MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

पार्टी खोलेको १३ महिनामा राष्ट्रपति

टंक ढकाल/उज्यालो ।

काठमाडौं, वैशाख २५ – ३९ वर्षका मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । नेपोलियन बोनापार्टदेखि अहिलेसम्म आइपुग्दा परम्परागत मुख्य दुई पार्टी बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति हुनुहुन्छ । फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित म्याक्रोनले दक्षिण पन्थी नेतृ मरिन ली पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । म्याक्रोनले ६६ प्रतिशत भन्दा बढी मत पाउनुभयो भने ली पेनले झण्डै ३४ प्रतिशत । 

१३ महिने यात्रा

पूर्व इन्भेस्टमेन्ट बैंकर म्याक्रोनले १३ महिनाअघि एन मार्चे (अन द मुभ) पार्टी बनाएर राजनीति सुरु गरेका थिए । त्यसबेल तत्कालिन सरकारमा अर्थमन्त्री रहेका म्याक्रोनले एन मार्चे गठन गरेको केही महिनापछि राजीनामा दिएर राष्ट्रपतिमा उम्मेद्वारी घोषणा गर्नुभयो । आक्रामक तथा प्रभावकारी चुनावी अभियानका कारण म्याक्रोनले किशोर किशोरी, युवा, प्रौढलाई प्रभावित पारे । मतदानको समयसम्म आइपुग्दा म्याक्रोनको प्रभाव पाका उमेरका फ्रान्सेली नागरिकमा पनि पर्‍यो । युरोपियन युनियनको पक्षमा रहेका म्याक्रोनले फ्रान्समा रहेको वर्ग समस्या अन्त्य गरी नागरिकमा आशाको सञ्चार गर्ने प्रतिबद्धता जनाएका छन् । 

फ्रान्सले युरोपको भविष्य छान्यो

म्याक्रोनले इयुको विपक्षमा रहेकी मरिन ली पेनलाई हराएर राष्ट्रपति बनेपछि फ्रान्स इयुमा रहने नरहने विवाद लगभग टुंगिएको विश्लेषण गरिएको छ । इयुका जिन–क्लाउडे ज्यानकरले फ्रान्सले युरोपको भविष्यलाई चुनेको बताउनुभएको छ । उहाँले ट्वीट गरेर फ्रान्सले युरोपको भविष्य चुनेकोमा खुशी रहेको र एकीकृत तथा पारदर्शी इयुका लागि काम गर्नुपर्ने बताउनुभएको छ । युरोपियन काउनसिलका अध्यक्ष डोनाल्ड टुस्कले स्वतन्त्रता, समानता र भातृत्वको पक्षमा मत दिएकोमा फ्रान्सेली नागरिकलाई धन्यवाद दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विजयी भएका म्याक्रोनलाई बधाई दिनुभएको छ । सहकार्यमा काम गर्न चाहेको उहाँले बताउनुभएको छ । यस्तै गएको नोभेम्बरमा ट्रम्पसँग पराजित हुनुभएकी हिलारी क्लिन्टनले म्याक्रोनको जित विश्वका लागि भएको बताउनुभएको छ । म्यानक्रोनका जित फ्रान्स, इयु तथा विश्वका लागि रहेको उहाँले बताउनुभएको छ । 

म्याक्रोनका चुनौती

गहिरो रुपमा जरा गाडेर बसेको बेरोजगारी तथा आतंकवाद म्याक्रोनको सबैभन्दा ठूृलो चुनौती रहेको विश्लेषकले बताएका छन् । यस्तै पूर्वाग्रह तथा घृणाको राजनीतिमा घेरिएको देशलाई एकीकृत बनाएर लैजानु पनि उहाँको अर्को चुनौती हो । त्यसका लागि सजिलो समाधान नरहेको र म्याक्रोनले सदियौंदेखि बलियो रुपमा रहँदै आएका नेशनल फ्रन्टका समर्थकलाई रिझाउन सजिलो हुने छैन । म्याक्रोनका लागि आउँदो महिना हुने संसदीय चुनाव ठूलो परीक्षण रहेको फ्रान्सेली पत्रकार तथा राजनीतिक विश्लेषक नाबिला रामदानीले बताउनुभयो । बहुमतमा काम गर्नका लागि म्याक्रोनको लक्ष्य संसदका २९० सिटमा जित निकाल्नु हुने उहाँको भनाई छ । संसदीय चुनावमा म्याक्रोनको पार्टी एन मार्चेले २४० देखि २८६ सिटीसम्म जित्ने सम्भावना रहेको पत्रकार रामदानीले बताउनुभयो । म्याक्रोनको प्रभाव निकै राम्रो रहेको उहाँको भनाई छ । आराम गर्न रुचाउने धेरै फ्रान्सेलीलाई सक्रिय बनाउनु म्याक्रोनको ठूलो चुनौती भित्र पर्छ । धेरै फ्रान्सेली साथीसँगको जमघटमा रमाउने, लामोसमय लञ्च बस्ने तथा आफ्नो कुकुसँग अति माया गर्ने खालका छन् । यस्ता नागरिकलाई सक्रिय बनाउनु उहाँको चुनौती हो । म्याक्रोनले आउँदो आइतबार जिम्मेवारी सम्हाल्नु हुनेछ । 

स्रोत : AFP, Routers, BBC, The guardian

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया