MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

‘यदि उ मारिन सक्छ भने जो पनि मारिन सक्छ’

२७ वर्षदेखि प्रकाशित पत्रिकाको अन्तिम हेडलाइन ‘अलबिदा’

असार २० – एकजना पत्रकार कार धुने ठाउँमा आराम गर्दै गर्दा मारिए । अर्का पत्रकारलाई कारबाट लतारेर आफ्नै पत्रिकाको कार्यालय नजिकै गोली हानी हत्या गरियो । अर्का एकजना पत्रकारको उनकै छोराको अगाडि हत्या गरियो र सानो नोट छोडियो, ‘तिम्रो चुरिफुरीको लागि ।’   

मेक्सिकोमा पत्रकारहरु मारिनु नौलो कुरा होइन । पत्रकारहरुको लागि मेक्सिकोमा काम गर्नु एकदमै असुरक्षित र जोखिमपूर्ण भएको अधिकारकर्मीहरुले बताएका छन् । लागुपदार्थ ओसारपसारमा संलग्न र त्यससँग सम्बन्धित अपराधीहरुको निसानामा पत्रकारहरु पर्दै आएका छन् । 

यही वर्ष मात्रै मेक्सिकोमा ७ जना पत्रकारहरु मारिए ।  अधिकांशको दिउँसै गोली हानी हत्या गरिएको छ । स्थानीय अधिकारी र राजनीतिक व्यक्तिहरु पनि संगठित अपराधमा लागेकाले पत्रकार असुरक्षित भएको अधिकारकर्मीको भनाई छ । 

अपराधीको जालो 

३० वर्षदेखि आफ्नै राज्य चिहुवाहुवामा अपराधी र राजनैतिक व्यक्तिहरुको सहकार्यका बारेमा अनुसन्धान गर्दै आएकी मिरोस्लाभा ब्रिचले भन्ने गर्दथिन् ‘भ्रष्टाचारी राजनैतिक नेतृत्वहरु लागुपदार्थ ओसारपसार गर्नेहरु भन्दा पनि खतरा हुन्छन् ।’ 

गएको वर्ष राष्ट्रिय दैनिक पत्रिका ला जोर्नाडामा काम गर्ने उनकै साथी मिरोसले फोन गरेर संगठित अपराधमा संलग्न अपराधी र स्थानीय चुनावमा उत्रेका उम्मेदवारहरुको साँठगाँठका बारेमा जानकारी दिएका थिए । उनले त्यस बारेमा लेखिन् पनि । ‘बहिनी, अहिले म एकदमै डराएकी छु,’ मिरोस्लाभाकी बहिनी रोजीले आफूलाई रुँदै भनेको कुरा सम्झिन्।  

मिरोस्लाभालाई छोराछोरीकै नाम लिएर धेरै पटक धम्की आएको थियो । उनले प्रहरीलाई पनि यस बारेमा जानकारी गराइन् । रोजीले भनिन्, ‘दिदीले अपराधीहरुको संगठित संजालका विरुद्ध केही गर्न सकिन्न भनिन् ।’

गएको मार्चमा मिरोस्लाभाले आफ्ना १४ वर्षका छोरालाई विद्यालय लिएर जाँदै थिइन्, उनलाई बन्दुकधारीले आठ पटक गोली हाने । घटनास्थलमा उनीहरुले एउटा नोट छोडे, ‘तिम्रो बढ्ता जान्ने हुने बानीका लागि ।’

सन् २००० देखि अहिलेसम्म मेक्सिकोमा १०६ जना पत्रकार मारिएको अधिकारवादी समूह आर्टिकल १९ ले जनाएको छ । मारिएकाहरुको सही तथ्यांक पत्ता लगाउन पनि निकै कठिन भएको उनीहरु बताउँछन् । 

गएको वर्ष मात्रै ११ जना पत्रकारहरुको हत्या भएको एउटा संस्थाले जनाएको थियो । अनुसन्धानका मापदण्ड र प्रकृतिले गर्दा पनि तथ्यांक फरक हुने गरेको उनीहरुको भनाई छ । अहिलेसम्म मारिएका पत्रकारहरुमध्ये धेरै साना र स्थानीय संचारमाध्यममा काम गर्ने पत्रकारहरु रहेका छन् । मिरोस्लाभा भने राष्ट्रिय दैनिकमै काम गर्दथिन् । 

नोर्ते दैनिकका सम्पादक ओस्कार मुर्गइयाले पत्रकारहरुमाथिको आक्रमण पूरा समाजमाथिकै आक्रमण भएको बताउँछन् । उनले मिरोस्लाभाको स्तम्भ आफ्नो पत्रिकामा छाप्ने गर्दथे । उनले उक्त घटनाको प्रतिक्रिया २७ वर्षदेखि प्रकाशित हुँदै आएको पत्रिका बन्द गरेरै दिए । उनको पत्रिकाको अन्तिम अंकमा केबल एक शब्दको हेडलाइन थियो, ‘अलबिदा’ । 

मुर्गुइयाले भने, ‘म पत्रकारका लागि जीवन गुमाउन भन्दा बरु बेरोजगार नै बस्न आग्रह गर्दछु ।’

सन् २०१० मा विभिन्न दबाबमूलक र मानवअधिकारवादी संस्थाहरुले सरकारलाई पत्रकारहरुको सुरक्षका लागि ध्यान दिन आग्रह गरेपनि हत्याका श्रृंखलाहरु बन्द भएका छैनन् । 

हामी सबैलाई मार 

अवार्ड विजेता पत्रकार जेभिएर भाल्डेज (जो मिरोस्लाभाका सहकर्मी पनि हुन्) भन्दछन्, ‘समाचार सम्प्रेषण गरेकै कारण मृत्युदण्ड दिइन्छ भने उनीहरुलाई हामी सबैलाई मार्न खुला छोडौँ ।’ तीन दशक लामो अपराध बिटको समाचार रिर्पाेटिङमा उनले धेरै लागुपदार्थ ओसारपसारमा लागेकाहरुको भण्डाफोर गरेका थिए । जसले गर्दा उनलाई मेक्सिकोकै स्टार रिर्पाेटर बनायो । उनी अपराध बिटमा काम गर्ने पत्रकारहरुका लागि मात्रै होइन, धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् ।  

उनलाई धेरै ठाउँबाट आफ्नो प्रेस बन्द गर्न धम्की आए पनि बरु मर्ने तर लेख्न नछोड्ने बताएका थिए । सन् २०११ मा इन्टरनेशनल प्रेस फ्रिडम अवार्डबाट सम्मानित भाल्डेजलाई मध्यदिनमा कारबाट निकालेर १२ पटक गोली हानी हत्या गरियो । उनको हत्या गरिएको ठाउँमा सूचना छोडिएको थियो, ‘यदि उ मारिन सक्छ भने जो पनि मारिन सक्छ ।’ मेक्सिकोमा लागुपदार्थ ओसारपसारमा संलग्न कुख्यात एल चापोका बारेमा भाल्डेजको पत्रिकाले एल चापोका उत्तराधिकारी भनिएका व्यक्तिको अन्तर्वार्ता छापेको थियो । उनको हत्या हुनुमा उनले अपराधीहरुको भण्डाफोर गर्नु नै थियो ।  

मेक्सिकोमा पत्रकारहरुको हत्याको श्रृखंला बढ्दै गइरहेको बेलामा पत्रकारहरु चुप लागेर बस्नु भन्दा अझ आफ्नो आवाज बुलन्द गर्नुपर्ने देखिएको मेक्सिकाली पत्रकारहरु बताउँछन् । 

बिबिसीमा ह्युगो बाचेगाको रिपोर्टमा आधारित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया