MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

गुरुपूर्णिमा र असल शिक्षक

रमेश भट्टराई ‘सहृदयी’ -

अज्ञान तिमिरांधश्च ज्ञानांजनशलाकया
चक्षुनमीलितम तस्मै श्री गुरवे नम: ।

सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।  

नेपाल कैयौँ तपस्विका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रुपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवस्य हो । यहाँ जन्मिएका जनक, बुद्ध, सीताजस्ता उदाहरणीय व्यक्तित्वसँग धार्मिक सहिष्णुभाव अनि मानवीय आचरण र आदर्श भावले रम्न पाएका छन् । शान्ति र अहिंसाले सत्कर्ममा प्रेरणा दिएको छ । हाम्रो देशलाई तपस्विको तपोभूमि र सिद्धभूमि भनिन्छ ।यहाँ शिक्षा र शैक्षिक सुधारका गौरवमय इतिहास छन् । यसर्थ महान् ऋषि महर्षिहरूको जन्मथलोको रुपमा पुराणहरूमा व्याख्या गरिएको छ ।

अलिकति गहिरिएर हेर्दा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ । अझै गर्वको कुरा यही भूमिमा चार वेदका ज्ञाता, व्याख्याता महर्षि व्यासजस्ता महान् ज्ञाताको जन्म भएको गौरवमय इतिहास पढ्न पाइन्छ । यसर्थ व्यासको जन्मदिन अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरुपूर्णिमाका रुपमा मनाउने गरिन्छ ।

त्यसैले गुरु पूर्णिमालाई व्यासजयन्ति पनि भनिन्छ । त्यसैले गुरुपूर्णिमालाई श्रद्धाका साथ मनाइन्छ, आफ्ना गुरुहरूलाई सम्मान गरिन्छ । तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगत्को रहस्य छ, असल आदर्श ज्ञानको अथाह भण्डार छ । व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वश्व भेट्छ । अतः वेद–वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी विश्वमै प्राचीन हिन्दू सनातन साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिङ्गो जीवनको बोध गर्नु हो । भागवत गीताको सारभित्र लुकेको रहस्य खोतल्नेले परमात्मामा साक्षात्कार गर्न पाउँछन् । मोक्षको ढोका खोल्छन् अनि परमानन्दको अनुभूति गर्छन् । गुरुपूजासँग कबिर जयन्तीको विषयलाई पनि जोडेर हेर्ने गरेको पाइन्छ । यसै दिनमा कबिरको जन्म भएको भन्ने जनविश्वास रहेको छ । कबिर वाणीमा अनन्य आत्मज्ञानका सारतत्व लुकेका छन्, जसलाई महापुरुषले दोहोर्‍याएर सर्वसाधारणमा प्रवाह गरिरहन्छन् ।

महर्षि व्यासको शुभजन्मोत्सवको रुपमा सदियौँदेखि मनाइँदै आइएको गुरुसम्बन्ध र शब्दशक्तिसँग ज्ञानको बहाव छ । वेद व्यास जसलाई स्वयम् भगवान् विष्णुको अवतार तथा अष्टचिरञ्जीवीमध्ये एक सम्मानित गुरुका पनि गुरुको स्थानमा राखेर हेरिन्छ । व्यासलाई कृष्ण द्वैपायन पनि भनेर चिनिन्छ । द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण द्वैपायन भनिएको हो भन्ने गरिन्छ । व्यासलाई सबैले गुरु मान्ने आधार शिष्यबाट बनेको हो भनेर बुझ्न सकिन्छ । शिक्षा र दीक्षा दिने गुरुको शक्तिमा गुरुदेवो भवको भाव जागृत हुन्छ । ‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्तिलाई गुरुको संज्ञा दिइन्छ । आफूमा पूर्ण भई अरुलाई पथप्रदर्शन गर्नसक्ने खुबी गुरुमा हुन्छ । पूर्वीय प्राचीन परम्परालाई हेर्दा वशिष्ट ऋषि, व्यास महर्षि, वाल्मिकी या त द्रोणाचार्य आखिर सबै गुरुका स्थानमा उच्च रहे ।देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ । भगवान् रामले गुरु आज्ञालाई शिरोधार्य गर्थे, भगवान कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए । पाण्डवजस्ता असल र सत्यवादीहरूले शत्रु बनेका कौरवको पक्षमा रहेर लड्ने गुरु द्रोणाचार्यलाई गरेको सम्मान शिष्यले गुरुको उच्च सम्मान गर्नुपर्ने दृष्टान्त रहेछन् । आखिर गुरु निगाहबाट सर्वसफलतालाई साकार पार्न सक्नेले ईश्वरको कृपा पाउँदो रहेछ । गुरुकै स्थानलाई नियाल्ने हो भने, राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पूराना होइनन् नै । 

अलिकति आजको युगसम्म आइपुग्दा गुरुकुल शिक्षामा परिवर्तन आयो । कति लाभदायक जीवनका आहारविहार, अनुशासन, औषधोपचार, मानवीय भाव छुटेका छन् । यद्यपि कसैले जानेर, बुझेर त कतिले अरुले गरेको देखेर भएपनि गुरुको आदर गर्न सिकेका छौँ । वास्तवमा अज्ञानता हटाउने महान् खुबी एउटा असल र सबल गुरुमा हुन्छ । गुरुसँग शिष्यको नाम गाँसिन्छ । साथमा गुरुपूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । अतः गुरुलाई शिक्षक, प्रोफेसर, लेक्चर, टिचरको नाममा पुकार्ने गरिन्छ । यद्यपि भावगतजस्ता सारगर्वित आधारबाटनियाल्दा आज दिइएका ज्ञान र सिकाइभित्र जुन गुरु शक्ति र सामथ्र्य भाव हो त्योभन्दा फरक विषयवस्तुलाई आधुनिकतासँग जोडिन पुगे । यद्यपि यहाँ न त गुरु शक्तिका रहस्य रहे न त जीवन र जगतको वास्तविक रहस्य खोतलिए । यहाँ सिकाइएका दैनिक जीवनका ज्ञानमा गुरु शब्दसँगको व्यापकतालाई आंशिक जीवनको ज्ञानमा सीमित बनाउँदा भौतिकता नै सर्वेसर्वा बन्दै गएको छ । मानवीय जीवन र जगत्को रहस्यलेप्राचीन संस्कारका उपनाम पाएका छन् ।नैतिकताले मकाउँदै जाँदा गुरु शब्दसँग मानिसलाई घृणा लाग्ने गरेका यथार्थ हामी सामु बढ्दो क्रममै छन् । शाब्दिक रहस्य खोतल्दा‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहने गुरु शब्द आपैmँमा तेजिलो, सम्मानित र आदरभावमा सुसज्जित छ । कलिलो मस्तिष्कलाई कखरादेखि गहन सोचसँग जीवन र जगतको रहस्यसम्म पुगेर गुरुले सचेत रहस्य खोतल्छन्– चाहे इतिहास नामबाट हुन् या अत्याधुनिकताको उत्तरआधुनिक सोचबाट नै किन नहोस् । सनातन परम्पराबाट सिकिएको भावबोध होस् या त व्यावहारिक शिक्षा होस् आखिर गुरुको महिमा हरपल, हरक्षण उच्च स्थानमा रहेको पाइन्छ । ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै गुरु हुन् । अतः एउटा असल गुरु शिक्षार्थीको मार्गदर्शक रहेछ, अनुकरणीय व्यक्तित्व रहेछ अनि सबल जीवन दाता रहेछ ।

पाश्चात्य सिद्धान्ततिर पुग्दा अरस्तु, प्लेटो, रुसो, हिल्डा टावा, पेस्तालोजीजस्ता दार्शनिकले नवीन शैक्षिक अवधारणा लिएर आए । बालमनोवैज्ञानिक शिक्षाले प्रश्रय पायो । वर्तमान युगसम्म हेर्दा दण्डरहित बालमैत्री शिक्षाले असल गुरुको कर्मलाई प्रतिबिम्बित गर्दछ । प्याबलभ, स्किनर, थर्नडाइकजस्ता विद्वानले नवीन शिक्षण पद्धतिलाई जन्माए । यसर्थ असल शिक्षकलाई बहुल ज्ञानको खाँचो हुन्छ । अत्याधुनिकताको ज्ञानसँग दौडिनु आवश्यक हुन्छ । एउटा शिक्षक कला र विज्ञानले सजिएको अनुकरणीय व्यक्ति रहेछ । जसमा ज्ञान, गुण, कला, विज्ञानजस्ता क्षमता हुन्छन्, त्यही असल शिक्षक बन्न लायक हुन्छ । यसर्थ गुरु हुनु आफैमा चुनौतिपूर्ण छ अनि बुझ्दा र जान्दा सौभाग्यशाली व्यक्ति नै गुरु हो । एउटा असल शिक्षकले पाइलटलाई पढाएको हुन्छ, इन्जिनियरलाई जन्माएको हुन्छ, समाजसेवीलाई सिकाएको हुन्छ, नेतालाई डोर्‍याएको हुन्छ अनि असल र सबल मानिस बनाएको हुन्छ : यसर्थ शिक्षकभन्दा ठूलो र महान् कर्म अरु हुन सक्दैन । गुरु शब्द त आजभोलि ड्राइभरलाई, सङ्गीत शिक्षकलाई, या त साथीभाइसँग गफमा बोलिने भाषासम्म प्रयोग हुन्छ । हरेक पण्डितजीले गुरुको सम्मान पाएका हुन्छन् । यसरी हेर्दा आजभोलि भनिने गुरु शब्दको प्रयोग र विचारसँग यसको भावको तालमेल अर्थात् अर्थगत सम्मान रहेको बुझ्न सकिँदैन । वास्तवमा उत्तम मस्तिष्क र कला भएका व्यक्ति मात्र गुरु बन्न योग्य हुन्छन्, जसले आपूm तरेर अरुलाई तार्न सक्दछ । आपूm अज्ञानबाट उम्केर अरुलाई प्रकाश प्रदान गर्दछ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर अर्थात् सृष्टि सिकाउने, जिउन सिकाउने र मृत्यु अर्थात् अन्तिम सत्यसम्म पुगेर जीवनको यथार्थ बोध गराउने संसार तार्ने व्यक्तिको रुपमा लिइन्छ ।

राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, रुचि र उत्साह, धैर्य र सहनशील, नैतिक र चरित्रवान्, प्रेम र सहानुभूतिले भरिपूर्ण आत्मविश्वासमा सबल व्यक्तिगत गुण असल शिक्षकमा हुनु आवश्यक मानिन्छ । सामाजिक गुणअन्तर्गत पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम राख्ने, सेवाभाव भएको, विनोदप्रिय, विनयशील, नेतृत्व क्षमता राख्ने र समुदायको ज्ञान भएको हुनुपर्ने हुन्छ । त्यस्तै गरेर विषयवस्तुको उच्च ज्ञान, शिक्षण पद्धति र विधि–प्रविधिको ज्ञान भएको, शिक्षण कौशल र बालमनोविज्ञान बुझ्ने, उत्तरदायित्व बोध गर्ने, जिज्ञासु तथा अध्ययनशील, नवीनतम खोजमा जागरुक हुने पेसागत गुणको समष्टि सामथ्र्यबाट एउटा असल शिक्षकको परिचय स्थापित हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि समर्पित व्यक्तिले गुरुको पदलाई ओगट्न सक्छ । भोजनको मीठासतामा भान्सेको ठूलो हात हुन्छ ।यसर्थ गुरु केवल नाम र परिचयपत्र बोकेर पेसामा अल्झेर पेटको समस्या हल गर्न चाहने व्यक्ति नभएर शिक्षा र सिकारुप्रति सचेत महान् व्यक्ति रहेछन् ।कुमालेले काँचो माटोलाई आकार दिएझैँ, मूर्तिकारले ढुङ्गोलाई कुँदेझैँ शिक्षकले कच्चा मान्छेलाई सच्चा मान्छेमा परिणत गर्न जान्नुपर्छ । 

आज गुरुका नाममा भइरहेका कलङ्क र लालची व्यापारिक प्रवृत्तिले सही र गलतको श्रेणी बनाउनु परेका तीता यथार्थ छन् । बोक्रे ज्ञानका आधारमा गुरुको उपनाम भिर्ने लोभीपापी प्रवृत्तिका कारण कपडा र बाहिरी रुपमा गुरुलाई तोल्न थालिएका छन् । कैयौँ छद्मभेषी गुरुहरूले सोझा र आस्थावान् मानवका आस्था र विश्वासमा प्रहार गरेका लज्जास्पद घटनाले पीडाबोध हुन्छ । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । वास्तवमा गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने खुबी हुनु आवश्यक छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया