MENU

समाज

Ncell Axiata
USAID

भोट हाल्न दुई वर्षपछि आफ्नै थातथलोमा फर्किए भूकम्पप्रभावित

अर्जुन श्रेष्ठ/उज्यालो ।

धादिङ, वैशाख २९ -

भूकम्पले घर भत्कियो । जमिन पनि चिरा चिरा भयो । बस्ने सुरक्षित ठाउँ नभएपछि सदरमुकाम आसपास आइपुग्यौं । धेरै दिन चौरमा भोकै सुतेको विगतले झस्काइरहेको छ । अहिले पनि त्रिपाल र जस्ताले बेरिएको अस्थायी टहरामा दुःखले रात कट्छ । यो निर्वाचनपछि गाउँ फर्कने हाम्रो सपना पूरा होला त ? 

भूकम्पले घरवास उठेर दामगाडे शिविरमा बस्दै आउनुभएका गंगाजमुना गाउँपालिका १ धादिङका मंकुश्री तामाङ मतदान गर्न गाउँ जाँदै हुनुहुन्छ । भूकम्पले उठीबास पारेपछि ज्यान जोगाउन सदरमुकाम आइपुग्नुभएका तामाङको टहराको बासमा दुई मुठ्ठी सास मुस्किलले बचेको छ । 

‘गाउँबाट भोट हाल्न आउ भनेर फोन गरेपछि छक्क लाग्यो । पहिले नेतालाई हाम्रो वास्तै भएन । चुनाव आएपछि सम्झिए । मतदान गरी मलाइ जितायौ भने गाउँमै फर्काउँछौ भनेर भनेका छन्’ तामाङ भन्नुहुन्छ, ‘मेरो मतदान गाउँ फर्कनका लागि हो । स्वदेशमै परदेशी भएका हामी अब आफ्नै गाउँ फर्कन चाहन्छौं ।’ 

गाउँ जान गाडी कुरेर बसेका यात्रुहरु मतदान गर्नकै लागि गाउँ जान लागेका बताउँछन् । खनियाँवास गाउँपालिका ५ धादिङकी धनमाया तामाङ र कुमारी तामाङ पनि गाउँको विकास होला । गाउँमै शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर सिर्जना होला भनेर मतदान गर्न गाउँ जान लागेको बताउँछन् । उहाँहरु भन्नुहुन्छ, ‘मतदान गर्ने अधिकार लिन र सहि प्रतिनिधिलाई मत दिन गाउँ जान लागेका हौँ ।’  

गंगाजमुना गाउँपालिका १ धादिङका मानबहादुर तामाङको दैनिकी चित्रा खेलाएरै बित्छ । गाउँमा जाने फुर्सद छैन तैपनि गाउँमा गएर भोट हाल्ने उहाँलाई खुब रहर छ । त्यसैले वैशाख ३१ गतेका लागि २९ गते गाउँ जाने सपना र डोका डाला एकै साथ बुन्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चित्रा नखेलाए मुखमा माड लाग्दैन, त्यसैले भोट हाल्न भ्याउने गरी मात्रै गाउँ जानेछु ।’ उहाँ जस्तै अधिकाशं भूकम्प प्रभावित वैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि आआफ्नो गाउँ फर्किसकेका छन् । 

नयाँ सुन्दर वस्तीका ५५ घरपरिवार पनि लापा पुगेँ 

भूकम्पले घर तथा जमिन फाटिएर बस्ने ठाउँ नभएपछि साविकको लापाको कपुरगाउँ र नेवेरगाउँका ५५ घरपरिवार ज्वालामुखी गाउँपालिका ४ ढोला आइपुगेका थिए । दिनेश तामाङको परिकल्पना र सक्रियतामा प्रत्येक परिवारले ४ कोठाको भूकम्प प्रतिरोधात्मक घर पाएका छन् ।  

यस निर्वाचनबाट गाउँको विकास होला भनेर मतदान गर्न गाउँ पुग्नुभएका दिनेश तामाङ छक्क पर्नुभएको छ । गाउँको विग्रदो सुशासन, आम नागरिकको सास्ति देखेर हैरानी हुनुभएको हो । बालबच्चालाई चुनावी अभियानमा प्रयोग गरेको, फरक राजनीतिक दलको आस्था राख्नेलाई निर्वाचनपछि सेवा सुविधा नदिने, चुनावको नाममा आफन्त आफन्तबिचमा मतभेद, निर्वाचनको आचारसंहिताको उल्लङ्घन जस्ता गतिविधिले गाउँ विग्रेको समेत बताउनुभयो । 

दिनेश तामाङसहित आफ्नै खर्चले १ सय १० जना मतदान गर्न लापा पुगेका हुन् । तामाङ भन्नुहुन्छ, ‘हामी त ढोला नै फर्कन्छौँ । तर गाउँमा बस्नेले सास्ति खेप्न नपरोस् । असल प्रतिनिधि छान्न गाउँ आइपुगेका हौँ । व्यक्तिगत स्वार्थ भन्दा पनि गाउँको विकास र सुशासन कायम गर्ने प्रतिनिधिलाई हाम्रो मत हुनेछ ।’ रोशनी तामाङ र कविता तामाङ थप्नुहुन्छ, ‘गाउँमा समस्याहरु भनेर साध्य छैन । न खाने गाँस छ, न वस्ने बाँस । ढलेका घरहरु अझै उठाउन सकेका छैनन् । त्रिपालमा दैनिकी गुजारा चलाइ रहेकाहरु पीडितका समस्या समाधानका लागि हामी भोट हाल्दैछौँ । समस्याका भूमरीमा रहेका हामी जस्ता हजारौ पीडितको मत खेर नजाओस् । सिंहदरबारको सेवा सुविधा गाउँगाउँमा ल्याउछौँ भन्नेहरु पहिले जस्तै गाउँ नै छाड्ने होइन समस्या समाधानमा सहकार्य गर्नुपर्दछ ।  भूकम्पको घाउमा मलम लाग्ने हाम्रो आश छ ।’  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया