MENU

विचार/अनुभूति

नयाँ अर्थमन्त्री ‘नपत्याउने खोलो’ बन्न सक्छन्

लक्ष्मण कार्की –

‘नागरिकले महसुस नगर्दासम्म कुनैपनि अंक वा डाटाले मात्र अर्थव्यवस्था सुदृढ भएको म मान्दिन’ नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यहि वाक्य मार्फत गभर्नर तथा अर्थ मन्त्रालयका सचिवसहितका विज्ञलाई एकैसाथ ‘पञ्च’ हाने । आफ्नो स्वागतमा भएको कार्यक्रममा त्यसअघि झण्डै पौने घण्टा गभर्नर र मन्त्रालयका दुई सचिवले तथ्यांकै तथ्यांकले भरिएको फिगरेटीभ मन्तव्य दिएका थिए ।

देशको जिडिपी यत्ति छ, परक्यापिटा इन्कम उति पुग्यो, इकोनोमिक ग्रोथको कण्डिसन यो हो, राजश्वको संकलन दर यस्तो छ, ब्यालेन्स अफ पेभमेण्टको अवस्था उस्तो छ जस्ता अंकैअंकका भाषणपछिको त्यो ‘राजनीतिक’ भाषणको पञ्च लाईन हलमा उपस्थित सबैजसोले नोटिस गरेको देखिन्थ्यो । अंक र ग्राफमा खेल्ने विज्ञहरुलाई पनि अर्थशास्त्रको राजनीतिक व्याख्या गरिदिएको जस्तो । 

मन्त्री नियुक्त भएदेखि नै अनलाइनहरुमा आइरहेको नयाँ व्यक्ति अर्थमन्त्री बनेको विषयको खासखुस र गाइगुई मन्त्रालयमै पनि नसुनिने कुरा थिएन । जसलाई नयाँ मन्त्रीले पनि अस्वीकार गरेनन् । ‘हो मेरा लागि अर्थ मन्त्रालय नयाँ छ म यहाँका धेरै कुराहरुसँग नौलो छु उनले भने त्यसैले म शनिबार आइतबार वा यति र उति घण्टा नभनी काम गर्छु ।’ 

११ वर्षअघि आफ्ना लागि त्यस्तै नौलो जलश्रोत मन्त्रालय सम्हाल्दाका बखतको अवस्था पनि उनले नढाँटी सुनाए । ‘मलाई त्यसबेला किलोवाट र मेगावाट भन्न पनि एकछिन घोरिनुपर्ने अवस्था थियो, त्यस्तो बेलामा नयाँ मन्त्रालयमा मैले गरेका कामहरुको अहिलेपनि चर्चा सुन्दा खुशी लाग्छ ।’ त्यसको एकैछिन अघि नयाँ अर्थमन्त्रीका रुपमा पदवहाली गर्दै गर्दा कार्कीले सञ्चारकर्मीसँग भनेका थिए–म यो गर्छु र ऊ गर्छु भन्दिन, मसँग एउटै सपना छ मैले छोडेर जाँदै गर्दा मेरो कार्यकाल इतिहासले सम्झिने गरिको बनोस् । बस् ।

नयाँ मन्त्रीको पढाइ लगायत योग्यता र विज्ञताबारेको वहस र विवाद नौलो कुरा होइन । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका व्यक्तिले अर्थतन्त्रको गाडी कसरी हाँक्लान भन्ने कौतुहल बारेको विमर्श भइरहेको छ । तर यो विमर्श पहिलोपटक भने होइन । 

अर्थ मन्त्रालयमा पदवहालीका बेला यस्तै खासखुस विमर्शका केही रोचक झलक पनि देखिए । अहिलेसम्म कुनै विवादित काम नगरेकाले नयाँ अर्थमन्त्रीले कसरी काम गर्लान् जबकी उनले त राजनीतिशास्त्र पढेका छन् भन्ने खालका तर्क गर्नेहरुलाई अर्काथरीले जवाफ दिइरहेका हुन्थे–हिजो सुरेन्द्र पाण्डे, विष्णु पौडेल, वर्षमान पुन र कृष्णबहादुर महरालाई पनि यस्तरी नै त उडाइएको थियो ।

अझ पाण्डेलाई त मन्त्री भएपछि अर्थशास्त्र पढ्न थालेको भन्दै खुब खुइल्याइएको थियो । आखिर तीनैजना अर्थमन्त्री नेपालका सफल अर्थमन्त्रीकै रुपमा पर्छन् होइन र ? उनीहरुको व्यंग्य पत्रकारहरुप्रति बढी लक्षित थियो । अझै अघि बढेर एकजनाले भने यसो भन्ने हो भने रक्षा र गृह मन्त्री बनाउनु अघि त सम्बन्धित व्यक्तिलाई बन्दुक चलाउने र जंगल कोर्षको तालिम गराउनुपर्ला नि । 

आखिर तर्क न हो दुवैमा दम हुने नै भयो । 

ज्ञानेन्द्रबहादुर कार्की कांग्रेसभित्र धेरै चर्चामा आउने वा आएका पात्र होइनन् । कांग्रेसको नर्सरी मानिने नेविसंघको केन्द्रिय अध्यक्ष भइसकेका भएपनि उनी चर्चालाई खासै रुचाउँदैनन् । बेलाबेला वजनदार लेख लेख्छन र यदाकदा मात्र अन्तरबार्ताहरु दिन्छन् । अलिकति काम गर्ने र हल्लिखल्ली धेरै गर्ने नेताहरुकाबिच उनी आफ्नो सोझो हिसाबले काम गरिरहने र चर्चा अरुकै जिम्मा छोडिदिने खालका नेता हुन् ।

उनी शालिन र भद्र छन् । उनी जे हो त्यो खुलस्त भन्छन् । आर्थिक रुपमा इमान्दार र पारदर्शी छन् । कुनै सस्तो टिप्पणी गरेर क्षणिक लोकप्रियता वा वाहवाही बटुल्न चाहँदैनन् । पार्टीका औपचारिक निर्णय नै पनि उनी भन्छन् र अन्तिममा शर्त राख्छन् ‘बाबु मलाई कोट नगर है ।’ 

पत्रकार विकास थापा भन्छन्, ‘जलश्रोत मन्त्री भएका बेला ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको लाइसेन्स बेच्न ठूलो रकमको अफर लत्याउँदै तामाकोशी नेपालले नै बनाउनुपर्ने पक्षमा दृढ रहेको र त्यसलाई सफल बनाइछोडेको बताउँछन् । 

जस्तो कि मन्त्री भएको पहिल्यै दिन आफ्ना कमजोरी भन्ने आँट कमैले गर्लान् ।

कार्कीले अर्थ र राजश्व सचिव, गभर्नर र अर्थ मन्त्रालयका माथिल्लो ओहोदाका विज्ञहरु रहेको कार्यक्रममा उनले आफ्नो अमेरिका भ्रमणबारेको एउटा दृष्टान्त पनि सुनाए । विल क्लिण्टनको पहिलो कार्यकालका बेला म अमेरिकाको राष्ट्रपतीय चुनावको अब्जरभेसनका लागि गएको थिएँ । क्लिण्टनको भाषणको बिचतिर सबैले धेरैबेर ताली बजाए । खासमा मैले उनले के भनेका हुन र किन ताली बजाइएको हो भन्ने बुझेको थिइन ।

एकछिनमा मैले मेरो छेउका साथीलाई सोधें क्लिण्टनले के भने ? उसले भन्यो म सौतेलो परिवारबाट आएको व्यक्ति हुँ र अब चाहन्छु अमेरिकामा कसैले पनि मेरो जस्तो अवस्था भोग्नु नपरोस् । सुनेर म दंग परें । त्यो कुरा अझैपनि मेरो दिमागमा छ मात्रै होइन मलाई मार्गदर्शन गर्ने एउटा सुत्र जस्तो बन्न पुगेको छ । 

सचिवहरुले भने निकै सहज अवस्थामा रहेको अर्थ व्यवस्था सुम्पेका छौं । यसलाई अघि बढाउने मुख्य जिम्मेवारी छ । यो एकखालले नयाँ अर्थ मन्त्रीप्रतिको अविश्वास जस्तो पनि सुनिन्थ्यो । 

नयाँ अर्थमन्त्री अर्थ क्षेत्रका नभएकै कारण पनि हुन सक्छ दुवै सचिवले तथ्यांकमा आधारित भाषण गरेका थिए । व्यवस्थापन संकाय वा अर्थशास्त्र विषयको कक्षाको झल्को दिनेखालको । मैले त्यहि बखत सोचेंपनि अर्थमन्त्री डा. रामशरण महत वा महेश आचार्य भएका भए सचिवहरुले यो सबै नालीबेली लगाउने धृष्टता गर्ने थिएनन कि । विज्ञ सचिवका उपदेशात्मक जस्ता लाग्ने भाषणका क्रममा मन्त्रीले अलि असहज महसुस गरेको जस्तो पनि देखिन्थ्यो । 

हरेक अवसरले चुनौती मात्र होइन मौका पनि ल्याउँछ । अंग्रेजीमा भनाइ नै छ नो रिस्क नो गेन । अर्थात जोखिम नमोली प्रतिफल हात पर्दैन । मन्त्री आफै सम्बन्धित क्षेत्रको विज्ञ वा भनौ त्यहि विषय पढेको नहुँदैमा कामै गर्न सक्दैन भन्ने नजिर नेपालमै असफल भइसकेको छ ।

यसअघिका लगातारका चारजना अर्थमन्त्रीको कार्यकाललाई हेर्दा पनि यो कुरा थाहा हुन्छ । कुनैपनि मन्त्रीका लागि काममा रातोदिन खटिने र घोटिने भन्दापनि आन्तरिक र बाह्य ब्यवस्थापन र विज्ञ टोलीलाई परिचालन गर्ने काम नै मुख्य हो । र त्यो गर्न सके ज्ञानेन्द्रबहादुर कार्की सफल अर्थमन्त्री बन्न सक्नेछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया