MENU

विचार/अनुभूति

ujyaalo forign call inside

अपरेशन थिएटर–३ः बल्ल छोरीको मुख हेर्न पाएँ

सजना तिमल्सिना -

मलाई अब्जरवेशन कक्षामा राखिएको झण्डै १२ घण्टा भइसकेको थियो । २४ घण्टासम्म पानीको एक थोपा पनि मुखमा परेन । त्यो पीडा शब्दमा कसरी लेख्ने र ! पानी मागें । तर, कसैले दिएनन् । छेउका अरु बेडमा साना बच्चा रोएको आवाज सुनिन्थ्यो । अझ एउटा बेडमा जुम्ल्याहा छोरी थिए । उनीहरुका अभिभावक घरमा लक्ष्मी भित्रिए भन्दै निकै हल्ला गर्दै थिए ।

रमाइलो मान्दै थिए । तर मेरो बेड सुनसान थियो । बोल्न सक्ने अवस्थामा थिइन । छेउमा मेरी आमा र श्रीमान मलाई टुलुटुलु हेर्दै हुनुहुन्थ्यो । लाग्थ्यो उहाँहरुसँग शब्द नै थिएन । रातभरीको सन्नाटा चिर्दै घामको झुल्को अब्जरवेशन रुपमा प¥र्यो । बिरामीका आफन्तहरु भेट्न आउने क्रम सुरु भइसकेको थियो । 

असफल अप्रेशन थिएटरका दुई घन्टा...

बच्चाको रुवाई पनि मिठो थियो । तर मेरो बेडमा त्यो मिठास थिएन । मेरो छेउमा छोरी पनि थिइनन् । गाह्रो हुँदाहुँदै प्रश्न गरे, ‘हाम्री छोरी खोई ?’ जवाफ आयो, ‘नर्सरी वार्डमा अक्सिजनमा राखिएको छ ।’ 

छोरी गर्भमा हुँदा मेरो शरीरमा सुगरको मात्रा निकै धेरै भएकाले उसलाई पनि असर गर्यो कि भनेर जाँच्न राखिएको रे ! मलाई छोरीको अनुहार हेर्न मन थियो । तर, न म उनलाई राखेको ठाउँमा जान सक्थे न त उनलाई नै म भएको ठाउँमा ल्याउन दिइयो । हामी वल्लो पल्लो कोठामा भएर पनि निकै टाढा थियौँ । म उनलाई छुन चाहन्थे । हेर्न चाहन्थें । अनि, बोकेर आफ्नो छातीमा राख्न चाहन्थें । तर, त्यो केही सम्भव थिएन ।

अपरेशन थिएटर-२

यही प्रतिक्षामा अर्को दिन २०७३ चैत २४ गते बिहानको ८ बज्यो । डाक्टर राउण्डमा आउने बेला भयो । अरु आमाले हल्का खानेकुरा खान थालिसकेका थिए । म भने सुकेको मुख भिजाउन पानी मागिरहेकी थिएँ । डाक्टर पवित्र महर्जनले भन्नुभयो, ‘अब पहिला थोरै कालो चिया खानु अनि सुप खाए हुन्छ ।’ थोरै शक्ति आयो, ‘अब त खान हुन्छ रे’, मैले श्रीमानलाई भनें । उहाँ क्यान्टिन जानुभयो जहाँ हामी हप्तादिन अघिदेखि अस्तिसम्म बिहानको चिया, खाजा खान सँगै जान्थ्यौ । आज उहाँ एक्लै जानुभयो । 

श्रीमानले मसरुम सुप र कालो चिया ल्याउनुभयो । चम्चाले विस्तारै चिया मुखमा हालिदिनुभयो । त्यसपछि मैले भोक लाग्यो भनेपछि सुप ल्याएको छु खाउ है भन्नुभयो । मैले हुन्छ भनें । उहाँले खुवाइदिनुभयो । हिजो काटिएको जस्तै लाग्ने मेरा खुट्टाहरु थोरै चलाउन सक्ने भएकी थिएँ । ११ बज्न लाग्यो । अरु विरामी ल्याउने भन्दै हामीलाई वार्डमा सार्न लागियो । म चै आफ्नै पुरानो ठाउँ बेड नम्बर १२ मा जाने भए । 

देवु दिदी पनि आइसक्नुभएको थियो । आमा, दिदी, उहाँ र नर्सहरु मिलेर मलाई अब्जरवेशन रुमको बेडबाट विस्तारै उठाउनुभयो । अब म आफैँ हिड्नुपथ्र्यो । बेडबाट खुट्टा झार्न निकै कठिन भयो । कसरी झर्ने झर्ने पीडा भयो । देब्रे खुट्टा विस्तारै झारिदिनुभयो । मेरा आँखाबाट बरररर आँशु झरे । फेरि, विस्तारै दाहिने खुट्टा बेडबाट निकालियो । म बेडको छेउमा टुसुक्क बसेकी थिएँ । श्रीमानको भरोसा थियो । आफ्नै लुगा लगाएर बेड नम्बर १२ मा जाने भएँ । आमाले लुगा लगाइदिनुभयो । श्रीमानले समातेर बेड नम्बर १२ मा लाग्नुभयो । अब्जरवेशन रुमबाट निस्किएपछि अर्को ढोका थियो,  ‘यही भित्र छोरीलाई राखेको छ’, उहाँले भन्नुभयो । मैले हेर्न जान्छु नि त पनि भन्न सकिन । उनलाई हेर्ने मन नभएर होइन । आफ्नो पीडा खप्न नसकेर । छोरी राखेको कोठाको ढोका हेरेर म बेड नम्बर १२ तिर लागे । 

१२ नम्बर बेडमा म गएको दुई दिन बित्यो । हामीलाई भेट्न आउने सबै कोही छोरी हेरेर आएँ भन्थे । कोही ‘छोरी कता राखेको छ भन्दै हेर्न जान्थे’ । मनमा लाग्थ्यो, ‘मैले मात्रै उनलाई देख्न पाइन ।’ 

अपरेशन भएको तीन दिन भइसकेको थियो । अरुको साहरामा म थोरै हिँड्न सक्छु जस्तो लाग्यो । अस्ति छोरी राखेको कोठाको ढोकामा पुगेर पनि भित्र नपसेकोमा निकै पीडा भइरहेको थियो । ‘मलाई छोरी भएको ठाउँमा लगिदिनुस’, मैले मुख खेलो । श्रीमानको जवाफ आयो, ‘एकछिनपछि लगिदिन्छु ।’ श्रीमानको फुर्सद नहुँदै छोरीलाई नर्सले म भेट्न जानुअघि नै म भएको ठाउँमा ल्याइदिए । मेरो छेउमा ल्याएर भने, ‘ल तपाईको छोरी हेर्नुस्, अनि आफ्नो दुध खुवाउनुहोस् ।’

भरे मात्र थाहा पाए मलाई गाह्रो हुन्छ भनेर श्रीमानले नै अनुरोध गरेपछि नर्सले छोरी ल्याइदिएका रहेछन् । त्यो रुममा तीन दिनभन्दा बढी राख्नु नपर्ने भएपछि मलाई छोरी दिने तयारी भइरहेको रहेछ । छोरी काखामा लिन कठिन भए पनि देख्न पाउँदा मात्र धेरै खुसी भए । तीन दिनसम्म छोरी हेर्न नपाएको पीडा हरायो ।

अपरेशनको घाउ पनि हल्का भएको महसुस गरेँ । अब उनी मेरो साथमा थिइन् । हामी आमाछोरी एउटै बेडमा थियौं । मैले उनलाई मेरो काखमा लिएँ, पहिलो पल्ट हाम्रो सन्तानलाई स्पर्श गरें । ठूला ठूला आँखा टुलुटुलु हेरिरहेकी सानी नानी मेरो काखमा थिइन् । धेरै बेर लिन सकिन । आमाले बेडमै सुताइदिनुभयो ।

अब छोरीको बारेमा मलाई पीर थिएन । उनी म सँगै थिइन् । स्वस्थ थिइन् । अब मलाई अपरेशन गर्न बाध्य बनाएको ज्यानमारा सुगरको अवस्था जान्न मन लाग्यो । गर्भवती भएको बेलामा मलाई सुगर भएकाले बच्चा जन्मिएपछि त्यो सामान्य अवस्थामा झर्ने डाक्टरको अनुमान थियो । हट्यो होला । मलाई यस्तै लाग्यो । तर, म गलत भएँ । त्यसो भएन । मेरो सुगर अझै पनि सामान्य भएन । 

अपरेशन अघि कै जसरी मेरो सुगर जाँच्न थालियो । दुई दुई घण्टामा मेरो आंैलाबाट रगतको एक थोपा निकालेर ग्लूकोमिटरमा जाँचिथ्यो । नर्स देख्यो कि छेड्न आए जस्तो लाग्थ्यो । सियो जस्तै तिखो सुइले छेड्दै रगत निकाल्दै गुल्कोमिटरमा राखेर दिनभर र रातभर दुई दुई घन्टामा सुगर जाँच हुन्थ्यो । बिहान भोकोपेटमा (फास्टिङ) अलिकति घट्दा खुसी लाग्थ्यो । फेरि खाना खाएपछिको दुई घन्टामा (पिपी) बढ्दा चिन्ता लाग्थ्यो ।

सुगर घटाउन भन्दै मैले अस्पतालमा बस्दा सिस्नु र भात पनि खाएँ । हिजो बिहान फास्टिङमा २ सय १७ आएकोमा सिस्नु खाएपछि ७५ मा झर्यो । सामान्य त भयो तर, एकदिन सिस्नु खाएर सगुगर घट्दैमा मेरो स्वास्थ्य ठिकठाक हुने थिएन । घर गएपछि फेरि बढ्यो भने के गर्ने भन्ने डरले अस्पतालमा हुँदा बाँकी सिस्नु खाइन ।

कति सुगर छ भनेर पीर गर्नु । तीन दिन भइसकेको थियो मोबाइल नचलाएको । सामाजिक संजाल फेसबुक चलाउन मन लाग्यो । मोबाइलमा म्यासेन्जर खोलें । धेरै म्यासेज आएका रहेछन् । पढ्न खोजें । तर पढ्नै सकिन । मेरो आँखाले ती अक्षर नै ठम्याउन सकेनन् । सुगर हाई भएपछि आँखा, किड्नीलगायत शरीरका धेरै भाग अंगभंग हुने सुनेकी थिएँ । मन आत्तियो ।

मेरो आँखा खेर गयो । अब केहि गर्न सक्दिन । धेरै डर लाग्यो । कसैलाई भन्ने आँट पनि आएन । अति नै भएपछि आमालाई भनें । कमजोरीले हो । राम्ररी खानेकुरा खान पाएको छैन । औषधि धेरै भयो । त्यहि भएर हो आत्तिनुपर्दैन भन्नुभयो । हो क्यार जस्तो लाग्यो । तर, मनमा डर थियो । पढ्नै सकिन भने ? मोबाइल हेर्नै छाडिदिएँ ।

सुगर घटाउन नै भनेर अस्पताल बसेको, छोरी जन्मिएको समेत गरेर १२ दिन भइसकेको थियो । घट्यो तर सामान्य भएन । डाक्टरले मलाई अझै केही दिन निगरानी मै राख्नुपर्छ भने । कहिले औषधि दिएर कहिले नदिएर । अपरेशन गरेको पनि आठ दिनभयो । तर, सुगर सामान्य अवस्थामा आएन । डाक्टरहरु नै चकित भए । उनीहरुलाई मेरो स्वास्थ्य नै अध्ययनको विषय भइसकेको थियो । जे गरेपनि मेरो सुगर सामान्य नभएपछि उनीहरु नै अन्यौलमा थिए । कोही सुगर विशेषज्ञलाई नै देखाउनु भन्दै थिए ।

कोही त्यही जाँचिरहेका थिए । तर, मेरो सुगर सामान्य भएन । लगातारको निगरानीमा पनि मेरो सुगर नघटेपछि डाक्टरको टोलीले एक हप्ताभित्र फेरि अस्पताल आउन भन्दै खाने औषधि दिएर मलाई १५ औं दिनमा चैत ३० गते घर पठाइदिए । यो १५ दिनमा ११ किलो तौल घटेछ ।

अस्पतालले बिदा गरेको एक हप्तापछि जाँदा पनि सुगर सामान्य भएन । त्यसको एक महिनापछि म वीर अस्पताल पुगेँ । जहाँ सुगर विशेषज्ञलाई भेटेर सल्लाह लियौँ । वीर अस्पतालका सुगर विशेषज्ञ डा. बुद्धिवीर काकीकै सल्लाहमा अझै पनि औषधि खाइरहेकी छु । अब एउटै आशा छ अर्को पल्ट अस्पताल जाँदा मेरो सुगर सामान्य अवस्थामा आउने छ । दीर्घ रोगबाट मुक्ति पाउने छु ।   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया