MENU

विचार/अनुभूति

जन्म दिएर चटक्कै छोड्यौ आमा

इन्द्रसरा खड्का -

आमाको माया कस्तो हुन्छ ? आमा नहुँदा कतिपटक रुनुपर्दो रहेछ ? यो त केवल आमा गुमाइसकेकालाई मात्र थाहा हुन्छ । हेर्दाहेर्दै ६ वर्ष पुगेछ आमाले हामीलाई छोडेर जानुभएको । आमा गुमाउँदा दूधे बालक रहेको भाइ पनि अहिले ६ वर्षको भैसक्यो । 

‘दिदी हाम्रो आमा कहाँ हुनुहुन्छ ?’ जब भाइले यो प्रश्न गर्छ, म जवाफविहिन हुन्छु । आफूसरहका साथीहरुको आमा देखेर उसलाई नि आफ्नो आमा कहाँ हुनुहुन्छ भन्ने लाग्दो रहेछ । उसको प्रश्नको जवाफ मैंले आजसम्म दिन सकेकी छैन । 

सानो परिवार सुखी परिवार भन्छन् । तर आमाबुवाका ६ छोराछोरीसहितको ठूलो परिवार भए पनि हामी सुखी र खुसी नै थियौ । मेरो आमाबुवाको धेरै सन्तान हुनुमा हाम्रो सामाजिक परिवेश र चालचलनले पनि ठूलो भूमिका खेलेको छ । छोराको महत्व धेरै राख्ने हाम्रो जस्तो समाजमा छोराकै लागि मेरो आमाबुवाले पनि धेरै सन्तान जन्माउनुभएको हो । 

म जेठी छोरी, त्यसपछि भाइ, भाइ पछि लगातार ३ वटा बहिनी जन्मिए तर पनि मेरा बा आमा कम्तीमा २ वटा छोरा होस् भन्ने चाह थियो । ७ वर्षअघि छैठौ सन्तानको रुपमा छोरा जन्मेपछि उहाँहरुको इच्छा पूरा पनि भयो । 

तर भाइ एक वर्षपनि पुगेको थिएन आमा बिरामी हुनुभयो । उहाँको देव्रे स्तनमा गठागुठी आएपनि सुरुमा कसैलाई भन्नुभएन । घर, छोराछोरी, मेलापात गर्दा उहाँलाई आफ्नो स्वास्थ्यबारे ख्याल राख्ने समय नै कहाँ हुन्थ्यो र ? तर ती गाँठागुठी ठूलो हुँदै गएपछि उहाँको पीडा पनि बढ्दै गयो । 

सुरुमा अछामकै बयालपाटा अस्पतालमा उपचारका लागि जानुभयो । डाक्टरले २ हप्ताका लागि केही औषधि दिए तर ठिक भएन । अस्पतालबाट औषधि ल्याउँदै खाएपनि आमाको पीडा बीसको उन्नाइस भएन । यो क्रम झण्डै ६ महिनासम्म चल्यो । त्यसपछि बल्ल डाक्टरले जिल्लामा उपचार हुन सक्दैन भनी आमालाई उपचारका लागि अन्तै रेफर गर्यो । त्यसपछि १ वर्ष पनि नपुगेको भाइलाई बोकेर आमाबुवा उपचारका लागि भारतको लखनाउ हिँड्नुभयो । 

आमाबुवा उपचारका लागि गएपछि घरको अभिभावकमै भए । उनीहरुको हेरचाह गर्नु, घरका सबै काम गर्नु मेरो दिनचर्या हुनथाल्यो । उपचार गर्न गएका बुवाआमाको खबर नपाउदा हामी धेरै दुःखी हुन्थ्यौ । धेरै रुन्थ्यौ । एकदिन छिमेकीको घरमा बुवाले फोन गर्नुभयो । बुवाले मलाई केही भन्नै सक्नुभएन । उहाँ सुक्सुकाएको आवज मात्रै मेरा कानमा परे र त्यसपछि फोन काटियो ।  

तर गाउँ टोलमा मेरो आमालाई क्यान्सर भएको कुरा फैलिसकेको रहेछ । अब मेरी आमा धेरै बाँच्नुहुन्न भन्ने कुरा छिमेकीको मुखबाट सुनेपछि आफू उभिएको धर्तिनै भाँसिएझै भयो । त्यसपछिका कुनै दिन पनि हाम्रो आँखामा आँसु ओभाएनन् ।  

लखनाउबाट बुवाले आमालाई चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि ल्याउनुभयो । त्यहाँ पनि एक वर्ष उपचार गर्यौ तर क्यान्सरको अन्तिम अवस्थामा पुगेकाले आमासँग धेरै समय नरहेको कुरा डाक्टरले बताइसकेका थिए । आमाले हामीलाई चिन्ता नगरी पढ्न र असल मान्छे बन्नुपर्छ भनिरहनुहुन्थ्यो । आमाकै उपचार गर्दा गर्दै हामीसँग भएको पैसा पनि सकिसकेको थियो । अन्ततः आमाले हामीलाई छोडेर जानुभयो । 

आमा हामीमाझ नभएको नि ७ बर्ष भइसक्यो । भाइबहिनी पनि ठुला भइसके । मैले रेडियोमा काम गर्न थालेको पनि ६ वर्ष भैसक्यो । भाइबहिनीहरु पढाइमा अब्बल छन् । सानो भाइ नि अहिले त कक्षा १ मा पढ्छ । आमा भैदिएको भए मैले रेडियोमा बोलेको सुन्दा कति खुसी हुनुहुन्थ्यो होला । आफ्नो छोराछोरीको मेहेनत र पढाइप्रति कति गर्व गर्नुहुन्थ्यो होला । आमाको माया र साथको अभाव सधै खड्कीरहन्छ । अझ आमाको माया र ममता नबुझेको भाइले आमाका बारेमा सोध्दा त यो मन झनै भक्कानिन्छ । 

आमा तपाईले हामीलाई छोडेर जानुअघि भाइबहिनीको राम्रोसँग हेरचाह गर्नुभनेर जुन जिम्मेवारी मलाई दिनुभएको थियो, त्यसलाई सकेसम्म पूरा गर्ने कोसिस गरिनै रहेकी छु । भाइबहिनीलाई तपाईकै जति माया र ममता दिन नसकेपनि तपाईको अभाव हुन नदिन हर क्षण कोसिस गरिनै रहनेछु । संचारकर्मी भएर मैले समाजमा जुन नाम बनाएकी छु, त्यसमा अझै प्रगति गर्न सकूँ । तपाई मभन्दा कोशौ टाढा भएपनि तपाईको माया सधैं मसँग छ । मैले चाल्ने हरेक कदममा आशिर्वाद दिनुस् है आमा । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया