MENU

मनोरञ्जन

Ncell Axiata

बिहे विदेशमा, भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने नेपाली सेलिब्रेटी

काठमाडौं, असार १० – वरिष्ठ अभिनेता एवं चर्चित कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले अमेरिकी नागरिकलाई श्रीमती बनाएको कुरा त हामीलाई अवगत नै छ । गएको वर्ष अमेरिकी नागरिक जोई लुविकीसँग लगनगाँठो कसेका त्रिलोकको प्रिती भोज भने यही असारमा नेपालमा सम्पन्न हुँदैछ । 

असार १९ गते आर्मी अफिसर्स क्लब त्रिपुरेश्वरमा सम्पन्न हुने प्रिती भोज कार्यक्रमका लागि हरिवंशले निकट कलाकार साथी र आफन्तलाई निम्तासमेत दिइसकेका छन् । नेपाली परम्परा अनुसार विदेशमा बिहे गरेका त्रिलोकसँगै अर्का छोरा मोहितको बिहेको भोज एकै दिन नेपालमा राखिएको हो । यसरी विदेशीसँग लगनगाँठो कस्ने हरिवंशका छोरा त्रिलोक पहिलो नेपाली सेलिब्रेटी भने हैनन् । यसअघि पनि केही नेपाली सेलिब्रेटीले विदेशीसँग लगनगाँठो कसेर आफूलाई विदेशी बनाएका छन् । 

सिपी लोहनी 

नेपाली फिल्म माइती घर’ मा मुख्य अभिनेत्री थिइन्, भारतकी चर्चित नायिका माला सिन्हा । यो सिनेमामा नायकको रुपमा थिए नेपाली नायक सिपी लोहनी । यही सिनेमामा काम गर्ने क्रममा मालाले नेपाललाई नै घर बनाउने निधो गरिन् । माइतीघर नामक नेपाली सिनेमामा काम गर्न नेपाल आएकी उनले नेपाललाई घर र भारतलाई माइती घर बनाइन् । सिनेमा छायाँकंनकै क्रममा यी दुई एक अर्काको नजिक भएका थिए । यी दुईको विवाह सिनेमा ‘माइती घर’ रिलिज भएको दुई वर्षपछि भएको थियो । विवाहपछि पनि माला बलिवुड सिनेमामा सक्रिय थिइन् ।  सिपी र मालाकी छोरी प्रतिभा सिन्हाले पनि केही भारतीय फिल्ममा काम गरेकी छिन् । अहिले यो जोडी मुम्बईमा बसोबास गरिरहेको छ।

आकाश अधिकारी 

अभिनेता तथा निर्देशक आकाश अधिकारीले इटालियन नागरिक क्लाउडीया फाजिओलाई दुलहीका रुपमा नेपाल भित्र्याएका हुन् । आकाश आफ्नो विवाहलाई लभ पछिको ऐरेन्ज भन्छन् । विवाहपछि नेपाली भाषा र रहनसहनमा भिजिसकेकी क्लाउडीयाले अहिले आकाशलाई पारिवारिक र व्यवसायिक दुवै काममा सघाइरहेकी छिन्।

हर्षिका श्रेष्ठ

मोडलिङ हुँदै अभिनयमा  आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माइती बनाइन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेमविवाह गरेका हुन् ।     व्यवसायी प्रसुनको लकत्तामा स्थायी बासिन्दा हुन् । यही कारण विवाहपछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन्।

झरना बज्राचार्य

पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यको विवाह भारतीय मूलका मलेसियन ब्यापारी राहुल अग्रवालसँग भएको छ। विवाहसँगै विदेशीएकी झरना एक सन्तानकी आमा पनि बनीसकेकी छिन्। झरना र राहुलको भेट सिनेमा ‘सेफल्याण्डिङ को छाँयाकंनका क्रममा भएको थियो। यो सिनेमालाई राहुलले निर्माण गरेका थिए । 

राहुलभन्दा पहिले पनि झरनाको ब्रिटिस नागरिक वारेन कारेरसँग नाम जोडिएको थियो जोसँग झरनाले इन्गेजमेन्ट मात्रै गरिनन् केही समय सँगै पनि बसिन् । झरना र वारेनको सन् २००७मा इन्गेजमेन्ट भएको थियो ।

बिपना थापा 

अभिनेत्री बिपना थापाको विवाह भारतीय नागरिकसँग भएको छ । भारतको मथुरा निवासी आशुतोष भारद्वाजसँग बिपनाको लगनगाँठो कसिएको हो । २०६३ सालमामा विवाह गरेर भारत छिरेकी विपना अहिले कुसल गृहणीको रुपमा भारतको मथुरामै छिन् । बिपनाका पति आशुतोष व्यवसाय र राजनीतिमा सक्रिय छन्। आशुतोष कांग्रेस कार्यकर्ता हुन् । आँशुतोष र बिपनाको भेट सिनेमा ‘वरमाला’को छाँयाकंनका क्रममा भएको थियो। यो सिनेमालाई आशुतोषले निर्माण गरेका थिए भने बिपना यसकी मुख्य अभिनेत्री थिईन् । यही क्रममा यी दुई एक अर्काको प्रेममा परेर विवाहबन्धनमा बाँधिएका हुन् । 

सारङ्गा श्रेष्ठ

सारङ्गी, सुनचाँदी, आगो, मिलन, सिन्दुर पोतेलगायतका सिनेमाहरुमा काम गरेकी अभिनेत्री सारंगा श्रेष्ठ पनि विदेशीसँग लगनगाँठो कस्ने सेलिब्रेटीको सूचिमा पर्छिन् । जीवनमा दुईपटक विवाहबन्धनमा बाँधिएकी उनको पहिलो विवाह अमेरिकी नागरिकसँग भएको थियो । तर उनको पहिलो विवाह खासै लामो समयसम्म टिकेन । अमेरिकामा बसोबास गर्दै आएकी सारंगाले अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका  रमेश कार्कीसँग सन् २०१२मा अदालती विवाह गरिसकेकी छिन् । सारंगा अहिले अमेरिकामै छिन् । जानकारी अनुसार उनी त्यहाँ नृत्य कक्षा सञ्चालन गर्छिन् ।

सिम्पल खनाल 

मोडलिङमा आफ्नो नामलाई चर्चित बनाए पछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगनगाँठो कसिन्। नाम सिम्पल भएपनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफलभईन तर पहिलो घरजममा जम्न सकिनन्। धेरै शुभचिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन् । प्रशन्नसँगअलग भएपछि उनको जीवनमा आए एक विदेशी । देखेको हुँदैन लेखेको हुन्छ भनेजस्तै सम्बन्धबिच्छेदको केही वर्षमै सिम्पलको जीवनमा भारतीय मुलका व्यापारी नदिनको आगमन भयो । उनले नदिनलाई नै नयाँ जीवनसाथी रोजिन्। २०७२ सालमा विवाह बन्धनमा बाँधिएका नदिन र सिम्पल अहिले बेलायतमा बसोबास गर्दै आएका छन् । सिम्पलले म्युजिक भिडियोसँगै माझीदाई, अध्याय  जस्ता सिनेमामा पनि काम गरेकी छिन्।

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया