MENU

समाज

Ncell Axiata
USAID

भूकम्प प्रभावित भन्छन्–गाउँमा भएका अरुले नै मेरो भोट हाल्दिन्छन्

अर्जुन श्रेष्ठ/उज्यालो ।  

धादिङ, वैशाख ३० – खाना पकाउने चुलो नजिकै एक दम्पत्ति । हातमा चोया काढेर श्रीमान मुठा पारिरहँदा बिरामी श्रीमती नजिकै बसेर आराम गर्दै हुनुहुन्छ । साँघुरो ठाउँ तर चुलो, भाँडाकुडाँ, बुनेका डोकाडाला, बाख्रालाई घाँससहितका सबै सामग्री एकै ठाउँमा छन् । ‘सक्नेहरु भोट हाल्न गाउँ गइ सके । तर हामी जस्ता बुढाबुढीलाई गाउँ कसले लगि दिन्छ र ?’

धादिङको गंगाजमुना गाउँपालिका–१ का थाम्रोङ तामाङलाइ २० वर्षपछि यहि वैशाख ३१ गते हुन लागेको स्थानीय तह चुनावमा मतदान गर्ने रहर भएर पनि गाउँ जान सक्नुभएको छैन । ‘हिँड्न सक्नेलाई त गाउँ पुग्न ती दिन लाग्छ । हामी त हिँड्नै सक्दैनौं । श्रीमती पनि बिरामी छिन्’ तामाङ भन्नुहुन्छ, ‘श्रीमतीको मायाँले एक्लै छाडेर गाउँमा भोट हाल्न जान पनि त सकिन ।’

गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको भनिए पनि अझै कसरी मतदान गर्ने भन्ने धेरैमा अन्यौल छ । यी दम्पत्तिलाई पनि भोट कसरी हाल्ने भन्ने थाहा छैन । यति मात्र होइन, ७० वर्षका दम्पत्तिलाई आफ्नो भोट अरुले हाल्न मिल्दैन भन्ने समेत थाहा छैन । गाउँ जान सक्नुभएन तपाईंको भोट हाल्ने अधिकार सुनिश्चित भएन नि भनेर सोध्दा उहाँ भन्नुहुन्छ, ‘मेरो भाइको छोराको नामावलीमा नाम छैन, उसैले हालिदिन्छ बाबु ।’ 

दामगाडे शिविरमा बस्दै आउनुभएका तामाङले गाउँमा भोजभतेर गरेर भोट मागेको सुन्नुभएको छ । तामाङ भन्नुहुन्छ, ‘गाउँमा पैसा दिएर भोट माग्दैछन् । कतै भोज कतै पैसा चुनाव त चाडपर्व जस्तै रमाइलो भएको छ रे । हामी बुढाबुढीलाई टहरामा न त हर्ष न बिस्मात ।’

रुबीभ्याली गाउँपालिका–५ का धनराज तामाङको व्यथा पनि उस्तै छ । ९१ वर्षका तामाङलाई चुनावको कुनै वास्तै छैन । उहाँ भन्नुहुन्छ, ‘भोट हालेर के हुन्छ र ? गाउँको विकास गर्छ रे भनेर पहिले पनि भोट हालेकै हो । खै त के विकास गर्‍यो ?’

गाउँघरमा चुनावी प्रचारप्रसार सकेर आम नागरिक मतदान गर्ने दिनको पर्खाईमा छन् । तर भूकम्पपछि विस्थापित भएर गाउँ भन्दा बाहिर रहेका प्रभावित मतदान गर्न गाउँ फर्कन सकेका छैनन् । नाता नातिनीले बनाएर खुवाउँछ । दिन रात यहि टहरामा बितेकै छ । तामाङ भन्नुहुन्छ, ‘आजसम्म भोट हाल्न जाउँ भन्न कोही आएको छैन । सक्ने हुँदा त सबैले प्यारो हुनेरै छ । निभेको आगो कसले ताप्छन्, होइन र ?’

भूकम्पपछि स्वदेशमै परदेशी बनेर सदरमुकाम आसपास बसेका धेरै प्रभावित गाउँ फर्किएपनि वृद्धवृद्धा तथा साना साना बालबालिका भएका परिवारका सदस्य गाउँ फर्कन सकेका छैनन् । ‘छोराछोरी सानै छन्, लैजाउँ ३÷४ जना कसरी लाने । छाडुँ कोसँग राख्दिने’ गंगाजमुना गाउँपालिका–१ कि कान्छिमाया तामाङ भन्नुहुन्छ, ‘एक भोटका लागि यति सास्ति के खेप्नु, त्यसैले गाउँ गइन ।’

‘भोट माग्न त शिविरमा पनि धेरै नै आए ।  श्रीमान पनि घरमा हुनुहुन्न । यहि डोका डाला बुनेर घरखर्च चलाएको छु । भोट हालेर के पाइन्छ र ? आउने जाने दुःख मात्र त हो ।’ तामाङ थप्नुहुन्छ, ‘दिनमा झण्डै दुईवटा डोको बुन्छु । गाउँमा आउन र जान ४÷५ दिन लाग्छ । त्यति समयमा त ९/१० वटा थुन्चे बुन्छु । दश नङ्ग्रा नखियाई खान पाउने होइन । त्यसैले हामीलाई चुनाव लाग्दैन ।’

विस्थापित भएर गाउँ छाडेका धेरै जसोको त मतदाता नामावलीमा नामै छैन । गाउँ घर चिरा चिरा भएर ज्यान जोगाउन सदरमुकाम आइपुगेका प्रभावित गाउँ जान नसक्दा नामावलीमा नाम छुटेको गुनासो गर्छन् । गंगाजमुना गाउँपालिका–२ कि चममाया तामाङको पनि मतदाता नामावलीमा नाम छैन । उहाँ भन्नुहुन्छ, ‘भूकम्पको बेला गाउँको अवस्था सम्झँदा जिउ ढक्क फुलेर आउँछ । कसरी गाउँ जान सक्नु र फोटो खिचाउनुँ । टहरामा दुःखले दैनिकी चलाइरहेका हामीलाइ त दुई छाक जोहो गर्न पाए पुग्छ, यत्ति हो ।’

सबैको खुशी बोकेको स्थानीय तह चुनावमा धेरैको मताधिकार छायाँमा परेको छ । घरगाउँ बाहिर रहेका आम नागरिक विविध कारण गाउँ पुग्न सकेका छैनन् । पुगेकाहरुले पनि मतदाता शिक्षा पाएका छैनन् । आफूले चाहेको प्रतिनिधि छनौट गर्ने चुनावमा सबैलाई सहभागिता गराई मताधिकार सुनिश्चित गर्न बेलैमा ध्यान दिनु पर्ने देखिन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया