MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

मृत्यु नै मृत्युको राजमार्गमा : केवल प्रयोगशाला जस्तो सगरमाथा

सञ्जय पण्डित -

केही पहिले विश्वको आठौं ठूलो पर्वत अर्थात किलर माउण्टेन मनासलुमाथि विजय प्राप्त गरेको थिएँ र मलाई सगरमाथाले जिस्क्याई रहेको थियो । केही वर्ष अगाडि चुुचुरोको नजिकै पुगेर फर्किनुको पीडा भुल्न मैले जसरी पनि चढ्नै पर्छ भन्ने भावनाको विकास भइरहेको थियो ।

८१६३ मिटर अग्लो हिमालको सफल आरोहण अनि सगराथाको नजिकै सम्मको आरोहणले मलाई फेरि पनि सगरमाथाले बोलाईरहेको भान भईरहेको थियो । मेरो प्रतिज्ञा थियो सर्वोच्च शिखर चुम्ने । ८८४८ मिटर चढ्ने योजना स्वरुप सेभन समिट ट्रेक एजेन्सि, आईएमइ ग्रुप, कान्तिपुर ईन्टरनेशल कलेज, ग्लोबल आईएम।ई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, गोल्डेन गेट कलेज, वनहार्ट कलेज, टाए ग्रुप तथा बुटवल पावर कम्पनी को सहयोगमा काठमाडौंबाट गन्तब्य तर्फ हिँडियो । सेभन समिट ट्रेक एजेन्सिबाट ७५ जनाको टोलीले सगरमाथा हिमाल चढ्ने आरोहण पत्र लिएका थिए ।  

हामी पनि त्यही समूहमा रहेर आरोहीको रुपमा प्रस्तुत भईरहेका थियौँ । झण्डै १० दिनको हिडाई पछि लुक्ला, नाम्चे, पांबुचे, फेरिचे हुँदै सगरमाथा आधार शिविरमा अभ्यस्त बनाईयो । त्यस पछि बेस क्याम्पमा नियमित अभ्यास सुरु भयो । कुनै पनि आरोही लाई हिमालको चुचुरो सम्मको लागि त्यहाँको वातावरणसँग घुलमिल हुन अनिवार्य छ । यदि वातावरण सँग भिज्न सकिएन भने आरोहण गर्ने क्रममा निकै अप्ठ्यारोको सामना गर्नु पर्ने हुन्छ । जुन आरोहीको सरिर फिट एण्ड फाईन हुन्छ उसले मात्र आरोहण गर्न सक्छ । म अनि मेरो पथ प्रदर्शक लोक्साङ सेर्पा सगरमाथाको क्याम्प ३ सम्म पूर्ण रुपमा एडजस्ट भईसकेका थियौँ एक किसिमले भन्दा क्याम ३ सम्म सजिलै पुग्ने वातावरण तयार परि सकेका थियो ।

लोप्साङ फर्किएन

मैले लोप्साङ लाई पटक पटक भन्ने गर्थे लोप्साङ तिम्रो छोराले सगरमाथा कहिल्यै चढ्दैन होला है । किनकी तिम्रो छोरा काठमाडौं मै पढ्छ ठमेलको वातावरणमा हुर्किन्छ अनि न्यूरोडमा सपिङ गर्न जान्छ त्यस पछि उमेर पुग्यो भने सिधै अमेरिका हानिन्छ । तिमिले सगरमाथाको यो दुःख आफ्नो छोरालाई कहिल्यै दिन चाहन्नौ किनकी यो कुरा तिमी आफ्नो आर्थिक एवं परिवार पाल्नको लागि गरेका छौ । भोलि तिमीले तिम्रो छोरालाई भरीपूर्ण गरिदिन्छौ, त्यस पछि तिम्रो छोराले सगरमाथा चढ्ने आँट कहिल्लै गर्दैन । मैले यसो भन्दै गर्दा उसले समर्थन जनाऊ दिन्थ्यो ।

मेरो जोस एवं जाँगर तथा अल्ट्रा धावक भएको कारणले उसले एकै सिजनमा दूई पटक सगरमाथा चढ्ने उद्घोष गरिरहेको थियो तर विडम्बना भनौ अथवा भाग्यको खेल मे ४ का दिन मेरा लागी कालो दिन भएर आयो । लोप्साङ क्याम्प ४ फिक्सिङ गरेर फर्कदा एल्लो रक बाट खसेर मृत्यु भयो भन्ने जब मैले रेडियो सेटमा सुने आकाश भासिए जस्तो भयो मैले विश्वासै गर्न सकिन तर पनि सत्य सत्य नै थियो त्यो भएर नै छाड्यो । मैले निकै अचम्मको अनुभुती गरे किनकी हिजो सम्म संगै सुत्ने, खाने, सुख दुःखमा साथ दिने र जसरी भए पनि सगरमाथा चुम्ने अभिलाशा वोकेका हामी सदाका लागि विछोडीयौं । 

लोप्साङको निधनले शोकमग्न सगरमाथा आधार शिविर

साथी लोप्साङको लडेर मृत्यु भएको समाचार पाउने वित्तिकै उसको उद्धार गर्न हेलिकप्टर हरु आएर छेत विच्छेद अवस्थामा रहेको उसको लासलाई उठाएर लगेको प्रत्यक्ष मैले देखि रहेको थिए । तर म स्तब्द छु मैले केही गर्न सकिन र मनमनै उसका लागि अन्तिम श्रद्धान्जली दिएँ । म प्रत्येक दिन उसलाई नै सम्झिएर सगरमाथामा वाँकी दिनहरु विताएँ।  

खतरनाक खुम्बु आइसफल र ब्लु आइस

सायद संसारमै सबैभन्दा कठिन एवं खतरनाक बाटो मानिन्छ सगरमाथाको आधार सिविर देखी क्यम १ सम्म त्यही भएर सगरमाथाको महत्व झन्–झन् बढ्दै गएको छ । यहाँ आरोहीहरुले निकै खतरनाक समस्याहरुको सामना गर्नुपर्छ । कुनै बेलापनि आरोहीहरुको ज्यान जान सक्छ यदि सही गन्तव्यमा पाइलो टेकिएन भने । हरेक घण्टा घण्टामा चेन्ज हुने खुम्बु आइसफलमा खुबै चनाखो भएर लागि रहेका हुन्छन ।

क्याम्प २ देखि ३ सम्म एकदम नीलो आइसमा हिडनुपर्ने हुन्छ । सीसाजस्तो देखिने कुनै कुनै भाग ठाडै केबल एउटा डोरीको भरमा हिडिनै रहनुपर्ने हु्न्छ । ७५०० मिटरको यो क्याम्पबाट रमणीय हिमाली दृष्यहरु देख्न सकिन्छ ।

१९ मे मा चुचुरो चुम्ने योजना

हामी आधार शिविरबाट १५ मेमा हिँडियो । चाइनिज समूह र मेरा अर्का सहयोगी छेपाल शेर्पासंग सगरमाथा चुम्नका लागि एउटा सुन्दर सपना बोकेर त्यो दिन क्याम्प २मा बसियो । एक दिन क्याम्प २ मा आराम गरिसकेपछि क्याम्प ३मा १७ मेमा बसियो । क्याम्प ३ करीब ७५०० मी उचाइमा पर्छ ।जसलाई मृत्यु रेखा पनि भनिन्छ । यहाँबाट हरेक आरोहीले आफूलाई आवश्यक पर्ने अक्सिजन र अन्य आबश्यकताका बस्तुहरु लिएर जान्छन । हामीले पनि आफ्नो आवश्यकता अनुसारका सामानहरु प्रयोग गर्दै करीब ६ घण्टा निरन्तर हिँडेर क्याम्प ४ मा पुग्यौं । झण्डै ५ घण्टाको आरामपछि म अनि मेरो गाइड ७ बजेर १५ मिनेट जाँदा सर्बोच्च शिखर सगरमाथाको टुप्पो तर्फ लाग्यौं । मेरो हिडाइको गति अरु भन्दा अलिक छिटो भएकै कारण म अत्यन्त छिटो बालकुनी ८५०० मिटरमा पुगें । 

मलाई मेरो गाइडले बालकुनीमा गएर अक्सिजन फेर्ने सल्लाह दिएका थिए । म निकै अगाडि बढेको थिएँ तर मेरो गाइड म भन्दा पछि भएको कारणले गर्दा २ घण्टाको पर्खाइपछि बल्ल मैले ऊसँग भेट गर्ने मौका पाएँ । त्यस बेला मैले निकै शक्ति खर्चिएको थिएँ । २ घण्टा त्यो डाँडोमा एक्लै बस्दा मलाई हिमहावा, ढुंगा तथा हिम बर्षाले केही हदसम्म असर पुर्‍याइरहेको थियो । अनकन्टार रातमा बालकुनी बाट माथि उक्लने क्रममा मेरो मनमा हताश एवं डर छाइरहेको थियोः कतै यात्रा अपुरो त हुने होइन भनेर । तर मेरो उद्देश्य जसरी भएपनि पूरा गर्नु थियो ।  

साउथ समिटलाई सगरमाथा सम्झँदा

साउथ समीटमा बिहान साढे ५ बजे हाम्रो टोली पुगेको थियो । झिसमिसे बिहानमा हिमाली क्षेत्रमा छाएको लाली अनि टाढाको क्यानभासमा देखिने रोमाञ्चक दृष्य निकै मनमोहक देखिइरहेको थियो । साउथकोलबाट देखिने साउथ समिट नै संसारको अग्लो स्थान हो भन्ने सोचेको थिएँ तर त्यो भन्दा अलि परबाट संसारकै टुप्पो मानिएको बास्तविक स्थानले चियाइरहेको रहेछ ।

सगरमाथामा पाइला राख्दा

सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेपछि अर्कै अनुभव हुँदोरहेछ । आफू सबै भन्दा माथि पुगेको अनुभूति । माथि पुुगिसकेपछि सबै चीज तल देखिने । शायद अरु आरोहीहरुले पनि यही अनुभब सँगाल्छन होला । शिखर चुमेपछिको अनुभवलाइ व्यक्तगर्न मसँग अहिले कुनै शब्द नै छैन । मैले १९ मे २०१३ को विहान ९ः५६ मा सर्बोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भएँ । 

चुचुरोमा अक्सिजनको अभावले छट्पटिँदा

मैले यो आरोहणका फरक अनुभाव पनि गरेको छु । शिखर पुग्ने वेलामा शिखर भन्दा २५ मि। तल झण्डै ५ मिनेटको दुरी थियो होला, त्यहा पुगे पछि मेरो अक्सिजन रेगुलेटर विग्रियो जसका कारणले मलाई अक्सिजनको अभाव भयो । अक्सिजन राम्ररी सप्लाई हुन नसकेपछि स्वास फेर्न निकै कठिन भयो, दिमागले केही सोच्नै सकेन । बाच्ने र मर्ने संग संघर्ष चलिर¥यो । यस्तो आपत परेको वेलामा कर्मा सेर्पाले आफूले प्रयोग गरिरहेको अक्सिजन रेगुलेटर मलाई दिए । त्यस पछि मैले अर्को जन्म पाएको अनुभव गरे । साथै गाइड छेपाल सेर्पाले पनि निकै हौसला दिए । यदी साथ सहयोग नपाएको भए म यो ठाँउमा हुने थिइन । म त्यही सगरमाथाको भूमीमा चिसो हिँउ सिरक ओडेर चिरनिन्द्रामा सुतिरहेको हुन्थेँ ।  

कसैले सहयोग गर्दैन

जुन स्थानमा पुगेपछि मेरो अक्सिजन रेगुलेटरमा समस्या आएको थियो त्यो ठाँउमा पुगेपछि कसैले कसैलाई सहयोग गर्दैनन् । नजिकै देखिएको शिखर चुम्ने अभिलासाले आरोहीहरु पागल जस्तै हुन्छन् । धेरै थाकेका हुन्छन् । नाकमा बसेको झिंगा धपाउने पनि जाँगर पनि हुदैन । उनीहरुले शिखर बाहेक केही देख्दैनन् । त्यसैले छेउमै आफ्नै सन्तानले बचाऊ बचाऊ भनिरहेको छ भने पनि उनीहरु बचाउन तिर लाग्दैनन् । यस्तो अबस्थामा पनि छेपाल र कर्मा सेर्पाले गरेको सहयोग म जीवनभर भुल्न सक्दिन ।

काठमाण्डूको गाडीको जाम त के जाम

सगरमाथाको क्रममा हुने जामले मलाई काठमाण्डूमा हुने ट्राफिक जामलाई बिर्साईदियो । काठमाण्डुमा हुने गाडीको जाम त के जाम हो र ? सगरमाथामा त मान्छेको त्यो भन्दा लामो र धेरै जाम हुँदो रहेछ । हिलारी स्टेपमा डोरीका माध्यमबाट ढुंगै ढुंगाको बाटो माथी निकै कठिनका साथ जानु पर्छ । शिखरमा पुगेर फर्कने मान्छेहरु पनि त्यही डोरीको माध्यमबाट तल झर्छन् । तर शिखर चढ्ने र शिखरबाट ओर्लने मान्छे एक एक गरेर त्यहाँबाट पार गर्नु पर्ने हुँदा कहिलेकाँही दुई चार घण्टानै पालो पर्खनु पर्ने हुन्छ । म पनि त्यसको प्रत्यक्ष भागीदार भए । यसरी पालो पर्खदा अक्सिजन सकिने तथा आफूले बोकेको खाना पनि सकिने हुन सक्छ । त्यो जाम छिचोलेर माथि पुगेपछि अक्सिजन पाउने सम्भावना निकै कम हुन्छ । किनकी अक्सिजनको सिलिण्डर तलबाट लैजानु पर्ने हुन्छ । माथी अक्सिजन लैजानको लागी यो जाम छिचोल्न निकै समय लाग्छ । 

फोहर देखेर खान रुचेन

चौथो शिविरमा पुगे पछि मलाई धेरै दुःख लाग्यो त्यहाँको फोहर देखेर । बाटोमा जाँदा देखिएका आरोहीका शव र ती शव नाग्दै तल तिर झर्दा मलाई चौथो शिविरमा आए पछि एक दिनको बसाईमा खाना खान मन पटक्कै लागेन । आरोहीको ज्यान जादा सामान्य ठान्ने मलाई ती फोहर देखेर भने निकै दुख लाग्यो।

छैन राज्यको उपस्थिति

सगरमाथाले विश्वमा नेपाललाई चिनाएको छ । यही सगरमाथाबाट सरकारले आम्दानी पनि गरिरहेको छ । तर त्यहाँ राज्यको कुनै उपस्थितिनै छैन । मानिसहरु सरकार संग कुनै अनुमतिनै नलिई र सरकारलाई कुनै शुल्कनै नतिरी सगरमाथा गएको पनि मैले पाएं । झण्डै १० देखी १२ प्रतिशत आरोही सरकारलाई कुनै जनकारी नै नगराई सगरमाथा चढ्छन् । यसरी चढ्नेमा विदेशी धेरै छन् । आरोहण गराउने एजेन्सी र आरोही मिल्यो भने सरकारलाई सजिलै छल्न सक्छन् । जो जसरी चढे पनि हुन्छ ।

यसबाट राज्यले ठूलो रकम गुमाई रहेको छ । मेरो सुझाब सरकारलाई के छ भने सिँहदरबारबाट निस्किएर आधार शिविरमा पनि पुग्नु पर्‍यो । किनकी सगरमाथा हाम्रो स्वाभिमान हो हाम्रो गौरब हो सरकार संग अनुमति लिएरै आरोहण गर्नेहरुबाट सरकारले शुल्क लिन्छ तर त्यो शुल्क तिर्ने आरोहीले कुनै सुविधा पाउदैनन् । त्यहाँ धेरै असुविधा छ । यो असुविधा भोगेका विदेशीले सगरमाथाको बारेमा विदेशमा आफ्नो असुबिधाको अनुभाव सुनाउदा नेपालकै बारेमा पनि गलत सन्देश जान सक्छ ।

चुचुरोमा केवल चट्टान मात्र

सायद जलवायु परिवर्तनले गर्दा होला ८००० मि। देखी माथी केवल रक र कालो चट्टान मात्र देखीन्छ । अधिकांस ठाँउमा हामीले चट्टान संग हिड्न संघर्ष गरिरहनु पर्छ । टुप्पोमा अलिकति हिँउले ढाकेको भाग छ त्यहाँ करीव १५–२० जना मान्छे जती मात्र अट्ने क्षमता छ । 

सगरमाथाको अस्तित्व रहेन सगरमाथा केवल प्रयोगशाला जस्तो

सरकारको लापरवाही तथा न्यून उपस्थितिले सगरमाथामा जो चढे पनि हुने अनुमती विना चढेपनि हुने, जुनसुकै हैसियतमा चढेपनि हुन,े कुनै सगरमाथाको अस्तित्वनै मेटाउने झै गरेर सगरमाथामा विहे गर्ने, कोही घण्टौँ सम्म हाँस्ने त कोही साइकल लिएर जाने । यस्ता उरन्ठेउला गतिविधिको कारणले गर्दा सगरमाथाको अस्तित्व दिन प्रतिदिन प्रदुशित हुँदै गएको छ । नेपालमा सगरमाथा जस्ता अरु हिमाल पनि त छन् ? विश्वको तेस्रो देखी आठौँ हिमाल पनि त नेपालकै हुन् । सरकारलाई म के अनुरोध गर्दछु भने सगरमाथाको अस्तित्व विश्व सामु पु¥याउनको लागी कि त दुई चार वर्ष आरोहण रोकीदिनु पर्छ कि रोयल्टी अहिलेको भन्दा दुई गुणा वढाउनु पर्छ र हरेक दुई वर्षमा सगरमाथाको चुचुरो देखि आधार शिविर सम्म सरसफाई योजना बनाउनु पर्छ ।

यसो भयो भने सगरमाथा बाहेक हाम्रा गौरबका अन्य शिखर कन्चनजंघा, मनासलु, लोत्से, मकालु, चोयु जस्ता हिमालको ब्यापक प्रचार प्रसार तथा अझ धेरै रोयल्टी सरकारले प्राप्त गर्न सक्दछ । उदाहरणको लागि गत वर्ष चीनले त्यहाँको आन्तरिक चुनावले गर्दा त्यहाँका हिमाल चढ्न प्रतिवन्ध लगायो यसको असर त्यहाँ आरोहण गर्ने सबै आरोहीहरु नेपालमा मनासलु, मकालु आरोहण गर्न आए । हाम्रो सगरमाथा हामी सबैको स्वाभिमान संग जोडिएको हामीले खाने गाँस जस्तै हो । जुन अत्यन्त प्यारो छ । हामी सबैले यसको संरक्षण गर्नु पर्छ ।

तारे होटेलमा होइन आधार शिविरमा मनाउनु पर्छ सगरमाथा दिवस

तेन्जिङ सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिखमा सगरमाथा दिवश मनाईन्छ । यस पटक त ६० वर्ष पुगेको अवसरमा हिरक महोत्सवनै मनाउन लागिएको छ । तर यो महोत्सव काठमाण्डौमै मात्र होकी जस्तो लाग्छ मलाई । नाम्चे वजार तथा लुक्लामा केही कार्यक्रम त हुन्छन् तर सरकार, सरकारका मन्त्री र सचिवहरु त्यहाँ जाँदैनन् । उनीहरुको उपस्थिति हुन्छ त केवल काठमाण्डौका पाँचतारे होटलमा मात्र । त्यसैले म के भन्छु भने सगरमाथाको आधार शिविरमा हुनु पर्छ हिरक महोत्सव अनि मात्र सगरमाथाको वास्तविकता थाहा हुन जान्छ । वर्षको एक पटक सगरमाथालाई सम्झेर केही हुदैन प्रत्येक दिन सम्झनु पर्छ ।

झन्डै अन्धो

हाम्रो टीम साउथ समिट ९८,७०० मिटर बाट फर्किरहँदा बाटोमा मेरो गोकुल चस्मा खस्यो । त्यो पाउने सम्भावना निकै कम थियो। त्यसपछि हामीलाई हिमहावा तथा कुहिरोले पछ्याई रहयो निकै बेरसम्म । हामीसँगहिँउका ढिक्काहरु बज्रिरहेका थिए । साउथ कोलसम्म आईपुग्दा मेरो आँखामा समस्या आईसकेको थियो । मैले आँखा नदेख्ने भइसकेको थिए । त्यसदिन हाम्रो बसाई क्याम्प ४ मा भएकोले थप क्षति हुनुबाट बच्यो । अर्को दिन जब एल्लो रकमा आईपुग्दा निकै घाम चर्किसकेको थियो । घाम चकाईसागै मेरो अवस्था पनि खस्किरहेको थियो । मेरो त्यो अवस्था देखेर मलाई लाक्पा शेर्पाले चस्मा दिएपछि आईसब्लाइण्ड हुनबाट जोगियो । मलाई चस्मा दिएर सहयोग गर्ने शेर्पा प्रति विशेष धन्यवाद ।

हेलिकप्टर चार्टर गरेर काठमाण्डू

आधारशिविरमा आईपुग्दा मेरा खुट्टामा फ्रस्टबाईट (हिँउले खुट्टा खानु) निकै आक्रमण गरिसकेको रहेछ । हिँड्नपनि नसक्ने अवस्थामा म थिएँ । सेबन समिट ट्रेक तथा मेरो प्रत्यक्ष अनुरोधमा माउण्टेन हेलिकप्टरबाट दुई दिन पछि अर्थात मे २५ का दिन हाम्रो समूह काठमाण्डू शहर प्रवेश गरिसकेको थियो ।

स्वाभिमानले नेपाल सधैँ बाँचिरहोस्

सगरमाथा सर्वोच्च शिखर मात्र होइन यो यो राष्ट्रको गौरव हो यसले कयौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । यस क्षेत्रका दृश्यावलोकन द्धारा कयौं अनुपम सन्तुष्टी प्राप्त गरेर फर्कन्छन् । त्यसैले यो क्षत्रको सुव्यवस्थित हुदै जानु आवश्यक छ । हिमाल हाम्रो गौरव हो हिमाल हाम्रो मुटु हो, हिमाल हाँसे हामी हाँस्न सक्छौं । सगरमाथा हाँसी रहेस नेपालको गौरव बढी रहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया