MENU

समाज

Ncell Axiata

आफ्नै जग्गाको मालिक बन्ने सपनामा उड्नै नपाइ ठगिए शशी

दुर्गाप्रसाद भट्टराई/सर्लाही 

जानकीनगर १ खैरा टोलका शशी थापाको परिवारसँग १५ कठ्ठा जग्गा थियो । त्यो १५ कठ्ठा जग्गाले शशीका १२ जनाको परिवारको पेट पालेको थियो । तर पनि उहाँलाई आफ्नै जग्गाको मालिक बन्ने रहर जाग्यो । 

त्यही सपना लिएर उहाँ २०७३ को फाल्गुनमा काठमाडौं जानुभयो । उहाँलाई मलेसिया पठाउने भनेका थिए झापाका माधव थापाले । माधवले फाल्गुन ७ गते फ्लाइट छ भनेका थिए । माधवले उहाँलाई पैसा पनि लिएर आउन भनेका थिए ।

त्यसैले उहाँ आफुसँग भएको पैसा लिएर परिवारसँग विदा भएर काठमाडौं जानुभयो । काठमाडौं पुगेपछि माधवले शशी तिम्रो उमेर बढी भयो के गर्ने ? श्रम गर्नलाई ३० हजार रुपैयाँ देउ मिलाउँछु भन्दै पैसा मागे । बाँकी ५५ हजार टिकट हातमा परेपछि दिँदा हुन्छ भन्ने माधवको प्रस्ताव थियो । ‘उसले ठिकै त भनेको होला भन्ने लागेर मैले उसलाई पैसा दिएँ’ शशी भन्नुहुन्छ । 

पैसा लिएका माधवले गएको फागुन ७ गते एयरपोर्टमा आउनु भनेको थिए । माधवले भने अनुसार नै ७ गते उड्न उहाँ काठमाडौंमा बस्ने मामाको छोरा राजन बस्नेतको कोठामा जानुभयो । राजनले सामान्य चिनजानकै भरमा शशीलाई विदेश पठाउन उहाँको पासपोर्ट माधवलाई दिएका थिए ।

काठमाडौंको एक सपिङ मलमा काम गर्ने राजनले माधवलाई किनमेल गर्न आएका बेला चिन्नुभएको थियो । ‘ऊ विदेश जाने केटाहरुका लागि ब्याग किन्न आउँदा चिनजान भएको रहेछ अनि विदेश पठाउने मान्छे भनेपछि उसले मलाई पनि पठाइदिन भनेर पासपोर्ट दिएको रहेछ’ शशी भन्नुहुन्छ । शशीले राजनलाई विदेश पठाइदिने कोही चिनेको भए भनिदिनु भन्दै २०७२ सालमै पासपोर्ट दिनुभएको थियो ।

त्यसैले राजनले उहाँको पासपोर्ट माधवलाई दिनुभएको थियो । ‘राजनले पनि विदेश पठाउने मान्छे भनेपछि राम्रै ठाउँमा पठाउँछ होला भन्ने सोचेर दिएको होला तर ठग परेछ’ शशी भन्नुहुन्छ ‘माधवले त्यतिबेला तपाईको दाई मेरो पनि त दाई हो नी भन्दै गफ दिएको रहेछ’ माधवले राजनसँग प्लम्बरको काम भन्दै महिनाको एक हजार रिंगिट बेसिक र ४ घण्टा ओभरटाइम पनि हुन्छ भनेको थियो ।

उनले महिनाको सबै खर्च कटाएर पनि ४० हजार रुपैयाँ बच्ने पनि सुनाएका थिए । अनि लगानी चाहिँ अरुलाई ९५ हजार रुपैयाँ लिएपनि तिमीलाई ८५ हजार रुपैयाँ लिन्छु भन्दै लोभ देखाए । खर्च कटाएर पनि ४० हजार रुपैयाँ बच्छ भने त किन नजाने भन्ने सोचेर शशीले पोसपोर्ट दिन भन्नुभएको थियो ।

उसैले बोलाएको दिन राजनलाई लिएर शशी विमानस्थल पुग्नुभयो । तर माधव आएनन । राजनले फोन गरे तर लागेन । धेरैबेर प्रयास गर्दा लागेको फोन माधवले उठाएनन् ।फोन नउठेपछि उहाँहरु दुवै जना पुतलीसडकमा माधवको कार्यालयमै पुग्नुभयो तर माधव त्यहाँ थिएनन् ।

माधवलाई खोज्दै पुगेका दुवै जनालाई कार्यालयमा पुगेका व्यक्तिले माधव त झापा गएको भनेपछि ठगिए छौं भन्ने लाग्यो । ‘मैले मेरो आजको फ्लाइट भनेर बोलाएको थियो भनेपछि त्यो अफिसको मान्छेले कागज पल्टाउँदै खै यहाँ त तपाईंको नामै छैन त अनि आज जानेहरु त उडिसके भनेपछि ठगिएको पक्का भयो’ निराश हुँदै शशीले सुनाउनुभयो । 

त्यति मात्रै होइन ती व्यक्तिले तपाईंको त प्रक्रिया नै भएको छैन भन्दै पासपोर्ट पनि त्यहीँबाटै निकालेर देखाइदिए । ‘त्यतिबेला पो जाने हो भने प्रक्रिया सुरु गरिदिन्छु भन्यो’ शशी भन्नुहुन्छ । 

एक त ठगिइसकेको त्यही माथि अहिले पनि काम नै टुङ्गो नहुने भनेपछि शशी आफु अब नजाने भन्दै पासपोर्ट र ३० हजार रुपैयाँ फिर्ता माग्नुभयो । तर कार्यालय ती व्यक्तिले पैसा जसलाई दिएको हो उसैसँग माग्नु भन्दै माधवतिर देखाइदिए । माधवलाई भेटिन्छ कि भनेर उहाँ सात दिन पुतलीसडकको माधवको कार्यालयमा धाउनुभयो तर माधवको कुनै अत्तोपत्तो लागेन । शशीले अढाई महिना बितिसक्दा पनि माधवलाई फेला पार्न सक्नुभएको छैन । 

उहाँले विदेश जान लिएको पैसाबाट माधवलाई ३० हजार दिनुभयो अनि सामान किन्दा र काठमाडौं आउँदा जादा ४० हजार सकियो । शशी अहिले त्यही ७० हजार रुपैयाँको व्याज तिरिरहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया