MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

भविष्यको चिन्ता हुनेहरूका लागि...

 –बिनिता कार्की

शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो  बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ । मलाई लाग्छ जिन्दगीको एउटा नियम यस्तो पनि रहेछ, ‘उमेर सानो, सपना फराकिला, उमेर ठूला तर सपना साँघुरा ।’

मेरा अभिभावकलाई सम्झन्छु । उहाँहरूले पढ्न पाउनु भएन । तपनि परिवार राम्रोसँग चलाउनुभयो । हामीलाई राम्रो सस्कार दिनुभयो । असल अभिभावक, असल छिमेकी अनि असल नागरिक बन्न उहाँहरुलाई कहिल्यै पढाइको प्रमाणपत्र चाहिएन । 

भारतीय लेखक ‘मेननी चटर्जी’ले लेखेको क्रान्तिकारी नेता सूर्य सेनको जीवनकथामा आधारित पुस्तक ‘डु एण्ड डाइ’ (गर र मर) मा जित्नु छ भने मर्न परेपनि पछि पर्नुहुन्न भन्ने आशय छ । त्यसपछि ‘डु इट विफोर यु डाइ’अर्थात ‘जे गर्नु छ मर्नुभन्दा पहिले नै गर’ भन्ने सिद्धान्त हामीले सुन्दै आएका छौँ । तरपनि हामी धेरै युवा जीवनमा गर्ने चाहिँ के ? भन्ने प्रश्नमै अल्झिरहेका हुन्छौँ । हाम्रो गुनासो एउटै हुन्छ । देशमा अवसर छैन । क्षमताको कदर हुन्न । नातावाद र कृपावाद हावी छ । आदिइत्यादि हाम्रा मुखमै झुण्डिएका नारा जस्तै भइसके । 

आफू बलियो नभई, परिवारको आवश्यकता पूरा नगरी, समाज परिवर्तन गर्नतिर लाग्छु भन्ने सोच कसैलाई पनि आउँदैन । जीन्दगी नै दुई गाँस खाना र एकसरो लुगाको खोजीमा गुज्रिने भएपछि अरु कुरा तपसिलका हुने नै भए । 

नेपाली युवाको विचल्ली बनाउने एउटा कारक तत्व हामी हुर्केको समाज र हाम्रा परिवार पनि हुन् । नम्बर बढी आयो कि त ‘विज्ञान’ पढ्न उस्काउने समाज र परिवारले विज्ञान पढेर असफल हुनु भन्दा ‘आर्टस’् पढेर अब्बल हुनु जाति भनेर सिकाउँदैनन् । खेर गएको समय देशलाई गाली गर्न खर्चिनुभन्दा जीवन र समय सापेक्ष तालिम लिन पठाउने अभिभावक कमै छन् । प्रमाण पत्रलाई नै सबथोक देख्ने हाम्रा नजरले तारा लागेको प्रमाणपत्रधारीलाई निकम्मा देख्छ । 

कलेज पढ्ने तर्खरमा रहेका विद्यार्थीलाई विषय छान्न हुने सकस मलाई पनि राम्रोसंग थाहा छ । तर सामान्य हिसावले हेर्दा यो तनाव हुनुपर्ने विषय होइन । अर्थशास्त्र, समाजशास्त्र, नेपाली, जनसङ्ख्या, ग्रामीण विकास पत्रकारिता जस्ता विषय पढ्न रमाइलो लाग्छ भने मावविकी, शिक्षण र शिक्षणपद्दतीमा रुची भए शिक्षा, गणित, ऐच्छिक गणित, लगानी, नाफा, उद्यमतिर चासो भए ब्यवस्थापन, अनि इन्जिनियरीङ, मेडिकल वा बनस्पती, वातावरण, भौतिक विज्ञानमा चासो भए विज्ञान विषय लिएर पढ्नुपर्ने हो ।

तर हाम्रो शिक्षापद्दतीले १० कक्षा पुरा हुँदा पनि त्यो छान्न सक्ने बनाउँदैन । अनि कि अभिभावकको दबाब, कि साथीभाइको लहैलहै कि त जे भेटिन्छ त्यहि पढ्नुपर्ने बाध्यता लाखौ विद्यार्थीले बर्षेनी भोग्नुपरिरहेको छ । समाजमा डाक्टरको वा इन्जिनियरको मात्र होइन कलाकार, पत्रकार, वकिल, प्राध्यापक, गायक, खेलाडी सवैको चर्चा इज्जत र कमाई छ । कुरा यत्ति हो कि जुन क्षेत्रमा भएपनि काम राम्रो गर्नुपर्यो अरुभन्दा अब्बल हुन सक्नुपर्यो । 

जो प्लस टू वा स्नातक तहमा पढ्दैछन्, उनीहरूमा पनि धेरै निरासा हुन्छन् नै । परिवारबाट दवाव आउन थालेको हुन्छ । खर्च बढिरहेको हुन्छ, तर आम्दानी हुँदैन । सपना एकातिर थन्किएका हुन्छन् । घरबाट कति पैसा माग्नु भन्ने सोच आउन थाल्छ । राम्रो अंक ल्याएरै पास गरेको भएपनि हातमा सीप केही हुँदैन । अनुभव हुँदैन । अनि स्नातकोत्तर सकेर पनि विना पैसाको इन्टर्नसिप गर्न बाध्य हुन्छन् । 

पढ्दै काम गर्दै गर्नुजत्तिको प्रभावकारी सिकाइ कुनै हुँदैन । तर आफुले चाहेको विषय र क्षेत्र भने हुनुपर्यो । बेलैदेखि, इन्टर्नसीप गर्ने, स्वयमसेवक भएर विभिन्न ठाउँमा खटिने, विभिन्न तालिम लिने जस्ता कुरालाई पढाइसंगै लैजान सके गज्जपै हुन्छ । जस्तो शिक्षा संकाय पढिरहेको मान्छेले पढाउने काम, पत्रकारिता पढिरहेकोले पत्रकारिता गर्ने काम पनि संगसंगै गर्यो भने मात्र त्यो सिकाइलाई उसले ब्यहारमा ढाल्न सक्छ । गर्दै बुझ्दै सिक्दै जाने कुरा लागू हुन्छ । 

गाउँका कलेजमा अध्ययन गर्नेहरूको एउटा गुनासो हुन्छ, गाउँमा अवसर नै हुँदैन भन्ने । गाउँमा पनि प्रसस्त अवसर छन्, पहिचान गर्न नसक्नु हाम्रै कमजोरी हो । विद्यालय हरेक गाउँमा हुन्छ, नभए छिमेकी गाउँमा भएपनि हुन्छ । तपाईँ आफुले सक्ने विषयको ट्युसन गराएर करियरको सुरुवात गर्न सकिन्छ ।

त्यसरी पढाउँदा नेतृत्व क्षमता वृद्धि त हुन्छ नै, पढाउनु पर्ने भएकाले तपाईँलाई पनि पढ्न मन लाग्छ । साना साना कुराको ज्ञान हासिल हुन्छ । आत्मविश्वास बढ्छ, जुन पछिका दिनमा तपाईँ जुनसुकै क्षेत्रमा जाँदा पनि काम लाग्छ । 

कहाँ पुग्ने भन्ने प्रष्ट भएपछि बल्ल बाटो तय हुने हो । हामीलाई त्यो गन्तब्य थाहा पाउन नै सकस हुने गरेको छ । जसले गर्दा हामी यता जाने कि उता जाने भनेर जिन्दगीको चौबाटोमा अल्मलिन बाध्य हुन्छौं । 

आफू कहाँ आइपुगेँ र कहा पुग्नु छ भन्ने कुरा थाहा पाउनु जरुरी छ । कहिलेकाहीँ यात्रामा खाडलहरू आउँछन्, त्यस्तोबेला विवेकले काम गर्नु सक्नुपर्छ । कहिलेकाहीँ आफु सक्षम भएरपनि पाउनुपर्ने अवसर पाईँदैन । त्यस्तो बेला सहि समय आउनै बाँकी छ भन्ने सोच्नुपर्छ । जीन्दगीका प्राथमिकता आफैँले तय गर्नुपर्छ । इन्टरनेटलाई ज्ञानवर्धक कुरा सिक्न प्रयोग गर्ने हो की सामाजिक सञ्जालमा व्यस्त रहन, त्यो तपाईँको हातमा हुन्छ । कलेजमा अन्र्तक्रिया गर्दै सिकाइको दायरा बढाउने हो की, साइड टक गर्ने हो त्यो तपाईँमा भर पर्छ ।

फुर्सदको समय इन्र्टनसीपमा लगानी गर्ने हो की घुमेर÷सुतेर बिताउने हो त्यसको स्वतन्त्रता तपाईँमा निहित हुन्छ । आफुले भोलिका दिनमा काम गर्न चाहेको कम्पनी वा सँस्थाले कस्तो दक्षता भएको कामदार मागेका छन्, त्यसको अवलोकन गरेर इन्टरनेटबाटै त्यो सिप सिक्ने सक्ने सुविधा हामीले पाएका छौँ । जबसम्म हामीमा सिक्ने बानीको विकास हुँदैन, तबसम्म हामी परिस्कृत हुनै सक्दैनौँ । जिन्दगी सहज छ, हामी व्यर्थ कठिन बनाउँछौँ । 

हामी रुची र लक्ष्यमा झुकिन्छौँ कहिलेकाहीँ । स्कूलमा राम्रो गीत गाउनेलाई गायक, गायिका, राम्रो नाच्नेलाई कलाकार, राम्रो चित्र कोर्नेलाई चित्रकार र राम्रो बोल्नेलाई नेता भनेर घोषणा नै गरीदिन्छन् शिक्षक शिक्षिका । हुन त ती क्षेत्रपनि करियरकै पाटा हुन्, तर ती क्षेत्रमा लाग्न अझै धेरै परिश्रम गर्नु पर्छ भन्ने कुरा बिर्सिन हुँदैन । कुनै पेसा मार्फत ति क्षेत्रमा स्थापित हुन सक्ने आधार स्तम्भ बनाएर मात्रै त्यो रुची पुरा गर्दा राम्रो हुन्छ । पछिका दिनमा त्यो पेसा बेगर पनि जीवन चल्न सक्ने आधारशीला आफुले तयार गर्न सक्नुपर्छ । 

सबै मान्छेले आफ्नो खुसीको बाटो रोज्ने हो । तर आफ्नो खुसीको विन्दु कुन हो भन्ने कुरा चिन्न जरुरी छ । यदि तपाईँलाई आफुले रोजेको जीवनसाथी पाएर उसँग जीवन गुर्जान पाउँदा खुसी मिल्छ भने पनि ठिकै छ । त्यो अर्थमा तपाईँ पनि सफल हो । तर तपाईँ कुन अवस्थामा जिन्दगी गुजार्दै हुनुहुन्छ भन्ने कुराले अर्थ राख्छ ।

तपाईँ आफ्नो परिचय एउटा श्रीमान÷श्रीमति, छोरा÷बुहारी, आमा÷बुबामा मात्रै सिमित राख्न चाहनुहुन्छ भने धेरै मिहेनत गर्न नपर्ला । अधिकांशको जीवन यहि सेरोफेरोमा चलेकोे हुन्छ, जुन जीवन प्राय सबैले बाँचेका हुन्छन् । यो जीवनशैली जिन्दगीको न्युनतम स्ट्याण्डर्ड हो । अर्थात अरु केही नबने पनि मान्छे आफ्नो जीवनमा त्यति चाहिँ बन्छ ।

त्यो भन्दा फरक बनेर आफु हुनुको अस्तित्व समाजलाई छोढ्नु छ भने हामीले फरक काम गर्ने साहस राख्नु पर्छ । बढी पाउन चाहनेले परिश्रम पनि बढि नै गर्नु पर्छ । यो जीवनको एउटा नियम नै हो । आफुले कुन क्षेत्रमा राम्रो गर्न सक्नु भन्ने कुराको पहिचान चाहिँ आफैँले बेलैमा गर्नु सक्नु पर्छ ।

लक्ष्यप्राप्तिको दुरगामी योजना र अल्पकालिन योजनाको खाँका कोर्नु जरुरी छ । अबको यति वर्षमा म आफुलाई यहाँ देख्न चाहन्छु भन्ने अठोट हुनु पर्दछ । त्यसका लागी व्यवहारिकता पनि अत्यन्तै जरुरी हुन्छ । गल्तीहरूबाट सिक्दै आफुलाई परिस्कृत गर्नुपर्छ । सफलताको बाटो सहज छैन, त्यसैले सबै त्यहाँ पुग्न सक्दैनन् । तपाईँ किन त्यहाँ पुग्नु जरुरी छ र कसरी पुग्नुहुन्छ ? यो प्रश्नको उत्तर तपाईँसँग हुन पर्छ । 

जीवनमा केही बन्न चाहनेहरू बाधासँग डराउँदैनन् । बरु डटेर त्यसको सामना गर्छन् । जो हरेक परिस्थितिलाई समस्या देख्छ, उसले सफलता पाउन सक्दैन । सँघर्ष नगरी सफल हुन सकिँदैन । सबैसँग गरिने मित्रवत् व्यवहार, सोचेर बोल्ने बानीको बिकास, अरुलाई पनि सुन्ने प्रवृति, सबैको विचारको सम्मान आदि त सँधै खल्तिमा बोकेर हिँड्नु पर्ने जिनिस हुन् । आफ्नो क्षेत्र चिन्न चुक्नुहुँदैन, सफलता खोज्दै हामी होइन हामीलाई खोज्दै सफलता  टुुप्लुक्क आइपुग्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया