MENU

समाज

Ncell Axiata
NIC Asia

ढुक्कसँग खाने बस्ने दिन अझै आएन

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, असार ४ – ‘ए दिलबहादुर दाई घर राम्रो बनाउनुहोला । घर बनिसकेपछि फेरि भेटौंला अनि बसेर सँगै भटमास पनि खाउँला ।’ दोलखाको कालिञ्चोक गाउँपालिका लामिडाडाँका दिलबहादुर सिवाकोटीले बनाउँदै गरेको घर अवलोकनपछि छुट्टिने बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले यसै भन्नुभयो । दिलबहादुर जस्तै तथ्याङ्कमा ७ लाख ४४ हजार ५ सय ८८ भूकम्प प्रभावित छन् । भूकम्पले घर भत्केका प्रभावितले अझै घर बनाउन सकेका छैनन् । घर बनाउँदै गरेका दिलबहादुर भन्नुहुन्छ ‘घरै नहुँदा ढुक्कसँग खाने बस्ने दिन अझै आएको छैन ।’

तथ्याङ्कमा ६३ हजार घर बन्दै 

छिटफूट बाहेक सबै भूकम्प प्रभावितको खातामा पहिलो किस्ताको अनुदान पुगेको छ । झण्डै २८ हजार प्रभावितले घर बनाइ सकेका छन् । कतिपयले आफ्नै बलबुतामा घर बनाएका हुन् । अझै पनि भूकम्प प्रभावितको तथ्याङ्क भने बढ्दैछ ।

यतिधेरै प्रभावित मध्ये झण्डै ६३ हजार ९ सय २ जनाले मात्रै घर बनाउन थालेका छन् । प्राधिकरणले सुरक्षित घरका लागि जारी गरेको मापदण्ड पुर्‍याउन नसके अनुदानको पैसा नआउने अर्को चिन्ता छ । अनुदानको पहिलो किस्ता ५० हजारको सदुपयोग गर्दै घर बनाउने काम अघि बढाउन चुनौती धेरै छन् । 

इन्जिनियर र संघसंस्थाले दायित्वबोध गर्दैनन्

दोलखाको लामिडाँडामा जस्तै गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सबैतिर पुग्ने अनि प्रभावितलाई भेट्ने र मापदण्ड बुझाउने अवस्था छैन । त्यो सम्भव पनि हुँदैन । प्रभावितलाई सहयोग गर्ने र मापदण्ड अनुसारकै घर बनाउन लगाउने दायित्व सरकारले खटाएका प्राविधिक, इन्जिनियर, पुनर्निर्माणका लागि भनेर जिम्मेवारी लिएका संघसंस्थाको पनि हो ।

तर भौगोलिक अवस्था, दायित्वबोध र समन्वयको अभावमा घर बनाउने काम अल्झिएको छ । एकातिर प्रभावितले अस्थायी पालमै दिन धकेलेका छन् भने गाउँमा पुनर्निर्माणको अभियान लिएर गएकाहरु पनि काममा दत्तचित्त छैनन् । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटबाट धादिङको रुविभ्याली गाउँपालिकामा खटिनुभएका इन्जिनियर विजय तामाङ भन्नुहुन्छ पहिलो किस्ता सम्म सबैले पाउन सकेका छैनन् ।

सदरमुकामबाट पैदल तीन दिन हिँडेर पुग्नुपर्ने विकट ठाउँपनि छन् । सरकारी निकाय अनि अरु संघसंस्था पनि पुग्न सकेका छैनन् ।’

घर नबन्दा जस पाउने ठाउँ छैन 

सरकारी इन्जिनियर, गैरसरकारी संघसंस्था पुगेका ठाउँमा पनि जस पाउने गरी काम भएको छैन । किनभने प्रभावितले घर बनाउन आवश्यक पैसा देखि सिकर्मी डकर्मी र सरसामग्री ढुवानीको समस्या झेल्नुपरेको छ । अनुदानको ५० हजार रुपैयाँले जग बसालेपनि घरै ठड्याउन किस्ता किस्ता कुर्नुपर्ने बाध्यता छ ।

छिमेकीले बसालेको घरको जग अलपत्र भएको देख्दा र दोस्रो किस्ताको लागि बेलैमा सिफारिस नहुँदा अर्को प्रभावित ढुक्क हुन सक्दैन अनि घर कसरी बन्छ ? नजिकैको नुवाकोट विदुर नगरपालिकामा खटिएका अर्का इन्जिनियर मनोज अधिकारीले गाउँको समस्या सुनाउनुभयो । प्रभावितसँग आफ्नै स्रोत र क्षमता कम छ त्यसमाथि दोस्रो, तेस्रो किस्ताको पैसा आउँछ/आउँदैन अलमल छ ।

घर प्रभावितले नै बनाउनुपर्छ 

सरकारले अनुदान मात्रै दिने हो । प्रभावितले आफ्नो घर आफै बनाउनुपर्छ । मापदण्ड अनुसारकै घर बनाएर अनुदानको पैसा सदुपयोग हुनुपर्छ । तर प्रभावितलाई आवश्यक अन्य सहयोगमा भैरहेको ढिलासुस्ती त छदैछ । त्यसमाथी बर्खा सुरु हुनै आँटेको छ । खेतिबालिको काम थपिदाँ त्यसैपनि घर बनाउने काम प्रभावित हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया