MENU

विचार/अनुभूति

Ncell Axiata

भोट दिन खोज्दा परलोक भएका हजुरबा, हजुरआमाहरुको नाममा

मिलन तिमिल्सिना-

झापा दमक ९ का ८२ वर्षीय हजुरबा नरेन्द्रबहादुर भण्डारी हिजोसम्म पनि आफै साइकल चलाएर ओहोरदोहोर गर्नुहुन्थ्यो । चुनावको दिन कहिले आउला भनेर औंला भाँच्दै बसेका भण्डारी बुधबार बिहानै मतदान केन्द्र पुग्नुभयो । घरबाट सरस्वति माविको मतदान केन्द्र पुग्न झण्डै १५ मिनेट लाग्थ्यो । 

साढे ६ बजे नै परिवारका सदस्यसँग मतदान केन्द्र पुगेका भण्डारीलाई एकछिन पर्खनुपर्यो । पानी परेका कारण मतदान सुरु हुन ढिलो भयो । उहाँ लाइनको अघिल्तिर नै हुनुहुन्थ्यो । मतदान सुरु भएपछि उहाँकै पहिले पालो आयो । आफै हिँडेर पुगेका उहाँलाई केही होला भन्ने कसैले सोचेकै थिएनन् । मतपत्र हातमा लिएपछि उहाँ थर्थर काँप्न थाल्नुभयो । लौन के भयो भनेर एम्बुलेन्स बोलाउने बित्तिकै उहाँ चल्न चटपटाउन छाड्नुभयो । देख्नेका आँखा रसाए । भोट दिन पुगेका सबै स्तब्ध भए ।

उहाँ मात्रै होइन, बुधबार भोट दिन गएका अरु दुई वृद्धवृद्धाको पनि पाल्पामा निधन भयो । पाल्पाको राम आधारभूत विद्यालय बगनाशकाली केन्द्रमा मतदानका लागि जाने क्रममा ६२ वर्षकी कृष्णकुमारी कुमालको निधन भएको हो । मतदान पुग्नुअघि नै बेहोस भइ ढलेका कुमालको बाटोमै निधन भएको आफन्तले जानकारी दिएका छन् । पाल्पामै मतदानको लागि लाईनमा उभिएका ८४ वर्षका पूर्णचन्द्र भट्टराईको पनि निधन भयो । अरनिको आधारभूत विद्यालय यम्घाको मतदान केन्द्रमा भोट दिन लाईनमा उभिनुभएका भट्टराईको भोट दिन नपाउँदै निधन भएको हो ।

मतदान गर्न जाँदा भोट खसाल्न नपाउँदै निधन ! बुढा बाआमालाई पिठ्युँमा बोकेर र डोहोर्याउँदै गएका छोरा नातीलाई कस्तो भयो होला ! अनि मतदान गर्ने लाइनमा उभिएका बृद्धले सास फेर्न छोड्दा देख्नेहरुलाई कस्तो भयो होला !

यी हजुरबा हजुरआमा त्यसै भोट दिन गएका होइनन् । आफ्नो भोटबाट सन्ततिले सुख पाउँछन् भन्ने उनीहरुको ठूलो आशा थियो । आफ्नो पालामा सबैथोक पर थिए । नून किन्न त भोट पुग्नुपथ्र्यो, अरुको के कुरा गर्नु । नागरिकता बनाउन कहिलेकाहीँ गाउँमा घुम्ती टोली आउँथ्यो, नत्र अरु सबै काम गर्न जिल्ला सदरमुकाम पुग्नुपर्थ्यो । घण्टौं हिँडेर सदरमुकाम पुग्दा पनि काम हुँदैनथियो । अहिले पनि समस्या यस्तै छ । 

सानो कामको लागि आफूहरुले भोग्दै आएका यी समस्या छोरानातीले भोग्न नपरोस् भन्ने वृद्धवृद्धाको आशा र कामना थियो । त्यसैले आफ्नो लागि होइन, आफ्नो सन्ततिको लागि उनीहरु मतदानमा सहभागी हुँदै थिए । सबै काम गाउँमै गर्न सक्ने योग्य प्रतिनिधि चयनको लागि उनीहरुमा पनि उत्साह थियो । तर बिडम्वना यो उत्साह बोकेर भोट दिन गएका बृद्धबृद्धाको निधन भयो ।

यी हजुरबा हजुरआमा कुनै न कुनै दलका मतदाता थिए । आफ्ना मतदाताको सुरक्षा गर्ने जिम्मा सरकारसँगै सम्बन्धित दलको समेत हो । घरदेखि मतदान केन्द्रसम्म सुरक्षित तरीकाले पु¥याउनुपर्ने जिम्मा नेता कार्यकर्ताको समेत हुनुपर्ने हो, तर भएन । अनि मतदान केन्द्र पुगेर मतपत्र समेत हातमा लिइसकेका झापाका हजुरबाको ज्यान जोगाउनुपर्ने दायित्व त्यहाँ खटिएका सरकारी प्रतिनिधि र सुरक्षाकर्मीको हो । तर भोट दिन बेलैमा पुगेका हजुरबाको स्वास्थ्य अवस्थाबारे उनीहरुले ख्याल गरेनन् । 

अभाव र कष्टकर जिन्दगी बिताउन बाध्य ती हजुरबा, हजुरआमाहरुले आफ्ना सन्ततिको लागि धेरै सपना बुनेका थिए । त्यही सपना पूरा गर्न भोट दिन गए । भोट दिन नपाउँदै संसार छाडेर बिदा भए । आफ्नो भन्दा सन्ततिको लागि मरिमेट्ने हजुरबा हजुरआमाहरुको आत्माले शान्ति पाओस् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

  • लभ गर्ने फर्मुला

    बिहे नभएकाले त लभ गरे गरे । तर बिहे गरेका, घरभरी छोराछोरी भएकाहरु समेत लभ गरि हिँड्छन् । श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो ।

  • जनयुद्व दिवस : पार्टी छिन्नभिन्न, कार्यकर्ता खिन्न !

    लामो संघर्ष र १० वर्षे जनयुद्वमा सँगसँगै रहेका माओवादी आजको दिनसम्म आउँदा फुटेर टुक्राटुक्रा भएका छन् । माओवादीमा आएको फुटले १० वर्षे युद्वमा समाहित भएका माओवादी कार्यकर्ता भने निराश देखिन्छन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया