MENU

बातावरण-कृषि

Ncell Axiata

दुर्लभ सेतो गिद्ध जाजरकोटमा भेटियो

जाजरकोट, असार ३ – विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिनुभयो । 

भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताउनुभयो । सक्लामा अहिले फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उहाँको भनाई छ । 

‘प्रकृतिको कुचीकार’ गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो । 

त्रिवेणी नलगाड नगरपालिका–५ लहँको महादेव स्थान जङ्गलमा सुन गिद्धको गुँड फेला परेको थियो । गुँडमा अण्डा पारे पनि कोरल्न नसकेको पक्षी संरक्षणकर्मी सिंहले बताउनुभयो । उहाँले केटाकेटीले गुँडमा ढुङ्गा हान्ने, आगलागी आदि कारणले गर्दा चल्ला कोरल्न नसके पनि एक जोडी सुन गिद्ध जाजरकोटमा रहेको बताउनुभयो । पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो । 

चरा संरक्षण सङ्घका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा नौ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ । 

पक्षी संरक्षण सङ्घले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक एक जोडी सुन गिद्ध र सेतो गिद्ध छन् । जनचेतनाका अभावमा वनजङ्गलको विनाश, जथाभाबी आगलागी, गिद्धका गुँडमा ढुङ्गा हान्ने, अन्डा तानेर फालिदिने, जथाभावी सिनोमा विष हाल्ने कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया