MENU

साहित्य/ कला

Ncell Axiata

लेखेकै कारण कसैको हत्या, कसैलाई हत्याको धम्की !

काठमाडौं, असार ३ – पुस्तक लेखन र प्रकाशन सुरु भएसँगै त्यसमा समावेश गरिएका विषयवस्तुलाई लिएर पुस्तकमाथि प्रतिबन्ध लाग्ने र त्यसको लेखकमाथि विभिन्न खालका आक्रमण हुँदै आएको छ ।  

अश्लील विषयवस्तु समावेश भएको आरोपमा होस वा क्रान्तिकारी विचारधारालाई समावेश गरेको आरोप होस, कैयौं पुस्तक र लेखकमाथि प्रतिबन्ध लाग्दै आएको छ । कतिपय लेखकलाई त धार्मिक विषयमा टिकाटिप्पणी र इशनिन्दा गरेको आरोपमा धार्मिक कट्टरपन्थी समूहले  मृत्युदण्डको सजायसमेत सुनाएका छन् । कतिपय लेखकलाई विभिन्न कार्यक्रममा आक्रमण पनि हुँदै आएको छ भने कतिपय कृतिका लेखक तथा अनुवादकको हत्यासमेत भएको छ । 

विभिन्न समयमा विवादित बन्न पुगेका केही लेखक र तिनका कृतिहरु

नदिन गोर्डिमर 

दक्षिण अफ्रिकाकी प्रसिद्ध लेखक नदिन गोर्डिमरका कृतिहरुमा मानव अधिकारको वकालत गरिएको पाइन्छ ।  उनका कृतिहरुमा दक्षिण अफ्रिकाको रंगभेदकालिन इतिहासको वर्णन गरिएको छ । उनी आफू श्वेत भएर पनि अश्वेतहरुको अधिकारको लागि आफ्ना रचनाहरुमार्फत र विभिन्न सामाजिक अभियानद्वारा लडिरहिन् । 

अश्वेतहरुको अधिकारका पक्षमा आवाज उठाएकै कारण उनी तत्कालिन दक्षिण अफ्रिकी सरकारको आँखाको तारा बनिन् । उनका थुप्रै कृतिमध्ये प्रसिद्ध दुई उपन्यास ‘बर्गर्स डटर’ (सन् १९७९) र ‘जुलाइज् पिपल’ (सन् १९८१) दक्षिण अफ्रिकामै प्रतिबन्धित भएको थियो । त्यसो त उनले दक्षिण अफ्रिकाका स्वतन्त्रता सेनानी नेल्सन मण्डेलाको राजनैतिक भाषणहरु लेख्न सघाएको कुराहरु चर्चामा रहने गर्दछ । मानवअधिकार र सामाजिक सुधारको वकालत गरेकै कारण उनलाई सन् १९९१ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो । 

सलमान रुस्दी 

सलमान रुस्दी समकालिन विश्वसाहित्यको चर्चित नाम हो । भारतीय मूलका ब्रिटिस लेखक रुस्दीका उपन्यासहरुमा जादुयी यथार्थवाद र उत्तरआधुनिक शैलीको मिश्रण गरिएको पाइन्छ ।  उनले आफ्ना कृतिहरुमा पश्चिमी र पूर्वीय समाजको अन्तर्घुलनका विषय उठान गरेको पाइन्छ । 

उनका कृति तथा उनले व्यक्त गर्ने अभिव्यक्ति सधैँ विवादको केन्द्रमा रहने गरेको छ । सन् १९८८ मा प्रकाशित उनको चौथो उपन्यास ‘सटानिक भर्सेज’माथि भारतलगायत विश्वका १३ देशमा प्रतिबन्ध लागेको थियो । 

सलमान रुस्दीलाई इशनिन्दा गरेको आरोपमा इरानी सर्वाेच्च नेता अयोतल्लाह खोमेनीले फतवा (मृत्युदण्ड) जारी गरेका थिए । जसले गर्दा इरान र बेलायतको कुटनैतिक सम्बन्धमा तनाव आएको थियो । सन् १९८९ फेब्रुअरीमा भारतको मुम्बईमा भएको रुस्दीविरोधी आन्दोलमा १२ प्रदर्शनकारीको ज्यान गएको थियो भने ४० भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए । 

सन् १९९१ मा ‘सटानिक भर्सेज’का जापानी अनुवादक प्राध्यापक हितोशी इगाराशीको अज्ञात समूहले हत्या गरेको थियो ।  उनलाई पनि इरानी धर्मगुरुद्वारा फतवा जारी गरिएको थियो । 

डिएच लरेन्स

‘लेडिज चटर्लीज लभर’, ‘द भर्जिन एण्ड् द जिप्सी’, र ‘वुमेन इन् लभ’ जस्ता चर्चित कृतिका लेखक डिएच लरेन्सका कृतिहरुमाथि पनि प्रतिबन्ध लागेको थियो । उनका कृतिहरुमा २० औं शताब्दीमा औद्योगीकरण र आधुनिकीकरणले ल्याएको प्रभावको प्रस्तुती पाइन्छ । 

लरेन्सका कृतिहरुलाई गलत तरिकाले व्याख्या गरिएको समीक्षकहरुले बताउने गरेका छन् । लरेन्सका कृतिहरुले औद्योगीकरणको प्रभावले निम्त्याएको सामाजिक परिवर्तनलाई प्रस्तुत गरे पनि त्यसमा अश्लील र यौनका विषयलाई खुला रुपले प्रस्तुत गरेको आरोप उनलाई लाग्दै आएको छ ।

सन् १९६० सम्म उनका कृतिहरु बेलायतलगायत विश्वका विभिन्न देशहरुमा प्रतिबन्ध लागेको थियो । 

टोनी मोरिसन 

अफ्रिकी अमेरिकी लेखक टोनी मोरिसन पनि प्रतिबन्धबाट बच्न सकिनन् । अमेरिकी लाइब्रेरी एसोसियसनका अनुसार उनको ‘द ब्लुएस्ट आइ’ अमेरिकामा सबैभन्दा बढी प्रतिबन्ध भएको पुस्तकमध्ये दोस्रो नम्बरमा आउँछ । 

उनका कृतिहरुको विषयवस्तु र भाषा अश्लील भएको आरोप लगाइँदै उनका कृतिहरुमाथि प्रतिबन्ध लगाइएको थियो । उनका कृतिहरु ‘बिलभेड’ र ‘सङ अफ् सोलोमन’ अश्लील विषयवस्तु भएको बताउँदै अमेरिकी विद्यालयहरुको पाठ्यक्रमबाट हटाइएको थियो । 

उनका कृतिहरुमाथि जे–जस्ता आरोप लगाइए पनि उनले समाजमा हुने गरेका यौन अपराध, यौन दुव्र्यवहार तथा रंगभेदको विषयवस्तुलाई उजागर गरेकी छन् ।  उनका कृतिहरुले सामाजिम यथार्थतालाई प्रस्तुत गरेको पाइन्छ । 

कुर्त भोनेगट

कुर्त भोनेगटद्वारा लिखित शक्तिशाली उपन्यास ‘स्लटरहाउस फाइभ’ले पनि विभिन्न प्रतिबन्धको सामना गर्नुपर्‍यो । साइन्स फिक्सन (विज्ञान कथा)मा आधारित यस उपन्यासले युद्धका पीडा र हिंसालाई प्रस्तुत गरेको छ । 

नाजी पूर्वाग्रहबाट समलिंगी पुरुषहरु पनि पीडित थिए भन्ने कुरा सबैभन्दा पहिले भोनगटले नै आफ्ना कृतिहरुमा खुलाएका थिए । 

उनका कृतिहरुमा विद्यालय शिक्षामा पढाइएको भन्दै विद्यालय शिक्षा बोर्डका प्रमुखले भोनेगटका ३२ कृतिहरु जलाएका थिए । 

 

 

भ्लादिमिर नाबोकोभ

साहित्यमा नोबेल पुरस्कार पाएका भ्लादिमिर नाबोकोभको उपन्यास ‘लोलिता’ प्रकाशनमा आएसँगै विवाद र चर्चामा आएको थियो । नाबोकोभले यस उपन्यासलाई अमेरिकी प्रकाशन गृहबाट प्रकाशन गर्न चाहेको भएता पनि धेरै प्रकाशन गृहले छाप्न मानेनन् ।  यो उपन्यास सर्वप्रथम सन् १९५५ मा फ्रान्सेली प्रकाशन गृह ओलम्पिया प्रेसले प्रकाशन गरेको थियो ।  

‘लोलिता’ले प्रशंसा बटुल्दै गर्दा यसमाथि प्रतिबन्ध लाग्ने क्रम पनि चलिरह्यो ।  बेलायतलगायतका विभिन्न देशहरुमा यो उपन्यासमाथि प्रतिबन्ध लागेको थियो । फ्रान्समै पनि यो उपन्यासमाथि प्रतिबन्ध लागेको थियो । बेलायती संसदमै यस उपन्यासको प्रतिबन्धबारे निकै नै बहस भएको थियो ।  सन् १९५७ मा अष्ट्रेलियाली भन्सार विभागले उपन्यासका केही प्रति जफत गरेको थियो । 

तसलिमा नसरिन 

सन् १९९२ मा भारतको अयोध्यामा बाबरी मस्जिद तोडफोडभएपछि बंगलादेशका मुस्लिम समुदायले त्यहाँ रहेका अल्पसंख्यक हिन्दु समुदायलाई आक्रमण गरेको थियो । बंगलादेशमा हिन्दु मन्दिरहरु जलाइएका थिए । भारतमा भएको घटनालाई लिएर बंगलादेशमा पनि साम्प्रदायिक हिंसा भड्केको थियोे । यसै विषयवस्तुमा आधारित भएर बंगलादेशी लेखिका तसलिमा नसरिनले ‘लज्जा’ उपन्यास लेखेकी थिइन् । 

सन् १९९३ मा ऐतिहासिक घटनामा आधारित उपन्यास ‘लज्जा’ प्रकाशन भएको ६ महिनामै ५० हजार प्रति बिक्री भएको थियो । तर विभिन्न इस्लामिक समूहबाट फतवा जारी भएपछि उनले बंगलादेश छाडेकी थिइन् । 

नसरिनलाई निर्वासनमा रहेकै समयमा पनि विभिन्न धम्कीहरु आउने गरेको छ । उनी लामो समय भारतमा बसे पनि कहिले स्वीडेन र कहिले अमेरिकामा बस्दै आएकी छन् । उनले धर्मको नाममा अतिवादलाई प्रश्रय दिन नहुने भन्दै धर्मको अर्काे नाम मानवता भएको बताउँदै आएकी छन् । 
                                                             

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया