MENU

मनोरञ्जन

Ncell Axiata

दोहोरी गीत की फोहोरी गीत !

काठमाडौं, वैशाख २० – नेपाली लोक गीतको क्षेत्रमा कुलेन्द्र विश्वकर्मा नयाँ नाम होइन । यो नाम झण्डै ढेड दशकदेखि नेपाली संगीतमा छाएको छ । लोक दोहोरी क्षेत्रमा सफल अनि कुसल गायकमा पर्छन् कुलेन्द्र विश्वकर्मा । उनलाई लोक दोहोरी क्षेत्रमा पछिल्लो समय दोहोरी भन्दा पनि फोहोरी कुरा धेरै देखिँदै गएकोमा चिन्ता लागेको छ । फरिया माथि सार्दैमा कोही कुसल मोडल नहुने उनको बुझाई छ ।  

गायन क्षेत्रले उनलाई नाम, दाम र काम सबै दिएको छ । चार हजार भन्दा धेरै गीत गाएका उनका सयौँ गीत सुपरहिट भएका छन् । उनलाई एक कलाकारको परिचय दिएको गीत ‘नजाऊ है सानु पँधेरी’मा हो । त्यस्तै उनलाई त्यस अघिको ‘जोगीको भेषैमा’ले पनि राम्रो सफलता दिएको थियो । उनले गाएका गीतहरु मध्ये, पश्चिम पूर्वको, नजाऊ है सानु पँधेरीमा, जोगीको भेषैमा, डाँडै फुर्के सल्लो लगायत लोकप्रिय बनेका छन् । 

बाल्यकालमा कुलेन्द्र

उनी बाल्यकालमा ज्ञानी बच्चाहरुमा पर्थे । उनलाई बाल्यकालमा कसैले गाली गर्योे भने, मलाई किन यसरी गाली गरेको  होला ? मैले के गल्ती गरे ? अब त्यो मान्छेसंग म कसरी बोल्नु ? जस्ता धेरै कुराले रातदिन सताउँथ्यो । बाल्यकालमा साथीभाई संग भन्दा पनि एक्लै बस्न रुचाउँथे उनी । बाल्यकाल देखि नै गायन क्षेत्रमा रुची राख्ने कुलेन्द्र एक्लै गीत गाउँथे । गीत गाएको कोही मान्छेले देख्यो भने उनको लागि त्यो ठूलो अभिषाप नै हुन्थ्यो । उनी  लाजले त्यो व्यक्तिलाई भेट्नै छाडिदिन्थे । गीत गाएको बेलामा कसैले देख्दा उनलाई ठूलै गल्ती गरेको महसुस हुन्थ्यो । उनको जन्म र बाल्यकाल पर्वत स्थित उनको मामाको घरमा बित्यो । अहिले पनि मामाको घरको माया र महत्व पहिलेको जस्तै भएको उनी बताउँछन् । 

बाल्यकालमा मान्छे जतिनै ज्ञानी होस तर गल्ती नगर्ने कोही हुँदैन । कुलेन्द्रको बाल्यकाल पनि यस्तै रह्यो । बाल्यकालमा  विद्यालय जाँदा घरबाट साथीहरुसंगै जाने तर आधा बाटोमा पुगेपछि जंगलमा पस्ने उनको बानी थियो । दिनभरि जंगलमै खेलेपछि साथीहरु पढेर बेलुका घर आउँदा उनी पनि घर फर्कन्थे । पछि कक्षा ६ देखि विद्यालयमा हुने गायन प्रयोगीताहरुमा सहभागी हुन थालेका उनी विभिन्न कार्यक्रमहरुमा गीत गाउन थाले र शिक्षक अनि साथीभाईको प्यारो बने । त्यसैले उनले गरेको सानो तिनो गल्तीमा पनि प्रायले माफी दिन्थे । आफ्नो कलालाई देखाउने क्रममा कुलेन्द्रले बाल्यकालदेखि नै विद्यालयको प्रतिनिधित्व गर्दे विभिन्न ठाँउमा गीत गाउने र पुरस्कार जित्ने मौका पाए । अतिरिक्त क्रियाकलापमा राम्रो भएपनि पढाईमा भने उनी सामान्य थिए । 

जोड घटाउमा अहिले पनि अल्मलिन्छन् 

उनलाई सबै भन्दा गाह्रो लाग्ने विषय गणीत हो । अहिले पनि जोड घटाउमा उनी अलमल पर्छन् । स्कुले जीवनमा  गृहकार्य नगर्दा उनले धेरै पटक पिटाई खाएका थिए । स्कुलबाट घर गएपछि खेल्न जानै हतार हुन्थ्यो उनलाई । पछि गरौँला, भोलि बिहान गरौँला भन्दा भन्दै स्कुल जाने समय आईपुग्ने भएकाले उनी बिना होमवर्क स्कुल जान्थे । अनि कक्षामा बसेपछि कहिले कलम, कहिले कापि छैन भनेर बाहाना बनाउँथे । तर शिक्षकले झोलामा हेर्दा कलम, कापि सबै देख्थे अनि उनले पिटाई खान्थे । त्यसबखत शिक्षकले अगाडि लगेर सबै साथीको माँझमा लौराले हान्दा निकै नमज्जा लाग्ने उनले बताए । त्यस बखत उनी कसैको अनुहार नहेरी शिर निहुराएर आफ्नो ठाँउमा गएर बस्थे । 

माओवादीको आरोपमा थुनिए 

२०५८/०५९ मा एस.एल.सी दिएका कुलेन्द्र एस एल सी दिनको लागि सदरमुकाम गएका थिए । त्यस बखत एक दिन दिउँसोको समयमा उनी प्रति घण्टा १० रुपैयाँका दरले साईकल भाडामा लिएर साथीहरुसँग खोलामा नुहाउन गएका थिए । द्वन्द्वकालको समय भएका कारण नुहाउने क्रममा उनी र उनका साथीहरुलाई माओबादीको आरोपमा नेपाली सेनाले समात्यो ।  कुलेन्द्र र उनका साथीहरुले बिद्यार्थी भएको परिचय पत्र देखाउँदा देखाउँदै पनि नेपाली सेनाले थुनेको थियो । पछि परीक्षा दिने दिनको अघिल्लो रात विद्यालयको पहलमा उनीहरुलाई छुटाईएको थियो । 

आफ्नो गीत राजु परियारलाई गाउन दिएनन्

कुलेन्द्र आफूले रोजेको क्षेत्रमा काम गर्न पाउँदा निकै खुशी छन् । संघर्षको समयमा काठमाण्डौमा भोकै पनि बसेका छन् उनी । सुरु सुरुमा स्टुडियोमा गाउन जाँदा गाली खाए । गीत रेकर्ड गर्ने क्रममा स्टुडियोले समय नदिएर उनले निकै हैरानी बेहोरे । पत्रकार गोविन्द शर्मा र कुलेन्द्र काठमाण्डौमा संघर्ष गर्ने साथी बनेका थिए । गोविन्द रेडियोमा कार्यक्रम चलाउँथे भने कुलेन्द्र उनको कार्यक्रममा गाउँथे । भोक लाग्दा दुई जनाले १० रुपैयाँ उठाएर दालमोट र चिउरा खान्थे । तर कुलेन्द्रले यी सबै कुराहरुलाई सहजै स्वीकार गरेर अघि बढे । अहिले ती दिनले पनि निकै खुशी दिने उनी बताउँछन् ।  
यसै क्रममा कुलेन्द्र एक एल्बम निकाल्ने तयारीमा जुटे । गीत रेकर्ड गर्ने सिलसिलामा ‘केछ हालचाल सुन भन्दा महङगो मायाको रैछ जिउडाल’ बोलको गीत राम्रो रहेछ भनेर म्युजिक कम्पनिले  राजु परियारलाई गाउन दिने कुरा गर्यो । तर उनले आफ्नो एल्बममा आफै गाउने कुरा गरे । म्युजिक कम्पनिले उनको रहर पुरा गरिदिउँ अनि पछि राजु परियारलाई ल्याएर गाउन लगाउँ भन्यो । तर उनले ठाडै प्रतिकार गरे । पछि उनले झरना संगीतबाट आफ्नै आवाजमा पहिलो एल्बम निकाले ।

लोक गीतलाई हेर्ने दृष्टिकोण फेरियो

लोक दोहोरी गीतमा लोक गुणस्तर भन्दा पनि छाडापन धेरै आएको हैन र ? भन्ने प्रश्नमा उनले आफू बिगत डेढ दशक देखि यस क्षेत्रमा सक्रिय भएको र यसको गहिराईमा पुग्न नसके पनि धेरै कुराको अनुभव लिएको बताउँदै पुराना भन्दा पनि बीचमा आएका कलाकारहरुले लोकगीतको स्तरलाई खस्काएको अभिव्यक्ति दिए । लोक दोहोरीको अर्थ नबुझेका र गाउनका लागि मात्रै आएकाहरुले यसको राम्रो पक्ष नै ओझेलमा पारिदिएको उनको भनाई छ । पछिल्लो समयमा गायन क्षेत्रमा बुझेर भन्दा पनि सोखले आउने गाउने अनि दुई चार दिन टिभीमा विज्ञापन दिने, युट्युबमा भिडियो अपलोड गर्ने प्रवृत्तिले लोक दोहोरी गीतको गुणस्तर खस्किँदै गएको उनको बुझाई छ । केही व्यक्तिको गायकीपन र भिडियोमा नकारात्मक पक्ष भएका कारण नै नेपाली लोक दोहोरीको छवि नराम्रो बन्दै गएको उनले उल्लेख गरे ।

पहिले आउने लोक कलाकारहरु विज्ञ थिए । धेरै कुरा जानेर र सिकेर आएका हुन्थे । तर अहिलेको अवस्थामा जानेर आउनेहरुको सङख्या कम भएको कुलेन्द्रले बताए । उनी लोकगीतमा प्रवेश गर्नेताका  गायनको बारेमा जानकार नभएपछि रेडियो नेपालबाट स्वर परीक्षा पास गर्न पाईदैनथ्यो । त्यसको लागि पनि गायनबारे धेरै कुराहरु सिक्न जरुरी हुन्थ्यो । त्यही सिकाईले समाजका राम्रा पक्षहरुलाई समेटेर दोहोरी गाईन्थ्यो । त्यहि प्रभावले गर्दा नै अहिलेसम्म पनि नेपालमा लोक दोहोरीले पहिलो स्थान पाएको छ । तर नयाँ कलाकारमा धैर्यता नभएर तत्काल परिणाम खोज्ने बानी भएका कारण लोक दोहोरीमा विकृति भित्रिएको भन्दै कुलेन्द्रले नमज्जाको भाव व्यक्त गरे । 

दोहोरी भन्दा फोहोरी धेरै भयो 

लोक दोहोरी क्षेत्रमा पछिल्लो समय दोहोरी भन्दा पनि फोहोरी कुरा धेरै देखिँदै गएको छ । फरिया माथि सार्दैमा कोही कुसल मोडल हुन्न भन्दै कुलेन्द्रले अश्लिलताले भिडियो हिट बनाउँदैमा कलाकार नहुने  उल्लेख गरे । दोहोरीका पनि धेरै राम्रा पक्षहरु छन् । दोहोरीसँग नेपालीको संस्कार सस्कृति प्रत्यक्ष रुपमा जोडिएको छ । यो कुरालाई समेट्न सकिएको अवस्थामा सबैले निरन्तर रुपमा सफलता पाउने उनको विश्वास छ ।  

स्टेजमा गीत गाउँदा मरेको मान्छे पनि बाँच्छ होला

उनलाई सबै भन्दा खुशी लाग्ने क्षण भनेको स्टेज कार्यक्रममा गीत गाँउदा हो । दर्शक माझ पुग्दा उनी आफूमा भएका हरेक पीडा बिर्सन्छन् । स्टेज कार्यक्रमको छुट्टै संसार हुने भएका कारण त्यहाँ गीत गाउँदा मरेको मान्छे पनि बिउझिन्छ की ! जस्तो कुलेन्द्रलाई लाग्छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया