MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

मिस्टर योञ्जन, आराम–कुशल ?

पुस्तक अंश

यो माघ महिनाको तातो घाम प्यारो लागेर म बाल्कोनीमा बसेर तापी रहें । घामको तातो तापक्रमसँगै तातो गुलियो कफी पिउँदै वारि–पारि सबै डाँडा हेरी । म फेसबुकमा फोटोहरु अपलोड गर्दै च्याटमा व्यस्त । फेसबुकमा कमेन्टसँगै रमाउँदै एक्लै मुसुमुसु हाँस्दै । 

एक्लैमा रमाउनु पनि केही मज्जा छ । अनुप एउटा कुर्सीमा बसेर ऊ आफ्नै जीवनका विभिन्न कल्पना कोर्दै छ । अनुप र मबिच घरि घरि आ–आफ्नै स्वार्थपनमा कुरा हुन्थ्यो फेरि चुप हुन्थ्यौं । कुनै बेला त हामी एकैचोटि पनि बोल्थ्यौं र हाँस्दै कुरा गर्थ्यौं ।

हामी बस्दाबस्दै साँझ ढल्यो । बढी चिसो भएकोले गर्दा हामी भित्र पस्यौं । म आफ्नै कोठामा केही  लुगा मिलाउन थालें । मेरो मोबाइलमा बारम्बार म्यासेज आउँदै थियो । आज फेरि मलाई मिस्टर योञ्जनलाई म्यासेज गर्न मन लाग्यो, मैले लेखी पनि हालें, “हेल्लो मिस्टर योञ्जन आराम–कुशल ?”

मिस्टर योञ्जन – “कसैले माया नगरेर होला अलिक सन्चो छैन ।”

म– “अँ... हो र ? मलाई त आशा लाग्न थाल्यो, मिस्टर योञ्जनको कुरा सुनेर, कुराको सिलसिलामा कति अनौठो कुराहरु है ?” 

मिस्टर योञ्जन – “हो नि कुराको सिलसिला नै मीठो ।”

म – “कुराको सिलसिला नै मीठो भएर होला कुरा गरुँ गरुँ लाग्छ ।” मैले उत्साहित हुँदै भनें । 

मिस्टर योञ्जन – “खान मिल्ने भए कति खान्थ्यौ होला है यो कुराहरु ?” उसले झन् उत्साहित देखायो आफूलाई । 

“सायद खाना खानु पर्दैन थियो । अँ साँच्चि खाना खानु भयो हजुरले ?” मैले सोधें ।

मिस्टर योञ्जन – “खाना त टन्न खाएँ तर माया खाइन !”

म – “खानाले अघाइन्छ भने माया के को लागि ?”

मिस्टर योञ्जन – “माया बिनाको जीवन नै कति अधुरो ।”

म – “अब त माया पिरती यी सब बेकार हो ।”

“किन र ?” उसले सोध्यो । 

“खै के खै के ।” यसरी उत्तर दिएँ । 

मिस्टर योञ्जन – “अब कुन बेला सुत्ने ?”

म – “अब केही छिन, अनि आफू नि ?

मिस्टर योञ्जन – “एउटा तस्वीर पठाऊ न, हेर्दै निदाउँछु ।”

साँच्चै नै मैले एउटा तस्वीर पठाइदिएँ उसका लागि उसले माग्नासाथ ।

“आहा कति राम्रो । आर्टीकल लेख्यौ भने राम्रो हुन्छ मेरो लाइफको स्टोरी ।” 

म – “म सक्दिनँ ।”

मिस्टर योञ्जन– “सक्छ होला ।” 

म – “लेख्नमा साथ दिनुहुन्छ भने म सक्दो प्रयासमा गर्नेछु ।” 

मिस्टर योञ्जन– “दिऊँ कसरी ?” उसले सोध्यो –“म त आफैमा हराउन थालेछु जोशी मेडम । खै कता हो कता पुगें थाहा पाइन यो रातमा । अब यो तस्वीर हेरेर मनमा मनन् गर्दै त्यही सोच्दैछु ।”

म – “तस्वीरलाई हेरेर के मनन् गर्नु ? एक अर्कामा देखेको भए हुन्थ्यो ।” 

मिस्टर योञ्जन– “तस्वीर हेरेर मनन् गर्नु पनि खुशीको रमाइलो पल हो हैन र जोशी मेडम ? यो नै मेरो लागि एउटा स्पर्श हो ।”

मैले – “हुन्छ, स्पर्शको सागरमा डुबेर सुत्नुस् है ।” मैले यसो भनेर बिदा मागें । 

समय हेरें, धेरै रात बितिसकेछ । म पनि मिस्टर योञ्जनको तस्वीर हेर्दै सुतें, तस्वीरको गहिरोको डुबाइमा । अनि रातको सपनीमा राजकुमारलाई पाउने आशामा । म काममा जानु तयार हुँदै थिएँ, मेरो मोबाइलमा म्यासेज आएको खबर नितुले दिइन् । केही दिउँसोको समय थियो । चिसो झन् झन् बढ्दै जाँदै थियो । सायद त्यसै कारणले होला मलाई अलिक बिसन्चो भए जस्तो लाग्यो । रुखका पातहरु चिसो हावाको झोंक्कामा लहराइरहेका थिए । हावाको चिसो स्पर्शले झन् मलाई चुम्ने गथ्र्याे । हावाको वेगमा म रमाउँथें । 

यसरी नै बदलिँदै गरेको समयसँगै म पनि आरामले समय बिताइरहेकी छु । आज फेरि बढी चिसो भएको रात म चाँडै सुत्ने तयारीमा थिएँ । यही मौकामा मिस्टर योञ्जनलाई पनि म्यासेज गरें, ऊ अनलाइनमा रहेछ । उसले पनि चाँडै नै रिप्लाई गर्‍यो ।

मिस्टर योञ्जन – “ओके अब खाना खाइसकें, आज चाँडै सुत्छु, हिजोको निन्द्राले त... एउटा तस्वीर सेन्ड गर्नुस् न है ! हेर्दै नुनु गर्छु, हिजोको निन्द्राले त गर्नु गर्‍यो नि ।”

म – “मैले भनेकै त थिएँ नि, चाँडै सुत्नुस् भनेर कुन बेला सुत्नु भयो ?” दयालु भावनामा सोधें ।

‘‘धेरै ढिलो । तीन घण्टा मात्र सुतें । तपाईंको फोटो हेरेर सुत्न सकिन ।” उसले भन्यो । 

मैले एउटा तस्वीर पठाएँ, कालो चश्मा लगाएर सयपत्रीको फूललाई अङ्गालोमा हालेर रातो मिड्डी, पहेंलो भेष्ट लगाएको तस्वीर । 

मिस्टर योञ्जन– “जून हेर्नुपर्ने आँखा, त्यो नै छोपेपछि अरु... तर बडीफिगर सारै मन पर्यो ।” 
म – “हो र ?” 

त्यस पछि आँखाको नानीमा चमक भएको एउटा तस्वीर पठाएँ जहाँ स्पष्ट देख्न सकिने तस्वीर । त्यही आँखाको चमकमा राजकुमारलाई सजाउँदै । 

मिस्टर योञ्जन “ओ हो ... । यो झन् राम्रो छ, आँखामा हेरिरहुँ जस्तो । धेरै राम्रो । तिम्रो आँखा र ओठ सबैभन्दा धेरै मन पर्छ मलाई ।”

हामी यस्तै कुरामा दुवै जना विदा भयौं । बिहानीमा भेट्ने आशामा ।

आकाशमा ढकमक्क तारा लागेको थियो । कालो आकाशमा ताराहरु चम्किँदा एक किसिमले मन नै रमाउँथ्यो मेरो । कुर्सीमा बसिरहें । घरि घरि बेस्सरी हल्लिन्थें, खै के को मज्जा हुन्थ्यो मलाई । मनभित्रबाट उब्जिएका शब्दहरु अकस्मात् बाहिर ओकल्थें । अनुपले पछाडिबाट आउँदा सुनेछ, स्वयम् आफैप्रति लज्जित भएँ । तर मेरो शब्द प्रष्ट सुन्यो जस्तो लागेन किनकी उसले यसप्रति कुनै सरोकार राखेन । 

अनुप– “रितु भित्र हिँड, अत्यन्त जाडो छ यहाँ ।”

मैले– “हुन्छ जाऊँ ।” उसँग कुरा गर्दै भित्र पसें । 

हामी सबै जना एउटै डल्लो परेर एउटा सोफामा बस्यौं जहाँ नजिकै हिटर थियो । म सबैलाइ म्यासेज गर्न छोडेर बसें । 

यत्तिकैमा एउटा म्यासेज आयो अनुपलाई । म्यासेजमा व्यस्त भएपछि सबैले अनुपालाई कराउन थाले । मैंले पनि कराएँ कति जवाफ दिइरहेको भन्दै ।

उसले हाँस्दै भन्यो – “दिएँ त के भयो ? त्यसैले त मैले भनें तिमीलाई मसँग बिहे गर भन्दा मान्दैनौ ।’’ मौका छोपेर उसले आफ्नो कुरा राखिहाल्यो । 

म – “आ हा आ हा बहाना मीठो छ तिम्रो सधैं एउटै कुरा !” 

नितु – “हो नै । एउटै घरको छतमुनि रहेर पनि सधैं अस्वीकार !”  

म – “ल ल जाऊ तिमीहरु खोलैखोला ।” भन्दै म कोठामा आएँ । 

म सुत्न लागेको थिएँ । फेरि मलाई मिस्टर योञ्जनको सम्झना आयो । म्यासेज पठाएँ ।

मिस्टर योञ्जन– “म जोशी मेडमको म्यासेजको प्रतीक्षामा थिएँ ।” 

म– “मिस्टर योञ्जनले लेख्दा पनि हुन्थ्यो नि ।” 

मिस्टर योञ्जन– “कस्तो संयोग । सोचेको मात्र थिएँ ।”

म – “अँ हो र ?”

मिस्टर योञ्जन– “जब सोच्नु खुशीको म्यासेज आउनु । यो खुशी हैन ?” 

मलाई कुरैले दङ्ग बनयो । “होला... होला सायद ।” मैले जवाफ दिएँ । 

मिस्टर योञ्जन– “आज पनि पाऊँ न एउटा सुन्दर तस्वीर ।”

म – “जस्तो भए पनि ल नयाँ छैन ।” 

यसो भन्दै मैले एउटा तस्वीर पठाएँ ।  

मिस्टर योञ्जन– “अँ हो । यो तस्वीरले त झन भुटी बनायो, चुम्मा गर्न मन लाग्यो तर के गर्ने ?’’

म– “यो नगर्नुस् मलाई दुःख्ने छ ।’’ मैले भनें । 

मिस्टर योञ्जन – “दुख्दैन, म बिस्तारै चुम्मा गर्नेछु । टोके पनि म बिस्तारै टोक्नेछु ।’’ 

म – “आखिरमा फोटो न हो ।” मैले यसरी भनें । 

मिस्टर योञ्जन – “यो पनि मायाको चेहरा हो ।” 

म – “भोलि ड्युटी जान गाह्रो हुँदैन ?”

मिस्टर योञ्जन– “हुँदैन रातभरि रोएर त भोलिपल्ट ड्युटी गएको छु । जे होस् आजको रात पनि जोशी मेडमसँग कुरा गरेर खुशी छु ।”

उसले खुशी व्यक्त गर्यो । 

म – “हैन जति कुरा गरे पनि लम्बिन्छ, आधा रातसम्म कुरा गर्नुको अर्थ ?” मैले भनें । 

मिस्टर योञ्जन – “हैन बिहान र दिउँसो बिजी हुन्छु ।”

म – “ अब सुतौं है ।” 

फनफनी घुमेको घडीको काँटाले धेरै तार बितेको सङ्केत दिइरहेको थियो । त्यसैले मैले बिदा मागें । बाहिर हेर्दा निष्पट्ट अन्धकार, चिसो हावा झट्ट झ्यालबाट छिर्यो । सबै सुतिसकेका थिए । चकमन्न यो रात, अँध्यारो औंसीको रात झैं । 
सुत्ने प्रयास गरिरहेको छु तर निन्द्रा लाग्दैन । आँखा वरिपरि मिस्टर योञ्जन अनि उसको कुराहरु सम्झना आउँछ । मेरो सपनाको राजकुमारको अनुहार योञ्जनसँग मिल्दा खुशी लाग्छ । न म उसलाई राम्ररी चिन्दछु न त देखेकै छु । तर म उसलाई माया गर्छु । कस्तो असम्भव कुरा जुन हुन सक्दैन  । ऊ कहाँको, म कहाँको । तर ऊ जहाँको भए पनि ऊ मेरो रातको राजकुमार हो !

उमालेको तातो पानीमा कालो नुन, बेसार अनि अदुवाको धुलो लगाएँ । दाल पाक्न थाल्यो । म धनियाँ र खोर्सानी पिस्न थालेँ । आँखा छलेर घरिघरि म नितुलाई हेर्छु । उ आज उदास थिइनँ । कहिले पनि ऊ आफ्नो उदासी पोख्दिन  । सुजी र ममा धेरै कुरा हुन्छ तर नितुमा त्यस्तो कहिले हुँदैन । बरु घरमा कोही पनि नभएको बेला अनुप र म घण्टौंसम्म कुरा गर्छौं । दुःखसुख र मिलनबिछोडको कुराहरु । सान्त्वना दिँदै मीठो स्पर्शका साथ मेरो केशराशी सुमसमाइदिन्छ अनुप । बच्चा झैं म उसको काखमा लुटुपुटु हुन्छु ।

हाँस्थें म अनुपसँग । रमाइलो गर्थें,  सुख दुःखका कुरा गर्थें उसैसँग । म अनुप सँगै झगडा गर्थें, मिल्थें । उसैसँग टाढाटाढा पुग्थें जब गर्नुुपर्ने कुनै काम हुँदैन थियो । 

केही क्षणमा खाना तयार भयो । बन्दागोभीको तरकारी पनि पाक्यो । हामी सबै घरमा नै थियौं । अनुप कतै गएको थियो । ऊ मात्र आउन बाँकी थियो । म भित्र पस्न लाग्दा परैबाट कोही आइरहेको आवाज पाएँ । अनुप आइपुगेको रहेछ ।

अनुप– “सरी... सरी ।” उसले कान समात्यो ।

म– “स्वागत छ तिमीलाई ।” 

अनुप– “रिसाएकी मेरी रानी ?” 

आज उसले नयाँ शब्द प्रयोग गर्यो । मैंले पनि उसैको अनुशरण गरेर उत्तर दिएँ ।

म – “हैन राजा किन रिसाऊँ म ?” 

अनुप– “सरी ल म अबेर आएकोमा ।” फेरि भन्यो ।

म– “हैन बारम्बार सरी भन्नुको अर्थ आज तिमीले कुनै गल्ती गरेको हुनु पर्छ ।”

अनुप – “तिमीले भुलेछौ, खुशी लाग्यो ।” हाँस्दै भन्यो ।

हामी भित्र सँगै पस्यौं जोई र पोइ जस्तै । प्रायः हामी सधैं यसरी नै पस्ने गथ्र्यौं । ऊ प्रायः मजाक गरेर भन्ने गथ्र्याे “हाम्रो जोडी सधैं यस्तै रहोस् !’’ 

अनि म भन्थें, ‘‘तिम्रो सपना साकार होस् ।”

०००

मैले खाना तयार गरें । सबै आ–आफ्नो ठाउँमा बस्योैं । खाना खायौं । तर नितुको उदाशी त्यस्तै थियो । त्यसै विषयमा कहिलेकाँही सन्दिप र नितुको तर्क वितर्क चल्थ्यो । हामी सुनी मात्र रहन्थ्यौं केही भन्दैनथ्यौं । सबै खाना सकेर जर्‍याक जुरुक उठेर गयो । उनीहरु कोठाभित्र छन् – सायद अझै होला तर्कवितर्क । 

त्यसपछि एकछिनमा उनीहरु आयो अनि हामी पाहुना कोठामा पस्यौं र खुशीका साथ फिल्म हेर्न थाल्यौं । केही घण्टामा फिल्म सकियो । सबै गए । म भने अब च्याटमा रमाउन थालें । बस्नु मात्र पर्छ सबै ताँत लागेर आउँछन् कमिलाको ताँती जस्तो । म सरसर उत्तर दिन थालें । अब त सब परिचित भैसकेका थिए साथीभाइ पनि । च्याटमा कोट्याउँदै गएँ । मिस्टर योञ्जन पनि थियो । बोलाउन खोजें, मन लागेन । धेरै दिन भएको थियो हामी बीचमा हाइ हेल्लो पनि नभएको । 

मैले उसैलाई चलाउन एउटा स्टाटस लेखें – झुटको पक्ष कहिले लक्ष्य बन्दैन, सत्यको वास्तविक नै एउटा लक्ष्य बन्छ, जीवनको गन्तव्य बन्छ..... बिना लक्ष्य बाँच्न निक्कै कठिन हुन्छ, बिना लक्ष्य कसरी पो बाँच्ने ?

मैले साँच्चै उसलाई कोट्याएछु । उ चलमलायो – “जोशी मेडम ”

म – “हजुर, भन्नुस् मिस्टर योञ्जन ।”

मिस्टर योञ्जन – “कस्तो मायालु शैली ।”

म – “सवालको जवाफ ।”

मिस्टर योञ्जन – “मेरो बारेमा मेरो बहिनीले केही भनेन ?’’ उसले निराश हुँदै प्रश्न गर्यो ।

म – “अँ हँ, कहिले भनेन । उसले आफ्नो बारेमा भन्छ अनि म पनि मेरो बारेमा तर हामीले कहिले पनि हजुरको बारेमा कुरा गरेनौं नि ।”

मिस्टर योञ्जन – “किन र ? तिमी र मेरो बहिनी साथी हैन र ?”

म – “हो तर खै कहिले भएन । र मैले पनि हजुरको बारेमा कहिले सोध्ने प्रयास गरिनँ ।’’ 

म उसको म्यासेज पढ्दै मुसुमुसु हाँस्दै ओछ्यानमा गुटुमुटु भएँ । चिसो ओछ्यान कहिले तातिने हो र म सुतौं ? सदा झैं आज पनि म नानी र बाबुको तस्वीरमा चुम्बन गर्दै शुभ–रात्री भन्दै बिजुली निभाएँ । 

(चन्द्रा जोशी सुमनको भर्खरै प्रकाशित उपन्यास ऋतुबाट, उपन्यासकार सुमन अहिले लेवनानमा हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया