MENU

विचार/अनुभूति

Ncell Axiata

सफलताको सनकमा बटुवामाथि खनियो ट्राफिक प्रहरी

गोपाल गुरागाई –

काठमाडौका गाडी चालक आजकाल उपत्यका बाहिरका पोखरा, चितवन र हेटौडा पुग्दा बेचैन हुन्छन् । कारण हो, उपत्यका बाहिर टाउको झनन्नै हुने गरेर जथाभावी बज्ने गाडीका हर्न । काठमाडौमा गाडी चलाउने धेरै चालक महिना दिन नपुग्दै जथाभावी हर्न नबजाउन बानी परिसके । तर, नागढुंगा र साँगा पार गरेपछि जथाभावी बज्ने हर्नको ट्या..., ट्या र टुँ ..टुँ.... ले आजकाल त्यता जाँदा मथिंगल खल्बलिन्छ ।

ट्राफिक प्रहरीले जाँड रक्सी खाएर गाडी चलाउनेलाई कार्वाही गर्ने अभियानको सफलता पछि काठमाडौमा जथाभावी हर्न बजाउन नपाउने नियम लागू गरेर एउटा गर्नैपर्ने असल काम गरेको छ । र, यो काम गरे वापत ट्राफिक प्रहरीले आम मानिसको वाही वाही र सडक संस्कारप्रति संवेदनशील गाडी चालकको साथ, सहयोग र स्यावासी पनि पाएको छ, जस्को उ हकदार थियो । 

तर आजकाल काठमाडौको ट्राफिक प्रहरीलाई आफ्नै सफलताको मात लागेको छ । मात जे को लागे पनि मात्तिएपछि मान्छेमा सनक चढ्छ । काठमाडौ उपत्यकाको ट्राफिकलाई पनि आजकाल सफलताको सनक चढेको छ । ट्राफिक प्रहरीले काठमाडौमा लागू गरेका दुईटा निर्णय यस्तै सनकका भरमा गरिएका जस्ता लाग्छन् । यी दुई निर्णय मध्ये पहिलो हो, लेन मिच्नेमाथिको कार्वाही । सिध्दान्ततः यो निर्णय ठीक छ । लेन मिच्नेलाई कार्वाही गर्नुपर्छ । सडक संस्कृतिप्रति जागरुक र संवेदनशील कुनै पनि चालकले लेन मिच्ने आँट गर्दैनन्, मिच्ने त परैको कुरा भो । तर दाहिने पट्टिको लेन मिच्न खोज्नेलाई रोक्न खोज्दा देब्रेतिरबाट ओभरटेक गर्नेलाई ट्राफिक प्रहरीले साँढे जसरी खुल्ला छाडि दिएको छ ।

लेफ्ट हेण्ड ड्राईभ हुने संसारका कुनै पनि देशमा देब्रेतिरबाट ओभरटेक गर्नु भनेको ज्यान जोखिममा पार्नु हो । चालक दाहिने सीटमा बस्ने र दाहिने पट्टी मात्र हेर्न अभ्यस्त हुने भएकाले देब्रे साईडबाट ओभरटेक गर्ने मोटर साईकल र गाडी च्यापिने खतरा सधै रहन्छ । सडकको देब्रे साईड भनेको पैदल यात्रु, साईकल, लोकल यात्रु बस र सबैभन्दा कम रफ्तारमा हिँड्ने गाडीका लागि हुन् भन्ने कुरा संसार भरिको सडकमा लागू भएको नियम हो ।

नेपालका सडक सम्बन्धी नियम कानूनले पनि देब्रेतिरबाट ओभरटेक गर्न रोक लगाएका छन् । तर, काठमाडौको ट्राफिक प्रहरीले यो नियमलाई वेवास्ता गरेर सडकमा देख्न पनि नसकिने गरि धुलाले छोपिएका सेता धर्सा मिचेको आरोपमा दिनहुँ सयौ चालकलाई लेन मिचेको कार्वाही गर्छ ।

नियम कानून पालना गर्ने सिलसिलामा ढंग नपुगेको हो भने अब ट्राफिक प्रहरीले देब्रेतिरबाट ओभरटेक गर्ने चालकलाई कठोर कारवाही गर्नुपर्छ र त्यसको सुरुवात लेन मिच्नेभन्दा देब्रे ओभरटेक गर्नेलाई धेरै जरिवाना गरेर काम थाल्नुपर्छ ।

होईन, देबे्र साईडको ओभरटेकलाई स्वाभाविक मानेर लेन मिच्नेलाई मात्र कारवाही गर्ने हो भने ट्राफिकले लगाएको नियमलाई पालना गर्दा गर्दै पनि र मान्दा मान्दै पनि ट्राफिक प्रहरीले गरेको यो निर्णय सनकको उपज हो भन्नै पर्छ । सफलताको सनकले गरिएको अर्को निर्णय हो बाटो काट्ने पैदल यात्रुलाई जेठ १६ गतेदेखि गर्न थालिएको जरिवाना र दण्ड । ट्राफिक प्रहरीले यो नियम लागू गर्दा दुर्घटनामा मर्ने ४२ प्रतिशत मानिस पैदल यात्रु भएको र ४२ प्रतिशतको ज्यान जोगाउन निर्णय लागू गर्न बाध्य भएको जीकिर गरेको छ । यो तथ्यसँग असहमत हुनुपर्ने कुनै कारण छैन, तर तर्कसँग सहमत हुने कुनै जायज कारण पनि छैन । 

आम मानिसले सडकमा पेटी छैनन्, जेब्रा क्रस छैनन् । ट्राफिक बत्ति छैनन् र भएका पनि बल्दैनन्, त्यसैले जथाभावी बाटो काट्न पाउनुपर्छ भन्ने तर्क गरेर अहिले लागू गरिएको नियम ठीक छैन भन्ने गरेका छन् भने प्रहरीले ती सबै काम बिभिन्न निकायको हो भन्ने गरेको छ ।

सबै संरचाना तयार भएपछि मात्र नियम लागू गर्न नसकिने तर्क पनि प्रहरीले गर्ने गरेको छ । ट्राफिकको यो तर्कसँग असहमत हुनुपर्ने खासै कारण छैन । तर, यसै तर्कका आधारमा आकासे पुलका सिढी चढ्न नसक्ने बृध्दबृध्दा, भारी बोकेर आकासे पुल चढ्न नसक्ने भरिया र बिरामीलाई जरिवाना तिराएर ट्राफिक प्रहरीले कुनै बहादुरीको काम गरेको छ भन्न मिल्दैन, सकिदैन ।

देब्रे ओभरटेक गर्न नपाईने भैरहेको नियम चालकलाई कडाईका साथ लागू गर्न नसक्ने प्रहरीले बाटो हिड्ने निर्धो, बृध्द, गरिब र बिरामी बटुवाको पकेट रित्याउने काम गरेर नियम कानूनको दुहाई दिदैमा यो निर्णयलाई जायज मान्न सकिदैन । 

दुर्घटनामा पर्ने ४२ प्रतिशत बटुवाको कुरा होस् या आकासे पुलका सिढी चढ्न नसक्ने पाका मानिस, बिरामी र भरियाको कुरा होस् वा आम पैदल यात्रीको कुरा किन नहोस्, ट्राफिकको काम बटुवालाई हेप्ने र मान मर्दन गर्ने होईन, उस्को काम त गाडी चालकलाई जिम्मेवार बनाउने हो । सडकमा निस्कदा हरेक चालकका मुख्य ३ वटा दायित्व हुन्छन् । चालकको पहिलो दायित्व हुन्छ बटुवाको सुरक्षा, दोस्रो दायित्व हो गाडीभित्र बसेका यात्रुको सुरक्षा र तेस्रो दायित्व हो चालक आफ्नो र गाडीको सुरक्षा । बटुवालाई जोगाउनु चालकको पहिलो उत्तरदायित्व भएकाले ट्राफिक प्रहरीले यो कुरामा पहिले चालकलाई नै आफ्नो दायित्वप्रति सचेत बनाउनु पर्छ र जरिवाना र दण्ड पहिले चालकलाई गर्नुपर्छ । 

मोवाईलमा कुरा गर्दै, कानमा हेडफोनका ठेउका भिरेर दायाबाया नहरी बाटो काट्नेलाई कार्वाही गर्ने हो भने पनि कमसेकम गाई बस्तु थुन्न बनाईएका काञ्जी हाउस जस्ता सडक किनारका खोरमा मानिसलाई घण्टौ बन्धक बनाएर उभ्याउन र उनीहरुको मान मर्दन गरेर हुर्मत लिन मिल्दैन ।

यस्ता उपद्र्याहा बटुवालाई चालकले बेस्सरी हर्न बजाएर तर्साउन खोज्दा त्यस्तो बेला हर्न बजाएकोमा चालकलाई कार्वाही गर्न पनि हुँदैन । मुल कुरा, बटुवालाई जिम्मेवार बनाउने चेतनाले हो र बटुवालाई कस्तै अवस्थामा पनि दुर्घटनाबाट जोगाउने काम चालकको हो । तर, बटुवाको हुर्मत लिए पनि यो निर्णय कार्यान्वयन गर्दा ट्राफिक प्रहरीले चालकलाई उत्तरदायी बनाउन खोजेको र काम गरेको देखिदैन । त्यसैले पनि ट्राफिक प्रहरीको यो निर्णय सनकको उपज हो भन्न सकिन्छ ।  

ट्राफिक बत्ति, जेब्रा क्रस, लेनका धर्का बनाउने काम ट्राफिकले भने झै अरु निकाय कै हो, तर अरु निकायले काम गरेनन् भनेर अरुको निकम्मापनको दुहाई दिदैमा ट्राफिक प्रहरीले बटुवालाई गर्न थालेको जथाभावि जरिवाना जायज हुँदैन ।

जरिवाना र दण्ड राज्यले आम नागरिकमाथि प्रयोग गर्ने अन्तिम अस्त्र हुन्, जथाभावी प्रयोग गर्न पाईने बस्तु होईनन् । यी अस्त्रको प्रयोग गर्दा विवेकको प्रयोग गर्नुपर्छ । तर सडकमा ट्राफिक ब्यवस्थापन गर्न बसेका प्रहरीले विवेक कम र दण्डको खुलेआम प्रयोग गरेका छन् । र, ट्राफिक प्रहरीको नेतृत्वले सडकमा देखिएको अन्तहीन विवेकलाई विवेकहीन तरिकाले ढाडस दिएको छ । 

सडकको बीच भागमा उभिएर धुलो, धुवाँ, हिलो र गर्मीसित लड्दै आफ्नै ज्यान जोगाएर बेचैनीका साथ ट्राफिक ब्यवस्थापन गरिरहेका प्रहरीलाई हेर्दा धेरैको मन कृतज्ञ हुन्छ, र हुनु पनि पर्छ । तर, उनीहरुप्रति कृतज्ञ हुँदाहुँदै पनि सम्झनै पर्ने तथ्य के हो भने, यो पेशा उनीहरु आफैले रोजेका हुन् र उनीहरुले रोजेका पेशाका दायित्वबाट उनीहरु पनि स्वच्छन्द हुन पाउँदैनन् । आगे ट्राफिक पुलिसकै मर्जी !  

    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया