MENU

विचार/अनुभूति

Ncell Axiata

अपरेशन थिएटर-२

सजना तिमल्सिना-

अस्पताल भर्ना भएको दिनदेखि नै दुई-दुई घण्टामा केही न केही खानैपर्ने थियो । अपरेशन गर्ने भनेपछि एक थोपा पानी पनि नखाएको १२ घण्टा भन्दा धेरै भइसकेको थियो । तर, अपरेशन असफल भयो । अपरेशन असफल भएर बेडमा फर्किएलगत्तै मैले खनेकुरा मागेँ ।  डाक्टर पवित्र महर्जनले ‘अब खाना खाए हुन्छ’ भन्नुभएको थियो । आमा र देवु दिदीले खाना दिनुभयो । एक चम्चा खाना खाएपछि रमेश दाइ आएर भन्नुभयो, ‘दिनभरी औषधि चढाएर साँझ ६ बजे पछि पनि अपरेशन हुन सक्छ रे, एकछिन खाना नखाऊ है बुहारी ।’ १२ घन्टापछि पाएको खाना पनि एक चम्चा मात्र खान पाउँदा कताकता मन दुख्यो । 

पाँच मिनेटजति पछि दाई फेरि आउनुभयो र भन्नुभयो, ‘आज अपरेशन हुँदैन रे खाना खाऊ ।’ म खाना खान थालेँ । आज त मेरो अपरेशन रोकियो । भोलि पनि रोकिएला कि होला ? म मात्र होइन अरुपनि अन्यौलमा थिए । म आजको अपरेशन रोकिएकोमा खुसी थिएँ तर मनमा डर थियो । मेरो सन्तानलाई केही भयो भने ? किनभने मैले डाक्टर पवित्रलाई अपरेशन थिएटरबाट निस्कने बेलामा मेरो नर्मल डेलिभरी हुन सक्दैन भन्दा झन् खतरा हुन्छ भन्नुभएकोे थियो । नर्मल बच्चा जन्माउदा झन् धेरै पीडा भएर सुगर बढ्ने उहाँको तर्क थियो । सुगर बढे, बगेको रगत नरोकिने र घाउ पनि निको नहुने भएकाले झन् खतरा हुने थियो । मैले कसैलाई पनि यो कुरा सुनाइन । ‘भोलि रामनवमी राम्रो तिथि छ, आज अपरेशन भएन ठिक भयो,’ मैले भनें चिन्ताले निन्याउरो मुख लगाएर बसेका सबै हाँसे । 

हिजोअस्ती कुर्ता सुरुवाल लगाएर बसेको अनि क्यान्टिनमा गएर खाना, खाजा खाने गरेकाले मलाई आफू विरामी जस्तो लाग्दैनथ्यो । आज म अस्पतालले दिएको गाउनमा थिएँ । विरामी भएजस्तो लाग्न थाल्यो । खाना खाइसकेपछि अपरेशन गर्नुअघि दाहिने नाडीमा जोडिएको क्यानुलाबाट बाँकी स्लाइन चढाइयो । त्यो सकिएपछि एउटा मेसिनमा जोडेर औषधि दिइयो । आज दिनभरि र रातभरि नै यो औषधि दिने र त्यसबाट सुगर घटाउने भनेपछि म हिडडुल गर्न पाइन । अब म बन्धक नै भएँ । शौचालय जान पनि नर्स बोलाउनुपथ्र्यो । औषधि जोडिएको मेसिनबाट छुट्याउन । औषधि पास नभए मेसिन निकै ठूलो स्वरमा कराउथ्यो । नर्सहरु दौडेर आएर औषधि जोडिदिन्थे । 

असफल अप्रेशन थिएटरका दुई घन्टा...

रातभरी औषधि चढाएपछि बुधबार बिहान (२०७३ चैत २३गते) मलाई फेरि अपरेशन थिएटरमा लगियो । हिजोको जस्तै ए पोजेटिभ रगत समूहको एक पोका र अरु औषधि लिएर ह्वीचेयरमा थिए । आज मलाई यो ठाउँ नौलो लागेन । त्यहाँभित्रका मानिस पनि नौला थिएनन् । उनीहरु आज ठिक छ तपाईलाई भन्दै थिए । म मुन्टो हल्लाउँथे । 

हिजो नै नयाँ मान्छे लिन कपडा लिएर डाक्टरको बोलावट कुर्नुभएकी मेरी आमा र देवु दिदी आज पनि तयारी अवस्थामा नै हुनुहुन्थ्यो । सबै प्रक्रिया हिजो नै पुरा भएकाले रक्तचापको अवस्था हेरियो । सामान्य देखिएपछि अपरेशन गर्न भन्दै मलाई स्लाइन चढाउन लागियो । हिजो दाहिने नाडीमा जोडिएको क्यानुला पनि काम नलाग्ने भइसकेछ । फेरि अर्को क्यानुला जोड्नुपर्ने भयो । तर मेरो दुईवटै हात सुन्निएका थिए । क्यानुला जोड्न मिलेन । पाखुरामा जोड्न खोजियो त्यहाँ नशा नै भेटिएन त्यसपछि जहाँ नशा भेटिन्छ त्यहि घोप्ने निर्णय भयो । हात सुन्निएकाले एकदमै पीडा भइरहेको थियो । राती पनि नर्सले गाह्रो भएको देखेर आइस राख्न दिएकी थिइन् । 

प्रक्रिया पुरा गरेपछि हिजोको जस्तै अपरेशन गर्ने बेडमा लगियो । अपरेशनका लागि राखिएको बेडमा म सुतेपछि देब्रे हात पछाडी फेरि अर्को सुइरो खोपियो क्यानुला जोड्न । अनि हिजो छातीमा टाँसिएका सामग्रीमा मुटुको धडकन जाँच्ने मेसिनको तार जोडियो । अब म चलमलाउन नसक्ने भएँ । म बाँधिएकी थिए । हिजोकै सर्जन आइपुगे । मेरो दाहिने हातको चोर औलामा सानो सुइले घोपेर एक थोपा रगत निकाले । ग्लूकोमिटरमा हाले । मेरो सुगर सामान्य थियो । उनी अपरेशनको लागि तयार भए । भन्दै थिए, ‘एक दिन ढिला भएर के भयो त राम्रो भयो नि ।’

गर्भमा रहेको सन्तानलाई यो संसारमा ल्याउने अन्तिम तयारी भइरहको थियो । मेरो जीउ मन्डीले छोपियो । चिसोमा मलाई खोकी लाग्छ भनेपछि अर्को पनि मन्डी ओडाइयो । त्यसपछि उनीहरु डाक्टरी भाषामा के के भन्न थाले मैले बुझिन । यतिबेलासम्म म ठिक थिएँ । बेडमा मलाई उठाइयो । एकछिन अलिकति दुख्छ है भन्दै एक जनाले लामो सुइरो भएको सुइमा औैषधि राखे । मेरो कम्बरको हड्डी भेट्नेगरि त्यो सुइरोले रोपे । बरररर आँशु झर्यो । उनीहरुले मलाई हतार हतार सुताए । मेरो मुख छोपिदिए । अनि खुट्टा चलाउनुस् त भने । मैले चलाउने कोशिस गरेँ तर मेरो खुट्टा नै छैन जस्तो लाग्यो । कम्मरमुनिको शरीर काटिएको छ जस्तै लाग्यो । कसरि खुट्टा चलाउन सक्नु ? 

यो सामान लेऊ, त्यो सामान लेऊ, अब यो गर त्यो गर । धेरै त मेडिकल भाषा थियो बुझिन । तर, उनीहरुको कुरा सबै सुनिरहेकी थिएँ । उनीहरु छिटो छिटो कैची चलाउन थाले । त्यही बीचमा एक जनाले, ‘ए दिदी ए दिदी’ भनेर बोलाइरहेकी थिइन् । 

पीडा पनि बढीरहेको थियो । तर कतिबेला मेरो सन्तान रोएको सुन्न पाउछु होला भन्ने लागेको थियो । नौ महिनासम्मको सस्पेन्स कतिबेला बाहिर आउला भन्ने कौतुहल जो थियो । एकैछिनमा सास फेर्न निकै गाह्रो भयो । म चिच्याएँ, ऐया । मरें ।  अर्को सुइबाट औषधि दिइयो । पेट चिर्ने काम रोकिने करै थिएन । झण्डै २५ मिनेटपछि शिशु रोएको सुनेँे । त्यो थियो हाम्रो सन्तानको पहिलो रुवाई । 

मेरो पीडाका बिचमा मुस्कान भरिएर आयो । मलाई अघिदेखि बोलाइरहेकी सिस्टरले फेरि बोलाइन् ‘दिदी दिदी यी हेर्नुस् तपाईको छोरी । देख्नुभयो ?’ मैले आँखा खोले, निकै धमिलो । औषधिले लठ्ठ थिएँ, पुरै आँखा खोल्नै सकिन । देखेँ भन्ने भावको मुण्टो हल्लाएँ । मेरो अनुहार फेरि छोपियो । पाठेघर मुन्तिर तेर्सो पारेर काटिएको झण्डै एक बित्ता ठाउँ सिलाउने काम शुरु भयो । झण्डै ४० मिनेटमा काम सकिएछ । 

मलाई गुडाउने बेडमा राखेर अर्को कोठामा पु¥याइयो । म जाडोले लुगलुग काँपिरहेकी थिएँ । विरामीको मुटुको चाल जाँच गर्ने मेसिन, अक्सिजन लगायतका उपकरण थियो यो कोठामा पनि । मलाई फेरि मेसिनमा जोडियो । त्यो कोठाको भित्तामा झुण्डिएको घडीले बिहानको १० बजेर २५ मिनेट गएको देखायो । 

सिस्टरहरुले कहाँ दुखेको छ भनेर घरिघरि सोधिरहेका थिए । मेरो एउटै जवाफ थियो । सास फेर्न गाह्रो छ । अघि राम्ररी देख्नै नपाएकी र आवाज पनि मधुरो सुनेकी हाम्री छोरी कतिबेला छेउमा ल्याइदेलान भन्ने खुल्दुली जस्तो भइरहेको थियो । संगै ‘मेरो सुगर छोरीमा पनि देखियो कि भन्ने कुराले झल्यास्स बनाउँथ्यो ? उसलाई केहि नहोस भन्दै घरिघरि भगवान सम्झन्थेँ । 

आज औषधि चढाइएको क्यानुलाबाट रगत बगिरहेको रहेछ । एक जना सिस्टरले हत्तपत्त मिलाइदिइन् । कोठामा केहीबेरमा अरु दुई जना विरामी पनि थपिए । कसैलाई अक्सिजन लगाइएको थियो त कसैको धड्कन जाँच्न मेसिनमा जोडिदै थियो । 

मेरा नजर ति विरामीमा परे । धेरै चाँहि भित्ताको घडीको सुईमा मेरो आँखा पुग्थे । मलाई त्यहाँ लगिएको झण्डै एक घण्टा भइसकेको थियो । ‘बाहिर कति पीर गरेर बस्नुभएको छ होला ... अब त लगिदिए पनि हुने नि’ जस्तो लाग्थ्यो । हेर्दाहेर्दै साढे ११ भयो । 

अरु विरामी थपिदै थिए । कोठा साँघुरिदै थियो । मलाई त्यहाँबाट निकाल्ने बेला भयो । म सुतेको बेड फेरि गुडाइयो । मलाई लिन को को आउनुभयो याद भएन । रमेश दाइ (जेठाजु ) हुनुहुन्थ्यो । दुई तीनवटा अपरेशन गरेकाले घरमा धेरै तौलको अर्थात गरुङगो सामान कहिल्यै नउचाल्ने मान्छे मलाई लिन आउनुभयो । दाजुलाई गाह्रो होला कि भन्ने लाग्यो । तर केही बोल्न सकिन । मलाई त्यहाँबाट अब्जरभेजन रुममा लगियो ।

गुडाउने बेडबाट अर्को बेडमा सारियो । फेरि मेसिनमा जोडियो । स्लाईन चढाइयो । अझैपनि सास फेर्न निकै गाह्रो भइरहेको थियो । आँखाबाट घरिघरि आँसु बररर खस्थे । श्रीमानको मलिन अनुहार देखेर आँसु लुकाउन खाजें तर सकिन । मेरो आमा, बुबा, दिदी । रमेश दाइ, गीता दिदी, उत्तम दाइ, कुञ्जल, देवु दिदी मलाई भेट्न आउनुभयो । म बोल्न खोज्थे । तर कसैले पनि बोल्न दिएनन् । 

मलाई त्यहाँ लगेको ७–८ घण्टा भइसकेको थियो । अरु बेडमा बच्चाको रुवाई सुनिन्थ्यो । तर मेरो बेडमा म मात्र थिएँ । मैले मेरो छोरी अझै देख्न पाइन 

बाँकी अर्को ब्लगमा...

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया