MENU

समाज

Ncell Axiata

विद्यालय पुनर्निर्माणमा खटिएका कर्मचारीबिच कुटाकुट

किरण लोहनी/उज्यालो । 

गोरखा, जेठ ३१ – गोरखाको एक विद्यालयको पुनर्निर्माणमा खटिएका कर्मचारीबिचमै कुटाकुट भएको छ । जिल्लाको भिमसेन गाउँपालिका–१ मसेलको विन्द्रावती माध्यमिक विद्यालयको भवन निर्माणमा खटिएका ठेकेदार कम्पनीका कर्मचारी र ईन्जिनियरबिच कुटाकुट भएको हो । जापानी सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा यो विद्यालयको पुनर्निर्माण भइरहेको छ । 

जाइकाका तर्फबाट प्राविधिक काम हेर्ने कन्सल्टेन्सीका ईन्जिनियर सुनिल पनेरु र भवन निर्माणको ठेकेदार कम्पनी एमबी गौरी पार्वती कन्स्ट्रक्सन कम्पनीका स्टोर किपर रुकुम भण्डारीबिच कुटाकुट भएको स्थानीय बासिन्दाले बताएका छन् । “बिहान ११ बजेतिर छत ढलानको काम भइरहेको थियो, ढलानका क्रममा प्रयोग हुने सिलिकाको मात्रा नमिलेको भन्ने विषयमा उहाँहरुबिच विवाद भएछ” विद्यालयका प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले भन्नुभयो, “विवाद बढ्दै जाँदा कुटपिटको अवस्था आयो ।” 

भण्डारीले अपशब्द प्रयोग गरेको र आफूले प्रतिवाद गर्दा हात हालेको पनेरुको भनाई छ । स्थानीय बासिन्दा समेत रहेका पनेरुमाथि अपशब्द प्रयोग गर्दै हात हालेपछि विद्यालयमा आसपासका बासिन्दाको भिडनै जम्मा भएको र विवाद बढेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । “आफन्त माथि दुब्र्यवहार भएपछि आक्रोशित भिडले स्टोरकिपर भण्डारी माथि कुटपिट गर्न थाल्यो” उहाँ भन्नुहुन्छ, “हामीले विद्यालयको अस्थायी कक्षाकोठाभित्र लगेर जोगायौं ।” भण्डारीमाथि कारवाहीको माग गर्दै स्थानीय बासिन्दाले विद्यालयमा तोडफोड समेत गरेका थिए । स्थानीय बासिन्दाको कुटपिटबाट भण्डारीको टाउकोमा सामान्य चोट लागेको प्रहरी चौकी घ्याम्पेशालले जनाएको छ ।

ईन्जिनियर पनेरुले भने सामान्य विवादले उग्ररुप लिएकोमा दुख व्यक्त गर्नुभयो । “कन्स्ट्रक्सनको काममा निर्माण सामग्री प्रयोगका विषयमा यस्ता विवाद भैरहन्छन्” उहाँले भन्नुभयो, “तर स्थानीय बासिन्दा रिसाए र अलि बढी तनाव भयो ।” भण्डारीसँग भने टेलिफोन सम्पर्क हुन सकेन । बिहान ११ बजेदेखि सुरु भएको विवाद घ्याम्पेसाल प्रहरीको सहयोगमा दिउँसो ४ बजेतिर साम्य भएको छ ।

“प्रहरीको आग्रहमा विद्यालयमै आएर मेलमिलापको अवस्था बनाइएको छ, बुधबार बिहानदेखि भवन निर्माणको सबै काम शुरु हुन्छ” प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । भण्डारीलाई गोरखा बाहेकका ठाऊँमा काममा लगाउने ठेकेदार कम्पनीले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया