MENU

विचार/अनुभूति

Ncell Axiata Naya Saptati
USAID

उम्मेद्वार र जनप्रतिनिधिको पारदर्शिता र जवाफदेही

टंकराज अर्याल –

नेपालको संविधानको धारा ५६ ले हाम्रो मुलुकको राज्यव्यवस्थालाई संघ, प्रदेश र स्थानीय तहमा विभक्त गरेको छ । वर्तमान व्यवस्थाअनुसारको स्थानीय तहलाई प्रक्षेपित अधिकारबाट यस तहबाटै नागरिक र सरकारबीच सर्वाधिक निकटस्थ सम्बन्ध कायम हुने देखिएको छ ।

संविधानमा स्थानीय तहको अधिकारक्षेत्रका विषयलाई  अनुसूची ८ ले निर्दिष्ट गरिदिएको छ भने अनुसूची ९ ले संघ र प्रदेशसँगै स्थानीय तहका साझेदारीबाट सम्पादित हुने कार्यक्षेत्रका विषय पनि तोकिदिएको छ । साबिकका स्थानीय निकायहरू सामान्यतः नेपाल सरकारको कार्यपालिकीय अधिकारक्षेत्रको प्रत्यायोजित अधिकारअन्तर्गत परिचालित थिए । 

सिद्धान्ततः अब स्थानीय तह भने धेरै कुरामा स्वायत्त र केही कुरामा मात्र संघीय वा प्रादेशिक तहका विधायिकी, कार्यपालिकीय र न्यायिक निर्देशबाट सञ्चालित हुने देखिएका छन् । यसर्थ अब स्थानीय तहबाट आफ्नै क्षमतामा धेरै विधायिकी र कार्यपालिकीय कार्य सम्पादन गर्नुपर्ने संवैधानिक दायित्व निर्धारित भएको छ ।

यो संवैधानिक व्यवस्थाले एकातिर स्थानीय सरकारलाई स्वायत्त र अधिकारसम्पन्न बनाएको छ, अर्कातिर नागरिकलाई घरदैलामै  सेवा दिन सक्षम सरकार उपस्थित गराएको छ । स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिका  यसरी अधिकारसम्पन्न भएपछि तिनको नेतृत्व तथा प्रशासनमा सुशासन र उत्तरदायित्वको प्रत्याभूति पनि त्यत्तिकै आवश्यक देखिएको छ ।

गाउँपालिका र नगरपाललिकाको नेतृत्व गर्ने पदाधिकारीहरू मुख्य गरी अध्यक्ष, उपाध्यक्ष,  मेयर, उपमेयर र वडाअध्यक्षहरूसँग स्थानीय विकास र नागरिकलाई सहज सेवासुविधा उपलब्ध गराउने गहन जिम्मेवारी रहन्छ ।

विकास र आधारभूत सेवाको कार्यभार बहन गर्ने स्थानीय तहको नेतृत्व जिम्मेवार, दूरदर्शी, स्वच्छ र पारदर्शी हुन अनिवार्य छ । राष्ट्रिय राजनीतिक नेतृत्वमा इमान्दारी र सदाचारको कमीको अनुभव गरिएको वर्तमान परिप्रेक्ष्यमा स्थानीय तहको भावी नेतृत्वप्रति पनि सन्देह उत्पन्न हुनु अनौठो होइन । यस्तो सन्देहपूर्ण अवस्था सिर्जना हुन नदिन स्थानीय तहको नेतृत्वका प्रत्याशी बनेकाहरूको पारदर्शिता र सदाचारको प्रतिबद्धता आज सबैको माग भएको छ ।

स्थानीय सरकारको प्रमुख र उपप्रमुख तथा अन्य पदमा उम्मेद्वार हुने व्यक्ति प्रायः स्थानीय हुन्छन् । पर्यटक उम्मेद्वार हुने र जित्ने सम्भावना निकै कम देखिन्छ । स्थानीय उम्मेद्वारलाई स्थानीय नागरिकहरूले चिनेकै हुन्छन् तर पनि उम्मेद्वारको सबै कुरा जनतालाई थाहा हुँदैन ।

यसैले स्थानीय सरकारको नेतृत्व अधिकतम पारदर्शी र सदाचारी व्यक्तिबाट हुने कुरा सुनिश्चित हुनु अपरिहार्य छ । यसैले मतदाताले उम्मेद्वारहरूको पारदर्शिता र सदाचारको खोजी गर्नु आवश्यक छ भने उम्मेद्वारले पनि पारदर्शिता र सदाचारको सुनिश्चितता प्रर्दशन गर्नु आवश्यक छ ।

उम्मेद्वारले पनि मतदातासामु आफ्नो पारदर्शिता र सदाचारको सुनिश्चितता दिन आफ्ना  निश्चित पक्षहरू सार्वजनिक गर्नुपर्दछ । चुनावका दौरान यस्ता कुराको सार्वजनिकीकरण गर्दा उम्मेद्वारको कानुनको शासन, सुशासन तथा उत्तरदायित्वका मान्यताप्रतिको उसको विश्वास र निष्ठाको बारेमा जान्ने अवसर मतदातालाई हुन्छ । यस अवसरले मतदाताले असल उम्मेद्वारलाई छान्नमा आवश्यक सहयोग, सर्मथन र प्रोत्साहन गर्न सक्दछन् । 

उम्मेद्वार वा निर्वाचित जनप्रतिनिधिले स्वतस्पूmर्त रूपमा घोषणा नगरेकोमा मतदाताले जागरूप भई यी बिषयमा जानकारी माग्नुपर्छ । यस्ता मागले उम्मेद्वार तथा निर्वाचित प्रतिनिधिमा सुशासन र उत्तरदायित्वको निष्ठा बढाउनुपर्ने दबाब पर्छ ।  

जानकारी माग्ना र लिनाले उम्मेद्वारको सार्वजनिक आचरण,  योजना र प्रवृत्ति थाहा हुन्छ र उम्मेद्वारहरूमध्येको सबैभन्दा इमान्दार र जिम्मेवार देखिएको व्यक्तिलाई प्रतिनिधि बनाउने निर्णय लिन सघाउ पुग्छ । यसबाट भ्रष्टाचारको रोकथाममा नागरिक योगदान पुग्छ ।

यसका लागि ध्यान दिनुपर्ने पक्ष यस्ता छन् :

१‍. उम्मेद्वारको धारणा तथा योजना 

उम्मेद्वारले विकास, सुशासन, पारदर्शिता, नागरिक अधिकारको बारेमा के कस्तो धारण छ स्पष्ट राख्नुपर्दछ । तिनको व्यवस्था र प्रचलनका लागि केकस्तो योजना आवश्यकताको पर्दछ स्पष्ट धारणा मतदाताले माग्नुपर्छ ।

उम्मेद्वारको यी विषयको धारणाले स्थानीय अवस्था, सामाजिक आवश्यकता र समसामयिक विषयप्रति ऊ कति सचेत, संवेदनशील र समर्पित छ भन्ने कुरा बाहिर आउँछ । यो असल व्यक्तिलाई स्थानीय निकायमा छान्ने महत्त्वपूर्ण आधार हो । 

२. समस्याको पहिचान र प्राथमिकता

उम्मेद्वारले आफुले नेतृत्व गर्छु भनेको निकायमा भएका समस्या, सवल पक्षहरू र सम्भावनाहरू केके छन् ? त्यसलाई कसरी प्राथमिकतामा राखेको छ ?  त्यसले कसरी स्थानीय विकासमा योगदान र जीवनस्तर उकास्न के योगदान दिन सक्छ ?

यस्ता प्रश्नको उत्तरसहितको घोषणाले मतदातालाई उम्मेद्वारमध्येको उपयुक्त व्यक्तिलाई मतदान गर्ने निर्णयमा पुग्न मतदातालाई सक्षम बनाउँछ । तसर्थ उम्मेद्वारले बुझेको स्थानीय समस्याहरू र समाधानको लागि प्राथमिकताकरणको बारेमा उम्मेद्वारसँग प्रश्न गर्नु अवाश्यक छ । 

३. पार्टीको राष्ट्रिय होइन, स्थानीय घोषणापत्र र प्राथमिकता

राजनीतिक दलका घोषणापत्रहेर्दा स्थानीय तहको सरकारका लागि भन्दा संघीय वा प्रादेशिक तहको चुनावका लागि महत्त्व राख्ने विषय जस्ता देखिएका छन् । स्थानीय तहको चुनावमा दलको स्थानीय तहकै दृष्टिकोण र विशेष गरी उम्मेद्वारको व्यक्तिगत सोच, योजना र सङ्कल्पको अर्थ बढी हुन्छ ।  

यसैले मतदाताले उम्मेद्वारसँग स्थानीय घोषणापत्र माग गर्नुपर्दछ । स्थानीय घोषणापत्रमा स्थानीय विकासका योजना केके छन् ? केके कुरा प्राथमिकतामा छन् ? व्यवस्थापनको रणनीतिक योजना के छ ? जस्ता कुरामा जानकारी भएको घोषणापत्र मतदातामा पुगेमा मतदातालाई उत्तम योजनासहितको प्रतिनिधि चयन गर्ने निर्णय लिन सजिलो हुन्छ ।

४. उम्मेद्वारको सम्पत्तिको खुलासा 

सार्वजनिक पदमा जाने व्यक्तिहरूले सम्पत्तिप्रतिको लोभ र आशक्तिका कारण सार्वजनिक पदाधिकारी बदनाम र भ्रष्ट बनेका अनेक उदाहरण छन् । यसैले स्थानीय तहका निर्वाचनका उम्मेद्वारले मतदातासमक्ष आफ्नो र पारिवारिक सम्पत्ति तथा आयआर्जनका स्रोत खुलस्त गर्नुपर्छ ।

मतदानपूर्व गरिएको यस्तो खुलस्तताका आधारमा पछिल्ला वर्षमा सम्पत्तिको लेखाजोखा र तुलना गर्न सकिने भएकोले यसले सदाचारमा रहेर काम गर्न जनप्रतिनिधिलाई सहज हुनेछ । भ्रष्टाचार र अनियमिताका लान्छनाबाट सफाइ लिने सबैभन्दा स्वाभामिक तरिका यही हो । यसले भ्रष्टाचारको रोकथाममा टेवा पुग्छ ।  

५. करचुक्ता विवरणको खुलासा

स्थानीय सरकारको आर्थिक सा्रेतमध्ये कर प्रमुख हो । स्थानीय सरकारको नेतृत्वमा जाने व्यक्तिले आफू नियमित रूपमा कर तिर्दछ वा तिर्दैन भन्ने कुरा महत्त्वपूर्ण विषय हो ।

यसैले आफ्नो करचुक्ता भएको र बाँकीबक्यौता नरहेको घोषणा गरेको उम्मेद्वारलाई मतदाताले रुचाएर मतदान गर्न सक्छन् । यो कुरा निर्वाचित भैसकेपछि पनि उत्तिकै हिसाबले लागू हुन्छ । 

६. स्वार्थ बाझिने कुराको घोषणा

आफूलाई व्यक्तिगत फाइदा हुने गरी कानुन बनाउने र नीति तर्जुमा गर्ने गरी भएका घटना धेरै  छन् । यसैले सार्वजनिक पदमा बस्दा व्यक्तिगत लाभका लागि सो पदको दुरुपयोग हुने छैन् भन्ने कुराको निश्चितता प्रदान गर्नका लागि  स्वार्थ बाझिने अवस्थामा तदविषयमा सार्वजनिक पदको प्रयोग नगरिने कुराको घोषणा गरिनुपर्छ ।

यो स्वार्थ बाझिने कुराको घोषणा पदमा गएपछि पनि निरन्तर रूपमा गर्नुपर्दछ । यस्तो घोषणाले सदाचारलाई बढाउने काम गर्दछ । 

७. चुनाव खर्चको स्रोत र खर्चसहितको आर्थिक विवरणको खुलासा

चुनावसँग सम्बन्धित खर्चका लागि कुन स्रोतको प्रयोग गरियो र कति खर्च भयो भन्ने कुरा सार्वजनिक गर्नु उम्मेद्वारको महत्त्वपूर्ण कर्तव्य हो । खर्चको सम्बन्धमा चुनाव आचारसंहिताले पनि सीमा निर्धारण गरेको हुन्छ ।

चुनावको बेला आर्थिक सहयोग गर्ने व्यक्तिको हितअनुकुल पछि निर्णय हुने छैन भन्ने कुरा सुनिश्चित पार्नका लागि यसको चुनावका क्रममा भएको चुनावी आयव्ययको विवरण सबै उम्मेद्वारले सार्वजनिक गर्नुपर्छ ।  यसले पारदर्शी र स्वच्छ चुनावको सुनिश्चितामा टेवा पुग्छ । 

८. कुनै आरोप वा मुद्दाको जानकारी

निश्चित मुद्दामा सजाय पाएका व्यक्तिहरू उम्मेद्वार बन्न नपाउने गरी कानुनमा उल्लेख गरिएको छ । तर सजाय नपाएको तर आरोप लागेको अवस्था छ भने पनि उम्मेद्वारले सार्वजनिक रूपमा त्यस कुराको बारेमा जानकारी दिनुपर्दछ ।

मतदातालाई उम्मेद्वारको पृष्ठभूमि र उसमाथि लागेका कुनै पनि फौजदारी तथा आर्थिक हिनामिनाका आरोपहरूको बारेमा जान्ने अधिकार छ । यो कुरा निर्वाचित प्रतिनिधिको हकमा पनि त्यत्तिकै लागू हुन्छ । 

९. सामाजिक वा सामुदायिक बाँकीबक्यौताको खुलासा

 कुनै पनि संस्थालाई उम्मेद्वारले कुनै कुरा तिर्नबुझाउन बाँकीबक्यौता रहेका भए त्यसको बारेमा पनि घोषणा गर्नु पर्दछ । पेस्की लिएको, कर्जा लिएको, पुस्तकालयको पुस्तक, सामुदायिक संस्थाका दायित्वहरूबारे उम्मेद्वारले मतदातासामु स्पष्ट विवरण उपलब्ध गराउनुपर्छ । 

१०. व्यतिगत विवरण र सामाजिक योगदान

व्यक्तिको क्षमता र उसले विगतमा गरेकाका कार्यले उम्मेद्वारको बारेमा मतदातालाई निर्णय लिनमा सहयोग पुग्दछ । यसैले उम्मेद्वार आफ्नो विशेष क्षमता, योग्गता, शैक्षिक योग्यता, विगतमा गरेका सामाजिक कार्यको विवरण, आफूले सम्पादन गरेका सफल कार्ययोजना र तिनले उत्पन्न गरेका सामाजिक लाभ र सार्वजनिक भलाइका पाटा आदिको बारेमा पनि मतदातलाई जानकारी दिनु उम्मेद्वारको कर्तव्य हो । 

माथि लेखिएका कुरा उम्मेद्वार तथा निर्वाचित प्रतिनिधिले घोषणा गर्ने जिममेवारीका कुरा हुन् । उम्मेद्वार र प्रतिनिधिले घोषणा नगरेमा मतदाता नागरिकले माग गर्ने विषय हुन् । निर्वाचित हुने प्रतिनिधिको कामको लेखाजोखा र अनुगमन गर्ने महत्त्वपूर्ण आधार भनेकै यिनै कुरा हुन् ।  

स्थानीय सञ्चारका माध्ययमले पनि यस्ता सूचना तथा जानकारी माग गरी नागरिकमा प्रवाह गर्नुपर्दछ । माथिका केही विषय उम्मेद्वारीको चरणमा बढी उपयोगी हुन्छन तर ती सबै कुरा चुनाव सम्पन्न भएपछि झन महत्त्वपूर्ण हुन्छ ।  यस्ता विषयमा सम्बन्धित क्षेत्रका वासिन्दा र नागरिकको सचेतना र अग्रसरता आवश्यक हुन्छ ।

यस्ता कुराको माध्यमबाटै उम्मेद्वार र निर्वाचित प्रतिनीधिलाई पारदर्र्शी, जिम्मेवार, सदाचारी र सफल बनाउन योगदान पुग्छ । सचेत नागरिक बनौँ, उपयुक्त उम्मेद्वारको छनोटमार्फत् स्थानीय सरकारलाई जिम्मेवार बनाऊँ । सुशासनयुक्त स्थानीय सरकार बनाउन योगदान गरेर लोकतन्त्रलाई मजबुत बनाऔँ । 

 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया