MENU

समाज

Ncell Axiata

शिवराम कसरी छुटे ?

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, असार ५ –  शरीर चल्दैन । कानले पनि प्रष्ट सुन्दैनन् । छोटो कपाल, हाप सेतो सर्ट र जुत्ता आधाजसो ढाकिनेगरी पाइन्ट लगाएका शिवराम श्रेष्ठलाई ह्वीलचियरको सहायतामा यताउति गर्नुपर्ने बाध्यता छ ।  

घर बनाउँदै गर्दा लडे - अहिले फेरि घरको अभाव खड्कियो

काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ का श्रेष्ठ ह्वीलचियरमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरवारमा आउनुभयो । कागजपत्रको झोला पनि ह्वीलचियरमै झुण्डिएको थियो । प्राधिकरणको प्रिफ्याव भवनमा छिरेर उहाँले कर्मचारीसँग गुनासो राख्नुभयो, ‘अरुले अनुदान पाउँदा म कसरी छुटें ? अनुदान पाए त म पनि घर बनाउने थिएँ ।’ कर्मचारीले जवाफ दिए, ‘तपाईंको नाम इन्ट्रि गरेर वडा कार्यालयमा पठाइदिन्छौं ।’

कसरी छुट्यो नाम ?

उहाँ परिवारसँग छुट्टै बस्नुहुन्छ । त्यसमाथि अपाङगता । उहाँले समस्या सुनाउनुभयो ‘अरुलाई जस्तै गरी सबैठाउँ पुग्न र प्रक्रिया बुझ्न अप्ठारो छ । भिन्नै बसेको छ भनेर पनि सबैले जान्ने कुरो आएन । म भृकुटीमण्डपमा बस्ने भएकाले गाउँमा कतिबेला सर्वेक्षण टोली गयो, अनुदान लिने प्रक्रिया के हो ? कहाँ जानुपर्ने हो थाहै भएन । घर बनाउने आशा भने छ । कुरैकुरामा उहाँले भन्नुभयो ‘सिंहदरवारको शरणमा आएको छु ।’  

०४२ सालमा बनाएको घर ०७२ सालमा गयो

भूकम्प जाँदा शनिवारको दिन थियो । उहाँ घरमै पुग्नुभएको थियो । तर घर भन्दा बाहिर हुनाले ज्यान जोगियो । घर पुरानो पनि थिएन । ‘२०४२ सालमा बनेको घर हो ०७२ सालमा गयो उहाँले भन्नुभयो त्यतिवेला त बुवा पनि हुनुहुन्थ्यो ४४ सालमा बित्नुभयो ।’

ह्वीलचियरमा १५ वर्ष 

२०५९ साल साउन २९ गतेको घटना उहाँलाई ताजै छ । काठमाडौं कालिमाटी नजिकै रहेको रविभवनमा घर ढलान गर्दै गर्दा लड्नुभएका उहाँको कम्मर र ढाडमा चोट लाग्यो । तत्काल ठेकेदारले वीर अस्पतालमा लगे । ज्यान त बच्यो तर उबेला डाक्टरले ३५/३६ हजार रुपैयाँ मागेका थिए । तर खर्च पुगेन । तीन दिनपछि अस्पतालले उपचारै नगरी घर पठायो । घरखर्च चलाउन घर बनाउने उहाँको घरकै काम गर्दा लडेको शरीर उपचारको अभावमा ह्वीलचियरमा थाम्नुपर्ने भयो । यसरी नै १५ बर्ष वितिसकेका छन् ।  

परिवार हुँदाहुँदै पनि एक्लो

‘मेरो परिवार छ । ६ छोरी र २ छोरा पनि छन् । अहिले सबैको बिहे भैसक्यो । जेठो छोरा रमेशसँग बसेको थिएँ, तर म भृकुटीमण्डवमा आएर बसेको १३ बर्ष भैसकेको छ ।’ उहाँले भन्नुभयो । ज्यान पाल्ने उपाय भने पत्रिका व्यापार हो । त्यो पनि ह्वीलचियरमै बसेर । किनेरै पढ्ने भन्दा पनि अवस्था हेरेर १०/२० रुपैयाँ दयामायाले दिन्छन् । छोराछोरीले हेरुन नहेरुन् उनिहरुकै विचार हो तर अनुदानको पैसा तीन लाख रुपैयाँ लिन सके भूकम्प प्रतिरोधी राम्रै घर बनाउने उहाँको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया