MENU

खेल

Ncell Axiata

भारतको सपना टुटाउने तीन पाकिस्तानी बलर

असार ५ – च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत सामु जितका लागि पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य दिएको थियो । रोहित शर्मा र शिखर धवनको राम्रो जोडीले भारतीय टिमको ब्याटिङ सुरु गरेर आशा देखाएका थिए । तर पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर भारतका लागि घातक बने । सेमिफाइनलमा चोटका कारण नखेलेका आमिरले फाइनलमा फिट भएर मात्रै मैदान फर्किएनन् उनकै बलमा भारतले पाकिस्तान सामु घुँडा टेक्यो । २५ वर्षका आमिरले आफ्नो पहिलो ओभरमा नै भारतका स्टार ब्याट्स्म्यान रोहित शर्मालाई एलबिडब्ल्यु आउट गराए । त्यसपछि आफ्नो दोस्रो ओभरमा उनले अफ स्पटमा भारतीय कप्तान विराट कोहलीलाई निराश पारे । तीन विकेट सकिँदा भारतको स्कोर दुई विकेटको क्षतिमा सात रन भयो । आमिर यतिमा रोकिएनन्, उनले लय समात्ने कोशिसमा रहेका शिखर धवनलाई २१ रन बनाएको अवस्थामा आउट गरे । यो प्रतियोगितमा सबैभन्दा धेरै ३३८ रन बनाएका धवन आउट भएपछि भारतले ३३ रन बनाउँदा तीन विकेट गुमायो । आमिरले ६ ओभरमा दुई ओभर मेडन राख्दै मात्रै १६ रन दिएर तीन विकेट लिए । 

मोहम्मद आमिर उनै बलर हुन्, जसलाई सन् २०११ मा स्पट फिक्सिङ्ग मामिलामा पाँच वर्षको प्रतिबन्ध लागेको थियो । सन् २०१६ मा उनी क्रिकेट मैदानमा फर्किए । इंग्ल्याण्डको त्यहि भूमिमा उनले आफ्नो खेल जीवनको दोस्रो पारीको उत्कृष्ट सुरुवात गरे जहाँ उनीमाथि फिक्सिङ्गको दाग लागेको थियो । आमिरले गरेको सुरुवातलाई हसन अलीले निष्कर्षमा पुर्‍याए । मध्यम गतिका दायाँ हाते बलर अलीले यो प्रतियोगितामा सबैभन्दा धेरै १३ विकेट लिए । भारतसँगको फाइनलमा उनले ६ दशमलव २ ओभर बलिङ गर्दै १९ रन दिएर तीन विकेट लिए । उनले सबैभन्दा पहिले महेन्द्र सिंह धोनीलाई पवेलियन फर्काए । त्यसपछि रविचन्द्रन आश्विन र जसप्रित बुमराह उनको शिकार बने । पाकिस्तानको जीतमा १८ वर्षका लेग ब्रेक स्पिनर शादाब खानको पनि महत्वपूर्ण भूमिका रह्यो । उनले युवराज सिंह र केदार जाधवलाई पवेलियन फर्काएर भारतीको आशा टुटाए । मोहम्मद आमिरको तीब्र, हसन अलीको स्विंग र शादाब खानको फिरकीले भारतीय टिम एक सय ५८ रनमा अलआउट भयो । भारत एक सय ८० रनले हार्‍यो । यो आइसिसीको कुनै पनि प्रतियोगिताको फाइनलमा रनको हिसाबमा सबैभन्दा ठूलो हार हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया