MENU

राजनीति

Ncell Axiata
NIC Asia

तीनवटै प्रदेशमा चुनावको उत्साह, विप्लव र राजपाका कार्यकर्ता समेत उम्मेदवार

काठमाडौं, असार ५ – यहि असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटै प्रदेशमा चहलपहल बढेको छ । आइतबार उत्साहजनक रुपमा उम्मेदवारको मनोनयन दर्ता भएसँगै चुनावको चहलपहल बढेको हो । 

चुनावको विपक्षमा रहेका नेत्रविक्रम चन्द विप्लव र राजपाका नेता कार्यकर्ता समेतले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यसले चुनावको पक्षमा वातावरण बढाउन झनै सहयोग पुगेको छ ।

तीनवटै प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको हो । ३५ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्ण रुपमा मनोनयत दर्ताको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । 

दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । नगरपालिकाका मेयर, उपमेयर, गाउँ पालिककाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य पदका लागि मनोनयन दर्ता भएको हो ।

यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । १४ गते हुने मतदानका लागि ४ हजार ५ सय ८१ मतदानस्थल ८ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ । १४ गते हुने चुनावमा भाग लिन ६४ लाख ३२ हजार मतदाता योग्य छन् ।

विप्लव र राजपाका नेता कार्यकर्ता समेतको सहभागिता

चुनावको विरोधमा रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपाल तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । राजपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताले रुपन्देही र कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कपिलवस्तुमा २ वटा स्थानिय तह बाहेक सबै स्थानीय तहमा राजपा नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका मध्ये वाणगंगा र शिवराज नगरपालिकाबाहेक कपिलवस्तुका सवै स्थानीय तहमा राजपाले उम्मेदवारी दिएको हो । 

कपिलवस्तु नगरपालिकाको मेयरमा राजापाका नेता रामदास गुप्ता तथा उपमेयरमा बासुदेव कसौधनले उम्मेद्वारी दिनुभएको छ ।  कपिलवस्तु नगरपालिकाका १२ वटै वडामा राजपाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । उम्मेदवारी दर्ता गरेका राजपाका नेता रामदास गुप्ताले चुनावको विरोधका गरिएको आन्दोलन उपलब्धिबिहीन भएकाले आफू चुनावमा होमिएको बताउनुभयो । 

यसैगरी चुनाव विरोधी गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । विप्लवको पार्टीका विद्यार्थी संगठनका नेता अमित घर्ती मगरले थबाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

संविधान सभाको दास्रो निर्वाचनमा शून्य मतदान गरेको थबाङमा घर्तीमगरको सहित दुई वटा स्वतन्त्र उम्मेदवारी परेको छ । थबाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छैन । उपाध्यक्ष र अन्य पदमा मात्रै कांग्रेसले अध्यक्षमा विप्लवको पार्टीका उम्मेदवार  घर्ती मगरलाई मतदान गर्ने  कांग्रेस उपाध्यक्षका उम्मेदवार श्रीकुमारी रोकाले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया