MENU

बातावरण-कृषि

Ncell Axiata Naya Saptati
USAID

दिनदिनै देखिन्छ बर्दियामा पाटेबाघ, पर्यटक खुशी

भावुक योगी/उज्यालो । 

बर्दिया, वैशाख २९ – बर्दिया राष्ट्रिय निकुञ्जमा तीन महिना यता दिनहुँ पाटेबाघ देख्न पाइएपछि निकुञ्ज अवलोकन गर्न आएका आन्तरिक तथा वाह्य पर्यटक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि खुशी भएका हुन् । पाटेबाघ संगै गैँडा, जंगली हात्ती, लगायतका वन्यजन्तु दिनहुँ देख्न पाइएको छ । 

निकुञ्ज अवलोकनका लागि सोमबार बिहान गएको टोलीले एकै ठाउँमा पाटे बाघका डमरुसहित ५ वटा र अर्को ठाँउमा २ वटा गरी एकै दिन ७ वटा बाघ देख्न पाएका छन् । ‘अन्य दिनमा एउटा दुईवटा सम्म बाघ देखिए पनि बुधवार निकुञ्ज भित्रको तिनकुनेमा ७ वटा बाघ देख्न पायौँ’ गैँडा क्याम्प रिसोर्टका संचालक रामजीबाबु थापाले भन्नुभयो, ‘निकुञ्ज आउने पर्यटकहरुले गएका वर्षमा तीन चार दिन लगाएर बडो मुस्किलले बाघ हेर्न पाउँथे, तर हिजोआज दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटकहरु धेरै खुशी छन् ।’ 

‘वाह्य पर्यटकहरुको सिजन सुरु हुने बेलामै बर्दिया निकुञ्जमा दिनहुँ पाटेबाघ देखिएपछि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरुको बढ्दो आगमनले निकुञ्ज आसपास ठाकुरद्वाराका होटल व्यवसायीहरु खुशी भएका छन्’ पर्यटन व्यवसायी एवं गाईड उमंग खड्काले बताउनुभयो । 

आन्तरिक पर्यटक संगै जर्मन, इंगल्याण्ड, ईजराईल, फ्रान्स, भारत लगायतका देशबाट बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आएका पर्यटकहरुले नेपालको चितवन निकुञ्जमा मात्र बाघ देख्न पाईने सुने पनि बर्दियामा आफूहरुले दिनहुँ बाघ देखेको बताएका छन् ।  

केही पर्यटकहरु दिनहुँ बाघ देख्न पाएकै कारण अन्त घुम्न जाने कार्यक्रम छोट्याएर बर्दियामै बसेर बाघ हेर्न थालेको चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान सञ्जालका अध्यक्ष एवं गाईड हेमन्त आचार्यले बताउनुभयो ।  
    
बर्दिया निकुञ्जमा बाघको वासस्थान राम्रो भएकाले गर्मी बढ्न थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाइएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।  

पर्यटकहरुले फागुनदेखि लगातार बच्चा सहितका बाघ देख्न पाइरहेका छन् । बाघ संगै गैँडा र जंगली हात्तीको बथान पनि देख्न पाइरहेका छन् । ‘वर्षा सुरु भएर ठूलो पानी नपरुन्जेल सम्म निकुञ्ज भित्र अझै २ महिना दिनहुँ बाघ देख्न सकिन्छ’ निकुञ्जका निमित्त प्रमुख थापाले भन्नुभयो । बर्दिया निकुञ्ज क्षेत्र ठाकुरद्वारामा अहिले धेरैजसो आन्तरिक र वाह्य पर्यटकहरुको चहलपल पनि बढेको छ । बर्दियामा बाघ हेर्नका लागि पैदल हिँडेर जान पाइने सुबिधाको निकै प्रसंशा गर्दै भारतीय सेनाका एक कर्नेल माईपति पवरले दुई वर्ष अघि बर्दिया आएको पहिलो पटकमै ४ वटा बाघ देख्न पाएकोमा खुशी ब्यक्त गर्दै हरेक वर्ष बाघ हेर्न बर्दिया आउने गरेको बताउनुभयो । 

बाघ लगायतका अन्य वन्यजन्तुका लागि उपयुक्त वासस्थान पारिस्थितिकिय प्रणाली र जैविक विविधताको दृष्टिकोणले निकै धनी मानीने बबई उपत्यकाको मनमोहक प्राकृतिक दृश्य, घडियाल, गोही र डल्फिनको संरक्षण, बाह्रसिँगाको दोस्रो प्राकृतिक वासस्थान, वर्षेनी बढीरहेका बाघ, हात्ती र गैँडा एवं बिभिन्न थरीका चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवलोकन गरि मज्जा लिन हरेक वर्ष पर्यटकहरु आउने गर्दछन् ।  

निकुञ्ज घुम्न आउने पर्यटकहरुले कर्णाली नदीमा र्याफ्टिङ पश्चात निकुञ्ज भित्र रहेका बाघ, हात्ती, गैँडा, निलगाई, बाह्रसिँगा, चित्तल, गोही, कछुवा लगायत थारु सँग्राहलय, हात्तीसारको हात्ती प्रजनन केन्द्र र शिव सामुदायिक वनमा रहेका गैँडा अवलोकन गरेर समेत मज्जा लिन पाइरहेका छन् । 

अहिले ५० वटा वयस्क, ६ वटा अर्ध वयस्क पाटे बाघ रहेको बर्दिया निकुञ्जमा ३७ वटा गैँडा, १ सय भन्दा बढी जंगली हात्ती, ३० हजार बढी चित्तल लगायतका वन्यजन्तु छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  

बर्दिया राष्ट्रिय निकुञ्जमा थालिएको बाघ गणना सकिएकाले अब केही दिनमा बाघको संख्या सार्वजनिक गरीने बताइएको छ । यसपटको बाघ गणनामा बर्दियामा पाटेबाघको संख्या वृद्धी हुने निकुञ्जले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया