MENU

खेल

Ncell Axiata

एन्फा मर्न थाल्यो, खारेज गरेर अर्को बनाउनुपर्छ: कृष्ण थापा

एएफसी एसियनकप छनौट अन्तर्गत गएको मंगलबार नेपालले यमनसँग गोलरहित बराबरी खेल्यो । फिफा बरियतामा नेपाल यमन भन्दा ४५ स्थान तल रहेकाले पनि नेपालले यमनसँग पक्कै हार्छ तर गोलअन्तर मात्रै हेर्नुछ भन्ने चर्चा पनि थियो । तर नेपालले उत्कृष्ट खेल्दै यममसँग बराबरी खेल्यो । बरु नेपालले यमनलाई दबाबमा राख्यो तर घरेलु मैदानमा यमनविरुद्ध गोल गर्ने मौका पनि खेर फाल्यो । बल नियन्त्रणमा राखेपनि गोल गर्न नसक्ने नेपालको पुरानो रोग निको नभएको भन्ने आलोचना पनि भइरहेको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक कृष्ण थापाले भने प्रशिक्षकले खेलाडी छनौटमा ध्यान नदिएको र फुटबलमा एन्फाको नचाहिँदो दबदबा कायमै रहेकोले नेपाली फुटबलले अपेक्षाकृत प्रगति गर्न नसकेको बताएका छन् । एन्फाको पुरानै शैलीलाई बदलेर नयाँ संरचनामा नढाल्दासम्म नेपाली फुटबलको गति यस्तै रहने उनको भनाई छ । एक कदम अघि बढेर पूर्व मुख्य प्रशिक्षक कृष्ण थापाले त नेपाल संघीय ढाँचामा गएकोले एन्फाकै खारेज गरेर नयाँ संस्था बनाउन पनि सुझा दिएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक तथा खेलाडी कृष्ण थापासँग अर्जुन पोख्रेलले कुराकानी गर्नुभएको छ । 

नेपाल र यमनबिचको खेल त पक्कै हेर्नुभयोहोला हैन त ?

मैले टिभीमा हेरेँ । 

मैदानमै गएर किन हेर्नुभएन, फुर्सद थिएन हो ?

हामीलाई निम्तो थिएन । कसैले बोलाएको पनि थिएन, त्यसैले टिभीमै हेरेँ । मैदान जान पाइन । 

उत्सहित भएर कुराकानीको सुरुवात गरेका थियौं, तपाईंले त निराशाका कुरा पो गर्नुभयो त ?

एन्फाको सिस्टम नै त्यस्तै छ । पूर्व खेलाडी, राष्ट्रको लागि योगदान दिएका मान्छेलाई त्यहाँ वास्ता गरिन्न । बरु भलिबल, कराँते, तेक्वान्दो, लगायतका खेलाडी र आफन्तको त्यहाँ बाहुल्यता छ, फुटबलमा योगदान दिएकालाई त्यहाँ कुनै स्थान छैन् ।

व्यक्तिगत रिसका कारण तपाईंलाई मात्रै हो कि, योगदान दिएका अन्य व्यक्ति पनि उपेक्षामा परेका छन् त ?

राम्रा मान्छेलाई सम्मान गर्न एन्फाको संस्कारले भ्याउँदैन नि त । त्यहाँ भएकाहरु आफू राष्ट्रको लागि कहिल्यै खेलको भए, कहिल्यै गोल गरेका भए पो मान्छेको योगदान चिन्थे होला । तर अहिले त एन्फामा अनेकथरी मान्छे छन्, एन्फा एउटा विजनेस थलो जस्तो भएको छ ।

त्यसैले देशलाई योगदान दिएकाहरुलाई एन्फामा गनिदैन । म मात्रै होइन, हरि थापा, उपेन्द्रमान सिंह, बालगोपाल लगायतको हालत पनि यस्तै हो । पूर्व क्याप्टेनको नाताले औपचारिकता पूरा गरेको भए मलाई थाहा छैन् है । कृष्ण थापा आयो भने गेटबाटै पस्न नदिनु भन्ने आदेश छ रे भन्ने पनि सुनेको छु मैले ।

तपाईंले भएकै कुरा गर्नुभएको हो ? एन्फामा त्यस्तो हेपाहा शैली छ र ?

हेप्ने त त्यहाँको पुरानै रोग हो । पहिला नेपाल फुटबल संघ थियो, त्यसपछि अखिल नेपाल फुटबल संघ भयो । मैले ४० वर्षदेखि एन्फालाई नजिकबाट हेर्दा चाहिँ त्यहाँको तानाशाही तरिकाको सिस्टम परिवर्तन गर्न सकिन्न । देशमा बहुदल आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो,  संविधान बन्यो तर फुटबलको विधान बन्न सकेन । त्यसकै फलस्वरुप अहिले कतै नभएको व्यवस्था भएको संघ जस्तो छ एन्फा ।

गणेश थापा हुँदा यस्ता कुरा सुनिएका हुन्, अहिले त चुनाव भएर नयाँ नेतृत्व आएको छ । अहिले पनि तपाईंले भनेजस्तो छ त ?

गणेश थापाको भौतिक शरीर नहोला तर छायाँ त गएको छैन नि । त्यहाँ अहिले पनि अदृश्य शक्तिको रुपमा गणेश थापाले नै काम गरिरहेका छन् । देश नै अदृश्य शक्तिले चलेको छ भन्छन् एन्फामा पनि त्यस्तै छ ।

तपाईंहरुलाई एन्फाले त्यस्तो व्यवहार गरेपनि नेपाली फुटबलको त माया लाग्छ होला नि ?

असाध्यै माया लाग्छ । मैले जहिले पनि खेलाडीहरुलाई आशावादी हुन भनिरहेको हुन्छु । कतिपय त मेरै चेलाहरु छन् । उनीहरु राम्रो खेलुन् राष्ट्रको इज्जत बढोस भन्ने हाम्रो चाहना हो नि ।

एन्फाको कुरा केहीबेर पछि गरौँला, नेपाल र यमनबिचकै कुरा गरौं न । खेल कस्तो लाग्यो त ?

बरियताकै आधारमा कुरा गर्ने हो भने नेपाली टिमको नै उपलब्धी देखियो ।  अर्को कुरा घरेलु मैदानको फाइदा पनि हामीले लिन सक्यौं । घरेलु मैदानका कुरा गर्नुहुन्छ भने त नेपाली टिमले अर्जेन्टिनालाई पनि हराउँछ कि जस्तो जोश देखिन्छ । जोर्डनसँगको खेलकै कुरा गरौं, जोर्डनमा ९ गोल खाएको नेपालले घरेलु मैदामा गोल गरेर बराबरी गरेको घटना त ताजै छ । त्यो हिसाबमा त नेपालले जित्नुपर्ने थियो, तर पनि जितेन । समग्रमा यमनसँगको खेल राम्रो थियो ।

कमजोर पक्ष चाहिँ के देख्नुभयो ?

फिनिसिङमा समस्या देखियो । गोल गर्ने मौका आउँदा पनि गुमाउनुपर्‍यो । हाम्रो विङ्स पनि टाढै रहने र मिडफिल्ड पनि अघि बढेर स्ट्राइकरलाई गोलको अवसर सृजना गर्न नसक्ने अनि वान भर्सेस वान बल निकालेर गोल गर्न कठिन नै देखियो ।

फिनिसिङ चाहिँ किन हुन नसकेको होला ? 

विदेशमा गोलकिपिङ कोच भिन्दै हुन्छ, डिफेन्डिङ कोच भिन्दै हुन्छ । व्यक्तिगत कमजोरी पत्ता लगाएर सुधार गर्छन् तर नेपालमा त्यो देखिएन । नेपालमा त के छ भने, एकजना खेलाडीले एकपटक गोल हान्यो भने १० वर्षसम्म टिममा परिरहने । कसरी कसरी झुक्किएर एकपटक गोल गरेपनि त्यसलाई १० वर्ष लालमोहर लाग्छ, खेलाडी नयाँ खेलाडीले त मौका नै पाउँदैन । कोचको पनि फुटबल संघको पनि त्यस्तै छ । 

मंगलबारको खेलमा अनिल गुरुङको कुरा गरौं । फिलिपिन्ससँगको खेलमा अनिललाई टिममै राखिएन । यमनसँगको खेलमा टिममा त राखियो तर अन्तिम समयसम्म बेञ्चमा थन्काइयो । यसमा टेक्निकल्ली ठूलो गल्ती देखिन्छ । किनकी रिटायर्ड अवस्थाको खेलाडीलाई कि त सम्मानजनक हिसाबले विदाइ गरिदिनुपर्‍यो, नत्र टिममा पारेर त खेलाउनुपर्‍यो नि । 

यस्तो अनुभव मेरो जिवनमा पनि छ । म ३० वर्षको थिएँ खेलकै क्रममा कोचको तालिमका कारण २ वर्ष टिममा परिन । तर पछि कुन कुन देशसँग खेल्नको लागि मेरो पुनरागमनको कुरा गरियो । मैले पनि जापान, थाइल्याण्ड, चीन लगायतका देशमा जान पाउने भएपछि मैले पनि हुन्छ भनिदिएँ । तर एकजना उच्च पदाधिकारीले ‘भाइ  प्लेइङिमा पर्‍यौ भने तिमिलाई छनौट गरिन्छ, होइन भने तिमिलाई छनौट गरिन्न’ भन्नुभयो ।

त्यो एकदमै राम्रो पक्ष हो के । मैले पनि त्यो बेला भनेँ, म प्लेइङमा परिन भने म आफै जान्न । किनकी म प्लेइङमा नपरी गएँ भने त म भन्दा जुनियर विराटजङ, मणी थापा लगायतका खेलाडीको बुट बोक्नुपर्ने हुन्छ, हेला गर्छन, हेप्छन यसैले म जान्न भने । अनिल गुरुङ्गलाई बेञ्चमा राख्नु थियो भने पुनरागमन किन गराइयो ? रिटायर्ड हुने बेलामा यस्तो गर्दा उसको चित्त त दुखे होला ।  त्यसमा गम्भीर टेक्निकल मिस्टेक छ ।

प्रशिक्षकले चुनौती लिन सकेन्न भनेपछि ?

हो नि । विमल र अनिललाई बेञ्च राखेर अरु खेलाडीलाई कुदाएको कुदाइ गर्नु त राम्रो भएन नि । दुवैजना अनुभवी खेलाडी नै हुन् । उनीहरु छिर्दा टिमलाई घाटा हुने त होइन तर कोचले रिस्क लिन सकेनन् । जित्ने लक्ष्य लिएर खेल्नुपर्नेमा बराबरीकै लागि खेलेजस्तो पो देखियो त ।

यसपटक त फ्याट्टै एसियाकपमा छनौट होला जस्तो छ है नेपाल त ?

पहिला पनि यस्ता मौका आएका थिए । २००२ मा म नै हेडकोच हुँदा अफगानिस्ता, किर्गिस्थान र नेपाल तीनवटै टिमले एक अर्कालाई ४–४ गोल गरे । गोलले गर्दा नेपाल छनौटको लागि छनौट भयो । तर छनौट हुँदा पनि अफिसियल रुपमा कोही पनि खुशी नै हुन सकेनन् । कारण थियोः दोस्रो चरणमा कोरियासँग खेल्नुपर्ने थियो, धेरै गोल खाइन्छ भनेर सबैजना निराश भएका रहेछन् । 

कुरा नगरम भनेपनि फेरी एन्फाको कमजोरी प्रसंङ्गमा आइहाल्यो । यो चरम लापरबाही थियो । त्यो बेला म हेडकोच थिएँ र पोखरामा थिएँ । त्यो बेला खासै मोवाइल पनि थिएन् । म पोखरामा भएको बेलामा यता त असिस्टेन कोचको भरमा टिम त कोरिया पुगेछ । मैले नै छनौट गराएको, मलाई नै जानकारी नदिइ टिम कोरिया उडाइएछ । भनेपछि एन्फाको शैली मैले भन्नैपरेन नि । पछि कुरा बुझ्दा थाहा भयो, मुख्य कोचको कोटामा पनि एकजना अफिसियललाई घुम्न पठाएका रैछन् । त्यतिबेला नेपालले १६ गोल खाएर फर्कियो । 

तपाईंले अघि नै भन्न खोजेको कुरामा म आएँ । फुटबलको नियामक निकाय एन्फामा तपाईंले भनेजस्तो स्वेच्छातारिता छ त ?

अहिले एसियाकप छनौटको लागि त एन्फाले बाध्य भएर केही सुधारका कुरा गरेजस्तो देखिन्छ ।  फिफा र एएफसीको क्यालेन्डरमा प्रशासनिक र प्राविधिक पक्षलाई समेटेर बजेट छुट्याउँछन् । त्यो बजेट कुनै पनि शीर्षकमा नछुट्याइकन यै प्रतियोगितामा खर्च गर्न पाउने हिसाबले केही फेयर गरेर सहभागी भएको हो । उताबाट बजेट नआउने हो भने यहाँ यताउती गरेर अहिलेको टिमले एन्फा चलाउन सक्दैन् । 

अहिले त फिफाको दबाबमा चुनाव भएकै कारण चुनिएर आएका हुनाले केही बलिया जस्ता देखिएका छन् र हिरो बनेका छन् । त्यो पनि अदृश्य शक्तिको आडमा  । यसलाई परास्त गर्नको लागि केही समय कुर्नुपर्छ । 

तपाईंले आरोप त धेरै लगाउनुभयो । नेपाली फुटबल विकासको लागि एन्फामा सुधार गर्नुपर्ने के ?

सबैले परिवर्तन चाहेका छन् । सबैभन्दा पहिले त एन्फाको विधान परिवर्तन गर्नुपर्छ । एन्फाको अभिभावक भएको नाताले राखेप र युवा तथा खेलकुद मन्त्रालयले नयाँ विधान बनाउन भूमिका खेल्नुपर्छ । 

देशको शासन प्रणाली नै परिवर्तन भैसक्यो, पुरानो संविधानको साटो नयाँ संविधान आयो । तर एन्फाको विधान चाँही परिवर्तन हुनु नपर्ने ? देश संघीयतामा जाँदा एन्फा संघीयतामा जानु पर्दैन ? सधैभरि क्षेत्रीय फुटबल संघ र जिल्ला फुटबल संघ राखेर काम चल्छ ? अखिल नेपाल फुटबल संघ रहला भन्ने पनि छैन्, नेपाल फुटबल हुन पनि सक्छ ।  राज्यको नै पुनर्संरचना भएपछि एन्फोको पनि पुनर्संरचना हुनुपर्‍यो ।  गणतन्त्र आयो नि । हरेक संरचना खारेज भएर नयाँ आएका छन् भने एन्फा पनि खारेज हुन सक्छ नि ।

अब नयाँ संरचनामा एउटा तदर्थ समिति बनाइदिने र त्यसलाई विधान लेखनको जिम्मेवारी दिनुपर्छ । एउटा अध्यक्षले दुई कार्यकाल भन्दा धेरै पदमा बस्न नपाउने नियम विधानमा बलियो गरी राख्नुपर्छ । एन्फा र यसको संरचना खारेज गरेर अर्को संरचना ल्याएपछि बल्ल तल्लो तहका प्रतिभाले अवसर पाउँछन् । एन्फा मर्न लागेको कमिलाको प्वाँख पलाएको अवस्थामा छ । अब नयाँ संरचना बनाएर सुधार गर्नुपर्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया