MENU

साहित्य/ कला

Ncell Axiata

नेपालमा ठूला परिवर्तन प्रेसले नै ल्याएको होः प्रधानमन्त्री देउवा

काठमाडौं, असार २२ – काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच महेन्द्र विष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’ सार्वजनिक भएको छ ।  पुस्तकको विमोचन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । 

नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहनुभएका विष्टले आफूले विद्यावारिधि सोधका सिलसिलामा गरेको अध्ययनलाई समेत समेटेर पुस्ताकार दिएको बताउनुभयो । विष्टले लोकतन्त्र र प्रेसको बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै नेपालमा प्रेस स्वतन्त्रताका सम्बन्धमा संवैधानिक प्रत्याभूति भएको भए पनि व्यवहारमा लागू नभएको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै पत्रकारिताका प्राध्यापक पि खरेलले विष्टले पुस्तकमा नेपाली सञ्चार माध्यमको विकासक्रमलाई समेटेको बताउनुभयो । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा विष्टको पुस्तकले नयाँ आयाम थपेको भन्दै पुस्तक धेरैका लागि सन्दर्भसामग्रीका रुपमा प्रयोग हुन सक्ने बताउनुभयो । खरेलले नेपालमा प्रेस स्वतन्त्रताका बारेमा गरिएको संवैधानिक व्यवस्था विश्वकै उदाहरणीय भए पनि पत्रकारका लागि सुरक्षा चुनौती भने रहेको बताउनुभयो । 

पुस्तककै बारेमा टिप्पणी गर्दै पूर्व प्रधानन्यायधीश तथा नेपाल मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वाक स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता मानव अधिकारकै पाटो भएकाले विष्टको पुस्तक नेपाली पत्रकारिता क्षेत्रका लागि उदाहरणीय भएको बताउनुभयो । उहाँले नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई प्रशस्त ठाउँ दिएको बताउँदै आमसञ्चार माध्यमले पनि जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा ठूला–ठूला राजनैतिक परिवर्तन प्रेसले नै ल्याएको बताउँदै नेपालमा प्रेस स्वतन्त्रताको अवस्था संसारकै उत्कृष्ट भएको बताउनुभयो । संकटकालका समयमा पनि नेपाली प्रेसहरुमाथि सेन्सरशिप नलागेको बताउँदै प्रेसले पनि सत्य तथ्य समाचार प्रस्तुत गरेर जिम्मेवारीवोध गर्नुपर्ने बताउनुभयो । 

३१५ पृष्ठ रहेको ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो । पुस्तक ‘लोकतन्त्र र प्रेस’, ‘नेपालमा पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास’, ‘कानूनी व्यवस्था अनुमतियोग्य बन्देज र नियमन प्रणाली’, ‘नेपालमा मिडियाको स्थिति र पत्रकार सुरक्षा’, ‘नेपालमा प्रेस स्वतन्त्रता अध्ययन नतिजा’ गरी पाँच अध्यायमा विभाजन गरिएको छ । 

तस्बिर सौजन्यः पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टको फेसबुक पेज

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया