MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

काठमाडौं महानगर : पाँच दिनमा ३० हजार मत गनियो, एमाले ३३ सयले अघि

प्रकाश ढकाल/उज्यालो । 

काठमाडौं, जेठ ५ – काठमाडौं महानगरपालिकाको झण्डै ३० हजार मत गन्दा एमालेले नेपाली कांग्रेसलाई तीन हजार तीन सय मतले पछि पारेको छ । शुक्रबार बिहानसम्म २९ हजार चार सय ४१ भोट गन्दा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ९ हजार आठ सय ४२ मत ल्याउनुभएको छ भने कांग्रेसका राजुराज जोशीले ६ हजार ४ सय ७८ ल्याउनुभएको छ ।

उपमेयरमा भने कांग्रेसले एमाले–राप्रपा गठबन्धका उम्मेदवार राजाराम श्रेष्ठलाई झण्डै तीन हजार तीन सय मतले पछि पारेको छ । कांग्रेसले उपमेयरमा हरिप्रभा खड्कीलाई उठाएको छ । काठमाडौं महानगर एमाले कांग्रेसपछि विवेकशील पार्टीकी रञ्जु दर्शनाले सबैभन्दा बढी मत पाएकी छिन् । मतगणना स्थलबाट प्राप्त आँकडाअनुसार रञ्जुले ४ हजार ३ मत पाउनुभएको छ । त्यस्तै साझा पार्टीले चौथो स्थान पाइरहेको छ ।

साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले २ हजार ९ सय ६३ मत ल्याउनुभएको छ भने उपमेयरकी उम्मेदवार निरुपमा यादवको एक हजार ८ मत आएको छ । काठमाडौं महानगरमा माओवादी केन्द्रको उपस्थिति निक्कै कमजोर देखिएको छ । ३० हजार मत गन्दा माओवादीले मेयरमा एक हजार ४३ र उपमेयरमा एक हजार २ सय ९८ मत आएको छ । माओवादीले मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा सुशीला नेपाललाई उम्मेद्वार बनाएको छ । काठमाडौं महानगरमा २ लाख ७९ हजार मतदातामध्ये एक लाख ७२ हजारले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । 

काठमाडौंमा ११ ठाउँमा मत गणना गरिए पनि निक्कै सुस्त गतिमा भइरहेको छ । सुरुका दुई दिन दुई ठाउँमा मात्र मत गनिएको थियो भने त्यसपछि ११ ठाउँमा पुर्‍याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार शुक्रबार बिहानदेखि १३ ठाउँमा मत गन्न थालिएको छ ।

अहिलेसम्म १ र २ नम्बर वडाको परिणाम आइरहेको छ । दुवै वडामा एमालेले जितेको छ । अहिले ३, ४, ५, ६, ७, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना जारी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया