MENU

विचार/अनुभूति

Ncell Axiata

सधैं मृत्यु जितेर फर्केको सुनाउने उनी मृत्युसँग हारे

लक्ष्मण कार्की -

‘........ठूलो रिस्क लिएँ दाजी’ स्टुडियोमा छिरिसकेर कुर्सीमा बस्दै गर्दा उनले भने, ‘नाम त कमाएँ तर सम्झिँदा कहाली लाग्छ कत्रो रिस्क लिएँ भनेर ।’ 

हो पनि सञ्जयको त्यो रिस्कलाई अति महत्वकांक्षा, ढिपी र हावा कुरा पनि भन्ने गरिएको थियो । अल्ट्रा धावकका रुपमा चिनिएकै बेला सञ्जयले सवै महादेशका उच्च शिखर आरोहण गर्ने बताइ रहँदा त्यसलाई अल्लारे महत्वकांक्षा भनिनुमा केही दम देखिन्थ्यो पनि । कीर्तिमान राख्ने घोषणा कसरि पुरा गर्ने भन्नेबारे उनले खाका र विश्वासिलो आधार बताउन सकेका थिएनन् ।  

त्यहि ताकाको भेटमा उनले भनेका थिए ‘म चिताएका कुरा पुरा गरिछोड्ने अठोट भएको मान्छे हो कतै न कतैबाट पुरा हुन्छ होला ।’ 

सञ्जयले विश्वका ११ वटा शिखर आरोहण गरे । सातमध्ये ६ महादेशका सर्वोच्च शिखर चढेनन् मात्र कुनै उल्टो हिँडेर त कुनै दौडेर, कुनैमा अर्धनग्न भएर नेपाली झण्डा फहराए । दौरा सुरुवाल र भागदाउँले टोपी ती शिखरहरुमा पुर्‍याए । 

उनले गरेको घोषणा पुरा हुन एक खुट्किलो बाँकी थियो । भनौं न उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गर्ना साथ उनले भनेका सातै महादेशका अग्ला चुचुरामा चढेर संसार चिहाउने त्यहि महत्वकांक्षी सपना पुरा हुँदै थियो । तर त्यहि अन्तिम खुट्किलोबाट उनी गल्र्याम्मगुर्लुम्म ढले । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा, किलर माउण्टेन भनिने मनास्लु, जापानको फुजीलगायतका खतरनाक हिमाल चढिसकेका सञ्जयका लागि ६ हजार १ सय ९० मिटर अग्लो डेनाली काल बनेर आयो । 

‘हिमाल चढ्नु त्यत्रो ठुलो कुरा होइन’ अर्काे प्रश्नको उत्तरमा सञ्जयले भनेका थिए, ‘अठोट हुने हो भने सवै कुरा सम्भव छ, म ८ सय मिटरको हाइटमा जन्मेहुर्केको मान्छे सगरमाथा चढुँला भन्ने सपनामा पनि थिएन, तर मेरो अठोटले त्यो पुरा भइछोड्यो ।’ उनको निधनको खबर सुन्नासाथ उनले यसो भन्दै गर्दा आभाले धपक्क बलेको उनको अनुहार सम्झिँए ।   

‘अनि खर्चको प्रवन्ध गर्नुभयो त ?’ उज्यालो रेडियो नेटवर्कबाट प्रशारण हुने अन्तवार्तामा मेरो प्रश्न थियो ।

‘धेरै कहानी छ दाजी यसको जग्गाजमिन बन्धकी राखेर निकालेको ऋण अझै तिर्न सकेको छैन नि । प्युठानका नागरिक र विभिन्न संघसंस्थाले गरेको सहयोग कहिल्यै तिरेर सकिँदैन ।’ मेरो प्रश्न नसकिँदै उनले भनेका थिए । 

आफूसँग सम्बन्धित वा असम्बन्धित जे भएपनि पर्यटन र हिमाल आरोहण सम्बन्धी खबर उनले इमेल वा फेसबुकको इनबक्समा पठाइरहन्थे । डेनाली आरोहणका लागि अमेरिका उड्नु केही  दिनअघि उनले उहि ठटयौलो पारामा फेसबुकमा म्यासेज गरे ‘दाजी म अमेरिका जाँदैछु शुभकामना दिनु ।’ 

मैले फोन गरें र शुभकामना दिए । अमेरिका जाने किनमेललगायत तयारीको धपेडीमा थिए । मैंले भने उताबाट फर्केपछि दाजुभाई भेटेर मज्जाले बातचित गरौंला । तर उनले भेट्न धेरै रहर लागेको बताए मैंले नाई भन्नुपर्ने कारण के थियो र ? अमेरिका जाने दिन उनी उज्यालोमै आइपुगे । 

उस्तै हँसिलो अनुहार र सवैसँग घुलमिल हुने फस्र्याइलो बानीका सञ्जयसँग झण्डै ४० मिनेट कुराकानी रेकर्ड गरेँ । उनको धपेडी यति थियो कि चिया खाने फुर्सद पनि भएन । 

यसपटकको अन्तरवार्तामा पनि मैले त्यहि प्रशंग कोट्याएँ, शुरुमा सुन्दा त कस्तो हावा हावा कुरा गरेको होला भन्ने लाग्थ्यो तर पुरागरि छोडियो है ? 

‘हरेक मान्छेको एक न एक कुरामा क्रेजिनेस हुन्छ हिमाल मेरो क्रेजिनेस हो’ उनले थपे ‘हरेक मानिसका केही न केही संकल्प हुन्छन् त्यो घोषणा मेरो त्यस्तै संकल्प थियो शायद ।’ 

उनी थप्दै गए ‘म दौडमा भविष्य कम देखेर यता लागेको हो । दौडेर मात्र बाँचिरहन गाह्रो छ । ठुलो योगदान पनि गर्न सकिन्छ जस्तो नलागेर मैले हिमाल आरोहण गर्ने निधो गरेको थिए ।’  

उनी भन्दै गए ‘तपाइलाई थाहै छ म अलि महत्वकाँक्षी छु त्यहि भएर मलाई हिमाल चढ्ने मात्र होइन केही  कीर्तिमान पनि राखौं भन्ने लाग्यो । त्यै भएर मैंले सवै महादेशका उच्च शिखर चढ्ने घोषणा गरेँ । गर्दै जाँदा कतै नाङ्गै त कतै उल्टो हिँडेर  त कतै सवैभन्दा छिटो पनि हिमाल चढियो ।’ 

‘आरोहणको अनुभव कस्तो कस्तो रह्यो त ?’ मेरो अर्को प्रश्न थियो । 

‘हरेक हिमाल चढ्दाका भिन्न भिन्न अनुभव रहे । तर सगरमाथा चढ्दाको अनुभव सवैभन्दा विशेष रह्यो । सगरमाथाको शिखरमा पुगेपछि मलाई पुग्न बाँकी कुनै ठाउँ छ जस्तो लागेन । संसारलाई जितेको जस्तो लाग्यो । मानिसहरु सगरमाथा भन्दा पनि गाह्रो हिमाल छ भन्छन तर मलाई सगरमाथा भन्दा गाह्रो हिमाल कुनै छ जस्तो लागेन, सगरमाथा चढ्नुभन्दा पनि फर्किनु चुनौतीपुर्ण छ । एडमण्ड हिलारीले पनि त्यहि भन्नुभएको थियो । धेरै जनाको निधन पनि झर्ने बेलामा हुने गरेको छ । फर्किंदा अक्सिजन पनि सकिन लागेको हुृन्छ । जताजतै पहिलो अनि मरेका मानिसहरु देखिन्छन जसले गर्दा मानसिक रुपमा पनि कमजोर बनाउन सक्छ ।’

मनास्लु आरोहण गर्दा उनले आफूसँगै सुतेका साथी मार्टिनसहित १४ जनालाई गुमाएका थिए । मनास्लुबाट फर्किँदा आफूले मृत्यु जितेको सुनाउने उनले सगरमाथा पछि सवैभन्दा गाह्रो भएको दुवै अमेरिका महादेशको सर्वोच्च शिखर अकोन्कागुवा चढ्दा आच्छुआच्छु भएर बाँच्दाको अनुभव पनि निर्धक्क सुनाएका थिए । 

अकोन्कागुवा चढ्दा शरीरमा ३३ प्रतिशत मात्र अक्सिजन रहेकाले बाच्ने आशा कम मात्र रहेको तर त्यहाँको उद्धार टोलीको प्रयासबाट मात्र बाँच्न सकेको घटना उनले गर्वका साथ सुनाएका थिए  ।

युरोपको सर्वोच्च शिखरमा अर्धनग्न भएर चढे । अफ्रिकाको सर्वोच्च शिखर दौडेर चढे २६ घण्टा लाग्यो । अष्ट्रेलियाको सर्वोच्च शिखर ५ घण्टा ११ मिनेटमा उल्टो हिँडेर चढे । 

अन्टार्कटिकाको सर्वोच्च शिखर आरोहणको अनुभव पनि भिन्न भएको उनले सुनाएका थिए । मान्छे बस्न नसक्ने अन्टार्कटिकाको आरोहण आर्थिक रुपमा निकै गाह्रो थियो । हिमाल चढ्ने भन्दा पनि पैसा जुटाउन हम्मेहम्मे पर्ने भएकाले तीन चार जना मिलेर गाइड लैजाने गरेको उनले सुनाए ।  

‘अब सधैं हिमाल चढिबस्ने ?’ मेरो प्रश्न सकिएकै थिएन । 

‘होइन, अब म पाँचवटा जति हिमाल मात्र चढ्छु ।’ मेरो प्रश्नमा उनले उत्तर दिएका थिए । 

‘अनि त्यसपछि नि ?’ मैंले पूरक प्रश्न गरेँ ।

‘त्यसपछि आरोहणका क्रममा लागेको ऋण तिर्न पैसा कमाउनु परेन र ?’ ठट्यौलो शैलीमा उनले प्रतिप्रश्न गरे । 
‘के गर्ने त ? ’

‘मंैले पढ्न त व्यवस्थापनमा मास्टर्स सकेँ । तर म पर्यटनकै क्षेत्रमा केही गर्न चाहन्छु । मैंले पैसा कमाउने वा नकमाउने भन्दा पनि देशको विकासका लागि पर्यटन मुख्य हतियार हो । त्यही क्षेत्रमा काम गर्ने सोच छ । आफू जहाँ जहाँ पुगेँ ती देशले पर्यटनको विकासका लागि खासगरि पर्वतारोहणका लागि जे जे काम गरेका छन् त्यस्तै तरिकाले नेपालमा पनि के गर्न सकिन्छ भनेर अध्ययनमा लागेको छु ।’ उनले सुनाएका थिए ।  

तर सपना सवै कहाँ पूरा हुन्छन् र ? 

डेनालीलगायत केही हिमाल चढेर पर्यटन त्यसमा पनि पर्वतारोहण पर्यटनमा सक्रिय हुने सञ्जयको सपना पनि यस्तै पुरा नहुने सपना बन्यो । हिमाल आरोहणलाई उनी मृत्युलाई जित्ने संघर्ष हो भन्थे । त्यो संघर्षमा ११ पटक विजयी भएका सञ्जय १२ औँ पटक पराजित हुन पुगे । 

आफ्नो जीवनको (सम्भवतः) अन्तिम अन्तवार्तामा मसँग सञ्जयले भनेका थिए आरोहणमा चार अवस्था हुन्छन् । सफल, असफल, मिसिङ र मृत्यु । र आरोहणका लागि जानेमध्ये ३० प्रतिशत मात्र सफल हुन्छन् । ११ पटक त्यस्तै ३० प्रतिशतमा परेका सञ्जय १२ औँ पटकमा त्यो  ३० प्रतिशत भित्र अटाउन सकेनन् । 

हरेक भेट र कुराकानीमा उनको महत्वकांक्षा देखेर फुरुङ पर्ने म हिजोदेखि सोचिरहेको छु, सञ्जय यति धेरै महत्वकांक्षी नभएको भए पनि पो हुन्थ्यो कि ? 

अलविदा सञ्जय । 

यो पनि पढ्नुहोस् 

मृत्यु नै मृत्युको राजमार्गमा : केवल प्रयोगशाला जस्तो सगरमाथा

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जापानको कृषिबाट नेपालले सिक्न सक्ने कुरा

    बर्षेनी हजारौ नेपाली युवा रोजगारका निम्ति विदेश राष्ट्रमा जाने गरेका छन् । धेरै नेपाली युवाको गन्तब्य बन्ने अर्को राष्ट्र हो जापान मिैले एसिया–प्रशान्त क्षेत्रको कृषि पढ्ने विधार्थीबीच भएको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर जापान जाने मौका पाएको थिएँ ।

  • पोखरामा साक्षात देवी

    कोटको शिरान तिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भि' आकारको डिजाइन बनाएका । वाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भु-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाइन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल ।

  • ‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

    हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ ।

  • बाम एकताले कांग्रेसमा ८ रेक्टरको भूकम्प

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अप्रत्यासित हो । कांग्रेस र माओवादी केन्द्रको जुन गठबन्धन थियो र दुवै सरकारमा थिए । जसका कारण कांग्रेसको लागि यो ठूलै अचम्म भयो होला ।

  • जुत्ता सिलाउने सियो, कैँची, हम्मर नै मेरा साथी

    इच्छा यही छ, जुत्तामा सियो गाड्दा गाड्दै, सोलमा हम्मर ठोक्दाठोक्दै एक मुठ्ठी सास जाओस् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया