MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

‘लाइफलाइन’ सडकमा १७ घन्टे सास्ती

अर्जुन पोख्रेल -

आमाले भन्नुभएको थियो, सोमबारको जागिर भेटाउन आइतबार बिहानै हिँडे हुन्छ । एकदिन भएपनि घरमा बस बाबु । एकपटक त मेरो मनले पनि सोचेको थियो, अब अर्कोपटक घर आउने दसैँमा होला, एकरात भए पनि बढी बसौं क्यारे । 

प्यूठानको दुर्गम गाउँबाट काठमाडौं दूरीका हिसावले ५ सय किलोमिटर मात्रै हो । तर सरकारको ‘लाइफलाइन’ सडकको हालतले ५ सय किलोमिटरको दूरी पार गर्न ३ दिन पनि लाग्न सक्छ । सरकारको लाइफलाइनको बिजोग यसअघि पनि भोगिसकेकोले मैले आमालाई भनें, ‘आमा सबैतिरको बाटोको हालत खराब छ, त्यसमाथि मुग्लिन नारायणगढ सडक पार गर्न पुरै एकदिन लाग्न पनि सक्छ, म भोलि शनिबार नै जान्छु ।’ मेरो कुरा आमाले काट्न सक्नुभएन । सोमबारको अफिस भेट्याउनको लागि म शनिबार नै प्यूठानबाट शनिबार दिउँसो ४ बजे काठमाडौंको लागि हिँडे । 

स्वर्गद्वारी यातायातको रात्रीबसले प्युठानबाट पूर्व पश्चिम राजमार्गमा जोडिने ठाउँ दाङको भालुबाङसम्म ३ घन्टामै ल्याइपुर्‍यो । भालुबाङ आएपछि बसका गुरुजी भन्दैथिए ‘यहाँसम्म त ठिकै छ, तर अव भने बाटोमा जे पनि हुनसक्छ, जाम भएको ठाउँमा पानी पनि ५० रुपैयाँ लिन्छन् पानीसानी किन्नुस है ।’ गुरुजीका कुराले धेरैजना त अचम्ममा थिए, तर मलाई चाहिँ बाटोको हालत थाहा भएकाले अचम्म लागेन ।  

सानातिना अवरोध बाहेक पूर्व पश्चिम राजमार्गमा बस हुईंकिरह्यो । आइतबार काठमाडौं पुगेर थकाइ मार्ने र सोमबारदेखि काममा फर्कने मेरो चाहना पूरा हुने हो कि होइन भनेर मेरो मनमा चाहिँ कताकता डर लागिरहेको थियो । राती साढे ११ बजेतिर रुपन्देहीको सुनवलमा खाना खान गाडी रोकियो । केही चाहिँ जाममा पर्दा दिक्क भइन्छ, यस्सो चुस्की लगाउनुपर्ला भन्दै रक्सी बियर खान थाले । जाममा दिक्कलाग्दो समय कटाउने काइदा ठिकै पनि लाग्यो । 

बसका अरु मान्छेले आइतवार बिहानै काठमाडौं पुगेर काम गर्ने सल्लाह गरिरहँदा मैले भने मुग्लिन नारायणगढको बाटो झल्झली सम्झिरहेको थिएँ । धेरै जनाले आइतबार नै नगरी नहुने काम भएको बताएका थिए । ‘तपाईंहरुको विहानको लक रहेछ भने मात्रै भोलि बेलैमा पुगेर काम गर्न भ्याउनुहुनेछ, सरकारको लाइफलाइन मुग्लिन नारायणगढ सडकमा जाम भोग्नुपरेन भने मात्रै भोलिको काम होला । नत्र त तपाइँहरुको काम बन्नेवाला छैन’ मैले  भोगेको कुरा भनें ।   

बिहान ३ बजे बस नारायणगढ पुग्यो । आखिर जे शंका थियो, त्यही भयो । नारायणगढबाट ५ मिनेट हिँडेपछि बस रोकियो । केही समयअघि आफैले पीडा भोगेको र आफ्नै हातले पनि त्यो सडकको विजोग लेखेकोले यो जामको केही भर छैन भन्ने लाग्यो ।  आधाघन्टासम्म पनि बस अघि नबढेपछि बसबाट झरेर मुग्लिनबाट नारायणगढ जाँदै गरेको ट्रकका गुरुजीलाई सोधेँ, 

उता के भएको छ र यस्तो जाम ?

गुरुजीले उल्टो मलाई सोधे, तपाइँ पहिलोपटक काठमाडौं जान लागेको हो ?
किन र ?

मुग्लिनको बाटोमा पनि के कारणले जाम भएको भनेर सोध्नुभयो, त्यै भएर तपाइँ पहिलोपटक काठमाडौँ जान लागको जस्तो लाग्यो । यो बाटोमा अलिकति केहि हुन हुन्न, बाटोमा सानो ढुंगा खस्न पनि हुन्न पुरै बाटो जाम भैहाल्छ । 

चितवनको गर्मी, सबैजना हाइ हाइ गर्दै पसिना पुछिरहेका छन् । गर्मीले बसमा भएका केटाकेटी रोइरहेका छन् । आइतबारको काम नहुने भयो भनेर केही मान्छेलाई उस्तै तनाव । बसका स्टाफ बेला बेला भन्छन् ‘साला यो बाटो पूरा नहुञ्जेल हामीलाई पनि तनाव तपाईंहरुलाई पनि यस्तै दुःख ।’

एक घन्टा भयो, अहँ गाडी त सर्दै सर्दैन । मुग्लिनतर्फबाट गएका केही गाडी चालकलाई सोध्दा उनीहरु भन्छन् ‘खास ठुलो पहिरो खसेको त होइन, यत्तिकै जाम भएको छ ।’  

बिहान ६ बजेतिर गाडी अलि अलि सर्न थाले । १० किलोमिटरजति हिँडेपछि गाडी फेरि रोकियो । विहानको ७ बजेको थियो । त्रिशुलीको किनारमा गाडीको लर्को देख्दा मन आतिन्थ्यो । 

सबै यात्रु दिसापिसावले च्यापेर हैरान भएका थिए । नजिकै शौचालय थिएनन्, त्रिशुली किनारमा जान धेरैजनाले लाज मानेका थिए । त्यो जाममा भारतबाट तिर्थ गर्न भनेर आएका ५/७ वटा बस पनि रहेछन् । बसमा आएका भारतीयहरु बसबाट झरेर त्रिशुली किनारमा लहरै दिसा बसे । उनीहरुले लाजशरम नमानेपछि नेपाली यात्रुलाई पनि आँट आयो । एकैछिनमा त्रिशुलीको किनार दिसापिसाव गर्ने मान्छेले ढाकियो । 

चिया नास्ता खाने ठाउँ पनि थिएन । विहान ९ बजे फेरि गाडी अलि अलि सर्न थाले । कछुवाको तालमा गाडी सरिरहेका थिए । मुग्लिन प्रहरीलाई फोन गर्दा पनि सानो पहिरो झरेको र आफूहरुले पहिरो पञ्छाइसकेको बताएका थिए । बाटो विस्तारको कारणले बाटो यसै पनि साँघुरो छ । सानातिना ढुंगा खस्दा पनि गाडी रोकिन्छन् । मोटरसाइकलहरु बोक्ने अलि चौडा भारतीय नंबर प्लेटका गाडीका कारण पनि घन्टौसम्म बाटो जाम भैहाल्छ । 

जाम जे कारणले भएपनि बसभित्रका यात्रुको पीडा भने निकै दर्दनाक हुन्छ । मुग्लिनको जाम नारायणगढ सम्मै पुगेको खबर आएको थियो । निकै ठूलो संघर्ष गरेर विहानको १२ बजे गाडी मुग्लिन आइपुग्यो । मुग्लिनबाट काठमाडौंतर्फको बाटोमा जाम नहोला कि भन्ने आसामा धेरै जनाले लामो सास फेरेर भने, ‘अब त दिउँसोसम्म काठमाडौं पुगिन्छ कि ।’

तर कुरिनटारबाट केही वर काठमाडौंतर्फ चुम्लिङटार आएपछि गाडीले फेरि ब्रेक लगायो । कुरा बुझ्दा २ वटा ट्रक ठोकिएर बाटो बन्द भएको रहेछ । खुल्ने कतिबेला हो थाहा थिएन् । 

‘भोलि मलेसिया जाने टिकट छ, आज दिउँसोसम्म काठमाडौं पुगेर श्रम सम्झौता गर्ने भनेको म त बर्वाद हुनेभएँ’ एकजनाले पीडा पोखे । १ बज्दासम्म पनि जाम खुलेको थिएन । जामको मौका छोपेर केटाकेटी पानी, कुरकुरे,चाउचाउ जस्ता खानेकुरा बेच्न आइपुगे । दोब्बर रकम तिरेर यात्रुले पेटपूजा गरे ।

बाटोको ट्रक हटाएर जाम खुलाउने प्रयास भैरहेको छ भन्ने खबर आइरहन्थ्यो । तर जाम भने खुलेको थिएन । दिउँसो २ बजेतिर गाडी अलिअलि सर्न थाले । चल्दै रोकिंदै, चल्दै रोकिँदै गर्द हामी ३ बजेतिर नौबिसे आइपुगका थियौं । तर फेरि गाडी रोकियो । किन जाम भएछ भने बुझ्दा अघि २ वटा डन समुहको सामान्य झगडाका कारण एउटा डनले कार बाटोमै छाडेर भाग्यो रे अनि बाटो एकतर्फी चलेको रहेछ ।

बेलुकी ५ बजे हामी नागढुंगा आइपुगेका थियौं । नागढुंगाबाट काठमाडौं हेर्दा फेरि पनि विरक्त लाग्ने दृष्य देखियो । सडकभरी गाडीको लाम थियो । जता हेरे पनि जाम नै जाम । बल्ल बल्ल ठूलो सकसले ७ बजे कलंकी आइपुगियो । कलंकीबाट कोटेश्वर जान अर्को १ घन्टा लाग्यो । बिहान ३ बजे नारायणगढ भएको मान्छे राती ८ बजे मात्रै कोटेश्वर आइपुगियो ।

आइतबार बिहानै काठमाडौं पुगेर काम गर्ने यात्रुको योजना पूरा भएन । सोमबार मलेसिया जाने प्लेनको टिकट भएका यात्रुले आइतबार श्रम सम्झौता गर्न पाएनन् । उनको हालत के भयो होला भन्ने सोचिरहेँ ।

सरकारले काठमाडौं जोड्ने राजमार्गलाई ‘लाइफलाइन सडक’ को दर्जा दिएको छ । तर सरकारको लाइफलाइन अत्यन्तै साँघुरो र अव्यवस्थित हुँदा दैनिक हजारौं नागरिकले यस्तै सास्ती पाएका छन् । बाटोमा एउटा मोटरसाइकल विग्रदा पनि सयौं गाडी जाममा फस्नुपर्छ, एउटा ढुंगा झर्‍यो भने पनि घन्टौको जाम । यसरी पनि एउटा देशको राजधानी आउजाउ गर्ने क्रम चलिरहेको छ भनेर धेरैजना अचम्ममा पर्छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया