MENU

मनोरञ्जन

Ncell Axiata

​पहिलो नेपाली सिनेमा नै ‘आमा’, यी हुन् आमामा समर्पित नेपाली सिनेमा

काठमाडौं, वैशाख १३ – बुधबार मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने दिनलाई सन्तानले आमा प्रतिको सम्मान र माया दर्साउने विशेष दिन मान्ने गर्छन् । आमाको जति त्याग र सन्तान प्रतिको माया संसारमा अरु कसैको हुन्न भन्ने पनि गरिन्छ र हुँदैन पनि । सन्तानले पनि आमाका निम्ती केही गरेर देखाउने प्रयास जारी राखेका हुन्छन् । यसै मेसोमा मनोरञ्जनको उद्योगमा आमाको नाम जोडेर केही सिनेमाहरु निर्माण भएका छन् । 

आमाको मुख हेर्ने दिनको अवसर पारेर आमा सम्बन्धी कस्ता सिनेमा निर्माण भए त ? त्यस बारेमा हामीले एक सामग्री निर्माण गरेका छौँ । यो सामग्रीमा हामीले युट्युबमा फेला परेका सिनेमालाई समेटेका छौं । 
 

आमा

‘‘आमा’’ नामै काफी छ । नाम सुन्ने बित्तिकै पनि यो चलचित्र के विषयमा आधारित छ भन्ने  कुरा थाहा हुन्छ । ‘‘आमा’’ चलचित्र नेपाली सिने इतिहासको पहिलो चलचित्र पनि हो । यो नामका दुई वटा चलचित्र छन‍् । पहिलो चलचित्रमा शिवशंकर भुवन चन्दको अभिनय थियो । दोश्रो चलचित्रमा शिव श्रेष्ठ, सरोज खनाल, विपना थापा, पूजा चन्द, नारायण त्रिपाठी, सोनि गुरुङ, शंकर थपलियालगायतका कलाकारहरुको अभिनय छ ।

शेर राज आचार्यले निर्देशन गरेको ‘‘आमा’’ चलचित्रलाई मोहन निरौलाले निर्माण गरेका हुन् । राजेन्द्र खड्गीको द्धन्द्ध निर्देशन रहेको पछिल्लो ‘‘आमा’’ चलचित्रलाई सन् २०१६ को जुन महिनामा यूट्युबमा रिलिज गरिएको हो । शुभ बहादुरको संगीत र कमल राईको नृत्य निर्देशन रहेको ‘‘आमा’’ चलचित्रमा हरिश चौधरीको सम्पादन छ ।

मेरी आमा

नेपाली चलचित्र उद्योगले ‘मेरी आमा’ नामक चलचित्र पनि निर्माण गरिसकेको छ । रवि अर्यालको निर्देशन रहेको यस चलचित्रलाई सामाजिक सञ्जाल यूट्युबमा पनि निकै रुचाईएको छ ।

शैलेस भट्ट पाण्डे र रमेश मानन्धरको निर्माण रहेको यो चलचित्रमा दिलिप रायमाझी, सुनिल दत्त पाण्डे, सुमिना श्रेष्ठ, अर्जुन श्रेष्ठ, सुशीला रायमाझी, मिथिला शर्मा, किरण केसी, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय छ । रविकै लेखन रहेको यस चलचित्रलाई ५ लाख ५१  हजार भन्दा धेरै पटक हेरिएको छ ।
 

आमाको आशीर्वाद

नेपाली सिनेमामा चलेको सिनेमाको सूचिमा ‘‘आमाको आशीर्वाद’’ पनि छ । महानायक राजेश हमाल र निरुता सिंहको मुख्य अभिनय रहेको यस चलचित्रमा आमाको महत्वलाई देखाईएको छ । दिपक श्रेष्ठको निर्देशन रहेको यस चलचित्रलाई बाला गुरुङले निर्माण गरेका हुन ।

यसमा सुरेश अधिकारीको संगीत रहेको छ भने बसुन्धरा भुसाल, दिलिप रायमाझी, रेखा थापा लगायतको पनि अभिनय छ । सन् २०१५ को जनवरीमा यूट्युबमा सार्वजनिक गरिएको यस चलचित्रलाई अहिलेसम्म ६ लाख ६४ हजार भन्दा धेरै पटक हेरिएको छ ।


आमाको काख

‘‘आमाको काख’’ चलचित्र नहेरे पनि नाम नसुन्ने व्यक्ति भने कमै होलान । विजय केरुङको निर्देशनमा ‘‘आमाको काख’’ बनेको हो जुन चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, निरुता सिंह, सज्जा मैनाली लगायतले अभिनय गरेका छन् । केरुङकै लेखन रहेको यस चलचित्रलाई लक्ष्मी क्षेत्री, दुर्गा बस्नेत, गायत्री भुटीया, सुशिल श्रेत्री र सीता दाहालले निर्माण गरेका हुन ।

शम्भु राईको संगीत रहेको यस चलचित्रलाई बनिस शाले सम्पादन गरेका हुन । सन् २०१५ को डिसेम्बरमा सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको यस चलचित्रलाई यो समाचार तयार पार्दासम्म ३ लाख २२ हजार भन्दा धेरै पटक हेरिएको छ ।
 

बुबा आमा

मुरारी पोखरेलले निर्माण गरेको ‘‘बुबा आमा’’ चलचित्रमा गणेश उप्रेती, अरुणीमा लम्साल, दिलिप रायमाझी लगायतले अभिनय गरेका छन् । यस चलचित्रमा गाँउको मुखियाले महिला माथि गरेको हिंसालाई देखाईएको छ । सन् २०१५ सेप्टेम्बर २८ मा युट्युबमा सार्वजनिक गरिएको यस चलचित्रलाई यो समाचार तयार पार्दासम्म ५ लाख २३ हजार भन्दा धेरै पटक हेरिएको छ ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया