MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

वसन्तपुर–म्याङलुङ सडक : यो वर्षपनि नाम मात्रको मर्मत (भिडियोसहित)

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, वैशाख २८ – जेठ लाग्दा नलाग्दै पानी पर्ने क्रम बढेसँगै चित्रे–वसन्तपुर–म्याङलुङ सडकमा आवतजावत गर्नुपर्नेका लागि दुखका दिन सुरु हुँदैछन् । सडकको स्तरोन्नति नहुँदा यात्रुलाई यो सडकखण्डमा वर्षौदेखिको सास्ती उस्तै छ । वर्षेनी भत्किने सडक यसपटक पनि नाममात्रको मर्मत मात्र हुने भएपछि सास्ती उस्तै हुने पक्का भएको हो ।

सडक डिभिजन कार्यालय धनकुटाले यसपटक पनि सडकको मर्मतसम्भार गर्ने बताएको छ जबकी वर्षेनी हुने ‘मर्मतसम्भार’ मा करोडौं रुपैयाँ खर्च गरेपनि सडक भने जस्ताको त्यस्तै छ । अहिलेसम्म सडक मर्मतको काम सुरु नगरेको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सचिन श्रेष्ठले यसपटक सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गरिएको र प्रारम्भिक सर्भे गरी चाँडै मर्मत सुरु गर्ने तयारी रहेको बनिबनाउन उत्तर दिनुभयो ।

ओटासिल प्रविधीको कालोपत्रे गरिएको सडकमा कालोपत्रे उप्किएर कच्ची जस्तै भइसकेको छ । बनेको अर्को सालदेखि भत्किन थालेको सडक अहिले ठाउँठाउँमा पिच पनि गरिएको रहेछ भन्ने देखिनुबाहेक पुरै कच्ची जत्तिकै भइसकेको छ । जहाँ बर्षायाममा घुँडाघुँडासम्म आउने हिलोले सडक पुरिएको हुन्छ ।

वर्षायाममा यस्तो हुन्छ यो सडकको दुर्दशा (भिडियो)

-भिडियोः लक्ष्मण कार्की

३२ किलोमिटर दूरीको यो सडक खण्ड पूरा गर्न झण्डै तीन घण्टा लाग्छ । दुई वर्षदेखि वर्षाका याममा सडकमा गाडी चलाउन सास्ती हुने गरेपछि स्तरोन्नतीका लागि पटकपटक आवाज उठेपनि सम्बन्धित निकायको कानमा बतास लागेको पाईंदैन । सरकारी निकाय सडकलाई गुणस्तरीय बनाउने भन्दापनि बर्षेनी ‘मर्मतसम्भार’ गरेर आफूलाई व्यस्त बताइरहेको छ । सडक डिभिजन कार्यालयले मर्मत गर्ने योजना भएको बताएपनि अहिलेसम्म काम थालेको छैन । ‘जेठ त लाग्नै लाग्यो, अब झरी पर्न थालेपछि बाटो अवरुद्ध हुन्छ, त्यहीबेला मर्मत कस्तो होला’ खड्काले भन्नुभयो ‘आफै कुरो बुझ्नुस ।’

जिल्ला सदरमुकाम म्याङलुङ्गलाई झापा, मोरङ्ग, सुनसरी र धनकुटासँग तथा जिल्लाकै विभिन्न गाउँहरुलाई जोड्ने यो सडकको कन्तविजोगले दैनिक सैयौं यात्रुलाई समस्या पर्ने गरेको वसन्तपुरका व्यवसायी छिरिङ्ग लामा बताउनुभयो । सडक मर्मतका लागि आएको बजेटको पनि सदुपयोग नभएको उहाँ बताउनुहुन्छ । वसन्तपुर–म्याङलुङ सडक खण्डको मर्मत सम्भारका लागि गएका वर्षहरुमा ३ करोड भन्दा बढी रकम खर्च भइसकेको हिसाब किताब छ । तर ३ करोड रुपैयाँले मर्मतका लागि धेरै काम गर्न सकिने उहाँको भनाई छ । सडकको गुणस्तर बढाउन जिल्ला बासिन्दा, राजनैतिक दल, नागरिक समाज लगायतले पटकपटक सडक डिभिजन कार्यालय धनकुटामा ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिइएको नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुङ्गानाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया