MENU

मनोरञ्जन

Ncell Axiata

​शान्ति ठटालका सृजनाले पलेँटी दर्शक मन्त्रमुग्ध

काठमाडौं, असार १८ – दार्जीलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाडौं आउनुभएकी शान्ति ठटालले पलेँटीका दर्शक श्रोताहरूलाई आफ्ना सांगीतिक धुनहरू सुनाएर मन्त्र मुग्ध बनाउनु भएको छ । नेपालयको ‘आर’ शालामा शुक्रबार साँझ सकिएको पलेँटी कार्यक्रम माउनले आफ्ना झण्डै डेढ दर्जन सृजनाहरू प्रस्तुत गर्नुभएको थियो । पाँचौं पटक पलेँटीमा प्रस्तुत शान्ति ठटाल यस पाली संगीतकारका रुपमा प्रस्तुत हुुनुभएको थियो । पलेँटीमा उहाँका सांगीतिक सृजनाहरूलाई नेपालमा अहिले चर्चित बनेकी लोकप्रिय पलेँटी गायिका मीना निरौला र दार्जीलिङकी गायिका सोनू राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको आरम्भ ’आमा’ शीर्षकको गीतबाट भएको थियो । दार्जीलिङ अग्रज चलचित्र तथा नाट्य कलाकार मेनुका प्रधानले लेखेको गीतको प्रस्तुतिसँगै शान्ति ठटालको संगीत गाइरहेकी सोनू राईले दर्शकबाट प्रसंशा पाएकी थिइन् ।

ठटालकै रोजाइमा दार्जीलिङबाट उनका साथ आएकी सोनू राईले पुराना चर्चित गीतहरू ’उडी जाऊँभने म पन्छी होइन’, ’मेरो कथा खाली खाली’, ’नयाँनयाँ घामको किरण’, लगायत थप चारवटा नयाँ गीतहरू प्रस्तुत गरेकी थिइन् । उनले गाएको बसन्त थाम्सु हाङ रचित लोक भाकामा आधारित नयाँगीत’ देउरालीमा पाती राखी’ लाई पनि दर्शकले निकै रुचाएका थिए । 

ठटाल शब्दमा धुनहरू भर्दा दार्जीलिङका आधुनिक शैली मात्र होइन मादले, मारुनी, विरनी जस्ता ठेट भाकाहरूलाई पनि निकै महत्व दिइन्छ ।’ प्रस्तुतिका क्रममा संगीतकार ठटाल दाजीलिङको सांगीतिक शैलीबारे प्रष्ट्याउँदै हुनुहुन्थ्यो । 

कार्यक्रमको दोस्रो गीत पलेँटी गायिका मीनाले प्रस्तुत गरेकी थिइन् । संगीतकार ठटालले विरनी (विरहिणी) ताल र भाकाको प्रसंग सितै प्रारम्भ भएको यस गीतको भाका मीनाको स्वरमा निक्कै सुहाएको थियो । मञ्चमा शान्ति ठटालको दायाँतर्फ पलेँटी कसेकी मीनाले ठटालका सदाबहार गीत’ सम्हालेर राख’, ’मेरो दुखीमन’, ‘आकाश झुक्यो’, सहित पाँचवटा गीत सुनाएकी थिइन् । कतै रेकर्ड नभएको ’कहिले काँही’ गीत पनि मीनाको स्वरमा निकै खुलेको थियो ।

यसपाली संगीतकारको रुपमा प्रस्तुत भएपनि ठटालले दल सिंह अकेलाको शब्द रहेको ‘लिएको थिएँ तिम्रोबाट’ बोलको गीत सुनाउँदा ठटालको गायिकीका प्रशंसकहरू आनन्दित भएका थिए । शान्तिले कोलकत्तामा सन् १९५६ रेकर्ड भएको आफ्नो पहिलो गीत ‘चाँदनी चाँदनी’को पनि सम्झना गर्नुभएको थियो । उहाँले आफ्नो पहिलो गीतका गीतकार संगीतकार शिवप्रसाद सिंह (९० वर्ष खर्साङ) भएको पनि जानकरी गराउनुभयो । 

कार्यक्रममा मीना र सोनूको युगल स्वरमा प्रस्तुत भएका रिदमिक गीतहरू ‘रोक्दा रोक्दै’ र ‘मायालुले सम्झे कि कसो’ ले कार्यक्रमलाई रोमन्चकताको उचाईमा पुर्याएको थियो ।

कार्यक्रममा संगीतकार ठटालल आफ्नो लोकप्रिय गीत ‘सम्हालेर राख’को रचनागर्भको जानकारी गराउँदै आफ्नो समयका मूर्धन्य कलाकारहरू अम्बर गुरुङ, अरूणा लामा, नारायण गोपालसित सम्बन्धित स्मरणहरू सुनाउनुभयो । 

‘सम्हालेर राखको गीतको पहिलो धुनअर्कै थियो । मूर्धन्य संगीतकार अम्बर गुरुङले यो गीतको पहिलो धुन गाउन सिकाउँदा म अलि अनकनाएछु, उहाँले त्यसलाई फेरि धुन भर्नुभयो र मलाई सिकाउनु भयो । यो त्यही दोस्रो संगीत हो ।’ यति भनेर ठटालले ’सम्हालेर राख’गीतको पहिलो धुनको पनि सम्झना गर्नुभयो । ठटालको संस्मरण सुनाउने हँसिलो पाराले ‘आर’ शालाको सांगीतिक वातावरणमा थप रोचकता थपेको थियो ।

शान्ति ठटालको सांगीतिक यात्राको परिचय गराउँदै कार्यक्रम संचालक संगीतकार आभासले ठटालले महाकविका कृतिहरू  ‘मुनामदन’, ‘कुञ्जिनी’, ‘म्हेन्दो’ मा पनि संगीत भरेको प्रसंग कोट्याए । संगीतकार ठटालले आफूले ती कृतिहरूको भाका नै भुलेको तर पलेँटीको अनुरोधमा सम्झने प्रयत्न गरेको बताइन् । यही क्रममा उहाँले आफ्नो बायाँतर्फ बसेकी गायिका सोनू राईलाई  ‘मुनामदन’का केही हरफ गाउन लगाउनुभयो । कार्यक्रम संचालकले शान्ति ठटाललाई फेरि पनि पलेँटीमा निम्त्याउने बताउँदै ‘मुनामदन’ तयार गरेर आउन अनुरोध गरेका थिए । संचालकको अनुरोधमा शान्ति ठटालको सहमती सुनेपछि दर्शक बीच खुशीको लहर छाएको थियो ।

कार्यक्रम समापनभएको घोषणा पछि पनि दर्शकहरूको चर्को अनुरोधमा शान्ति ठटालले ’सम्हालेर राख’लाई आफ्नै कण्ठबाट सुनाउनु भयो । शान्ति ठटालको पलेँटीमा प्रशंसकहरूको चाप बढेपछि शुक्रबार मात्र हुँदै आएको कार्यक्रमलाई शनिबार पनि गर्ने जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया