नै घर चाहिँ एक तला मात्र भत्किएको थियो । उहाँले ४५ साल र २ वर्षअघिको गोरखा भूकम्प पनि भोग्नुभयो । ‘धेरै बूढो भइयो त्यसैले ४५ सालको त त्यस्तो अनुभव छैन’ उहाँले भन्नुभयो ‘तर २०७२ सालको भूकम्प त बिर्सने कुरै हैन ।’

२०७२ सालमा भूकम्प जाँदा उहाँ ईमाडोलमा रहेको छोराको घरमा बसी रहनुभएको थियो । एक्कासी जमिन हल्यो र केही पड्किएको आवाज आयो । दिनभरि पटक पटक त्यस्तै आवाज आयो । धेरै घर भत्किए । उहाँले देख्दै आएको र बाल्यकाल विताएको पाटन दरबार र त्यसको वरपरको मन्दिर र सत्तल पनि भत्किए । त्यो अहिले निर्माणधीन अवस्थामा छ । तर निर्माण कार्यमा भने उहाँको चित्त बुझेको छैन ।  आँगनमै रहेको मन्दिर चर्किएको छ भत्किएको छ । त्यसको पुनर्निर्माण भएको हेर्न उहाँलाई पनि मन छ । तर भत्किएको मन्दिरलाई छोडेर त्यसको जग मात्र खोतलेकोमा उहाँको चित्त दुखेको हो । 

‘माथिको मन्दिर भत्किएको तलको जगको माटो फाल्यो’ उहाँले प्रश्न गर्नुभयो ‘पुरानो माटो फालेर नपाकेको इँटाले बनाएको जग पनि कहि बलियो हुन्छ त ?’ पाटन दरबार वरपर बस्ने कसैलाई पनि यसरी काम गरेको मन परेको छैन । ‘हाम्रो कुरा सुन्ने पनि कोही छैन’ उहाँले भन्नुभयो ।

पाँचथरका श्रीप्रसाद लिम्बु काठमाडौंमा स्थायी रुपमा बस्न थालेको ९ वर्ष भयो । ८१ वर्षका लिम्बु ४५ सालको भूकम्प जाँदा पाँचथर घरमा नै हुनुहुन्थ्यो । दिनभरीको खेतबारीमा काम गर्दाको थकान । रातभरीको निन्द्रा । बिहान पख भूकम्प जाँदा पनि उहाँ र उहाँको दाजु मस्त निद्रामा हुनुहुन्थ्यो । ‘सुतेको ठाउँ हल्लिएपछि दाजुले यसले किन हल्लाएको भन्नुभयो अनि पो बिउँझिएछु’ उहाँले भन्नुभयो ‘त्यती बेला रुखका बोटहरु यस्तरी हल्लिएका थिए की त्यसका पातहरुको आवाज पनि बेस्मारी आएको थियो, उठेर हेर्दा सबै तिर धूलो उडेको थियो ।’ ४५ सालको भूकम्पले पूर्वी नेपालमा धेरै बिनास गरे पनि उहाँकै गाउँमा भने कसैले पनि ज्यान गुमाउनु परेन । 

२०७२ साल वैशाख १२ गते शनिबार भूकम्प जाँदा भने उहाँ चर्चमा प्रार्थना गर्दै हुनुहुन्थ्यो । त्यतिकैमा आफू बसेको जमिन बेस्करी हल्लियो । के भयो भन्ने कुरा उहाँले सोच्नै सक्नुभएन । प्रार्थनाका लागि उपस्थित भएकाहरु बिच कोलाहाल मच्चिएको थियो । ‘त्यो दिन त दिन भरी जसो पो भुइँचालो गईरहयो त’ उहाँ प्रश्न गर्नुहुन्छ ‘हैन भुइँचालो चाहिँ के खालको आएको हो त्यति खेर ।’ उहाँलाई छ महिना सम्म लगातार सानो तिनो धक्का महशुस भई रहयो । १२ गतेकै जस्तो बेस्करी हल्लाएको भए त केही पनि नरहने उहाँको अनुमान छ । ‘हैन अलि अलि त छ महिनासम्म आई रहयो १२ गते त घरमै बस्नै पो सकिएन त’ उहाँले भन्नुभयो ।

आफू घरमै बस्न चाहे पनि परिवार नमानेकाले आफू पनि पालमा बसेको उहाँले बताउनुभयो । भूकम्प जाँदा आफू उठ्न खोज्दा पनि उठ्न नसकेको, हिँड्न खोज्दा हिँड्न नसकेको उहाँले बताउनुभयो ।

‘भुइँचालो त सम्झी सम्झी पो आउँछ त, कहिले त दिनमा तीन चार पटकसम्म पनि आयो नी’ उहाँले भन्नुभयो । तर ४५ सालको भूकम्प भन्दा ७२ सालको भूकम्पले बढी क्षती गरेको उहाँले बताउनुभयो । ‘मैले भोगेका दुई ठूला भूकम्प मध्ये २०७२ साल वैशाखमा गएको भूकम्प हो’ लिम्बुले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया