MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

भाले गोहीको अभाव, हुर्काउनै कठिन

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, असार २६ – विश्वमा नै संक्कटापन्न सूचिमा रहेको गोही संरक्षणमा चुनौती देखिएको छ । नेपालको चितवन र बर्दियामा मात्र पाइने घडियाल गोही संकटमा परेका छन् । संरक्षित जनावरको रुपमा रहेको गोही उचित संरक्षण हुन नसके केही वर्षमा चितवनबाट लोप हुनसक्ने खतरा बढेको संरक्षणकर्मीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गएको १६ वर्षको अध्ययनले पनि गोही लोप हुँदै गएको देखाएको छ । गएको १५–२० वर्षको अन्तरालमा निकुञ्जबाट आठ सय ८१ गोही राप्ती र नारायणी नदीमा छाडिएको निकुञ्जको तथ्याङ्कमा उल्लेख  छ । जति गोही नदीमा छोडिएको पछि गणनामा १० प्रतिशत मात्र भेटिने गरेका छन् । सन् २०१६ मा गणना गर्दा ती दुई नदीमा १६६ गोही फेला परेका थिए । देशभरका अन्य नदीमा समेत गरी यो संख्या १९८ रहेको थियो । 

संकटमा घडियाल गोही

घडियाल गोही संरक्षण गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जले गोही संरक्षण केन्द्र स्थापना गरेर काम गर्दै आएको छ । संरक्षण केन्द्रबाट हुर्काएर प्राकृतिक वासस्थानको लागि गोहीलाई नदीमा छाडिने गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित जनावरका रुपमा रहेको घडियाल गोही नेपालबाट हराउँदै गएपछि संरक्षणको विकल्प खोजिए पनि सफल हुन नसकेको संरक्षणविद्हरु बताउँछन् । 

घडियाल गोही लोप हुनुमा वासस्थानको रुपमा रहेको ठूला नदीको पानीको सतह घटेर वासस्थानको विनाश हुँदै जानु पहिलो कारण बनेको छ । सँगै नदीमा गोहीको आहरा कम हुनु अर्को कारण रहेको पाइएको छ । खानाको रुपमा रहेका माछा मारिएपछि गोही खानाको खोजीमा अन्यत्र जाने क्रममा भारत पलायन भएकाले पनि नेपालमा घडियाल घटेको  निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताउनुभयो ।

भारतीय सीमा क्षेत्रस्थित नदीमा निर्मित ड्याम खोल्ने क्रममा भारत पसेका गोही फिर्ता आउन नसक्दा नेपालमा रहेका गोहीको सङ्ख्यामा कमी आएको बताइन्छ ।  वर्षाको समयमा बाढीका बेला भारतीय सीमातिरका ड्यामका ढोका खोलिएपछि बाढीसँगै गएका गोही हिउँदका बेला प्रजननका समयमा नेपाल फर्किंदा नदीमा पानीको सतह कम भइसकेको हुनाले पनि फर्कने वातावरण नबनेको उहाँले बताउनुभयो ।

गोही संरक्षणमा निकुञ्जको प्रयास

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि नै घडियाल गोहीको संरक्षण सुरु भएको हो । सन १९७८मा निकुञ्जमा नै गोही प्रजनन केन्द्र स्थापना गरी घडियाल गोहीको सङ्ख्या बढाउन गरिएको पहल अहिले पनि जारी छ । केन्द्रमा ५०० हाराहारी गोही रहेका छन् । 

केन्द्रमा हुर्काइएका गोही ६ बर्षसम्म पालेर राखिने गरिएको छ । आकारको हिसाबले ठूला गोहीहरु सात मिटरसम्म लामो हुने गर्छन् । तर नदीमा छाडिने गोही भने झन्डै पाँच—छ वर्षमा डेढ मिटर जति लामो भएपछि छाडिने गरिन्छ । लामो समय र धेरै खर्च गरेर हुकाई नदीमा छाडिएका गोही हराउदै जानुले थप समस्या भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । 

विश्वमा पाइने २१ जातका गोहीमध्ये नेपालमा मगर र घडियाल गोही पाईन्छ । हरेक बर्ष सिमसार दिवसको अवसरमा निकुञ्जले गोही नदीमा छाडदै आएको छ । बर्दिया राष्टिय निकुञ्जमा पनि गोही संरक्षण एवम् प्रजनन केन्द्र रहेको छ । 

भाले गोही मर्दा तनाव

घडियाल गोहीको भाले मर्दा समस्या देखिएको छ । संरक्षण केन्द्रमा रहेका दुईवटा भालेमध्ये एउटा मरेपछि घडियाल गोहीलाई भालेको अभाव भएको हो । राप्ती नदीमा रहेको एउटा भाले घडियाल गएको महिना मरेपछि राप्ती र नारायणीमा रहेका एक सय ६५ वटा पोथी प्रजननको अवसरबाट वञ्चित भएका छन् ।

नदीमा भएको एकमात्र भाले घडियाल मरेपछि चिन्ता थपिएको बताउँदै प्रमुख संरक्षण अधिकृत कंडेलले  समस्या समाधानका लागि भारतको कतर्नियाघाट नजिकै बर्दियाको बबई नदीबाट घडियालको भाले छोपेर ल्याउन पहल सुरु गरिएको बताउनुभयो । 

घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालको लागि एउटा मात्र भाले रहेको उहाँले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान छ । गएको जाडो याममा त्रिवेणीमा एउटा भाले घडियाल गोही देखिएको भए पनि पछिल्लो समय त्यो गोही पनि देखिएको छैन । गोही प्रजनन केन्द्र कसरामा पनि एउटा मात्रै भाले गोही रहेको छ । 

यसरी हुर्काइन्छ गोही

एक वर्षमा यहाँ करिब २५० सम्म बच्चा निकाल्ने गरिएको छ । बर्दियामा रहेको गोही केन्द्रले गएको वर्षदेखि मात्रै बच्चा कोरल्न थालेको छ । चैत महिना घडियाल गोहीले फुल (अण्डा) पार्ने समय हो । चैतको अन्त्यसम्म पोथी घडियालले राप्ती नदी किनारको बालुवामा ५० सेन्टिमिटरसम्म गहिरो खाल्डो बनाएर अण्डा पार्ने गर्दछ । 

घडियालले एकपटकमा ५० वटा अण्डा पार्छ । घडियालले अण्डालाई खाल्डोमा दुईदेखि तीन तह बनाएर बालुवाले पुर्ने र ती केही अण्डाहरु खोजेर संरक्षण केन्द्रमा ल्याउने गरिएको घडियाल संरक्षण केन्द्र कसराका प्रमुख बेदबहादुर खड्काले बताउनुभयो । 

अण्डालाई ३० देखि ३२ डिग्री तापक्रममा राखेपछि त्यसबाट ७० देखि ९० दिनमा बच्चा निस्कन्छ । घडियाल गोहीको नवजात बच्चा ३० सेन्टिमिटरसम्म लामो हुन्छ । बयस्क घडियाल सामान्यतया पाँच मिटर लामो हुन्छ । १५ देखि २० वर्षको उमेरमा गोहीको लिङ्ग पहिचान हुने गर्दछ । राप्ती र नारायणी नदीमा गोहीको अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया